गणतन्त्र कि सुधारिएको पञ्चायत !

निश्चल नकर्मीसहित ४९ जना माओवादी भैरवनाथ गणबाट शिवपुरी जंगलमा लगिएका उनीहरू अहिलेसम्म फर्केका छैनन् । निर्वाचित भएको एक वर्षपछि गणतन्त्रमा नै संसद्को लोगो लगाएर एकजना सांसद् जेल जान्छन्, यसो भनौँ संसद्को लोगो जेल चलान गरिन्छ र एक जना मेयर जेलबाट छुटेको खुसीमा नगरपालिका भित्रका विद्यालयमा सार्वजनिक बिदा गरिन्छ र ती मेयर हेलिकोप्टर चार्टर गरेर जिल्ला सवारी गर्छन् यो पनि गणतन्त्रको सफलता मानिन्छ

नेपालमा गणतन्त्र स्थापना भएको पनि १० वर्ष बित्यो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएको २९ वर्षपछि गणतन्त्र पनि स्थापना भयो । प्रजातन्त्र स्थापना भएको ३९ वर्षपछि नेपालमै प्रजातन्त्रको पुनस्र्थापना भएको हो । यस बीचमा देशमा थुपै्र राजनीतिक संकट पैदा भए ।

नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी मिलेर ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गरेका हुन् । बधाई त प्रजातन्त्र पुनस्र्थापना गर्ने राजनीतिक दल र त्यसमा आबद्ध राजनीतिक नेताहरूलाई पनि दिनुपर्ने हो । तर, जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्र सुधारिएको पञ्चायत नहोस् भनेर गणतन्त्रलाई नै बधाई दिन मन लाग्यो । बधाई छ गणतन्त्र । प्रजातन्त्र स्थापना भएको ३९ वर्षपछि अर्थात् ०६५ जेठ १५ गते बसेको संविधान सभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्याे ।

त्यसपछि गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिको रूपमा डा. रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा चुनिए । लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुभन्दा पहिले नै २ सय ३७ वर्ष पुरानो राजतन्त्रका अन्तिम राजा बनेर तत्कालीन राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छाडेर जनताको नासो जनतालाई सुम्पेका थिए । जनताको नासो जनतालाई भन्दा राष्ट्रपतीय पद्धतिलाई सुम्पेकोमा राजा ज्ञानेन्द्रलाई पनि बधाई छ । त्यही जनताको नासो राष्ट्रपतिलाई सुम्पेका कारण हेलिकोप्टर चढेर कृषकले लगाएको खेतीबालीको अनुगमन गर्न राष्ट्रपतिज्यू जिल्लामा सवारी छन् ।

हुन त देशका अन्तिम राजाले पनि आफ्नो अन्तिम कार्यकालमा माओवादीहरूलाई गर्नुसम्म गरे । त्यसलाई साथ दिए शेरबहादुर देउवालगायत अन्य दलहरूले पनि । नेपालमा ०५९ सालतिर हो कि क्या हो निश्चल नकर्मीसहित ४९ जना माओवादी भैरवनाथ गणबाट शिवपुरी जंगलमा लगिएका उनीहरू अहिलेसम्म फर्केका छैनन् । निर्वाचित भएको एक वर्षपछि गणतन्त्रमा नै संसद्को लोगो लगाएर एकजना सांसद जेल जान्छन् यसो भनाँै संसद्को लोगो जेल चलान गरिन्छ र एक जना मेयर जेलबाट छुटेको खुसीमा नगरपालिकाभित्रका विद्यालयमा सार्वजनिक बिदा गरिन्छ र ती मेयर हेलिकोप्टर चार्टर गरेर जिल्ला सवारी गर्छन् यो पनि गणतन्त्रको सफलता मानिन्छ ।

घोटाला प्रजातन्त्रमा पनि नभएका होइनन् । देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि काण्डैकाण्डले देश बिग्रेको हो । प्रजातन्त्रमा भएका लाउडा काण्ड, सुडान काण्ड र प्रजातन्त्र पुनस्र्थापनाका लागि भनेर नेपाली कांग्रेसले गरिएको पिलेन हाइजेकभन्दा पनि गणतन्त्र आएपछि सबैभन्दा ठूलो काण्ड भनेकै वाइड बडी काण्ड देखियो हुन त केही महिना पहिले भएको सुन काण्ड पनि सानो काण्ड भने होइन । गणतन्त्र आएपछि नेपालमा कटुवाल काण्ड, पशुपति काण्ड, लोकमान काण्ड, सुशीला काण्डले राजनीतिमा तहल्का नमच्चाएको भने होइन ।

