पूर्णकलाले पाइन् अवार्ड

काठमाडौं । लोक गायिका पूर्णकला बिसी सर्वोत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भएकी छन् । राजधानीमा आयोजित ‘प्रथम एपिक राष्ट्रिय म्युजिक अवार्ड–२०७५’ मा ‘रुँदै रुँदै तिम्रो सहर’ बोलको गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्डबाट हात पारेकी हुन् ।

बिसीलाई उक्त गीतमा गायक मेक्सम खाती क्षेत्रीले गायनमा साथ दिएका छन् । नरेश खाती क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतलाई अवार्डमा मनोनित गरिएको हो । गायिका बिसीको आवाज रहेका दर्जनौं गीति एल्बम बजारमा आएका छन् ।

उक्त अवार्डसहित सम्मानित हुनुमा दर्शक स्रोताको माया रहेको उनले जनाइन् । एपिक अवार्डमा सांगीतिक क्षेत्रका विभिन्न ६६ विधामा कलाकारलाई सम्मानित गरिएको थियो ।

बिसी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा समेत हुन् । ठमेलस्थित छाया सेन्टरमा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया