नेकपाको कार्यदलमा षड्यन्त्रको आशंका

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार सुस्त भएकोमा दिनहुँ आलोचना सुनिन्छ । तर, सत्तारूढ दल सरकारमा मात्र होइन, आफ्नै पार्टीको काममा पनि धीमा छ । राजनीतिक र सांगठनिक योजना निर्माणका लागि नेकपाले कार्यतालिका बनाउने गर्छ, तर त्यसको कार्यान्वयनमा भने उदासिनता देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार सुस्त भएकोमा दिनहुँ आलोचना सुनिन्छ । तर, सत्तारूढ दल सरकारमा मात्र होइन, आफ्नै पार्टीको काममा पनि धीमा छ । राजनीतिक र सांगठनिक योजना निर्माणका लागि नेकपाले कार्यतालिका बनाउने गर्छ, तर त्यसको कार्यान्वयनमा भने उदासिनता देखिएको छ ।

कार्यतालिका अनुसार पुस २५ भित्रै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महासचिव विष्णुप्रसाद पौडेल संयोजक रहेको कार्यदलले प्रतिवेदन बुझाइसक्नु पथ्र्यो । तर, अहिलेसम्म प्रतिवेदन नै बुझाउन सकेको छैन, किन ? माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउने गरी काम भइरहेको कार्यदलका एक सदस्यले बताए पनि सो हुन नसक्ने स्थिति देखिन्छ ।

नेकपाले पार्टी एकतादेखि एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनसमेत प्रकाशन गर्न सकेको छैन । तर, कहिले ठेगान छैन । नेकपा पार्टी काममा सुस्तता किन ? यसै भन्न सकिने स्थिति नै देखिँदैन भने नेकपाका नेताहरू अहिले झनै सशंकित नै भइरहेका छन्, यस्तो किन ? अनगिन्ती प्रश्न उठेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साझा राजनीतिक प्रतिवेदनमा भनिएको थियो, ‘राजतन्त्रवादी, पश्चगमनकारी, यथास्थितिवादी र अतिवादी शक्तिहरूलाई बलियो र जनमुखी सरकारको उपस्थिति सहज लाग्ने कुरै भएन । यतिवेला उनीहरू कुनै न कुनै हिसाबले अस्थिरता सिर्जना गर्ने, सामाजिक सद्भाव खल्बल्याउने, सामुदायिक विद्वेष फैलाउने, सरकारविरुद्ध भ्रामक प्रचार गर्ने र जनताका गुनासालाई असन्तुष्टिमा र असन्तुष्टिलाई अशान्तिमा रूपान्तरित गर्न योजनाबद्ध ढंगले लागिरहेका छन् ।’

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै भने, ‘संवैधानिक व्यवस्थामा राष्ट्रपति आफैँ बोल्दैन । केही गर्दैन र कुनै प्रतिवाद गर्दैन । जुन संस्था आफैँ बोल्दैन, त्यसमाथि हमला गर्नुको अर्थ के हो ? गणतन्त्रमा राष्ट्रपतिमाथिको आक्रमण भनेको व्यक्तिमाथिको हमला होइन, गणतन्त्रमाथिकै हमला हो भन्ने हामी किन बुझिरहेका छैनौँ ? त्यस्तै, अहिले सबै सांसदहरूलाई ठग, लुच्चा, तेल चोरका रूपमा चित्रण गर्दै चालक तथा निजी सहयोगीको भत्तासमेत हसुर्ने जस्तो गरी प्रचार–प्रसार भइरहेको छ ।

जानेर होस् वा नजानेर, यसरी भएकोे सांसदमाथिको हमला व्यक्तिमाथिको हमला मात्रै होइन, प्रकारान्तरमा लोकतन्त्रमाथिको हमला हो, होस गरौँ ।’ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुटवलमा सम्बोधन गर्दै भने, ‘दायाँ कोणबाट, बायाँ कोणबाट, देशभित्रबाट, देश बाहिरबाट षड्यन्त्र भइरहेको छ । वर्ग संघर्षको नियम हो यो, पराजित भएका वर्गले आफूलाई पुनर्जीवित गर्न अझ ठूला तागत लगाएर परिवर्तन उल्टाउन खोज्छ । अहिले प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले त्यही गरिरहेको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका नेताका अभिव्यक्ति अचेल यस्तै आउन थालेका छन् । भाषण गर्दा होस् वा पार्टीको आन्तरिक बैठकमा छलफल गर्दा होस्, उनीहरूले ‘प्रतिक्रान्ति’ को खतरा औँल्याइरहेका हुन्छन् । नेकपा झण्डै दुईतिहाइ बहुमतका साथ केन्द्रीय सरकार र संसद्मा छ । ६ वटा प्रदेशमा उसकै सरकार छ । एसियाकै तेस्रो ठूलो ‘कम्युनिस्ट पार्टी’ अहिले नेपालकै कम्युनिस्ट पार्टी बनेको छ । तर, पनि पार्टी बैठकदेखि अन्य कार्यक्रममा नेकपाका नेताको किन यस्तो अभिव्यक्ति आइरहेको छ ? अनि किन उनीहरूले त्यो खतरा औँल्यारहेका छन् ?

