देशको कृषि क्षेत्रले आगामी दिनहरूमा कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने कुरा कृषि तथा वन विज्ञान विश्वविद्यालयको शिक्षण, अनुसन्धान र प्रसारका समन्वयात्मक रणनीतिले धेरै निर्क्याल गर्छ
कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक मात्र ‘ल्यान्ड ग्रान्ट मोडल’ मा आधारित प्राविधिक विश्वविद्यालय हो । विश्वविद्यालयको प्रस्तावना अनुसार गुणस्तरीय शिक्षण, अनुसन्धान र प्रसारको माध्यमबाट समग्र कृषि र वन क्षेत्रको विकास गरी देशको ग्रामीण क्षेत्रको सामाजिक र आर्थिक रूपान्तरण गर्ने अभिभारा यसले बोकेको छ । कृषि प्रधान देशका कृषकहरूको हितानुकूल परिकल्पना गरी स्थापना गरिएको यो विश्वविद्यालय अहिले आफ्नो स्थापनाको आठौं वर्षमा यात्रारत छ ।
चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय क्याम्पस कृषि र भेटेरिनरी क्षेत्रमा आफ्नो भविष्य देख्नेहरूले सबैभन्दा बढी रुचाएको शैक्षिक संस्था हो । यो नेपाली कृषि शिक्षाको राजधानी हो, जहाँ बर्सेनि हजारौँ विद्यार्थीहरूले पढ्ने रहर साँचेर प्रवेश परीक्षामा सामेल हुन्छन् । सामेल भएका परिक्षाथीमध्ये १०% भन्दा कमले मात्र त्यहाँ पढ्ने अवसर पाउँदछन्, त्यो पनि एकदमै न्यून शुल्कमा पढिसकेपछि सहजै आकर्षक जागिर पाउने भएर पनि होला हिजोआज कृषि विषयको क्रेज बढ्दो छ ।
प्रवेश परीक्षामा सम्मिलित हुनेहरूको वर्षेनी बढ्दो तथ्यांकले पनि यसको पुष्ट्याई गर्दछ । देशभित्र सबैभन्दा पारदर्शी प्रवेश परीक्षा सञ्चालन गर्ने थोरै शैक्षिक संस्थाहरूमध्ये रामपुर अग्रस्थानमा आउँछ । परीक्षामा सामेल भएको १२ घण्टा भन्दा कम समयमा नतिजा प्रकाशन गर्नु यहाँको खास विशेषता हो । पारदर्शी प्रवेश परीक्षा, न्यून अध्ययन खर्च, अध्ययन पश्चात् रोजगारीको सहज उपलब्धता जस्ता कुराहरू केन्द्रीय कृषि क्याम्पसका उज्याला पाटाहरू हुन् ।
मंसिर महिना रामपुरको लागि सधैं विशेष रहन्छ । कारण यो विश्वविद्यालयको प्रवेश परीक्षाको समय र प्रवेश परीक्षासँगै बढ्ने राजनीतिक तापक्रमको पनि । पहिलोपल्ट कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ ओटा निजी क्याम्पस समेत संग्लग्न गरी सूचना जारी गरेका कारणले बितेका वर्षहरूभन्दा यो वर्षको प्रवेश परीक्षाको सूचना विवादास्पद बन्यो । निजीकरणको यो कदमविरुद्ध विद्यार्थी र प्राध्यापक आन्दोलित भए, अझै पनि आन्दोलित नै छन् । यसै विषयलाई लिएर विभिन्न समयमा क्याम्पस महिनौँ बन्द भइसकेको छ ।
