मुर्रे पहिलो चरणबाटै बाहिर

एजेन्सी, मेलबर्न । संन्यासको घोषणा गरिसकेका एन्डी मुर्रे वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।
मेलबर्नमा सोमबार भएको खेलको पाँचौं सेटसम्म संघर्ष गरेता पनि ब्रिटेनका मुर्रे स्पेनका रोबर्टो बउटिस्टासँग स्तब्ध हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । चोटका कारण ३१ वर्षको उमेरमै सन्यास घोषणा गरिसकेका मुर्रेको बिदाइ पनि दुःखलाग्दो बनेको छ ।

यद्यपि, मुर्रेले विम्बल्डनबाट मात्र संन्यास लिने पनि बताएका छन् । विश्वको पूर्व नम्बर एक खेलाडी मुर्रे मेलबर्न एरिनामा विश्वको २२औं वरीयताका स्पेनिस स्टार रोबर्टोसँग ३–२ को सेटमा स्तब्ध भए । सुरुआती दुई सेट ६–४ र ६–४ ले गुमाएका मुर्रेले तेस्रो सेट ६–७ (५) र चौथो सेट ६–७ (४) ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट पुनरागमन गरेका थिए ।

तर, पाँचौं तथा निर्णायक सेट ६–२ ले रोबर्टोलाई सुम्पिएपछि मुर्रे वर्षको पहिलो ग्रान्ड स्लामको पहिलो राउन्डबाटै बाहिरिएका हुन् । मुर्रेमाथि ४ घन्टा ९ मिनेटमा जित निकालेका रोबर्टोले अर्को चरणमा घरेलु खेलाडी जोन मिलमनसँग प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल मुर्रेका समर्थकले भरिएको थियो ।

तर, मुर्रेको बिर्सनलायक हारसँगै समर्थक निरास हुँदै कोर्टबाट बाहिरिएका थिए । उनी पछिल्लो १० वर्षमा पहिलोपटक पहिलो राउन्डबाटै बाहिरिएका हुन् । तीनपटक ग्रान्ड स्लाम विजेता मुर्रेले लगातार चोटको सामना गरेपछि गत हप्ता मात्र संन्यास लिने घोषणा गरेका थिए ।

मुर्रेले सन् २०१३ र ०१६ को विम्बल्डन र ०१६ को युएस ओपनको उपाधि जितेकी छन् । उनले ०१२ को लन्डन ओलम्पिक र ०१६ को रियो ओलम्पिकमा समेत स्वर्ण पदक जितेका छन् । मुर्रेले यो नै अन्तिम खेल भएको खण्डमा आफ्ना लागि निकै खराब बहिर्गमन हुने बताएका छन् ।
मुर्रे आफ्नो उपचार राम्रो भएमा यस वर्षको विम्बल्डनसम्म खेल्न सक्ने बताइसकेका छन् । ‘मैलै खेल जोगाउने सक्दो प्रयास गरे । तर, पर्याप्त भएन,’ मुर्रेले भने,‘हामी कोर्टमा फेरि भेट्न पनि सक्नेछौं । खेलमा फर्किन हरेक प्रयास गर्नेछु । तर त्यसका लागि मेरो उपचार पनि सफल हुनुपर्नेछ ।’

प्रतिक्रिया