चन्द्र शमशेरको पालामा नेपालबाट सती प्रथा हट्यो । महेन्द्रको पालामा नयाँ मुलुकी ऐनमार्फत छुवाछुत प्रथा हट्यो । राजनीतिकरूपमा राणा शासन, पञ्चायती शासन र राजाको प्रत्यक्ष शासन हट्यो । कमैया र हलिया प्रथा हट्यो । हाल छाउ गोठ हट्दै छ । अब नेपालबाट मदिराको हट्ने पालो आएको छ । जसका कारण सबैको सहयोग र समर्थन जुटाउन प्रस्तुत मदिरा मुक्त नेपालको अभियानसम्बन्धी सम्पादित अालेखः
मदिराले मच्चाएकाे सनसनीः
मदिरामुक्त नेपाल घोषणाको पक्षमा लेख्दै, बोल्दै र अभियान सञ्चालन गर्दै आएको छु । प्रस्तुत सन्दर्भमा यस आलेखको पृष्ठभूमि निम्नानुसार तयार गरेको छुः
-चोरी, डकैती, बलात्कार, घरेलु हिंसा, महिला हिंसा, गुण्डागर्दी, अनुशासनहिनताजस्ता गम्भीर अपराधमध्ये ७० प्रतिशत घटना मदिरा सेवन र लागु औषधको प्रयोगबाट भइरहेको छ ।
-एक्लोपन, सफलता, विवाह, प्रेम, वियोग, सुखदुःख र मोजमस्तीको माध्यम मदिरा बन्दै गएको छ । वैदिक कालमा सोमरस लगायतको नाममा मदिरा सेवन हुने गरेकोमा हाल रक्सी जाँडको रूपमा पानी पिए सरह मदिरा प्रकट भएको पाइएको । यसले जुवा, वेश्यावृत्ति र अनैतिक गतिविधिलाई बढावा दिएको छ ।
-मदिरा सेवनले कैयौँ दुर्घटनामा परी अकालमै ज्यान गुमाउन बाध्य छन् भने कैयौँको घर उजाडिएको छ । मदिरा सेवनले कैयौँको सामाजिक प्रतिष्ठामा धब्बा लागेको छ भने कैयौँ दुर्घटनामा परी जीवनभर अंगभंग भएर बाँच्न बाध्य छन् ।
-नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालका अनुसार गतवर्ष मापसेमा ४२ हजार ८ सय ७३ जना कारबाहीमा परे । सो वर्ष प्रहरीले मात्रै १२ लाख लिटर अवैध रूपमा उत्पादित मदिरा नष्ट ग¥यो । सो वर्ष मदिरा सेवनबाट ९ सय ८९ ओटा मुद्दामा महिला र बालबालिका हिंसामा परेको पाइयो ।
-केही स्थानमा जुत्ताचप्पल, भित्री वस्त्र र कण्डमजस्ता अखाद्य वस्तुको प्रयोगबाट घरेलु मदिरा तयार भएको पाइएको छ ।
मदिरा नियन्त्रणको विश्वव्यापी अनुभवः
– छिमेकी मुलुक भारतको विहार र गुजरातजस्ता स्थानमा मदिरा नियन्त्रणले आर्थिक समृद्धि भित्र्याएको छ । भारतमा नियन्त्रितरूपमा मात्रै मदिरा बिक्री गर्ने गरिएको छ । भारत र पाकिस्तानजस्ता मुलुकमा अझै पनि मदिरा सेवन गर्नेले तीन पुस्ते खुलाउनुपर्ने व्यवस्था छ । अमेरिका, क्यानडा लगायतका मुलुकले पनि मदिरा नियन्त्रणमा प्रयास गरेको देखिन्छ ।
– फ्रान्स, बेलायत र अस्ट्रेलियाजस्ता मुलुकले मदिराको उत्पादन गर्ने भए पनि ती मुलुकको खपत न्यून छ । अर्थात् ती मुलुकले अरू मुलुकमा निकासी गरी विदेशी मुद्रा आर्जन गर्न मदिरा उत्पादन गर्ने गरेका छन् ।
-सोभियत संघका तत्कालीन राष्ट्रपति मिखाइल गोर्बाचोभले सन् १९८५ देखि १९८८ सम्म एन्टी अल्कोहल क्याम्पेन (ड्राइ ल) लागू गरेका थिए ।
