काठमाडौं । १८ माघबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक समारोहबीच रिलिज गरिएको ट्रेलरमा बेरोजगार युवाको संघर्ष, उसको प्रेममा आरोह, अवरोहसँगै वियोग र प्रेम असफल तुल्याउनेहरूसँगको बदलालाई देखाइएको छ ।
ओएसआर डिजिटलले रिलिज गरेको ३ मिनट १७ सेकेन्ड लामो ट्रेलरमा एक्सन र प्रेमलाई प्रस्तुत गरिएको छ । दक्षिण भारतीय चलचित्रको एक्सनबाट प्रभावित जस्तो देखिने ट्रेलरमा ‘रणवीर’ का मुख्य कलाकार सुशिल सिटौला र प्रशान्त ताम्राकारबीचको द्वन्द्वलाई देखाइएको छ । द्वन्द्वको कारकका रुपमा अभिनेत्रीद्वय शुभेच्छा खड्का र सुपुष्पा भट्ट बनेका छन् । चलचित्रमा हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, रवि गिरीको लगायतको भूमिका छ । गोविन्द सिंह भण्डारीले निर्देशन गरेका यस चलचित्रमा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ ।
दक्षिण भारतीय चलचित्रमा केही वर्ष सहनिर्देशकका रूपमा काम गरेका भण्डारीले प्रेम, वियोग र एक्सनलाई रणवीरमा प्रयोग गरेका छन् । निर्देशक भण्डारीले अहिलेको दर्शकको स्वाद अनुसारको चलचित्र बनाएको दाबी गरे । निर्माताद्वय गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरलाई राम्रो सिनेमा बनाउन कुनै कन्जुस्याइँ नगरेको जिकिर गरे । चलचित्रको कथा अनुसार आफूलाई प्रस्तुत गर्न ६ महिनाको शारीरिक सुगठन अभ्यासपछि १५ केजी तौल बढाएर ‘रणवीर’ मा उत्रिएको अभिनेता सुशिलले बताए ।
एक्सन प्रधान चलचित्रमध्ये आफूले सबैभन्दा बढी मिहिनेत गरेको ‘रणवीर’ भएको खलअभिनेता प्रशान्त ताम्राकारले बताए । महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछाने र सुरेन्द्र बसेलको नृत्य निर्देशन छ । चलचित्रको ट्रेलर साहिल खानले तयार गरेका हुन् ।
प्रतिक्रिया