ट्रम्प र किमको शिखर बैठक चाँडैः पोम्पेओ

वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन बीचको शिखर बैठक चाँडै हुने अमेरिकी उच्च अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ट्रम्प र किमको दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गरेका छन् ।

पहिलो शिखर बैठकमा भएको सहमतीअनुसार उत्तर कोरियाको आणविक हतियार बन्द गर्नका लागि भइरहेको प्रक्रिया र प्रगतिका बारेमा अमेरिकाले उच्च तहका कूटनीतिज्ञहरू पनि खटाएको योन्ह्याप समाचार संस्थाले जनाएको छ ।

दोस्रो बहुप्रतिक्षित शिखर बैठक गर्नुअघि अरू धेरै काम गर्न बाँकी नै रहेको पोम्पेओले शुक्रबार बताए । ‘मलाई विश्वास छ कि राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक छिट्टै हुनेछ,’ विदेश मन्त्री पम्पेओले भने ।

अमेरिका र उत्तर कोरिया बीचको विश्वास अझ बढाउन र अमेरिकालाई ठूलो चुनौतीको रूपमा रहेको आणविक हतियारलाई निःशस्त्रीकरण गर्न शिखर बैठक उपलब्धिमूलक हुने उनको विश्वास छ ।

कोरिया प्रायः द्वीपमा शान्ति स्थापनाका लागि अहिले भइरहेका प्रयास सकारात्मक सुरुआत भएको उनको भनाइ छ । यो बाँकी विश्वका लागि पनि सकारात्मक संकेत हो ।

‘हाम्रो समझदारीको रणनीति के कस्तो हुन्छ भन्ने बारेमा मैले अहिले नै केही भन्न सक्दिनँ, यत्ति हो कि यो अवश्य पनि राम्रै हुनेछ,’ उनले भने । उनले थपे, ‘दक्षिण कोरियाका लागि राम्रो हुनेछ, जापानका लागि राम्रो हुनेछ र संसारकै लागि पनि राम्रो हुनेछ ।’

यसै हप्ताको सुरुमा ट्रम्पले किमको तर्फबाट आफूले महत्वपूर्ण पत्र प्राप्त गरेको बताए । उनले पनि चाँडै नै उत्तर कोरियाका नेतासँग भेट्ने मौका पाउने विश्वास व्यक्त गरेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच गत वर्षको जुनमा शिखर बैठक भएको थियो । त्यस समयमै फेरि अर्काे बैठक गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया