किन मुछिन्छन् पर्यटन मन्त्रीहरू काण्डै काण्डमा ?

आफ्नो पक्षमा रौँ बराबर अवरोध गर्नेलाई समाप्त पार्न माफियाले सदैव सिकारको खोजी गरिरहेकै हुन्छ र छ भन्ने हेक्का राजनीति गर्नेहरूले राख्न जरूरी हुन्छ सार्वजनिक खरिद, सुन तस्करी, जहाज खरिद वा भाडामा लिँदा माफियाले खेल्ने खेल भयानक हुन्छन् 

पूर्ववर्ती नेकपा (एमाले) बाट देशमा ९ जना पर्यटन मन्त्री भएको पाइन्छ । १. भीम रावल (राज्यमन्त्री र मन्त्री), २. सलिममियाँ अन्सारी (दिवगंत), ३. पृथ्वीसुब्बा गुरुङ, ४. प्रदीप ज्ञवाली, ५. भीम आचार्य ६. दीपक अमात्य ७. कृपा सुर शेर्पा ८. आनन्द पोखरेल र ९. रवीन्द्र अधिकारी । नेकपा (माले) बाट ०५५-५६ मा १. यामलाल कँडेल तथा पूर्ववर्ती माओवादी धारबाट विभिन्न समयमा १. हिसिला यमी भट्टराई, २. खड्गबहादुर विश्वकर्मा ३. लोकेन्द्र विष्ट मगर र ४. रामकुमार श्रेष्ठ गरी पाँच जना ।

रावललाई चाइना साउथवेस्ट भाडा प्रकरण र कँडेललाई चेज एयर काण्डमा लेखा समिति र अख्तियार तथा तारिणीदत्त चटौतलाई धमिजा काण्डमा बात लाग्ने र लगाउने प्रपञ्चहरू भए । तिनमा कति राजनीति गर्न र प्रतिशोध साँध्न त कति व्यक्तिलाई तेजोवध गर्नका रचिएका चक्रव्यूह थिए ।

सायद, हिसिलाको पालामा आइपुग्दा उपहार र खरिदमार्फत कमसल गुणस्तरका चिनियाँ जहाज सेतो हात्तीका रूपमा सकारियो, जसले निगम डुबाउन महत्वपूर्ण योगदान गरिरहेका छन् । सुगत कंसाकार नै यसअघि बोइङ कम्पनीलाई पठाएको बैना डुबेर जेल सजाय भोगिसकेका पात्र हुन । पछि उनले अदालतबाट सफाइ लिन सकेको घटनालाई दुनियाँले बिर्सिएको छैन । वाइडबडी प्रकरणमा जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र रवीन्द्र अधिकारीलाई मुछेर लेखा समिति अन्तर्गतको उपसमितिले ५९ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक रूपमा समितिसमक्ष बुझाएको छ ।

लेखा समिति, संसद्, सरकार, अख्तियारले गर्ने निर्णय, अनुसन्धान तहकिकात र चाल्ने कदमले नै यस प्रकरणको सही टुंगो लाग्ने निश्चित छ । महालेखा परीक्षकको ५५औँ प्रतिवेदनले वाइडबडी खरिद प्रक्रियामा अनियमितता भएको उल्लेख गरिसकेको परिप्रेक्ष्यमा लेखा समितिले छानबिनलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने त छँदै छ । सँगसँगै सरकार र अख्तियारको भूमिकालाई समेत नागरिकले बडो नजिकबाट हेरिरहेको स्थिति छ ।

उल्लिखित सन्दर्भमा ध्यान दिनैपर्ने अहम् प्रश्न हो । नेपालको हवाई तथा नागरिक उड्डयन क्षेत्रलाई अनेकन काण्ड मच्चाउँदै राष्ट्रिय ध्वजावाहकलाई नै बर्बाद पारिरहेको माफिया षड्यन्त्रको दुष्चक्रबाट मुक्त गर्न सकिन्छ कि सकिँदैन ? माफियामुक्त हवाई क्षेत्र सुनिश्चित गरेर देखाउनुमा नै आज यस्ता हरेक निकाय र व्यक्तिको खास योग्यता परीक्षण भइरहेको छ ।

कोही मिस्गाइड नहोऔँ र कसैलाई मिस्गाइड नगरौँ । माफियाको काम त कालोलाई सेतो र सेतोलाई हरियो बनाउनु र भनाउनु नै हो । खासमा माफियाको कुनै देश, जाति, धर्म, वर्ग, पार्टी र मित्र भन्ने हुँदैन । इमानदारलाई बदनाम र भ्रष्टलाई संरक्षण गरी व्यक्ति, संस्था र देश दोहन गरेर र डुबाएर अकूत आर्जन गर्न नै माफिया सञ्जाल सक्रिय र चलायमान रहेको हुन्छ ।

