सबैलाई जोड्ने पर्व माघे संक्रान्ति

माघे संक्रान्ति पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्षको रूपमा मान्ने गर्छन् । आजको दिनलाई क्षेत्री, बाहुन, राई, लिम्बू, नेवार, गुरुङ र मगर आदि सबैले आआफ्ना तरिकाले मनाउने गरेको पाइन्छ । काठमाडौंमा यस पर्वलाई ‘घिउचाकु सँल्हु’ भनिन्छ खासगरी नेवारहरूले । आजको दिन चाकुमा तिल मिसाएर लड्डु बनाइ खाने र दान दिने गरिन्छ

विविध भाषाभाषी भएको हाम्रो जस्तो मुलुकमा हरदिन कुनै न कुनै चाडपर्वहरू पर्ने गर्दछन् । आज माघ १ गते । आजको दिनलाई हामीकहाँ माघे संक्रान्तिको रूपमा मनाउने प्रचलन रहिआएको छ । आजको दिनमा कतिपय स्थानहरूमा ठूलो मेला, हाटबजार लाग्ने गर्छ । माघे संक्रान्तिसँग जोडिएका खानेकुराहरूमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सेल र फुलौरा आदि पर्दछन् । आजको दिनलाई मकर संक्रान्ति तथा माघी आदि नामले पनि चिनिन्छ ।

ज्योतिष पण्डित भरतमणि मरासिनीका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । त्यस्तै, पशुपतिस्थित सूर्यघाट मेलमिलापका केशवप्रसाद चौलागाइँ भन्नुहुन्छ ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जान्छ ।

सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर संक्रान्ति रहन गएको र सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ अनि उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्व रहेको चौलागाईं बताउँछन् ।

आजको दिन हाम्रो देशभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुलजस्ता खाद्यवस्तु खाएर मनाइन्छ । आजको दिनमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

माघे संक्रान्तिलाई विभिन्न भेग र विभिन्न जाति समुदायले विभिन्न ढंगले मनाउने प्रचलन छ । माघे संक्रान्ति पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्षको रूपमा मान्ने गर्छन् । आजको दिनलाई क्षेत्री, बाहुन, राई, लिम्बू, नेवार, गुरुङ र मगर आदि सबैले आआफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।

काठमाडौंमा यस पर्वलाई ‘घिउचाकु सँल्हु’ भन्छन् खासगरी नेवारहरूले । आजको दिन चाकुमा तिल मिसाएर लड्डु बनाइ खाने र दान दिने गरिन्छ । नेवार समुदायमा यस दिन घर सरसफाई गरी देवीदेवताको पूजा गर्ने परम्परा छ । यो पर्वमा तेल घस्ने प्रचलन पनि छ ।

घरपरिवारको ज्येष्ठ सदस्यले परिवारका सबै सदस्यलाई कपालमा तोरीको तेल लगाइदिने प्रचलन रहेको बताइन्छ । त्यस्तै, परिवारका सदस्यहरूले एकले अर्कालाई जिउमा तेल लागाइदिने चलन पनि रहेको रामकृष्ण खड्गी बताउँछन् ।

आजै भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा हुने गर्दछ । तिलमाधव नारायणको मन्दिरमा चढाइएको घिउ सन्तान नभएका महिलाले नुहाइधुवाइ गरी शुद्ध भई खाएमा सन्तान प्राप्ति हुने विश्वास रहिआएको त्यहाँका पुजारी बताउँछन् । अर्को उपत्यका नजिकैको पनौतीमा मकर मेला लाग्छ ।

नुवाकोट जिल्लामा यस दिनलाई विशेषरूपमा मनाउने गरिन्छ । नुवाकोटका विभिन्न ठाउँहरूमा गोरु जुधाएर आजको दिन मनोरञ्जन लिने गरिन्छ । नुवाकोटको बेत्रावती र तारुकाको गोरु जुधाइ प्रसिद्ध रहेको छ । आजको दिन गोरु जुधाइ हेर्न ठूलो सर्वसाधारणको भिड लाग्ने गर्दछ ती ठाउँहरूमा ।