आन्दोलनकै कारण केन्द्रीय कार्यालय र डिन कार्यालयमा आगजनी र तोडफोड भए । लाखौंलाखको सरकारी सम्पत्ति ध्वस्त पारियो । यसपाली पनि विगतमा झैँ जनताको पसिनाबाट बनेको संरचना क्षति पु्र्याउनेलाई राजनीतिक आड प्रदान गरियो । प्रशासन पुनः निरिह साबित भयो । यो दन्डहीनताले आगामी दिनमा पनि यस्ता काम क्रियाकलाप गर्नेहरूलाई एक किसिमको उर्जा सञ्चार गरिदिएको छ । हुनत विश्वविद्यालय हाँक्नेहरूले हैसियत गुमाइसकेपछि अरूबाट पनि सकारात्मक प्रवाहको आस गर्नु पनि बेकार हो । ०६७ सालमा स्थापना भएर हालसम्म त्यहाँ भएका कामको मूल्यांकन गर्ने हो भने कृषि विश्वविद्यालयले पछिल्लो समय पहिल्याएको बाटो प्राज्ञिक रूपमा सन्तोषप्रद छैन ।
कृषि विश्वविद्यालय अबोध बालकझैँ सपनाविहीन, दायित्वविहीन र निश्चित मार्र्गचित्र विहीन साबित हुँदै गइरहेको भान सरोकारवालालाई हुँदै छ । झन् अहिले त आंगिक क्याम्पसरूपी सन्तानोपादन गर्नु र केही अरू निजी क्याम्पसहरूलाई सम्बन्धन बाँड्नुबाहेक विश्वविद्यालयको बागडोर सम्हालेर बसेकाहरूको अन्य प्राथमिकता छैनन् । अहिले विश्वविद्यालयमा भइरहेको काम क्रियाकलापहरूले यस्तै इंगित गरेको छ । यो संस्थालाई विशुद्ध शैक्षिक केन्द्रको रूपमा विकास गर्न प्रयत्न नभएका होइनन् ।
तर, प्रशासकहरूको अकर्मण्यता भनौँ वा विद्यार्थीहरूको चाहनाको कमी भनौँ, यी दुवै फ्याक्टर रामपुरलाई सधैं एउटा जन्जिरभित्र राख्न आजसम्म काफी साबित भएका छन् । चरम राजनीतिक हस्तक्षेपमा आफ्नो व्यक्तिगत फाइदा कोरल्न पल्केकाहरूले कृषि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाएर त्यसको प्राज्ञिक साख गिराउन व्यस्त छन् । परिकल्पना गरे अनुसार त्योे शैक्षिक संस्था आजसम्म पनि कृषि क्षेत्रको मियो बन्न सकेको छैन र केही छुमन्तर भएन भने अझै दशकौंसम्म त्योे कुनै दुविधा बिना त्यस्तै रहिरहनेछ । यी यावत् कुराहरू त्यहाँको अँध्यारो पाटाका उदाहरण हुन् ।
अब पनि कृषि विश्वविद्यालयमा कसैले पनि सकारात्मक हस्तक्षेप नगर्ने हो भने अनि प्राध्यापक एवं विद्यार्थीहरू पनि प्रतिस्पर्धात्मक हुने भन्दा पनि यसै चल्छ चलिरहन्छ भनेर कानमा तेल हालेर बसिरहने हो भने त्यो विश्वविद्यालय सञ्चालनार्थ कृषकले पसिना बगाएर तिरेको कर महँगो सावित हुन जानेछ । किसानको नउकासिएको जीवनस्तरले कृषि क्षेत्रका मैं हुँ भन्ने हामी सबैलाई धिक्कार्ने छ र त्यो दिन हामीले कृषकका निम्ति कृषि पढेको कुनै तुक हुने छैन । हाम्रो धिमा गतिको हिँडाइ र परिकल्पनाले मात्र यो देशको कृषिको मुहार फेरिनेवाला छैन । यो तीतो सत्य हो । अब आउने दिनमा कृषि विश्वविद्यालयले एउटा निश्चित रोडम्याप बनाएर जानुपर्ने आवश्यकता टड्कारो छ । त्यहाँ सुधार्नुपर्ने यावत् कुराहरूमध्ये केही महत्वपूर्ण पक्षहरूलाई यस्ता छन्ः