अहिले राजावादी शक्तिहरू सक्रिय हुने सम्भावना देखेर नै उनीहरूले यस्तो आँकलन गरेका हुन् त ? धार्मिक आवरणमा पूर्वराजाको सक्रियता बढेको, राजावादी भनिएका राजनीतिक शक्तिको एकतामा पूर्व राजाले चासो देखाएको, कांग्रेसमा हिन्दू राज्यका पक्षमा हस्ताक्षर चलेको जस्ता गतिविधिलाई राजावादी, अतिवादी र विखण्डनकारी शक्तिको साँठगाँठ दावी गरेका छन् ।

यी साँठगाँठमा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल भएकाले नेता–कार्यकर्तालाई सजग गराउन शीर्ष तहका नेताको त्यस्तो प्रतिक्रिया आएको बुझाइ छ । जबकि, नेकपाको तथ्यांकमा देखिन्छ । आमनिर्वाचनमा प्राप्त मत संख्या र सिट प्रतिशत ४ हजार ४ सय ८१ छ । दुई पार्टीको जोड्दा सिट २ सय १५ र मत ५२ दशमलव ४ प्रतिशत हुन्छ । एमाले एक्लैको राष्ट्रियसभा सिट संख्या ४२ र प्रतिनिधिसभा सिट संख्या १ सय ७५ छ ।

प्रदेशसभा सिट संख्या कुल ३ सय ५० (१ मा ६६, २ मा ३२, ३ मा ८१, गण्डकीमा ३९, ५ मा ६१, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३९) छन् भने स्थानीय तहमा सिट संख्या प्रमुख तथा अध्यक्षमा ४ सय २, उपप्रमुख तथा उपाध्यक्षमा ४ सय ४२, वडा अध्यक्ष ३ हजार ६ सय ६२, महिला सदस्य ३ हजार ८ सय १२, दलित महिला सदस्य ४ हजार ७ सय १० र सदस्य ७ हजा ५ सय १४ रहेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाकै आफ्नै कमजोरीका कारण प्रतिक्रान्तिकारी शक्तिलाई फाइदा पुग्नसक्ने कुरालाई औँल्याउँदै भने, ‘हाम्रो अभियान बढ्यो, हामीमा घमण्ड आयो, गल्ती कमजोरी देख्नै छाड्यौँ, जनताका आवाज सुन्न छाड्यौँ भने सजिलै प्रतिक्रान्तिकारी शक्तिले जनतालाई प्रयोग गर्छन् र परिवर्तन उल्टिन सक्छ ।’

सरकार र सरकारको माउ पार्टी कमजोर हुँदा व्यवस्थाप्रति वितृष्णा बढ्ने र व्यवस्था विरोधीको सक्रियता बढ्ने सम्भावनालाई अस्वीकार गर्न भने सकिँदैन । ओली नेतृत्वको सरकार गठनपछिका विभिन्न घटनाक्रमले पनि धर्मको आवरणमा राजनीतिक चलखेल गर्न खोज्ने शक्तिलाई बल पुगिरहेको देखिन्छ । अहिले सरकारको उपलब्धिको ग्राफ ओरालो गतिमा छ । सरकार अलोकप्रिय बन्दै जाँदा नेकपाकै कार्यकर्ता पनि प्रतिरक्षामा उत्रन सकेका छैनन् ।

पक्षमा न संसद् न सडक कतै पनि खुलेर पक्षपोषण भइरहेको छैन । नेकपाका नेता–कार्यकर्ता उत्साहहीन मनोदशामा देखिन्छन् । नेकपा अध्यक्ष दाहालले पोखरामा पुगेर संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशितामध्ये एउटा मात्र ढालिदिने हो भने चारवटै खम्बा ढल्ने र देशमा फेरि भयानक निरंकुशताको खतरा आउने बताएका थिए ।

जेहोस, नेकपाका शीर्ष नेतादेखि कार्यकर्ता अत्तालिएका छन् भने पूर्वराजा, राप्रपा, कांग्रेसका हिन्दूत्व पक्षधर र हिन्दूवादी संघ-संस्था स्वदेश र विदेशभित्रका एउटै मोर्चामा आबद्ध भए भने एउटा बेग्लै शक्ति निर्माण हुन सक्दछ भन्ने ठम्याइरहेको छ । तर, मन लागे पनि नलागे पनि नेकपाका नेता कार्यकर्ता भन्छन्, ‘नेताप्रतिको असन्तुष्टिमा कसैले खेल्न सक्छन् तर, अहिले डराइहाल्नुपर्ने अवस्था होइन र छैन पनि ।’ नेकपामा नेता सशंकित र पार्टी काममा सुस्त गतिले ‘परिवर्तन’ उल्टन सक्ने अनुमान गरिँदै छ ।

प्रतिक्रिया