नेपाली पर्यटनको प्रगति, बेथिति र प्रचारप्रसार

हुन् त मानिसले कहिल्यै पनि नकारात्मक सोच नराख्नु रे । तर, ठ्याक्कै नकारात्मक नै नभने तापनि गलत काम कारबाहीहरू भएमा त्यसको आलोचाना गर्ने कि नगर्ने ? गलत काम भएमा वा गरेमा त्यस्तो व्यक्ति वा संस्थालाई सुधारका लागि प्रेरित गर्ने कि नगर्ने ? बहस र छलफल त हुनुप¥यो नि ।

किनभने, अझै पनि कतिपय कुराहरू सरकार, सरकारी निकायमा बसेका जिम्मेवार व्यक्तिहरू, निजी क्षेत्रका संस्थाहरू, व्यक्तिहरूले जानाजान वा अन्जानमा ससानादेखि ठुल्ठूला गलत कामहरू गरेको वा काम गर्ने क्रममा ढंग वा भनौँ विधि विधानअनुसार काम गर्न नसकेको वा नचाहेको देखिन्छ ।

फलतः पर्यटन क्षेत्रको मेरुदण्ड मानिने हवाई क्षेत्रको पनि महत्वपूर्ण एक अंग हवाई यातायातका लागि नेपालले धेरैपछि दुई ठूला जहाज (खासमा मझौला) वाइडबडी किन्ने क्रममा नेपाल वायुसेवा निगम (नेवानी) काण्ड चलेको छ । यो क्रम केही समय अघिसम्म नेपाली राजनीति र पत्रकारिता क्षेत्रमा ‘तातो आलु !’ नै भएको थियो । हाल वाइडबडी काण्डमा नेपालका ठुल्ठूला दलका ठुल्ठूला नेताहरूको संलग्नताका बारेमा पनि बहस र चर्चा चलिरहेको छ । जे भए तापनि आगामी दिनमा सकेसम्म नेपाली पर्यटन क्षेत्रले नकारात्मक टीका टिप्पणी सुन्न नपरोस्, बेथिति देख्न नपरोस् भन्ने आशा गरौँ ।

खासमा नेपाली पर्यटन उद्योगमा प्रगति हुँदै जानु र नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जानुमा विगत केही वर्षदेखि प्रचारप्रसारले ठूलो भूमिका खेलेको छ । त्यसमा स्वदेशी मिडिया र विदेशी मिडियाहरूको उत्तिकै भूमिका रहेको नकार्न सकिन्न । त्यसमा पनि विश्व प्रसिद्ध र धेरै दर्शक भएको बिबिसी, सिएनएन, डिस्कभरी च्यानललगायत अन्य देशका मिडियाहरूले नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार र नेपाल किन घुम्ने त ? भनी विभिन्न समयमा दिने जानकारी र समाचारले गर्दा र नेपालमा हाल खासै राजनीतिक अस्थिरता पनि नभएकोले नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्दो क्रममा रहेको छ ।

यसरी हेर्दा सन् २०१८ मा पहिलोपटक सबैभन्दा धेरै विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । स्मरणीय छ, सन् २०१८ मा झण्डै १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपालको पर्यटन इतिहासमा सन् २०१७ मा बल्ल नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या लगभग १० लाख (९ लाख ४० हजार २१८) पुगेको थियो । हुन् त त्यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये छिमेकी देश भारत र चीनका पर्यटक संख्याले पहिलो र दोस्रो स्थान ओगटेका छन् । भन्नुको मतलब हालसम्म यी दुई छिमेकी देशका खर्चिला पर्यटकहरू नेपालको भ्रमणमा खासै ठूलो संख्यामा आएका छैनन् ।

जे भए तापनि प्रकाशित तथ्यांकअनुसार सन् २०१८ मा नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको संख्या २ लाख ४ सय ३८ जना रहेको छ भने नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ५३ हजार ६ सय २ जना रहेको छ । त्यस्तै, सन् २०१७ मा नेपाल भ्रमण गर्ने यी दुई छिमेकी देशका पर्यटकहरूको संख्या क्रमशः १ लाख ६० हजार २ सय ६८ जना र १ लाख ४ हजार ६ सय ६४ जना रहेको थियो ।

