पृथ्वी जयन्तीबारे भ्रम र यथार्थ

गत आइतबार वरिष्ठ पत्रकार चन्द्रमणि गौतमले आफ्नो फेसबुकमा प्रश्न राखे, ‘१३ दिन सार्वजनिक बिदा थप्दा पनि पृथ्वी जयन्तीमा बिदा नदिनु राष्ट्रघाती लम्पसारवाद नभए के हो त ?’ अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले टिप्पणी लेखे, ‘विघटनवादीहरूबाट एकताको पक्षमा निर्णय आउने अपेक्षा नराखेकै राम्रो ।’ पुस २७ गतेको दिन जब नजिकिँदै आउँछ तब सामाजिक सञ्जाल तथा मिडियामा पृथ्वी जयन्तीका अवसरमा सरकारी बिदा दिने कि, नदिने ? भन्ने विषयमा बहस हुन थाल्छ । यो बहस सुरु भएको १२ वर्ष नाघिसकेको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह जन्मेको दिन पुस २७ गतेलाई मुलुकले राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको थियो । तर, जनआन्दोलन ०६२-६३ को परिवर्तनपछि बिदा कटौती मात्रै गरिएन पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने निर्णय तत्कालीन सरकारले गर्यो ।

सुरुमा नेपाली जनमत सरकारको यो निर्णयको पक्षमा ठूलो थियो, विपक्षमा खासै ठूलो जनमत थिएन । दिनहरू जति बित्दै गए त्यति नै यो निर्णयको विपक्षमा जनमत बढ्दै गएको छ । पक्षमा जनमत घट्दै गएको छ । उदाहरणका लागि यो लेखको आरम्भमै नाम उल्लेख गरिएका दुई जना वरिष्ठ पत्रकारहरूले त्यतिवेला प्रकट गर्ने गरेका अभिव्यक्ति र यतिवेला प्रकट गर्ने गरेका अभिव्यक्तिलाई लिन सकिन्छ ।

त्यतिवेला माहोल नै यस्तै थियो कि, ‘पृथ्वी जयन्ती मनाउनुपर्छ भनेर कसैले भन्यो भने ऊ प्रतिगामी ठहरिन्थ्यो ।’ तर, अहिले त्यो अवस्था रहेन । गतवर्ष नै नेपाली कांग्रेस नेतृत्वको सरकारले पृथ्वी जयन्ती मनाउने निर्णय गरिसकेको छ । त्यो निर्णयलाई वर्तमान सरकारले उल्ट्याएको जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

जहाँसम्म सार्वजनिक बिदाको कुरा हो त्यसमा बहस हुनु जरुरी छ । बिदा दिनु मात्रै सम्मान होइन । प्रभावकारी रूपमा मनाउनु नै सम्मान हो । सार्वजनिक बिदा दिँदा प्रभावकारी रूपमा मनाउन सकिन्छ भने बिदा दिएकै राम्रो । सार्वजनिक बिदा नदिँदा प्रभावकारी रूपमा मनाउन सकिन्छ भने बिदा नदिएकै राम्रो । उदाहरणका लागि गतवर्ष सरकारले सार्वजनिक बिदा नदिएरै पनि पृथ्वी जयन्ती मनायो । ०६३ सालअघि मनाइने गरिएको पृथ्वी जयन्ती समारोहभन्दा गत वर्षको पृथ्वी जयन्ती समारोह भव्य थियो ।

पृथ्वीनारायण शाहले आफ्ना विशेष दूतहरूलाई जनताको घरघरमा पठाएर कालु पाण्डे र विराज बखेतीमध्ये कसको पक्षमा ठूलो जनमत छ ? भन्ने प्रश्नको निरूपण गरेका थिए । तर, उनैका उत्तराधिकारी राजा महेन्द्रले दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरी शून्य जनमत भएका तुल्सी गिरीलाई प्रधानमन्त्री मनोनित गरे