आफ्नो पक्षमा रौँ बराबर अवरोध गर्नेलाई समाप्त पार्न माफियाले सदैव सिकारको खोजी गरिरहेकै हुन्छ र छ भन्ने हेक्का राजनीति गर्नेहरूले राख्न जरुरी हुन्छ । सार्वजनिक खरिद, सुन तस्करी, जहाज खरिद वा भाडामा लिँदा माफियाले खेल्ने खेल भयानक हुन्छन् । तिनको डरलाग्दो पासोमा पर्नबाट जोगिने काम सबभन्दा पहिले जिम्मेवार व्यक्ति र पदाधिकारीले नै गर्न सक्नुपर्दछ । नेपाल प्रहरीका सबैजसो पूर्व महानिरीक्षकहरूले माफियाकै जालो छिचोल्न नसकेर जिन्दगीको आखिरी समय कसरी गुजारिरहनु परेको छ ? यस देशका हरेक जिम्मेवार व्यक्ति सचेत हुनु आवश्यक छ ।

प्रमुख विपक्षी नेता शेरबहादुर देउवासामू तेर्सिएका केही ज्वलन्त प्रश्नहरूः
१) संसद्को रोस्टमबाट वाइडबडी प्रकरणको छानबिन गर्न उनले आफै माग गरे । मन्त्रिपरिषद्ले न्यायिक छानबिन आयोग गठन गरिसक्यो । अनि उनी नै भ्रष्टाचार ढाकछोप गर्न सरकारले आयोग बनाएको भाषण गर्न थाले, किन होला ?

२) उनले जीवनबहादुर शाहीलाई पर्यटन मन्त्रीबाट खानेपानी तथा सरसफाई मन्त्रीमा पठाएको झलझली सम्झिरहेको छु, किन थियो होला ? उनलाई पन्छाएर वाइडबडीको खास डिल गर्ने महोदय को थियो होला ?

३) अहिले उनकै पार्टीमा रहेका तत्कालीन मन्त्रीहरूका पालामा वाइडबडी काण्डको खाल्डो खनिएको थियो । पछि त्यसमा को को हुस्सूहरू परे ? को–को पुरिन्छन् र उम्किन्छन ? हेर्दै जाऔँला, तर लहरो तान्दै जाँदा पहरो कतातिर गर्जिनेछ ? बजारमा त व्यापक सनसनी छ । आफू काँक्रो खाएर बियाँ अरूको गालामा टाँस्ने प्रपञ्च गर्नतिर नलाग्ने हो कि ?

४) वाइडबडीको डिल गर्ने स्थानीय एजेन्ट को हो ? चिन्नुहुन्छ कि ? यहाँको …राणासँग के साइनो सम्बन्ध खासमा के रहेको छ ? जनताले ने खोजिदिनुपर्ने हो कि ?

५) हवाई माफियामा को–को सक्रिय र चलायमान छन ? बोइङ र एयरबसका यहाँ एजेन्ट को–को छन् ? कुन–कुन एयरलाइन्सका जहाज नेपालमा उडान भइरहेका छन् र तिनका जिएसए को–को छन् र ती कसरी भएका थिए ? कुन–कुन निजी हवाई कम्पनी र व्यक्ति वाइडबडी ल्याउनै नदिएर नेपाल एयरलाइन्सलाई जहाजविहीन बनाउँदै धरासायी पार्न उद्दत थिए र छन् ? खासमा यसो गरेर मात्रै तिनले कल्पित मुनाफा आर्जन गरिरहन सक्छन् भन्ने बुझेरै गरेका छैनन् र ?

६) सार्वजनिक लेखा समितिको उपसमितिले तयार गरेको प्रतिवेदनमा तथ्य तोडमोड गरेर मुख्य जवाफदेही व्यक्तिहरूलाई ढाकछोप गर्ने तथा कम जवाफदेही वा बाध्य र निर्दाेष व्यक्तिलाई डामेर बदनाम गर्ने चलखेलको मुख्य शिखण्डी खोजी गर्ने हो कि ?

७) नेपाल एयरलाइन्सलाई माफीयामुक्त गरेर राष्ट्रिय ध्वजावाहकका रूपमा संसारभर सञ्चालन गर्न साँच्चै तयार छन् ?

८) कसलाई लाग्दैन ? सुगत कंसाकारमाथि कानुनबमोजिम कारबाही चलाए पुग्छ । अनि, किन यो बर्बर र असभ्य हर्कत त ? उपसमितिले लेखासमितिमा प्रतिवेदन प्रस्तुत नगरी गैरजिम्मेवार ढंगले हल्लाखल्ला गरेको दुष्परिणाम यो होइन ? संयोजक राजेन्द्रकुमार केसीका गल्तीको जवाफदेही अन्ततः हुने को हो ? (नेकपाका केन्द्रीय सदस्य थापाको फेसबुकबाट)

प्रतिक्रिया