यसरी हेर्दा के देखिन्छ भने, नेपाल सरकारको तर्फबाटै पहल गरेर उत्तरका विभिन्न नाकाहरू खासगरी कोदारी राजमार्गको तातोपानी नाका छिटो खोलेर सडक यातायातलाई सुचारु गर्ने हो भने भारतीय र चिनियाँ पर्यकको नेपाल आगमनमा बराबरी हुने देखिन्छ । अझ चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्न आउने मुख्य भूमि (मेन–ल्यान्ड) का चिनियाँ पर्यटकहरूलाई तिब्बत हुँदै नेपालको पनि भ्रमण गराउने प्याकेज बनाएर बेच्ने हो भने हालको भन्दा १५–२० प्रतिशत बढी चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गराउन सकिन्छ । तर, त्यसका लागि उत्तरी सीमा क्षेत्रका नाकाहरू भने चाँडोभन्दा चाँडो सुचारु हुनै पर्छ ।

नेपाली पर्यटनको मात्रै नभएर अधिकांश देशको समग्र पर्यटनको कुरो गर्दा पहिलो र नभई नहुने भनेको पूर्वाधारको विकास नै हो । त्यसमा पनि हाम्रो जस्तो भूगोल भएको देशमा हवाई यातायात र सडक यातायात नै यातायातका प्रमुख साधन हुन् । यसमा कुनै शंका रहेन । फेरि हामीसँग सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको कार्यक्रमको योजना पनि छँदै छ । यसका लागि हामीलाई सबैभन्दा टड्कारो हवाई यातायातको छ ।

त्यसमा पनि अन्र्तर्राष्ट्रिय हवाई यातायात प्रमुख समस्याको रूपमा रहेको छ । नेपालमा चालु रहेका सबै हवाई यातायात कम्पनीहरूमाथि युरोप महादेशका विभिन्न देशहरूको साझा संगठन युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरूलाई युरोपियन युनियन संवद्ध देशहरूमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था छ ।

हुन त जुलाई ४–११ २०१७ मा क्यानडाको मन्ट्रियल सहरमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को प्राविधिक टोली नेपाल आएर विस्तृतमा अध्ययन गरेर अबदेखि नेपाललाई ‘गम्भीर सुरक्षा चासो (एसएससी)’ बाट हटाउँदा हुन्छ भनी आफ्नो मुख्यालयलाई प्रतिवेदन बुझाएको थियो । सो अनुसार ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को नेपालमाथिको हवाई प्रतिबन्ध हटाइसकेको छ ।

तर, समय सधैँ कहाँ एकैनासको हुन्छ र ? फलतः गत सेप्टेम्बर महिनामा आउने भनिएको युरोपियन आयोगअन्तर्गत रहेको, एयर सेफ्टी कमिटीको प्राविधिक टोली नेपाली आकाशबारे अध्ययन गर्न आएन । बरु पुनः सन् २०१९ मा पनि युरोपियन युनियनले नेपाली आकाशमाथि लगाएको प्रतिबन्ध जारी नै रहेको भनेर नेपाललाई सूचित ग¥यो । धन्य आपूmलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस एयरले भने अपवादको रूपमा नेपालमा सीधा हवाई उडान गर्दै आएको छ ।

नेपालमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि हाल केही स्तरोन्नति गरिएको छ भने, सन् २०१९ को जुलाईसम्ममा चालु गर्न सकिने गरी भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बनी सक्ने गरी काम हुँदै छ । त्यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सकेसम्म सन् २०२० मा बनी सक्ने गरी काम गराइंदै छ । त्यसैले, गतवर्ष (सन् २०१८) नेपालकै पर्यटन इतिहासमा जसरी लगभग १२ लाख विदेशी पर्यटकहरू नेपालको भ्रमण गर्न आए, त्यसरी नै सन् २०२० मा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या २० लाख पुग्ला कि त ? भनी आशा गर्ने ठाउँ भने बाँकी नै छ ।

त्यसो त पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सानो खाले (अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरूको तुलना गर्दा) एक सय ८० सिटे विमानहरूलाई मात्रै थेग्न सक्ने क्षमताको बन्दै छ । तापनि, भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाली पर्यटन उद्योगमा साँच्चै कायापलट हुने÷आउने आशा गर्न सकिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने कुरोका साथसाथै हामीले गुणस्तरीय पर्यटनलाई पनि ध्यान दिन भने छाड्नु हुँदैन ।

सन् २०१८ मा नेपाल भ्रमणमा आएका सबैभन्दा धेरै संख्या (५ उत्कृष्ट देशहरू) मा भारत (इन्डिया–२,००,४३८), चीन (चाइना–१,५३,६०६) संयुक्त राज्य अमेरिका (युएसए ९१,७८५), श्रीलंका (सिलोन–७०,६१०) संयुक्त अधिराज्य–बेलायत (युके–ब्रिटेन–६३,०८६) रहेको छ ।

प्रतिक्रिया