१. पूर्वाधार विकासः त्यहाँ बनेको उपकुलपतिको कार्यालयलाई अपवाद मान्ने हो भने केन्द्रीय क्याम्पसका अधिकांश भौतिक संरचनाहरू एकदमै पुराना र थोरै विद्यार्थीहरूलाई मात्र धान्ने खालको छ । यसका आंगिक क्याम्पसको पूर्वाधार त झन् केही छैन भन्दा हुन्छ । एकप्रकारले ती आंगिक क्याम्पसका विद्यार्थीहरूले पाउनुपर्ने न्यूनतम पूर्वाधारबाट उनीहरू बन्चित भएका छन्, जसमा प्रशासनको गम्भीर ध्यानाकर्षण जरुरी छ ।
केन्द्रीय क्याम्पसका कतिपय प्रयोगशालामा अझै पनि तीस सालतिरका एसिडका बट्टाहरू प्रदर्शनका निम्ति राखिएका छन् । कृषि पढ्ने विद्यार्थीहरूका निम्ति फिल्ड र ल्याब सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले, त्यहाँको ल्याबको व्यापक पुनर्संरचना सबैभन्दा महत्वपूर्ण छ । यस्तो होस् कि किसानहरूले निस्फिक्री आफ्ना समस्याहरू ती ल्याबमा तेर्साउन सकून् अनि त्यहाँका प्राध्यापक एवं विद्यार्थीहरूले त्यसको उचित समाधान छिटोभन्दा छिटो सुझाउन सकून् ।
पशु चिकित्सातर्फ पनि अत्याधुनिक ल्याब र सुविधासम्पन्न भेटेनरी शिक्षण अस्पतालको विकास निर्माण गरी विद्यार्थीहरूलाई प्रशिक्षित गर्न सके हाम्रो पशु पालन क्षेत्रलाई टेवा पुग्न सक्थ्यो । भौतिक पूर्वाधारको खर्च अत्यधिक हुने हुादा पूर्वाधार विकासका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उचित हुन्छ ।
२. पाठ्यक्रम परिमार्जन एवं स्तरोन्नतिः हरेक विश्वविद्यालयको महत्वपूर्ण पक्ष भनेको पाठ्यक्रम हो । विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीहरू कति प्रतिस्पर्धात्मक र सिर्जनशील हुने भन्ने कुरा त्यहाँको पाठ्यक्रमले निर्दिष्ट गर्छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो मातृ संस्थान त्रिवि भन्दा केही फरक पाठ्यक्रम ल्याए पनि त्यसमा प्रशस्त सुधार गर्नुपर्ने छ । हाम्रो कृषि विषयको पाठ्यक्रमले विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्छ, तर आफ्नै माटोको विविध समस्याको समाधान गर्न असक्षम प्रायः छ ।
त्यसैले हाम्रो पाठ्यक्रम बाह्य बजारभन्दा पनि नेपाली माटो केन्द्रीत भएर नेपालको समस्या सुल्झाउन सहयोगी भूमिका खेलोस् । जबसम्म पाठ्यक्रमको ढाँचा विद्यार्थीहरूलाई विदेश पठाउन मात्र योग्य हुने खालको बनाइन्छ तबसम्म हाम्रो पाठ्यक्रम हाम्रो माटोको निमित्त फेल हुन्छ । त्यसैले, यसबारे विश्वविद्यालयले गहिरो अध्ययन गरी पाठ्यक्रमलाई देशको नीति नियम र किसानको मागअनुसार विकास गर्नुपर्छ ।
पाठ्यक्रम सुधार्नका निमित्त विषय समितिका मानिसहरूलाई विदेश पठाउनुभन्दा आफ्नै देशका किसान र अन्य सरोकारवालाहरूसँग भेटघाट एवं अन्तक्र्रिया गराउनु आवश्यक छ । राष्ट्रको आवश्यकताअनुसार पाठ्यक्रमको विकास नगर्ने हो भने अबका दिनहरूमा पनि किसानहरू मकैको नांगो घोगा बोकेर कृषि कार्यालय घेराउ गर्न छोड्ने छैनन् र बिना कुनै समाधान सधैं उनीहरू निराश भएर घर फर्किरहनु पर्नेछ ।
