बौद्ध र हिन्दू संस्कृतिको अनुपम संगम

अर्बौंको गुम्बा र विहारमा लगानी गर्ने पैसा छ । विभिन्न पूजा पाठमा लाखौँ खर्च गरिन्छ । एउटा मृत्यु संस्कारका लागि समेत करोडौँ खर्च भएका उदाहरण छन् तर आफ्नो इतिहास, संस्कृति र लिपीको खोजी गर्नका लागि बौद्धमार्गीहरू पछाडि नै छन् । बुद्धले धम्मपदमा भनेका छन् । ज्ञान र इतिहास बोकेर एक दिन बाँच्नु र ज्ञान इतिहासलाई छोडेर हजार वर्ष बाँच्नु उस्तै हो

सहर अतितको मोहबाट मुक्त हुन सत्तैmन । आजका सबै सहरहरूलाई अतितको मोह छ । काठमाडौं सहरको सुन्दरतासँग पनि यहाँको अतित जोडिन्छ । अतित अर्थात् सहरको इतिहास । अतित अर्थात् सहरको जग ।

काठमाडौं विश्वसम्पदा सूचीमा परेका सम्पदाहरूको सहर पनि हो । इतिहासको विशेष अर्थ राख्ने सम्पदाहरूले यो सहर सजिएको छ । बौद्धमार्गीहरूको सुन्दर तीर्थस्थल स्वयम्भू होस् या हिन्दूजनको पवित्र क्षेत्र पशुपति यी दुवै सम्पदा सांस्कृतिक सुन्दरताका उदाहरण हुन् । जसको कारण काठमाडौंलाई विशेष अर्थमा हेर्छन् सौन्दर्यविद्हरू ।

बौद्ध परम्परासँग जोडिएका अनेकन मिथकहरू काठमाडौंको इतिहाससँगै आइरहन्छन् । यो सहरमा ठुल्ठूला गुम्बा, चैत्य र विहारहरू छन् । यही सहरमा विभिन्न खालका तपस्याहरू पनि भएका थिए । नेवारी समुदायको प्राचीन भूमि मानिने काठमाडौं कुनै समय सम्पदै सम्पदाले मात्र भरिएको थियो । अहिले काठमाडौं कंक्रिटको जंगल भएको छ । र, पनि हामी पनि पढिरहेका छौँ काठमाडौं मन्दिरहरूको सहर हो ।

काठमाडौं बहुसंस्कृतिसँग जोडिएको सहर हो । काठमाडौं घरैपिच्छे देउता भएको सहर हो । काठमाडौंमा हिन्दू र बौद्ध सम्पदाको विशेषताहरू पाइन्छ । यहाँका मठ मन्दिर, चैत्य, गुम्बा, विहार पार्टी पौवा आदि यी दुई धर्मसँग प्रत्यक्ष सरोकार राख्छन् । काठमाडौंका नेवारहरूले बौद्ध धर्म मानेको कारण पनि यहाँको बौद्ध संस्कृति समृद्ध देखिन्छ । एक खालका नेवारहरूको धर्म हिन्दू भएको कारण पनि बौद्ध र हिन्दू दुवै संस्कृति मिसिएर यो सहरको सम्पदाको इतिहास बनेको छ । मञ्जुश्रीले चोभार काटेर बागमतीको पानीबाहिर पठाउनअघि नै स्वयम्भू स्तुपा रहेको कथाहरू पनि पाइन्छन् ।

यो सहरमा शासकीय इतिहास पनि छ । यो सहरमा शासन गर्ने शासकहरूले हिन्दू परम्परा मानेका कारण पनि यहाँको हिन्दू संस्कृतिको प्रभाव धेरै देखिन्छ । नेवारी गल्लीहरूमा होस् या अन्य ठाउँमा हिन्दूहरूको प्रभाव व्यापक छ । शासकहरूले दरबार बनाए । दरबारसँग हिन्दू धर्मलाई पनि जोडे । वसन्तपुर दरबार स्क्वायर होस् वा भक्तपुर दरबार स्क्वायर यहाँ हिन्दू संस्कृतिको प्रभाव ज्यादा देखिन्छ । मल्ललगायत राजाहरूले बौद्ध धर्मलाई पनि अघि बढाए पनि अधिकांश शासकहरूले हिन्दू संस्कृतिलाई नै अँगाले ।

सहर अनेकन कारणले प्रसिद्ध हुन्छन् । मान्छेको संस्कृति रहेन भने सहर कुरूप कारखाना जस्तो मात्र हुन्छ । काठमाडौंमा चर्चित जामे मस्जिद, शिख मन्दिर र अन्य धर्म मान्नेहरूको पनि अस्तित्व रहेको छ । किराँतीहरूको पनि आफ्नै खालको इतिहास देखिन्छ । पशुपतिको डाँडामा किराँतीहरूले मसानघाट अथवा चिहान स्थल बनाएका छन् । पशुपतिको हिन्दू संस्कृति र किराँत संस्कृतिको मिलनले गर्दा काठमाडौंमा बहुसंस्कृतिको रूप देख्न सकिन्छ ।

एकखालका विद्धान्हरूले काठमाडौंमा बौद्ध संस्कृति निकै पुरानो रहेको कुरामा जोड दिँदै आएका छन् । पाटनढोका क्षेत्रमा देखिएका आकृति स्वयम्भू र बौद्धमा पाइएका विभिन्न अभिलेखका कारण बौद्ध संस्कृतिको प्राचीन इतिहास देखिन्छ । एक खालका संस्कृतिविद्हरूले हिन्दूको कोणबाट मात्रै धार्मिक इतिहासको व्याख्या गरिदिँदा समस्या आएको हो । शासकहरू जुन संस्कृतिका हुन्छन् । नितान्त रूपमा त्यो संस्कृति अगाडि हुन्छ । त्यसको इतिहास लेखिन्छ । त्यसको महिमा गाइन्छ । त्यसलाई समृद्ध बनाउन हर प्रयास गरिन्छ । इतिहासको खोजी गर्नेहरू पनि जो शक्तिमा छ उतैतिर बढी केन्द्रित हुन्छन् ।

