जातिय विभेद छैन अभियानको सहभोज कार्यक्रम

काठमाडौँ । पृथ्वी जयन्तीको उपलक्ष्यमा ‘सनातन धर्ममा जातिय विभेद छैन’ अभियानले काठमाडौँको जोरपाटीको बेशीगाउँस्थित गणेशचोकमा सहभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा हिन्दू यूवा संयोजन नेपाल, त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र र सगोरा नेपालका सदस्यहरू पनि उपस्थिति रहेको थियो ।

देशको राजधानी काठमाडौँ जस्तो ठाउँमा अहिले पनि जातिय विभेद कायम रहेको बताउँदै अभियानका प्रमुख अभियन्ता तथा नेपाली कांग्रेसका सदस्य राजु सुनारले भने, ‘हुम्ला जुम्ला जस्ता दुरदराजका गाउँवस्तीमा झन के हालत छ होला ?’

उनले जातिय विभेदको अन्त्यमा लागि बोक्रे व्यवहार भन्दा पनि चेतनास्तरमा सुधार हुनुपर्ने बताए । पञ्चायत कालमा राजा महेन्द्रले हिरालाल विश्वकर्माको नेतृत्वमा सहभोज आयोजना गरेको स्मरण गर्दै उनले भने, ‘हिरालाल विश्वकर्माले पकाएको खाना सबैभन्दा पहिला राजा महेन्द्रको थालमा पस्केर अन्य मन्त्रीहरूको थालमा पस्केका थिए ।’

‘पञ्चायतमा राजा महेन्द्रले हिरालाल विश्वकर्माले पकाएको खाना खाएर जातिय विभेद अन्त्यको सन्देश दिन खोजेका थिए । तर, अहिले फेरि हामीले पनि सहभोज आयोजना गरेर जातिय विभेद विरूध्द अभियान सञ्चालन गर्नुपरेको छ ।’ उनले भने, ‘समाज अँझै फेरिएको छैन भन्ने यसैबाट थाहा हुन्छ ।’

त्यसैगरी अभियानका अर्का अभियन्ता अभिषेक जोशीले नेपाल एकीकरणमा सबै जातजातिको सहभागीता रहेको कारण पृथ्वीजयन्तीलाई सबैले मनाउनुपर्ने बताए । उनले भने, ‘२२ वर्षे ठिटो उमेरका राजा पृथ्वीनारायण शाहलाई विशे नगर्चीले राज्य एकीकरणको कार्य कसरी सफल पार्ने भनेर उपाय सुझाएका थिए ।’

नेकपाका प्रदेश नं।३ का प्रदेशसभाका सभासद् रामेश्वर फुँयालले विगतको तुलनामा जातिय विभेद कम हुँदै गएको बताए भने धार्मिक तथा सामाजिक अभियन्ता मन्दिरा दाहालले घर, मन्दिर आदि स्थलमा रहेको जातिय विभेद हटाउन पनि पहल गरिनुपर्ने बताईन् ।

त्यसैगरी, धार्मिक तथा सामाजिक अभियन्ता अर्जुन राना मगरले दलित जातिको सम्बन्ध देशको अर्थव्यवस्थासँग रहेका उल्लेख गर्दै राज्यले उनीहरूको शिल्पलाई आधुनिकीकरण गरिनुपर्ने बताए । यसैगरी कार्यक्रममा वडाध्यक्ष मनोज ढुङ्गाना, लक्ष्मी मिजार, रञ्जीत बसेल, योगराज पोखरेल लगायत वक्ताले आ–आफ्ना विचार व्यक्त गरेका थिए।

प्रतिक्रिया