गाउँदेखि सहरसम्मका युवाहरूको बिदेसिने लहर नै चलेको छ यो लहर आजदेखि चलेको भने होइन । अहिले गाउँघरमा युवा जनशक्ति छैनन् । अझ यसो भनाँैै गाउँघरतिर आजभोलि १५ वर्षभन्दा मुनिका बालबालिका र ६० वर्षभन्दा माथिका वृद्धवृद्धा मात्रै बसोबास गर्दछन् ।
पञ्चायती व्यवस्थादेखि लोकतान्त्रिक गणतन्त्र राज्यव्यवस्थासम्म आइपुग्दा नेपालका ५० लाखभन्दा बढी युवा जनशक्ति विदेशमा काम गरिरहेका छन् । नेपालमा हुनेखाने र हुँदा खाने, मानिस बस्दछन् । हुनेखानेहरू अमेरिका अस्ट्रेलिया गएर पिआर होल्डर भएका छन् भने हुँदा खाने मलेसिया, कतार र दुवै गएर शारीरिक श्रम गरिरहेका छन ।
नेपालमै अर्को जमात छ जो विदेशको भूमिमा गएर नेपालको नाम राखेरै विदेशी सेनामा भर्ती भइ लडाकु भएर बसेका छन् । जो जसरी जुनसुकै प्रक्रियाबाट विदेशीय पनि नेपाल युवाविहिन गरिब राष्ट्र हुनुमा विदेश पलायनकै ठूलो भूमिका रहेको छ । हुन त संघीय गणतन्त्रको बहुमतीय सरकारले पनि सुखी नेपाली समृद्ध नेपालको नाराअन्तर्गत पहिलो प्राथमिकतामा वैदेशिक लगानी र वैदेशिक रोजगारलाई नै राखेको छ ।
नेपालबाट वैदेशिक रोजगारमा कहिलेदेखि र कसरी गए भन्नेभन्दा पनि यतिका वर्षसम्म पनि वैदेशिक रोजगारमा युवा पलायन हुँदा पनि किन देशले मुहार फेरेन भन्ने कुरा प्रश्न महत्वपूर्ण छ । नेपाली युवा जनशक्ति बिदेसिनुको इतिहास हेर्दै जाने हो भने सुगौली सन्धि (१८७२) पछि नेपाल खुम्चिन पुग्यो, नेपालका शासकहरू स्वार्थमा लिप्त हुन थाले र नेपालीहरू वैदेशिक रोजगारको खोजीमा विदेशतर्फ भौँतारिने क्रमको सुरुआत यही सुगौली सन्धि पश्चात् भयो । वैदेशिक रोजगारीमा भौँतारिने परम्पराले आज २ सय वर्ष पूरा गरेको छ । पहिले लाहुरे बनाएर विदेश पठाउने काम गरियो भने हाल लाहुरेसँगै लेबर बनाएर विदेश पठाउने गर्ने गरिएको छ ।
०४६ सालको राजनीतिक व्यवस्था परिवर्तन भएपछि नेपालीलाई विदेश पठाउनका निम्ति प्रशस्त मानव व्यापार संस्था म्यानपावर कम्पनीहरू खुलेका छन् । वैदेशिक रोजगारीमा जाने तथ्यांकलाई हेर्दा प्रत्येक दिन करिब १६ सय र प्रतिवर्ष ६ लाखको हाराहारीमा युवायुवती रोजगारीका निम्ति बिदेसिने गरेको देखिन्छ
नेपालको पछिल्लो करिब २ सय वर्षको इतिहासलाई अध्ययन गर्दा राणाशासन कालमा राजा र भारदारहरू बीचको कलहदेखि राष्ट्रप्रमुखको हत्या, सत्ताको छिनाझम्टी, वैदेशिक हस्तक्षेप, रेमिट्यान्समुखी अर्थतन्त्र र जनताको लाहुरे संस्कृतिबाहेक सकारात्मक कुरा धेरै पाइँदैन । राजनीतिक अस्थिरता र लाहुरे मानसिकताले गर्दा देशले उन्नति र प्रगति हुन सकेन । राजनीतिक खिचातानीले गर्दा विदेशी शक्तिहरूले नेपाललाई गरिखाने थलोको रूपमा प्रयोग गर्दै आए ।
नेपालमा प्रजातन्त्र स्थापना भएपछि राजले गठन गरेको मन्त्रीमण्डलको अध्यक्ष र दोहोरिएका प्रधानमन्त्रीको संख्या हेर्ने हो भने ५१ पटक शासन सत्ता हेरफेर भएको छ भने नेपालमा २६ ओटा मन्त्रालय स्थापना गरिएका छन् । पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै ०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने ।
संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा भएपछि नेपालमा प्रचण्डलाई जोड्ने हो भने १० जना प्रधानमन्त्री भइसकेका छन् । नेपाली युवाहरू वैदेशिक रोजगारीमा जानेको संख्या नेपालमा गणतन्त्र आएपछि नै बढेको छ । वैदेशिक सहायता आउनेक्रम बढेको छ भने वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको संख्यामा पनि कमी आउन सकेको छैन । राजाको शासनकालका प्रजाबाट जनता र गणतन्त्रका नागरिकहरूले नेपालमा केही गर्ने र गराउने नीति भने पाएनन् ।
बिदेसिनेहरूले आफ्नो परिवारको केही मात्रामा आफ्नै घरखेत बाँझो राखेर सुख दिलाउन त सक्यो तर कृषि प्रधान देशले भने अरबौँको खाद्यान्न विदेशबाट आयात गरेकै छ । पञ्चायती व्यवस्थादेखि माओवादी युद्ध सुरु हुँदाको सम्म आइपुग्दा नेपालमा ६ सयभन्दा उद्योगधन्दा र संस्थान बन्द गरिए र नेपाली युवा जनशक्तिलाई कामको खोजीमा विदेश पठाउने काम तीव्ररूपमा अघि बढाइयो ।
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र राजनीतिक रूपान्तरणमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको छ । नेपाली युवा शक्ति विकासका लागि देश विदेशमा पठाइएका छन् । युवा आवश्यक ऊर्जाका स्रोत हुन् । नेपालका कुल युवा जनसंख्याको १४ प्रतिशत युवा रोजगारी र शिक्षाका लागि विदेशमा रहेका छन् । अब नेपालबाट विदेश पठाउन भएको विकासक्रमको इतिहासका कुरा गरौँ । नेपालमा लाहुरे संस्कृतिको जन्म भीमसेन थापाको समयदेखि नै सुरु भएको हो ।
अंग्रेजसँग बहादुरीका साथ लड्ने गोर्खाली फौजका वीर लडाकु बलभद्र कुँवर लाहोरका पञ्जाव केशरी रणजीत सिंहको शिख सेनामा भर्ती हुने पहिलो गोर्खाली वा लाहुरे हुन् । अंग्रेजको फुटाउ र शासन गर भन्ने नीति थियो । सोही नीतिअनुरूप ब्रिटिस–भारतमा गोर्खाभर्तीको सुरुआत गरियो भन्ने पनि कहीँ कतै पढ्न पाइन्छ । सुरुमा नेपालबाट भागेर गएका भगौडा सिपाहीहरू मात्र ब्रिटिस–भारत सेनामा झण्डै ५ हजारको हाराहारीमा चारवटा बटालियन थिए ।
हाल सिंगापुर पुलिस, अमेरिकन आर्मी, ब्रिटिस र आर्मीलगायत विभिन्न देशमा सोही देशको सुरक्षाका लागि नेपाली युवा खटिएका छन् । छिमेकी देश भारतद्वारा भने नेपालकै सिमानामा समेत गोर्खा आर्मीहरूका क्याम्प राखिएका छन् ।
जंगबहादुर राणाको समयमा नेपाल सरकारका तर्फबाट उनैको नेतृत्वमा समेत भारतको सिपाही विद्रोह दबाउन नेपाली सेना प्रयोग गरियो र गोर्खा भर्ती केन्द्र खोली औपचारिकरूपमा नेपालीलाई विदेशमा भर्ती गर्ने परम्पराको थालनी गरियो । आज ४ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि मलेसिया मात्रै गएका छन तर अवैधानिक बाटो भएर जानेहरूको आधिकारिक र भरपर्दो तथ्यांक पाइँदैन । नेपालबाट कामदार पठाउनका लागि भनेर कानुनीरूपमा वैदेशिक रोजगारीका लागि १ सय १० देश खुला गरिएको छ ।