पाली भाषा हुँदै संस्कृतबाट नेपालीसम्म आइपुगेको बौद्ध दर्शनको खास महत्व यहाँका बौद्धमार्गीहरूले बुझ्न सकेका छैनन् । कतिपय अभिलेखहरूमा पनि भाषाको कारण समस्या देखिन्छ । तिब्बतीयन भाषामा लेखिएका अक्षरहरू मात्र होइन कतिपय ठाउँमा पाली भाषामा लेखिएका अक्षरहरूसम्म पाइन्छ । त्यो कारण पनि धम्मपदको इतिहाससँग काठमाडौं उपत्यकाको इतिहास पनि जोडिएको हो कि भन्ने खालको मान्यता पाइन्छ । बौद्धधर्म काठमाडौंबाटै अरू डाँडाकाँडातिर उक्लिएको हो कि भन्ने खालको मान्यता पनि छ । यहाँका प्रसिद्ध विद्धानहरू थाइल्याण्ड, जापानमा गएका छन् । यहाँको संस्कृतिको विषयमा विभिन्न विद्धानहरूले खोजी गरेका छन् । ती अधिकांश विद्धान्हरू पश्चिमा देशका छन् । पश्चिमा देशका विद्धानहरूले हाम्रो संस्कृतिको खोजी गरिदिँदा हामी खुसी हुन सकेका पनि छैनौँ र दुःखी हुन सकेका पनि छैनाैँ ।

अर्बौंको गुम्बा र विहारमा लगानी गर्ने पैसा छ । विभिन्न पूजा पाठमा लाखौँ खर्च गरिन्छ । एउटा मृत्यु संस्कारका लागि समेत करोडौँ खर्च भएका उदाहरण छन् तर आफ्नो इतिहास, संस्कृति र लिपीको खोजी गर्नका लागि बौद्धमार्गीहरू पछाडि नै छन् । बुद्धले धम्मपदमा भनेका छन् । ज्ञान र इतिहास बोकेर एक दिन बाँच्नु र ज्ञान इतिहासलाई छोडेर हजार वर्ष बाँच्नु उस्तै हो । हामीले ज्ञान र इतिहासलाई छाडेका छौँ । समृद्ध बौद्ध परम्परालाई छोडेका छौँ । तुल टाँगेर गुम्बालाई मात्रै पवित्र बनाएका छौँ । जीवनलाई पवित्र बनाएका छैनौँ । जीवनलाई पवित्र बनाउनका लागि इतिहासको खोजी गर्नुपर्छ । अतितको खोजी गर्नुपर्छ । अतितलाई बुझ्यौँ भने मात्रै वर्तमानलाई सुन्दर बनाउन सकिन्छ । वर्तमानलाई सुन्दर बनाउनु भनेको मृत्युको बाटोमा हिँड्न सक्नु हो ।

पवित्र पशुपतिनाथ क्षेत्र दक्षिण एसियाकै लागि हिन्दूहरूको केन्द्र हुँदै गएको छ । पशुपतिनाथको लामो इतिहास हिन्दूहरूले खोजी गरेका छन् । हिन्दूहरूको इतिहास खोजी गर्ने तरिका गम्भीर खालको छ । उनीहरूको अधिकांश मठ मन्दिरको इतिहास धार्मिक ग्रन्थमै उल्लेख छ । उनीहरूको भाषा संस्कृत हो । संस्कृतबाट नेपालीसम्म आइपुग्दा त्यति जटिलता हुँदैन । हिन्दू धर्ममा संस्कृत बुझ्ने ठुल्ठूला विद्धान्हरू छन् ।

यी विद्धान्हरूले संस्कृतबाट नेपालीसम्म ती इतिहासहरूलाई जोगाउने बाटो पहिल्याएका छन् । गोरखपुरमा प्रेस नै राखेर करोडौँ थान धार्मिक किताबहरू निकाल्ने, व्याख्या गर्ने र जनमानसमा पु¥याउने काम भएको छ । कतिपय विद्धान्हरूले आपैmले पनि व्यक्तिगत रूपमा यस्ताकामहरू गरेका छन् । गीता प्रेस हिन्दू धर्मको संस्कृतिलाई जनमानसमा पुर्याउन अग्रिम भूमिका खेल्ने संस्था हो । गीता प्रेसबाट छापिएका लाखौँ थान किताबहरू नै समृद्ध हिन्दू परम्पराको जग भएका छन् ।

तर, बौद्धमार्गीहरूले नेपाली भाषामा उति ठूलो प्रकाशन गर्न सकेका छैनन् । स्वयं धम्मपदसमेत नेपालीमा शुद्ध अनुवाद भएको छैन ।

नेपालीमा शुद्ध अनुवाद नहुँदा र त्यो भाषा पढ्न सक्ने गुरुहरूको विकास नुहँदा धेरै नै समस्या आएको छ । हामीले बुझ्नुपर्ने कुरा धर्म उपदेशहरू सरल हुनुपर्छ । त्यो सम्पूर्ण जनहरूमा पुग्न सक्ने हुनुपर्छ । उनीहरूले महसुस गर्न सक्ने हुनुपर्छ । तर, हामीले छातीमा हात राखेर भन्नैपर्छ । हामी आफैँले पनि बौद्ध धर्म बुझेका छैनौँ । यसलाई बुझ्न लामो समय लाग्ने नै छ ।

प्रतिक्रिया