पूर्व इलामको माइबेनी, झापाको कन्काई नदी, सुनसरीको बराहक्षेत्रमा आज विशेष मेला लाग्ने गर्दछ भने मैथिली समुदायमा आजको दिनलाई तिला संक्रान्तिको रूपमा मनाउने गरिन्छ । तराईमा यस दिन खिचडी, तिल र लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ ।

पश्चिम नेपालको रिडीमा आज विशेष मेला लाग्ने गर्दछ । त्यस्तै, देवघाटमा पनि आजको दिनमा स्नान गर्नेहरूको भिड लाग्ने गर्दछ । नेपालमा रहेका थारू समुदायको आजको दिन सबैभन्दा ठूलो पर्व हो । आजको दिनलाई माघी पर्वका रूपमा मनाइन्छ ।

थारूहरूले छोरीचेलीलाई उपहार दिने, सम्बन्धलाई प्रगाढ बनाउने दिन, नयाँ आर्थिक वर्ष सुरु हुने दिन, घरसल्लाह गर्ने पर्व, अगुवा चुन्ने दिन भएको रंग पत्रकार दिपेशराज थारू बताउँछन् । उनका अनुसार नयाँ वर्षको रूपमा मनाउने थारू समुदायको माघी पर्वमा थारू समुदायबीच भाइचारा र आत्मीयता प्रगाढ गराउने आत्मीय पर्वका रूपमा थारू समुदायले मनाउँदै आएका छन् ।

‘माघीमा रमाइलो र खुसीका कुरा मात्र साटासाट हुँदैनन्, एक आपसमा दुःख र वेदनालाई गीतमार्फत प्रस्तुत गर्ने गरिन्छ’, उनले भने । यसदिन थारू समुदायको मात्र नभएर अन्य समुदायका व्यक्तिहरू पनि काठमाडौंको टुँडिखेलमा जम्मा भई थारू समुदायको खानाको परिकार, पहिरन लगाउनेको संख्या पनि हरेक वर्ष उल्लेखनीय देखिन्छ । थारू समुदायका ठाउँ अनुसारका गरगहना र पोसाक फरक–फरक हुने गर्दछन् ।

आजको दिन मगर जातिले पनि विशेष पर्वको रूपमा धुमधामसँग मनाउने गर्दछन् । मगरहरूको यो राष्ट्रिय पर्वको रूपमा घोषणा पनि भइसकेको छ । आजको दिनलाई पूर्व र पश्चिम मगरहरू भिन्न विशेषता र प्रकृतिमा मनाउने गरेको पाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ ।

देशको विविधतासँगै धेरै समुदाय जातजातिले आआफ्नै तरिकाले आजको दिनलाई मनाउने गर्दछन् । यस्ता चाडपर्वहरूले हामीलाई एकै सूत्रमा बाँध्ने काम गरेका छन् । देशको राजनीतिले हामीलाई अलग–अलग राख्न खोजे पनि हाम्रा पर्व र संस्कृतिहरूले हामीलाई जोड्ने गर्दछन् । यही नै हाम्रो विशेषता हो । यसलाई कामय राख्न सक्नु नै वर्तमान युवा पुस्ताको चुनौती हो ।

हाम्रो भाषा, साहित्य, कला र संस्कृति भनेको हाम्रो कुन काल खण्ड कस्तो थियो भनेर पहिचान गर्ने आधार पनि त हो । त्यसैले, हामी सबैलाई जोड्ने यस्ता चाड पर्वहरूलाई हामी सबैले मिलेर मनाऊँ र संस्कृतिमार्फत राष्ट्रिय एकतामा जोड दिऊँ ।

प्रतिक्रिया