३. शैक्षिक क्यालेन्डरः एक हप्ता कक्षा लिने र अनुहार हेरेर विद्यार्थीहरूलाई नम्बर दिने परिपाटीबाट अझै पनि कतिपय कृषि विश्वविद्यालयका प्राध्यापकहरू मुख हुन सकेका छैनन् । नीजि कलेजमा नियमित तालिकाअनुसार पढाउने तर आफुले तलब भत्ता र पेन्सन खाने संस्थाप्रति गैरजिम्मेवारीपनाको हद प्रस्तुत गर्ने प्राध्यापकहरूको कमी छैन रामपुरमा । त्यस्ता प्राध्यापकहरूले नै विश्वविद्यालयको मुख्य जिम्मेवारी बहन गरिरहेकाले गर्दा उनीहरूलाई कारबाही गर्ने आँट पनि कसैले गर्न सकेको छैन ।
नियमित पठनपाठनका लागि केन्द्रीय क्याम्पसमा शैक्षिक क्यालेन्डरको आवाज वेला वेलामा उठेको भएता पनि त्यसले आजसम्म मूर्त रूप हासिल गर्न पाएको छैन । शैक्षिक क्यालेन्डरको अभावमा त्यहाँका कक्षा र परीक्षामा कुनै नियमितता छैन । यही अनियमितताले गर्दा त्यहाँका कृषि र भेटेरिनरीका शैक्षिक कार्यक्रमहरू डामाडोल छन् ।
६ महिनाको एउटा सेमेस्टर कहिले लम्बिएर एक वर्षसम्म पुग्छ त कहिले छोट्टीएर तीन महिनामै सकिन्छ । यसले त्यहाँको शैक्षिक गुणस्तरमा ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ । त्यसैले, प्रत्येक सेमेस्टरको पढाइ सुरु हुनु अगावै शैक्षिक क्यालेन्डर प्रकाशित गर्ने र त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । त्यसलाई व्यवहारमा पालन गराउनु सबैकोे समन्वयको आवश्यक छ ।
४. विद्यार्थी भर्ना र शिक्षणः कृषि विश्वविद्यालयमा रहेका धेरै नकारात्मकताका बावजूद पनि हजारौं विद्यार्थी र अभिभावकहरूले निरन्तर विश्वास गरिरहने एक मात्रै कारण त्यहाँको निष्पक्ष एवं पारदर्शी प्रवेश परीक्षा हो । प्रवेश परीक्षा भएको केही घण्टामै नतिजा प्रकाशन गर्नाले राम्रो छाप छोड्न सफल भएको छ । त्यहाँको प्रवेश परीक्षा प्रणाली अन्य विश्वविध्यालये पनि अनुसरण गर्न लायक छ । आगामी दिनहरूमा पनि यो साखलाई निरन्तर कायम गर्ने मार्गमा विश्वविद्यालय कति पनि विचलित हुनुहुँदैन ।
आफ्नो केन्द्रीय क्याम्पसमा २ सय ३० जना र आंगिकहरूमा ४ सय जनासमेत गरी वार्षिक रूपमा लगभग ६ सय ३० जना विद्यार्थीहरूलाई कृषि विश्वविद्यालयले कृषि, भेटेरिनरी र वन संकायमा भर्ना लिन्छ । अहिलेको कृषि शिक्षाको बदलिँदो परिवेशमा अबका दिनहरूमा कृषि संकायतर्फ कृषि स्नातक मात्र भन्दा पनि बाली रोग स्नातक, माटो विज्ञान स्नातकजस्ता विषय केन्द्रित शिक्षणतिर विश्वविद्यालयले सोच्नुपर्ने देखिएको छ ।
