प्रसंग स्वस्थानी, माघस्नान र शालिनदीको

कलियुगमा सदा यज्ञ र हवनादि कार्य सम्भव हुँदैन । पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । स्वस्थानी श्रवण, माघस्नान एवं शालिनदीलगायत विभिन्न क्षेत्रहरूमा गरिने पुण्यकर्मले सत्य, त्रेता र द्वापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने गर्छ । मानव जीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो र ज्ञानको प्रयोगको समय द्वापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो ।

स्नानले तनशुद्धि, दानले धन शुद्धि र ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, वस्त्र, सुन र धान्यादि वस्तुहरूको दानले तन, मन र धन सबै पवित्र बन्छ । वैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कात्तिकमा तप र पूजाको अधिक महत्व छ ।

माघमा भने यी सबै पुण्य केबल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाका लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरूले गर्जन गरेका छन् ।

माघस्नानबारे एउटा प्राचीन कथा यस्तो छ ।

एकपटक पृथ्वीमा लामो समयसम्म वर्षा भएन । सबैले धेरै कष्ट पाए । सम्पूर्ण, वन, वनस्पतिहरू उजाड हुन थाले । फलपूmल, अनाज उब्जनी नहुँदा सबै प्राणीहरूलाई धेरै ठूलो समस्या पर्यो । अकाल मृत्यु हुनथाल्यो । समस्त भूमण्डलमाा हाहाकार मच्चियो । नर्मदा नदीतटमा एउटा आश्रम बनाइ आफ्ना शिष्यहरूका साथ महर्षि भृगु बस्थे । आश्रम बस्न योग्य नहुने भयो । कैलाशगिरिको पश्चिम मणिकुट नामक पर्वततिर महर्षि भृगु बस्न थाले ।

हिमालय पर्वतको सो क्षेत्र सुन, हीरा, मणि र जुहारात आदि रत्नले पूर्ण थियो । अनिकालको वेला यही आश्रम बनाउनु उनले उत्तम ठाने । धेरै समय यसै आश्रममा रहँदा एकपटक उनीसमक्ष त्यसै पर्वतबाट झरेर विद्याधर तथा उनकी पत्नी भेट्न आए । दुई दम्पत्ती अत्यन्त मलीन र दुःखी देखिए । महर्षि भृगुले प्रश्न गरे तिमी जोडी किन यति दुःखी छौ ? विद्याधरले जवाफ दिए, हाम्रो पुण्यको प्रभावले देवलोक पुग्यौँ । यी मेरी पत्नी रूप र लावण्यले धपक्क बलेकी छिन् तर कुन दुष्कर्मको फलले हो मेरो रूप भने बाघको जस्तो नराम्रो छ ।

यिनको तुलनामा म नराम्रो छु र धेरै दुःखी छु । मलाई शान्ति छैन । मनमनले म सदा जलिरहेको छु । कसो गरूँ ? महाराज भृगु त्रिकालदर्शी थिए, विद्याधरले ‘ललाटे लिखितम्’ हेर्दैै भन्न लागे, ‘सुन विद्याधर नराम्रो कामको परिणाम सानै किन नहोस्, नराम्रै हुन्छ, तिमीले पूर्वजन्ममा माघ महिनाको एकादशीको व्रत गरेछौ, भोलिपल्ट द्वादशीको दिन शरीरमा तेलको सेवन गरेछौ, एकादशीको व्रत गरेर द्वादशीमा तेल सेवन गर्नाले अघि इलानन्दन पुरुरवाको हालत पनि यस्तै भएको थियो ।’

उनले हिमालयबाट निस्केकी गंगामा स्नान गरेर त्यो दोष निवारण गरेका थिए । तिमी पनि त्यसै गर । विद्याधरले यो कुरा सुन्नासाथ सम्पूर्ण इन्द्रीयलाई निग्रह गरेर, कुसासनमा बसेर, हृदयमा भगवान्को ध्यान गरेर, श्रीविग्रहयुक्त नीलमेघ समान श्यामवर्ण, कमलको समान नेत्र, दुई हालतमा शंख, चक्र र हातमा गदा र पद्यले युक्त, पिताम्वरधारी, कौस्तुभमणिले युक्त, गलामा वनमालाधारी भगवान् विष्णुको स्वरूपलाई सम्झेर, प्राणवायुलाई खिचेर, नाकको अगाडि भागमा दृष्टि दिएर, कुण्डलिनी शक्तिलाई उठाएर सुषुम्ना नाडीमा प्रवेश गराएर एक महिनासम्म निराहार कठिन तपस्या गरे ।