नेपालीहरू आज पनि सरकारी र गैरसरकारी तवरमा विश्वव्यापी वैदेशिक रोजगारमा व्याप्त छन् । नेपालमा दैनिकरूपमा शरणार्थीहरू बढ्दै गएका छन् । बजारमा नेपाली उत्पादन पाइँदैन चाइनिज र इन्डिएन सामानको व्यापार फस्टाउदै गएको छ । सरकारले यसतर्फ ध्यानदिन सकेको छैन । हुँदाहँुदा विदेशबाट नेपालमा गुन्द्रुकसमेत आयात गरिन्छ ।
इतिहास हेर्दै जाने हो भने भारतले नेपालीलाई सन् १९६२ मा भारत–चीन युद्धमा प्रयोग गरेको थियो भने अहिले पनि भारत र पाकिस्तानको
लडाइँ हुने बोर्डर एरियामा नेपालीहरू नै रहेका छन् । त्यसैगरी, बेलायतले हङकङको सुरक्षार्थ गोर्खा बटालियनलाई सन् १९५२ देखि १९९७ सम्म खटाएको थियो । आज पनि संयुक्त राष्ट्रसंघका तर्फबाट नेपाली सेना विश्वका खतरायुक्त युद्धक्षेत्र र गृहयुद्ध भएका मुलुकहरूमा शान्ति सेनाका रूपमा परिचालित हुँदै आएका छन् । यो तथ्यबाट पनि २ सय वर्षदेखि नै नेपाल सरकारले नेपालीलाई संस्थागतरूपमा नै वैदेशिक रोजगारीमा परिचालन गर्दै आएको पुष्टि हुन्छ ।
अन्तर्राष्ट्रिय नियम कानुनअनुसार गृहयुद्ध र महामारी भएको देशमा शान्तिसेनाको रूपमा केही समयका लागि जानु स्वाभाविकै होला तर नेपालीहरू रोजीरोटीकै लागि बेचिनु दुःखद् कुरो हो । नेपालको राजनीतिक व्यवस्थामा परिवर्तन हुनासाथ नेपालीहरू वैदेशिक रोजगारीका निम्ति विदेशतर्फ लाग्नुपर्ने नियति बनेको छ ।
०४६ सालको राजनीतिक व्यवस्था परिवर्तत भएपछि नेपालीलाई विदेश पठाउनका निम्ति प्रशस्त मानव व्यापार संस्था म्यानपावर कम्पनीहरू खुलेका छन् । वैदेशिक रोजगारीमा जाने तथ्यांकलाई हेर्दा प्रत्येक दिन करिब १६ सय र प्रतिवर्ष ६ लाखको हाराहारीमा युवायुवती रोजगारीका निम्ति बिदेसिने गरेको देखिन्छ ।
विश्वका ७१ देशमा पुगेका करिब ४० लाख नेपाली गैरआवासीय नेपाली संघ (एनआरएन) मा आबद्ध छन् । विकसित देशमा नेपाली जान पाउनु सुखद पक्ष त मान्न सकिएला तर देशको विकास भने हुँदैन । विकास नै गर्ने हो भने सरकारले आन्तरिक स्रोत र साधनसँगै वैदेशिक सहायता लिन आवश्यक हुन्छ । नेपाली युवा वैदेशिक रोजगारीमा पठाएर नेपालमा कायापलट हँुदैन कामको सम्मानका साथ उचित मूल्यांकन गरी नेपाली युवा जनशक्तिलाई नेपालमै रोजगारी सिर्जना गर्नु नै नेपाल सरकारको प्रमुख दायित्व हो ।
यो २ सय वर्षको विकृत राजनीति र वैदेशिक रोजगारीको विकृतिलाई राम्रोसँग बुझाएर नेपालीलाई स्वाभिमान र स्वावलम्बी बनाउन पनि अझै कति वर्ष लाग्ने हो त्यो पनि भन्न सकिँदैन । तर, सरकारको नेतृत्व गर्ने दल वा दलको मध्यमबाट मन्त्रालयमा जाने मन्त्रीले नेपालको विकास गर्न रेमिट्यान्स होइन नेपाली युवा जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु नै दीगो विकासको मूलआधार हो भनेर बुझ्नु जरुरी छ ।
प्रतिक्रिया