कसरी गर्न सकिन्छ विप्रेषणको सदुपयोग ?

धेरैजसो ग्रामीण क्षेत्रमा विप्रेषण आय प्रचुर मात्रामा भित्रिने गरेकाले निकासीजन्य घरेलु तथा साना उद्योगहरूमा यस्तो आय उपयोग गर्न जोड दिनुपर्छ । विदेशमा रोजगारीका लागि गएका व्यक्तिहरूको परिवारका सदस्यहरूलाई व्यावसायिक कृषि एवं पशुपालनलगायत घरेलु उद्यम तथा सेवा व्यवसाय जस्ता व्यावसायिक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ

केही दशकयता नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित छ । यसले यहाँको कुल गार्हस्थ उत्पादनमा झण्डै ३० प्रतिशत योगदान पु¥याएको छ । हाल दैनिक सरदर २ अर्ब विप्रेषण रकम भित्रिन्छ । सन् १९९० को दशकमा करब २ सय ५० अमेरिकी डलर रहेको यहाँको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ हजार ४ डलर पुगेको छ । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्ममा नेपालीहरूको प्रतिव्यक्ति आय १५ सय डलर पु¥याउने लक्ष्य लिएकोले यसको परिपूर्तिकालागि विप्रेषणले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

दुई वर्ष यता यहाँको विप्रेषण रकम वृद्धिदर केही घटे पनि चालु आर्थिक वर्षको सुरुदेखि नै उक्त रकमको वृद्धिदर बढ्न थाल्यो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा सो रकम ३३ दशमलव १ प्रतिशतले वृद्धि भई ७३ अर्ब ९५ करोड पुग्यो । अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम ७ प्रतिशतले मात्र बढेको थियो ।

वर्तमान समयमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्षमा यस्तो आप्रवाह ११ दशमलव ८ प्रतिशतले मात्र बढेको थियो । आर्थिक वर्ष ०७५÷७६ को पहिलो महिनामा यहाँको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनलाई आधार मान्ने हो भने विप्रेषण रकम विगतको तुलनामा केही बढेको छ । यसको मुख्य कारण अमेरिकी डलरको भाउ बढ्नाले हो ।

वैदेशिक रोजगारीमा गएका नेपालीबाट पठाइएको विप्रेषणले यहाँ सकारात्मक तथा नकारात्मक प्रभाव परेको छ । यहाँको गरिबी न्यूनीकरण, वित्तीय पहुँचमा वृद्धि, बढ्दो बेरोजगारीको न्यूनीकरण, सेवा क्षेत्रहरूको विस्तार, बैंक तथा वित्तीय संस्थाहरूको कारोबारमा वृद्धि, विदेशी विनिमयमा सञ्चिति, शैक्षिक विकास र आर्थिक वृद्धि आदि विप्रेषणका सकारात्मक पक्षहरू हुन् । योबाहेक वैदेशिक रोजगारीमा गएर स्वदेश फर्कने व्यक्तिहरूले नयाँ ज्ञान, सीप र अनुभव प्राप्त गरी यहाँको विकासमा सकारात्मक प्रभाव पारेका छन् ।

अर्काेतर्फ यहाँको सक्रिय श्रम शक्तिको पलायन, सामाजिक तथा सांस्कृतिक विचलन, राष्ट्रभक्तिमा कमी, स्वदेशी सरकारप्रति अविश्वास, स्थानीय स्रोत साधनको परिचालनमा कमी, आन्तरिक कृषि तथा औद्योगिक उत्पादनमा ह्रास, निरन्तर मूल्यवृद्धि,उपभोगमुखी तथा विलासमुखी जीवन शैलीमा बढ्दो आकर्षण, पारपाचुके र पारिवारिक विछोड आदि विप्रेषणका नकारात्मक प्रभावहरू हुन् । यति मात्र होइन, वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये प्रतिवर्ष सरदर ८ सय मृतकका शरीर नेपाल भित्रिन्छन् भने कतिपय व्यक्तिहरू अशक्त भएर स्वदेश फर्कन्छन् । फलतः नेपालीहरूले थप पीडा सहनुपरेको छ ।

नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार नेपालमा विप्रेषण प्राप्त गरिरहेका मध्ये ८० दशमलव ८ प्रतिशतलाई अन्य स्रोतबाट घर खर्च धान्न नपुग्ने हुनाले अधिकांश घर खर्चका लागि विप्रेषण आयमा भर पर्नुपर्छ । यसैगरी, १८ दशमलव ८ प्रतिशत घर परिवारले उपभोग खर्चका लागि पूर्ण रूपमा विप्रेषण आयमा भर पर्नुपर्छ ।

हालसम्म प्राप्त भएको विप्रेषण आयमध्ये २३ दशमलव ९ प्रतिशत दैनिक उपभोगमा, २५ दशमलव ३ प्रतिशत ऋण तिर्न, ९ दशमलव ७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३ दशमलव ५ प्रतिशत सामाजिक कार्यमा, ३ प्रतिशत घरायसी सम्पत्ति खरिद गर्न, १ प्रतिशत व्यापार व्यवसायमा र ५ दशमलव ५ प्रतिशत अन्य काममा खर्च भएको कुरा उक्त अध्ययनबाट प्रस्ट भएको छ । यी तथ्यांकहरूबाट यो कुरा बोध हुन्छ कि, यहाँ भित्रिने विप्रेषणको ठूलो अंश दैनिक उपभोग र बाँकी गैरउत्पादनशील क्षेत्रमा खर्च गरिन्छ ।

विप्रेषणको सम्बन्धमा निकै चर्चा तथा बहसहरू भए तापनि यसलाई हालसम्म उत्पादनशील तथा दीगो विकासका निम्ति प्रयोग गर्न सकिएको छैन । आगामी दिनहरूमा पनि यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसकिएमा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्छ । यसैले, समयमै केही उपाय अपनाउन आवश्यक छ ।

प्रथमतः हालसम्म उपभोग तथा गैरउत्पादन क्षेत्रमा भइरहेको विप्रेषणको बढ्दो उपयोगलाई न्यून गर्न र उत्पादनशील उपयोगलाई प्रवर्धन गर्न नागरिक चेतना स्तर बढाउनुपर्ने देखिन्छ । यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन आवश्यक छ । यहाँको धेरैजसो ग्रामीण क्षेत्रमा विप्रेषण आय प्रचुर मात्रामा भित्रिने गरेकाले निकासी जन्य घरेलु तथा साना उद्योगहरूमा यस्तो आय उपयोग गर्न जोड दिनुपर्छ । विदेशमा रोजगारीका लागि गएका व्यक्तिहरूको परिवारका सदस्यहरूलाई व्यावसायिक कृषि एवं पशुपालनलगायत घरेलु उद्यम तथा सेवा व्यवसाय जस्ता व्यावसायिक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ ।

विप्रेषण आयलाई यहाँको सर्वतोमुखी विकासमा परिचालन गर्न नेपाल राष्ट्र बैंकले वेलावेलामा जारी गर्दै आएको वैदेशिक रोजगार बचतपत्रको प्रभावकारिता अभिवृद्धि गरी लक्षित वर्गलाई आकर्षण गर्न जरुरी छ । यसो गर्न सकेमा निःसन्देह पनि वैदेशिक रोजगार बचतपत्र यहाँको पूर्वाधार निर्माणका लागि आवश्यक रकम जुटाउन भरपर्दाे माध्यम बन्न सक्छ । यति मात्र होइन, ठूला पूर्वाधार तथा ऊर्जासम्बन्धी आयोजनाहरूको सञ्चालनका लागि ऋणपत्र उपलब्ध गराउन सके वैदेशिक रोजगारीबाट फर्किएका र फर्कने व्यक्तिहरूका लागि दीर्घकालीन आयको स्रोत पनि हुन सक्छ ।

नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार विप्रेषण आयको बचतलाई वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा घरमूलीको बैकिङ बानीले पनि निकै प्रभाव पार्ने कुरा थाहा भएको छ । बैंक खाता खोलेर वैदेशिक रोजगारीमा गएका व्यक्ति वा घरमूलीले बैंक खाता नखोलेका व्यक्तिहरूको तुलनामा बढी रकम बचत गर्ने कुरा उक्त अध्ययनबाट प्रस्ट भएको छ ।

आजसम्म पनि सम्पूर्ण जनसंख्याको ४० प्रतिशत मात्र बैंकिङ सेवामा आबद्ध भएकाले अझ पनि धेरै ठाउँमा र खास गरेर दुर्गम क्षेत्रमा बैकिङ सेवा पुग्न नसकेको कुरा सर्वविदितै छ । वास्तवमा बैकिङ सेवाको पहुँच अभिवृद्धि गर्न वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू तथा अन्यलाई पनि बैंक खाता खोल्न प्रोत्साहन गर्न आवश्यक छ । यो बाहेक देशभित्र निर्माण गरिने जलविद्युत् आयोजना-परियोजना तथा उद्योगहरूको प्राथमिक सेयर निष्कासनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई एक निश्चित प्रतिशत छुट्याउने व्यवस्था गर्नसके त्यस्ता आयोजना÷परियोजना र उद्योगहरू स्थापना एवं सञ्चालन गर्न ठूलो सघाउ हुन सक्छ ।

नेपालमा प्राप्त भइरहेको विप्रेषण आयको धेरै अंश अनुत्पादनशील क्षेत्रमा प्रयोग गर्नु न्यून आय भएका व्यक्तिहरूको बाध्यता हो । वास्तवमा यस्ता व्यक्तिहरूको घर खर्च टार्न विप्रेषण आयले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । वैदेशिक रोजगारीमा जाने केही व्यक्तिहरूले साहुसँग लिएको चर्काे व्याजसहितको ऋण र सावाँ ब्याज भुक्तानी गर्नुपर्ने बाध्यताका कारण विप्रेषण आयको झण्डै एक–चौथाइ अंश ऋण तिर्न खर्च भएको देखिन्छ । यसैले, एकातर्फ विप्रेषण आय प्राप्ति गर्ने घर परिवारको खर्च गर्ने शैलीमा केही परिवर्तन गर्न आवश्यक छ भने अर्काेतर्फ वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ऋण दिने व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । यसका लागि सम्बन्धित क्षेत्रबाट सचेतना कार्यक्रमहरू सञ्चालन गर्न नितान्त आवश्यक छ ।

विप्रेषणले अर्थतन्त्रमा केही योगदान प्रदान गरे पनि यो दीगो रहन सक्दैन । त्यसैले, नेपालजस्तो अतिकम विकसित देशमा यो नै अन्तिम रोजगारीको रूपमा विद्यमा नहुनु राम्रो संकेत होइन । वास्तवमा यहाँको युवा शक्तिलाई मानव पुँजीको रूपमा स्वीकार गर्न नसक्नु र विप्रेषणबाट भित्रेको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नु दुःखको कुरा हो ।

त्यसैले, यहाँको सरकार तथा नियामक निकायले वैदेशिक रोजगारीलाई व्यवस्थित तथा सम्मानजनक बनाइ यसबाट प्राप्त हुने विप्रेषणको प्रभावबाट जोगाइ राख्न, कारोबारलाई व्यवस्थित गर्न लगानी योजना तथा आवश्यक ऐन कानुन बनाइ सम्बोधन, व्यवस्थापन र नियन्त्रण गर्न जरुरी छ । यति मात्र होइन, विप्रेषण रकमलाई पीडादायी एवं निर्वाहमुखी प्रवृत्तिबाट परिवर्तन गरी निकास तथा उत्पादनमुखी बनाउन नितान्त आवश्यक छ । यसो गर्न सकेमा मात्र भविष्यमा विप्रेषणबाट ठोस फाइदा हुनेछ ।

प्रतिक्रिया