विषय केन्द्रित पढाइ भएको खण्डमा त्यहाँ उत्पादित जनशक्तिको बजार अझै व्यापक र विस्तृत हुने थियो । सीमित साधनस्रोत भएको अहिलेको अवस्थामा अवैज्ञानिक रूपमा विद्यार्थी संख्यामात्र बढाएर अब उत्पादन हुने जनशक्तिको गुणस्तरमा सम्झौता गर्ने मार्गतीर लम्केको प्रशासनले आफूले चाल्न लागेको पाइलाको गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
५. परीक्षा प्रणालीः विश्वविद्यालयमा अध्ययनरतहरूको परीक्षाका सम्बन्धमा हाल आन्तरिक र फाइनल गरी सबै संकायहरूमा प्रति सेमेस्टर दुईवटा परीक्षा सञ्चालन हुने व्यवस्था छ । अहिले हुने गरेको आन्तरिक परीक्षाको संख्यालाई बढाएर कम्तीमा दुईवटा बनाउन सकिए त्यसले विद्यार्थीहरूलाई एक किसिमको व्यस्तता प्रदान गरिदिने र आगामी दिनमा सकारात्मक शैक्षिक परिवर्तनमा जोड दिने कारणले यसतर्फ सम्बन्धित निकायको ध्यान गएमा राम्रो हुने छ ।
६. कृषि अनुसन्धान र प्रसारः ‘ल्यान्ड ग्रान्ट मोडल’ को मुख्य विशेषता भनेकै शिक्षणको अलावा अनुसन्धान र प्रसार पनि हो । आवश्यकता केन्द्रीत अनुसन्धानका कार्यक्रमहरू र त्यसको उचित प्रसार नै यस मोडलको खास विशेषता हो । आफ्ना विद्यार्थीहरूलाई बारम्बार धानको प्लटमा कहिले तीन किलो नाइट्रोजन त कहिले चार किलो नाइट्रोजन हालेर गर्ने अनुसन्धानले मात्र कृषि विश्वविद्यालयले आफू ल्यान्ड ग्रान्ट मोडलमा चलिरहेको सान्दर्भिकता प्रस्तुत गर्न सक्दैन । अबको अनुसन्धानले हाम्रो किसानका वर्तमान समस्याहरूलाई समाधान गर्ने र हाम्रो भविष्यको कृषि कस्तो हुने भन्ने खाका कोर्ने खालको अनुसन्धान कार्यलाई प्राथमिकता दिन सके मात्र यो मोडल सफल हुन्छ ।
होइन भने आगामी दिनहरूमा बिना कुनै नतिजा प्राविधिक विश्वविद्यालयलाई किन अनुसन्धानका लागि करोडौँ बजेट व्यवस्था गर्ने भन्ने प्रश्नहरू आउन सक्छन् । लाखौं पैसा खर्च गरेर लेखिएका थेसिसहरू लाइब्रेरीका दराजमा थुप्रीरहने र तिनीहरूको यथोचित प्रसार नगर्ने हो भने अनुसन्धान भनेर पैसा खर्च गरिरहनु सान्दर्भिक हुँदैन ।
अब विश्वविद्यालयको अनुसन्धान निर्देशनालयलाई साँच्चै नै नवीनतम् कृषि अनुसन्धानको केन्द्र बनाउने र त्यसलाई सरकारको नार्क र कृषि विभागसँग समन्वयात्मक ढंगले अघि बढाउने दिशातिर जानु बुद्धिमतापूर्ण देखिन्छ । समन्वयमा गरिने अनुसन्धानले मात्र हाम्रो जस्तो विकासोन्मुख देशका किसानहरूको बहुआयामिक समस्याहरूलाई ठोस निकास दिई उनीहरूको जीवनस्तरमा परिवर्तनको प्रवाह गरिदिन सक्छ ।