जतिसुकै काण्ड भए पनि सरकार फेरबदल हुनुभन्दा अरू केही गर्न सकिएको छैन । अहिलेको वाइड बडी काण्डले भने सरकार परिर्वतन हुने सम्भावना छैन तर मन्त्री फेरबदल हुन सक्छन् । गणतन्त्र स्थापनाका लागि गरिएको जनआन्दोलन–२ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो । जुन १९ दिनसम्म चलेको थियो । यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र सशस्त्र युद्ध गरिरहेको माओवादीसमेत सम्मिलित भएको थियो । आज राजतन्त्र हटाएको पनि लगभग १३ वर्ष हुन लाग्यो राजतन्त्र हटाएपछि पनि देशले सुख र शान्तिको सास फेर्न भने पाएको छैन राजा हटाएपछि नै १३ वर्षमा १० जना प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री केपी कामरेड वेलावेला भाषणमा भन्ने गर्दछन् यो देशमा अब भोको कोही मर्दैन तर नेपालकै संघीय राजधानी काठमाडौंमा मंसिर ३ गतेदेखि पुस १८ गतेसम्म २० जनाले चिसोका कारण ज्यान गुमाइसकेको तथ्यांक बाहिर आएको छ । समृद्धि र पर्यटनको कुरा गर्दै गर्दा मैले मेरो खल्तीमा भएको एक सय रुपैयाँको नोटतिर नजर गयो । नोटको एकापट्टि एक सिंगे गैंडा र अर्कोपट्टि सगरमाथा राखिएको रहेछ ।

पहिलेको नोटमा राजाको तस्बिर राखिएको हुन्थ्यो । नोटको तलपट्टि लुम्बिनी गौतम बुद्ध जन्मेको स्थान हो पनि लेखिएको देखेँ र केही दिन पहिले होली वाइन खाएको पनि सम्झेँ । धर्म निरपेक्ष राज्यको पर्यटन घुमाउन आर्थिक सहयोग गर्ने नोटसँगै लुम्बिनीले यो होली वाइनलाई के सम्झे कुन्नी तर गणतन्त्रका हिमायतीहरूले भने २०२० सम्म २० लाख पर्यटक भित्र्याउने उद्देश्यको सुरुआत भएको भने ।

गणतान्त्रिक सरकारले गरेका गणतान्त्रिक कामको बारेमा अध्ययन गर्दै जाँदा सेन्डिकेटदेखि सुन काण्ड र पाहुनाको स्वागतका लागि प्रधानमन्त्रीको होटेलको बासदेखि एउटा आइएनजिओको कार्यक्रममा सहआयोजकका रूपमा संसद् र सरकार हुन इतिहासकै नाालाएकी काम भयो कि भन्ने लाग्यो । शपथ र संसद्को कुरा गर्दा पञ्चायतमा पनि हिरासतमा बसेका मानिसले वारिसमार्फत उम्मेदवारी दिन पाउने व्यवस्था रहेछ । गणतन्त्रमा पनि त्यही व्यवस्थालाई मलजल गरियो र धेरैले जेलबाटै उम्मेदवारी दिए । जसको फलस्वरूप रेसम चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ खाए भने दीपक मनाङेले शपथ लिन सकेन ।

यो देशको शासन परिर्वतन गर्नका लागि थुप्रै आन्दोलन भए तर पहिलो आन्दोलन अथवा ०७ सालको क्रान्तिलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भनिन्छ । ०७ सालको आन्दोलनले राणाहरूको शासनसत्ताबाट नेपाली प्रजाहरूलाई जनता बनाउने प्रयास गरेको हो । नेपालका जनताको विकास र देश विकासका लागि भनेर नै प्रजातन्त्र स्थापनाभन्दा पहिले नै कागजी नोटको प्रचलन १ असोज ०२ सालबाट श्री ३ जुद्धशमशेरले श्री ५ त्रिभुवनको श्रीपेचसहितको मुखाकृति अंकित ल्याए पनि प्रचलनमा भने आएका थिएनन् । नेपाली नोट प्रचलनमा आएको मिति २००२ र नेपाल राष्ट्र बैंकको स्थापना भएको ०१३ सालदेखि हालसम्म आइपुग्दा १ सय ५० किसिमका कागजी नोटहरू प्रचलनमा ल्याइसकेका रहेछन् ।

नेपालमा संसदीय व्यवस्थाका लागि भएको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ मत प्राप्त ग¥यो । राजनीतिक खिचातानी हुँदाहुँदै पनि राजा महेन्द्रले ०१३ साल वैशाख १४ गतेका दिन नेपाल राष्ट्र बैँकको विधिवत् रूपमा स्थापना गरी बैंकले ०१६ साल चैत्र ७ गते १, ५ र १०० रुपैयाँका नोटहरू प्रचलनमा ल्याइएको हो । ०१५ सालको निर्वाचनबाट प्रधानमन्त्री बनेका कोइराला नेतृत्वको सरकारले समाजवादी मूल्य मान्यतामा आधारित रही विर्ता उन्मूलन, वनको राष्ट्रियकरण, बेठबेकारी खारेजी, भूमिसुधारजस्ता दीर्घकालीन महत्वका नीति अपनाएर देशलाई क्रान्तिकारी परिवर्तन उन्मुख गर्यो ।