सरकारले सार्वजनिक बिदा घोषणा गरेछ नै भने पनि कार्यान्वयनमा आउने भनेको सरकारी कर्मचारीको घर परिवारमा मात्रै हो । सरकारले निर्धारण गरेको सार्वजनिक बिदा निजी क्षेत्रका श्रमिकहरूले पाउँदैनन् । मुलुकमा सरकारी कर्मचारीको संख्या सबै निकायमा गरी ७ लाखको हाराहारीमा छ ।

निजी संगठित क्षेत्रमा काम गर्ने श्रमिकको संख्या ४० लाखको हाराहारीमा छ । असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको संख्या पनि लगभग ४० लाखकै हाराहारीमा छ । कृषि श्रमिकको संख्या पनि त्यसैको हाराहारीमा छ । लगभग ४० लाख नेपाली वैदेशिक रोजगारीमा छन् । यसमध्ये सार्वजनिक बिदाबाट लाभ पाउने भनेको सरकारी कर्मचारीले मात्रै हो । बाँकीका लागि कौवालाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै हो ।

सरकारी कर्मचारीहरूले पनि बिदाको अवसरमा त्यो दिनभरि पृथ्वीनारायण शाहको योगदानबारेमा आफूले भेटेका मान्छेसँग कुराकानी गरिदिने भए, कुनै गतिविधि गरिदिने भए त राम्रै हुन्थ्यो । त्यति गर्न नसके पनि आफ्ना छोराछोरीलाई मात्रै पृथ्वीनारयाण शाहको योगदानबारे बताइदिने भए राम्रै हुन्थ्यो । तर, अधिकांशले तास खेलेरै दिन बिताउने हुन् । उनीहरूलाई तास खेल्ने समय उपलव्ध गराउनकै लागि सरकारी कामकाज ठप्प बनाउनु निश्चय पनि राम्रो होइन ।

मुलुकका विभिन्न जातजाति तथा समुदायका चाडपर्वका क्रममा दिइने सार्वजनिक बिदालाई पृथ्वीनारयाण शाहजस्ता महापुरुषसँग जोड्नु उपयुक्त हुन्छ वा हुन्न ? भन्ने बहसको पनि छुट्टै पाटो छ । सांस्कृतिक पर्व मनाउने आफ्नै विशेष तरिका छन् । सांस्कृतिक पर्वका समयमा व्रत, पूजा, उपसना, जात्रा अनि मनोरञ्जन गरिन्छ ।

तर, कुनै महानपुरुष तथा महिलाको जन्मदिवसमा व्रत, पूजा, उपसना, जात्रा अनि मनोरञ्जन जस्ता कार्यक्रम जनस्तरमा गरिन्न । बरु उनीहरूको योगदानका बारेमा चर्चा गरिन्छ । उनीहरूको योगदानका बारेमा चर्चा गर्ने उपयुक्त अवसर भनेको सार्वजनिक बिदा हुँदै होइन । सार्वजनिक बिदा दिँदाभन्दा नदिँदा नै उनीहरूको योगदानबारे चर्चा तथा प्रचार गर्न सहज हुन्छ ।

यसको अर्थ आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु हुन्न । उनी राजा मात्रै होइनन्, राष्ट्र निर्मातासमेत हुन् । यदि, उनले नेपाल एकीकरणको आरम्भ गरेका हुँदैनथे भने आज नेपाल भन्ने देश विश्वको मानचित्रमा नरहन पनि सक्थ्यो । पृथ्वीनारायण शाहले २० वर्षको उमेरमा गोरखा राज्यको राजगद्धी सम्हालेका थिए ।

त्यसवेला नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौबिसे राज्य गण्डकी प्रदेशमा थिए । त्यसैगरी, पूर्वतर्फ काठमाडौं उपत्यमा मात्रै तीनवटा राज्य थिए । दक्षिण पूर्वतर्फ सेन राज्यहरूसमेत ३–४ वटा थिए । अझ पूर्वी नेपालमा त कबिला राज्यहरूसमेत थिए । ठीक त्यही वेला अहिलेको भारत, बंगलादेश, पाकिस्तान लगायतका धेरै भूभागहरू अंग्रेजले उपनिवेश बनाइसकेका थिए । समयमै पृथ्वीनारायण शाहले एकीकरण अभियान सुरु नगरेको भए अहिलेको नेपाल पनि त्यतिवेला नै अंग्रेजको उपनिवेश भइसक्ने थियो ।

लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ । पश्चिमा खस राज्य थियो । उनीहरू २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् । अर्का मल्लकालीन राजा जयस्थिति मल्लले पनि एकीकरणको प्रयास गरेका थिए तर सफल भएनन् ।

पछि यक्ष मल्लले एकीकरण गर्न सुरु गरे उनका छोरा बुहारीका पालाका नेपालमण्डल तीन टुक्रा काठमाडौं, ललितपुर र भक्तपुर भयो । यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाहले गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान गरे एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उनको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ ।

राष्ट्रनिर्माता पृथ्वीनारयण शाहले गरेको योगदानको अवमूल्यन गणतन्त्र स्थापनापछि भएको तर्क एकथरीको छ । बुहारी राजेन्द्रराज्य लक्ष्मीबाहेक उनका उत्तराधिकारी कसैले पनि मुलुकमा राम्रो काम गरेको उदाहरण छैन । सबैले मुलुकलाई आघात नै पु¥याएका छन् । राजाहरूले मुलुकलाई आघात पु¥याएकै कारण गणतन्त्र ल्याइएको हो । तर, उत्तराधिकारीहरूको आघातको दोष पुर्खामाथि थुपोर्नु या पुर्खाले पु¥याएको आघातको दोष सन्ततिमाथि थुपोर्नु न्यायोचित होइन ।

तर, नेपालमा यो प्रचलन छ । हुन त पृथ्वीनारायण शाहका सन्दर्भमा यो उदाहरण ठीक होइन । तर, गत वर्ष रवीन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवार बन्दा उनका बाबुबाजेले मुलुकलाई पु¥याएको आघातसँग जोडेर दुस्प्रचार गरियो । कतिपयले भने रवीन्द्र मिश्र त सुगौली सन्धिमा राष्ट्रघात गर्ने गजराज मिश्रका जनाति भने, कतिपयले प्रतिगामी कर्मचारी मनुजबाबु मिश्रका छोरा पनि भने ।

हाम्रो समाजको मानसिकता नै दूषित छ भन्ने प्रमाण हो यो । पृथ्वीनारायण शाहले भूगोलको मात्रै एकीकरण गरेका हुन्, ठूलो मुलुकको राजा हुनैका लागि उनले एकीकरण गरेका हुन् भन्ने ढंगको बुझाइ अहिले पनि समाजमा छ । यो बुझाइ हुनुमा उनका उत्तराधिकारीहरू नै मुख्य दोषी हुन् । किनकि, उनका उत्तराधिकारीहरूले जनतालाई गलत इतिहास पढाए ।

दिव्योपदेश मात्रै पढाइएको भए पनि यो अवस्था आउने थिएन । दिव्योपदेश हेर्ने हो भने पृथ्वीनारायण शाह भौगोलिक एकीकरणकर्ता मात्रै होइनन् उनी महान् अर्थशास्त्रीका साथै महान् राजनीतिज्ञसमेत थिए । ‘जनताले जसलाई मनपराउँछन् उसलाई काजी बनाउनू’ भन्ने उपदेशको पुष्टि गर्न उनले बिराज बखेती र कालु पाण्डेको उदाहरण दिएका छन् ।

त्यतिवेला मतदान प्रणालीको सुरुआत विश्वका कुनै पनि मुलुकमा भएको थिएन । तर, पृथ्वीनारायण शाहले आफ्नो विशेष दूतहरूलाई जनताको घरघरमा पठाएर कालु पाण्डे र विराज बखेतीमध्ये कसको पक्षमा ठूलो जनमत छ ? भन्ने प्रश्नको निरूपण गरेका थिए । तर, उनैका उत्तराधिकारी राजा महेन्द्रले दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरी शून्य जनमत भएका तुल्सी गिरीलाई प्रधानमन्त्री मनोनित गरे ।

प्रतिक्रिया