विश्वविद्यालयले कृषि स्नातक तहका विद्यार्थीहरूलाई हाल सञ्चालन गरिरहेको ली (रिभ्भ्) कार्यक्रम सबैभन्दा बढी प्रतिफल दिइरहेको कार्यक्रम हो । यसले विद्यार्थीहरूलाई कक्षाकोठा बाहिर दूरदराजमा रहेका वास्तविक कृषकसँग साक्षात्कार गर्ने मौका प्रदान गरिदिएको छ । कृषिका विद्यार्थीहरूसँग कृषकको साक्षात्कार हुन पाउनु एउटा राम्रै कुरो हो । ली (रिभ्भ्) कार्यक्रमलाई अझै परिष्कृत गर्ने र त्यहाँ खटाइएको विद्यार्थीहरूलाई बिल भरपाई बनाउनभन्दा पनि कृषकहरूसँग अझै बढी अन्तरक्रिया गर्ने वातावरणको विकास गर्ने तर्फ केन्द्रित गराउन सक्ने हो भने बल्ल यसले कृषि विश्वविद्यालय र किसानलाई प्रत्यक्ष जोडी कृषकका आवश्यकताहरूलाई सम्बोधन गर्न काफी सावित हुने देखिन्छ । यो ली (रिभ्भ्) कार्यक्रमलाई राष्ट्रको नीतिअनुरूप विकास गर्नचाहिँ नेपाल सरकारले गृहकार्य गर्नु आवश्यकता छ ।
७. शैक्षिक भ्रमणः सायद शैक्षिक भ्रमणमा सबैभन्दा धेरै खर्च गर्ने थोरै शैक्षिक संस्थाहरूमध्ये कृषि विश्वविद्यालय एक हो । त्यहाँको सबैभन्दा सुन्दर पक्ष उसले गराउने शैक्षिक भ्रमण हो । त्यहाँबाट बर्सेनि गराइने शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई देश दर्शनको राम्रो अवसर प्रदान गरिरहेको छ । तर, अब त्यहाँको भ्रमण कार्यक्रमको परम्परात्मक स्वरूपमा हेरफेर गर्नु जरुरी छ । अबका शैक्षिक भ्रमणहरूमा विद्यार्थीहरूलाई इलामको चियाबारीमा लगेर फोटो मात्र खिचाएर मात्रै हुँदै । अलि तल रहेको चिया प्रशोधन केन्द्र पनि देखाउनुपर्छ ।
‘विद्यार्थीलाई गोवाको समुन्द्री तटमा लगेर छोडिदिने कि त्यहाँको काजु खेतीबारे पनि अवलोकन गराउने भन्नेबारे बहस आवश्यक छ । विश्वविद्यालयले गराउने भ्रमण शैक्षिक उद्देश्य हासिल गराउन सके सुनमा सुगन्ध हुन्न पर्छ र क्याम्पसले खर्च गरेको लाखौँ लाख रूपैयाँको उपलब्धि हुने छ । सिकाइलाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक भ्रमण गराउन सकिए अध्ययनपछि विद्यार्थीहरूले अलैंचीको बोटको टुप्पोतिर फर्केर फल खोज्ने छैनन् ।
८. विद्यार्थी संगठनः विश्वविद्यालयको प्रस्तावनामा राजनीतिक आवरणका विद्यार्थी संघ÷संगठनहरूलाई स्थान दिइएको छैन । तर, उसको सांगठानिक प्रारूपमा एउटा गैरराजनीतिक विद्यार्थी युनियनलाई भने वैधता दिइएको छ । यस परिप्रेक्षमा विश्वविद्यालय हाताभित्र कुन आधारमा कयौं राजनीतिक संघ-संगठनहरूको अस्तित्व स्वीकार गरिएको छ, त्यो अचम्मको विषय छ ।
क्याम्पस हाताभित्रका विद्यार्थी संघ-संगठनहरूको अस्तित्वले शतप्रतिशत नराम्रो गरेको छ भन्दा तर्कसँगत नहोला तर उनीहरूका कारण फाइदा भन्दा घाटाको तौल नै बढी भारी भएको कुरा त्यहाँ पढ्ने पढाउने सबैले मनन गर्छन् । स्थापनाको यतिका वर्षसम्म विश्वविद्यालय प्रशासनले आधिकारिक विधार्थी युनियन खोल्ने प्रयास आजसम्म गर्न सकेको छैन । आजसम्म रामपुर र राजनीति एक अर्काका पर्याय देखिएका छन् ।