थोरै दिनमै ईश्वर प्रसन्न भएर सात जन्मको आराधनाको अभिलेखलाई समेत हेरेर स्वयं भगवान् विष्णुले प्रत्यक्ष दर्शन दिए । त्यसदिन संयोगले माघ शुक्लपक्षको द्वादशी परेछ । सूर्य मकर राशिमा रहेछन् । विष्णुले शंखजल दिनासाथ महाराजा पुरुरवाले सुन्दर शरीर पाएछन् । रूप मनोहर भएकाले स्वर्गकी अप्सरा आकर्षित भई उर्वशीले उनीसँग बिहे गरिन् । विद्याधर तिमी पनि त्यसै गर । माघ महिना नजिक आइरहेछ । माघको स्नानले हेर सम्पूर्ण पाप नष्ट हुन्छ ।

पुष्कर, काशी, प्रया र गंगासागरमा १० वर्षसम्म गरेको पुण्य माघ महिनाको तीन दिनको स्नानले प्राप्त हुन्छ । अक्षय पुण्य चाहनेले त मकर राशिमा सूर्य रहेको यो माघ महिनाभरि नै प्रातः स्नान गर्नुपर्छ । यसबाट आयु, आरोग्य, रूप, सौभाग्य र उत्तमगुणसमेत प्राप्त हुन्छ । नरकको यातना र दरिद्रताको भय नचाहनेले यो व्रतको महिमालाई स्वीकार गर्नैपर्छ । कामधेनुले ईच्छा पूरा गरे भैmँ माघ स्नानले आयु र धन दुवै वृद्धि हुन्छ । सत्ययुगमा तपस्याको, त्रेतायुगमा ज्ञानको, द्वापरमा पूजाको महत्व भए झै कलिमा दानको महत्व छ र सबै युगको कर्मको महत्व माघ स्नानले बढी छ ।

विद्याधरले माघस्नान गरे देवमुख प्राप्त गरेर आनन्दपूर्वक मणिपर्वतमा रहे । उता महर्षि भृगु सो आश्रमतर्पm फर्के । माघमासमा शालिनदीको स्नान विशेषरूपमा पुण्यदायी मानिन्छ । काठमाडौंको पूर्वउत्तरतर्पm रहेको साँखुक्षेत्रमा पर्ने शालिनदीमा अघि चन्द्रावतीले स्नान गरेर आपूmले सुखभोग प्राप्त गरेकी थिइन् । यहाँ चन्द्रावतीको शिला अभैm छ । चन्द्रावती बस्ने सानो कुटी (छाप्रो) अझै देखिन्छ । शालिनदी क्षेत्रमा हरिहर, माधवनारायणका शिला एवं मूर्तिहरू रहेका छन् ।

गरुड, हनुमान, सत्यनारायण आदि र ठूला, साना सत्तल र पाटीहरू पनि छन् । त्यहाँ श्री स्वस्थानीको विशेष आराधनाका साथै पूजा हुने गर्छ । व्रतालुहरू धेरै हुन्छन् । सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चारहात भएकी सम्पूर्ण भक्तहरूको इच्छा पूर्ति गर्ने देवीका रूपमा श्री स्वस्थानीको व्रत उपासना गरिन्छ ।

स्वस्थानीको उपासनाको मूल उद्देश्य सबैले आआफ्ना स्थानमा बसेर आआफ्नो कर्तव्य गर्नुपर्ने कुराको संकेत पनि हो । कर्तव्यच्युत हुँदा दुःख, कष्ट हुने कुरा पनि स्वस्थानी व्रतकथाका पात्रहरूबाटै हामीलाई जानकारी दिन प्रयास गरिएको छ ।

साँखु शालिनदीको मूल प्रवेशद्वार हो । अघि शंखदेव राजाले राज्य गरेका, शंखपुर पछि शंखरापुर भएको र पछि अपभ्रशं हुँदै जाँदा साँखु भएको हो भनी इतिहासविद्हरूले बताएका छन् । साँखुलाई लावण्यदेश र श्री स्वस्थानीकै प्रसंग अनुसार नवराजले राज्य गर्ने गरेको पनि बुझिन्छ । बज्रयोगिनीदेवीबाट संरक्षित साँखुक्षेत्र रमणीय छ ।

प्रतिक्रिया