कोइरालाको लोकप्रियताबाट अत्तालिएर तत्कालीन राजा महेन्द्रले ०१७ साल पुस १ गते सरकार बर्खास्त गरी प्रधानमन्त्रीलगायत अन्य मन्त्री र कांग्रेसका सम्पूर्ण नेतालाई गिरफ्तार गरे । पञ्चायती शासन व्यवस्थामा नियन्त्रित प्रजातान्त्रिक अधिकारमात्र जनतालाई प्राप्त थियो । पञ्चायतको ३० वर्षे कालमा सामन्ती परम्परा र शोषण अझ बढ्यो । जनताको प्रजातान्त्रिक अधिकार हनन गरी राज्यले एक धर्म, एक भाषा, एउटै भेषको अवधारणाबाट अन्य जाति तथा समुदायलाई दमन गर्ने नीति अवलम्बन गर्यो ।

जनताको इच्छा, आकांक्षा, भावनाको प्रतिनिधित्व गर्ने राजनीतिक दल प्रतिबन्धित भए । पञ्चायती राज्य व्यवस्थाले राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाए पनि देशलाई विकासको दिसातर्फ भने डो¥याएकै हो । पञ्चायतमै देशमा सरकारको पूर्ण स्वामित्वमा हुनेगरी उद्योगधन्दाहरू खोलिए, देशका विभिन्न ठाउँ सडक सञ्जालसँग जोडिए । प्रजातन्त्र स्थापनाका लागि ०४२ सालमा सत्याग्रह भयो । उक्त कालखण्डमा हजारौँ नेपाली युवालाई पञ्चायतले जेलनेलको सजाय दियो ।

प्रजातन्त्र पुनस्र्थापना गर्ने उद्देश्यले सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा कांग्रेसले संयुक्त वाममोर्चासहितको जनआन्दोलन कमिटी बनायो । संयुक्त जनआन्दोलनका बलमा ०४६ साल चैत २७ गते राती पञ्चायती शासनको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयोे । ०४६ सालको प्रजानत्त्र पुनस्र्थापनापछि नेपालमा भएका ६ सयभन्दा बढी उद्योगधन्दा निजीकरणका नाममा धमाधम बन्द गरिए । गणतन्त्रका हिमायतीहरूले अहिले पञ्चायतले नै निमाण गरेका भवन र सडक सञ्जाललाई पनि व्यवस्थित गर्न सकेको छैन । पञ्चायती राज्य व्यवस्थाले सुरु गरेका उद्योगधन्दा बन्द हुँदा राजनीतिक दलका नेताहरूलाई केही मात्रामा फाइदा भए पनि नेपाल भने परर्निभर हुँदै गयो र नेपाली युवाहरू वैदेशिक रोजगारीको खोजी गर्न लागे ।

उद्योगधन्दा बन्द हुनुको प्रत्यक्ष फाइदा मानव तस्करीका लागि पसल खोलेर बसेका दलालहरूलाई हुन गयो । देशको आर्थिक विकासका लागि र राजनीतिक अधिकारका लागि कांग्रेसले आन्दोलन गरे पनि आर्थिक उन्नतिका लागि काम गरेको पञ्चायती राज्य व्यवस्थाले नै हो । आन्दोलनका घटनाक्रम र आर्थिक र औद्योगिक विकासक्रम हेर्ने हो भने नेपालमा पञ्चायती राज्य व्यवस्थाले पनि जनताका लागि गणतन्त्रको भन्दा ठीकै गरेको भन्नेहरूको कमी छैन । हुन त अहिले पञ्चायती व्यवस्थाको जस्तै राजनीतिक दलहरूलाई प्रतिबन्ध त लगाइएको छैन तर घुमाउरो पारामा सरकारको विरोध गर्ने र आन्दोलन गर्न भने प्रतिबन्धजस्तै लगाइएको छ ।

०७ सालदेखि आजसम्मको राजनीतिक खिचातानीले र बहुमतीय सरकारले मात्र देशको विकास गरेको देखिँदैन । वर्तमान सरकारले पनि पञ्चायती व्यवस्थाजस्तै शासनको दुरुपयोग नगरी प्रतिपक्षको मागलाई सम्बोधन गर्दै आफूले गरेका गल्ती नदोहो¥याई भ्रष्टाचारमुक्त देश बनाउने कि ? विधिको शासन र गणतन्त्रको खिल्ली उडाउँदै सुधारिएको पञ्चायत बनाउने यसमा सरकार सचेत हुन जरुरी छ ।

प्रतिक्रिया