राजनीतिको त्यो उर्बर केन्द्रबाट रातारात राजनीतिलाई निमिट्यान्न पार्न गाह्रो छ । यद्यपि असम्भव भने छैन । कथंकदाचित तत्काललाई राजनीतिबाट विमुख गराउन नसकिए पनि कम्तिमा एउटा शैक्षिक मर्यादा कायम गरिदिए हुन्थ्यो भन्ने आस शान्त शैक्षिक वातावरणको कल्पना गर्ने विद्यार्थी, प्राध्यापक र शुभचिन्तकहरूको हो ।
९. कोड अफ कन्डक्टः रामपुर यस्तो क्याम्पस हो जहाँ नाम निकालेपछि पढ्नुभन्दा अगाडि कुनै नियम कानुनको पालना गर्छु भनेर कहीं कतै सही छाप गर्नुपर्दैन । रामपुर मात्र त्यस्तो ठाउँ हो जहाँ तपार्इंले आफू पढ्ने ठाउँको झ्यालढोका तोड्ने र आगो लगाउने जस्ता क्रियाकलाप गरिसकेपछि त्यो घटनालाई कुनै पार्टीसँग जोड्न बिर्सनुभएन भने तपाईंलाई कसैले पनि कारबाही गर्ने दुश्साहस गर्दैन ।
यो वास्तवमै निन्दनीय कुरा हो । हुन त कतिपयलाई यो तीतो लाग्न सक्छ, तर त्यहाँ अनुशासनका केही निश्चित बुँदाहरूमा विद्यार्थीहरूलाई बाँध्नै पर्ने देखिन्छ । यो मामलामा क्याम्पस प्रशासन आफ्नो निकम्मापन र निरीहतापनको भुमरीबाट अब बाहिर निस्कने आँट गर्नुपर्छ । पंक्तिकारले सुनेअनुसार लमजुङ कृषि क्याम्पसमा त्यहाँभित्र सम्पतिको तोडफोड गर्नेलाई त्यसको मर्मतको खर्च पूरै असुल उपर गर्ने नियम बनाइएको छ । त्यो नियम रामपुरमा पनि लागू गर्नुपर्दछ ।
सबैका आ—आफ्ना माग हुन्छन्, त्यसको प्राप्तिका लागि आन्दोलन हुन्छ । त्यो सामान्य कुरा भयो, तर त्यो आन्दोलनको नाममा बारम्बार झ्याल—ढोका फोड्ने जलाउनेजस्ता क्रियाकलापलाई पूर्ण रूपमा निषेध गर्नु जरुरी छ । जनताको करले बनेको विश्वविद्यालय कसैको आगो ताप्ने र पहलमानी देखाउने स्थान हुँदै होइन, हुनुहुन्न पनि ! गल्ती गर्ने दन्डित हुनुपर्दछ र गल्ती गर्नेलाई दन्डित गर्ने साहस जुटाउन प्रशासन चुक्नुहुन्न ।
दन्डहीनतालाई प्रशय दिने क्रियाकलाप पूर्णरूपमा निरुत्साहित नगरेसम्म जनताको करले बनेका संरचनाहरू त्यसरी नै दुरूपयोग भैरहने छ । व्यक्तिगत झगडा र रिसइबीबाट हुने बन्दको लागि शून्य सहनशीलताको नीति अँगाल्नु आवश्यक देखिएको छ । होस्टलभित्र कडा सुरक्षा र निगरानीको आवश्यकतालाई मध्यनजर गर्दै त्यसै अनुरूप कार्य सञ्चालनको जरुरत रामपुरको केन्द्रीय क्याम्पसमा देखिन्छ ।
१०. निजीकरण सम्बन्धमाः राजनीतिक वा गैर—राजनीतिक कारणले होस्, केन्द्रीय कृषि क्याम्पसको वातावरण सधैं गरम हुन्छ, त्यो रामपुरको विशेषता हो । यस वर्षको अधिकांश समय रामपुरको केन्द्रीय क्याम्पस भित्रको वातावरण उकुसमुकुस छ । आठ निजी कलेजलाई दिइएको सम्बन्धनको मुद्दालाई लिएर । डिन कार्यालय अगाडि बलिरहेको टायरको धुँवाको मुस्लोले पनि त्यही इंगित गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा निजीकरणको मुद्दा अहिले एकदमै पेचिलो बनेका छ ।
भइरहेका सन्तानहरूको राम्रो पालनपोषण गर्न नसकेको वेलामा चाहना विपरीत भए पनि बन्ध्याकरण गर्नुपर्ने अवस्थामा विश्वविद्यालयले चालेको अहिलेको कदम एकदमै कच्चा देखिएको छ । निजीकरण ठीक हो कि बेठीक भन्ने कुरामा लामो बहस हुन सक्छ तर प्रत्येक प्रदेशमा आफ्नै आंगिक क्याम्पस खोल्ने भन्ने नीति तर्जुमा गरी त्यसैअनुसार काम कारबाही अघि बढिरहेको परिप्रेक्षमा निजी कलेज थापनाको खातिर सम्बन्धन प्रदान गर्ने काम क्रियाकलाप जायज छैन ।
यसका धेरै कारण छन्ः पहिलो त कृषि कलेज अरू कलेज भन्दा पृथक छ, जहाँ पूर्वाधार र जनशक्तिका आवश्यकताहरू सामान्य देखिएता पनि अरू विषयका कलेजको भन्दा बढी हुन्छन् । दोश्रो विकसित देशमा त सरकारको सहभागिता र अनुदान बिना कृषि विश्वविद्यालयहरू चल्न नसकिरहेको सन्दर्भमा हाम्रो जस्तो अर्थतन्त्रको आकार सानो भएको देशमा हचुवाको भरमा सम्बन्धका चल्ला कोरल्न लागि दिनरात मरिमेट्नु हास्यास्पद छ ।
एउटा बाली क्लिनिक, एउटा भेटेरिनरी अस्पताल र आफ्नो आंगिक क्याम्पसका विद्यार्थीहरूको लालन पोषण गर्न असमर्थ संस्थाले निजी कलेजलाई सम्बन्धन दिने काममा चाहिँ छलांग मार्ने जमर्को गर्नुले ‘दाल मे कुछ काला हैं’ को अनुभूति दिएको छ । निजी क्याम्पसलाई सम्बन्धन दिनेबारे पुनर्विचार गर्ने काम विश्वविद्यालयले आफू पूर्णरूपमा सक्षम भएपछि दीर्घकालमा गर्न सक्छ । तर, हाललाई बाहिरी सम्बन्धनभन्दा आन्तरिक सुधारका कार्यहरू बढी महत्वपूर्ण छन् । त्यसैले, हाँगा फैलाउने भन्दा जरा विकास गर्नेतर्फ विश्वविद्यालयले आफूलाई केन्द्रित गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।
अन्त्यमा, देशको कृषि क्षेत्रले आगामी दिनहरूमा कस्तो परिवर्तनको अपेक्षा गर्ने भन्ने कुरा कृषि तथा वन विज्ञान विश्वविद्यालयको शिक्षण, अनुसन्धान र प्रसारका समन्वयात्मक रणनीतिले धेरै निक्र्याैल गर्छ । विश्वविद्यालयलाई अनिर्णयको बन्दी हुनबाट जोगाएर त्यस विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसलाई कृषि शिक्षाको केन्द्रको रूपमा विकसित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्ने, अनि अनुसन्धान र प्रसारलाई नयाँ शिराबाट अगाडि बढाउन सके देशको दुई तिहाइ कृषक जनसंख्याको उपयोग गरी कृषि मार्फत् नै राष्ट्रलाई समृद्ध बनाउने महान् लक्ष्य हासिल गर्ने आम नेपालीको चाहना चरितार्थ हुने थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय आफूमा पूर्ण रूपान्तरित भएर देशको समग्र कृषि क्षेत्रको एउटा सबल मार्गदर्शक बनोस् ।
(लेखक संयुक्त राज्य अमेरिकाको लुजियाना राज्य विश्वविद्यालयमा कृषि अर्थशास्त्रमा विद्यावारिधि अध्ययनरत छन् । )
प्रतिक्रिया