-सन् १९६० देखि १९८५ को अवधिमा सोभियत संघ विश्वमै सर्वाधिक मदिरा सेवन गर्ने मुलुकमा पर्दथ्यो ।
-सोभियत संघमा औसत प्रतिव्यक्ति वार्षिक मदिराको खपत १४ लिटर थियो भने संयुक्त राज्य अमेरिकाको प्रतिव्यक्ति वार्षिक मदिरा खपत ८ लिटर थियो ।
-अमेरिकामा सन् २०२० को जनवरीदेखि संविधानको १८औँ संशोधनमार्फत मदिराको उत्पादन, ढुवानी, आयात तथा बिक्री वितरणमा निषेध गरिएको थियो । पछि सन् १९३३ मा नियमन र व्यवस्थापन गर्नेगरी संविधानको २१औँ संशोधनमार्फत मदिराको प्रतिबन्ध फुकुवा गरियो ।
-मुस्लिम बाहुल्य देशमा मदिरा निषेध छ ।
मदिरा सेवनका हानिहरूः
-अल्कोहल सेवनले शरीरमा मात्रै नभई मुखमा पनि विभिन्न समस्या देखिन्छ ।
– बेलायतबाट प्रकाशित हुने जर्नल बिएमसीका अनुसार अल्कोहल सेवन गर्ने मानिस ७ सय प्रकारका किटाणुबाट संक्रमित हुन्छ ।
– अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ ।
य-एक अमेरिकी अनुसन्धानअनुसार मदिरा पिउने मानिसमा क्यान्सर, हृदयघात, मस्तिष्क, कलेजो र पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ ।
-अत्यधिक मदिरा सेवन गर्नेको आकस्मिक मृत्यु हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।
– सामान्य मानिसभन्दा मदिरा सेवन गर्ने मानिसमा उच्च रक्तचापको सम्भावना बढी देखिएको छ ।
– मदिरा सेवन गर्नेहरू मधुमेह र मुटुरोगबाट पीडित छन् ।
– मानिसले तनावबाट मुक्ति हुने निहुँमा मदिरा सेवन गर्छ, तर मदिराले उल्टै मस्तिष्कलाई प्रतिकूल असर गर्छ ।
– केही मानिसमा मात्रा मिलाएर सीमित मदिरा सेवन गरेमा लाभ हुन्छ भन्ने भ्रम छ । वैज्ञानिक परीक्षणबाट यो झुटो सावित भइसकेको विषय हो ।
-मदिरा सेवनले आंशिक पनि लाभ पुग्दैन । बरु शरीर सिथिल हुने, निन्द्रा नपर्ने र मनमा कुरा खेल्नेजस्ता समस्या पैदा हुन्छ ।
– वीर अस्पतालमा वार्षिक औषत ४ हजार ८ सय जना कलेजोको बिरामी आउँछन् । यी मध्ये ६० प्रतिशतको कलेजो रक्सीका कारण बिग्रेको-पाइएको छ । कलेजो बिग्रेपछि प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपण शुल्क महँगो छ । कलेजो प्रत्यारोपण हुन नसक्ने बिरामीले छोटो अवधिमै मृत्युवरण गर्दछ ।
-रक्सीमा हुने टक्सिन (विषादी पदार्थ) ले कलेजोको कोषहरूलाई नष्ट गर्दै लैजान्छ । जस्तो कारण कलेजोमा चिल्लो तथा अन्य पदार्थ जम्मा भई फ्याटी लिभर हुन पुग्छ । जसको कारण खान मन नलाग्ने, दाहिने कोख दुख्ने, पाचन शक्ति कमजोर हुँदै जाने लक्षण देखिन्छ ।
मदिरा सेवनपछिको ताण्डवताको झलकः
-द गार्जियनका अनुसार जर्मनीको म्युनिख सहरमा एउटा २५ वर्षे जड्याँले आफू मदिराको सेवनका कारण मालबाहक रेलको कन्टेनरभित्र फसेको भनी हार गुहार माग गर्दा र निजको उद्दार गर्दा २१ घण्टामा ३७ ओटा सेवाहरू रद्द भएको थियो ।
मदिराको नशामा झुमेका भारतको उत्तर प्रदेश अमरोहा निवासी ४० वर्षे महिपालले बाटोमा घिस्रिरहेको विषालु सर्पको बच्चालाई हातमा उठाइ निल्दा सो सर्प श्वास प्रश्वास नलीमा पसी निजको मृत्यु भएको छ । यस्ता दुष्साहसी र अपत्यारिला घटना मदिरा सेवनकै कारण हुने गरेको छ ।
-एयर इन्डियाको विमान लन्डन उड्न लागेका बखत वरिष्ठ पाइलट अरबिन्द काथपलियाले मदिरा सेवन गरेको पाइएपछि निजलाई तीन वर्षका लागि निलम्बन गरिएको छ । पाइलटले सामान्यतः हवाई जहाज उडाउनु १२ घण्टा पूर्व मदिरा सेवन गर्न नहुने विश्वव्यापी मान्यता छ ।
-पश्चिम भारतको गुजरात राज्यमा रहेको सोनामाला अस्पतालमा वरिष्ठ चिकित्सक पिजे लखानीले मदिरा सेवन गरी गर्भवती महिला कामिनी चाचीको अप्रेसन गर्दा आमा र शिशु दुवैको मृत्यु भएको छ ।
– नेपालको धनुषा जिल्लाको कमला नगरपालिका लक्करमा विषाक्त मदिरा सेवनबाट करिब आधार दर्जन मानिसले ज्यान गुमाएका थिए । ०४८ सालमा यसै जिल्लामा १९ जनाले र ०६२ सालमा ६ जनाले विषाक्त रक्सी सेवनकै कारण अकालमा ज्यान गुमाएका थिए । जसका कारण प्रदेश–२ को प्रदेश सभामा प्रदेश–२ लाई मदिरामुक्त प्रदेश घोषणा गर्न दबाब बढेको छ ।
-पोखरा २२ पुम्दीघुम्दीस्थित कोटीमा १० वर्षिया बालिकाको बलात्कार र हत्या गर्नेले सो दिन पटकपटक मदिरा सेवन गरी अपराध गरेको प्रहरीको भनाइ बाहिर आएको छ ।
मदिराले गरेको सत्यानाशः
-तेह्रथुममा प्रतिवर्ष ५७ मेट्रिक टन धान, मकै, कोदो, गहुँ र जाँै उत्पादन हुने गरेकोमा करिब ८ हजार मेट्रिक टन मदिरा उत्पादनमै खपत हुने गरको तथ्यांक देखाएको छ । यो खाद्यान्न २५ हजारलाई एक वर्ष खान पुग्ने अन्न बराबर हो । यसको मूल्य करिब २४ करोड बराबर हुन्छ ।
नेपाल सरकारले ३० ओटा दुर्गम जिल्लामा खाद्यान्नको अभावका नाममा खाद्य संस्थानमार्फत वार्षिक ५० रुपैयाँ करोडभन्दा बढी रकम ढुवानी भाडामा खर्चिने, नेतागण खाद्यान्न बोक्ने हेलिकोप्टर र हवाई जहाजमा सवार भई राजनीति गर्ने, ठेकेदारले ढुवानीकै क्रममा चरम दुरुपयोग गर्ने, कर्मचारी कमिसनमै रमाउने र आमजनता भात खानुको सट्टा रक्सी बनाइ झुम्नेजस्तो डरलाग्दो अनुमानित आँकडा हाम्रोसामु छ । जुन तेह्रथुमको तथ्यांकले कल्पना गर्न बाध्य गराएको कटु सत्य हो ।
मदिरामुक्त नेपाल घोषणाको प्रस्तावित खाकाः
माथिका तथ्य, तथ्यांक र सूचनाका आधारमा मदिरा सेवनले मुलुकलाई पतनको दिशामा लैजाने निश्चित प्रायः छ । यस अवस्थामा नेपालमा मदिरा पूर्णरूपमा निषेधित गर्नु नै राष्ट्र र जनताको हितमा हुने देखेर निम्न प्रस्ताव अघि सारेको छुः
– नेपाललाई मदिरामुक्त देश घोषणा गर्नुपर्छ । यसरी घोषणा गरेको दिनबाट नेपालमा मदिरा उत्पादन गर्ने र पैठारी गर्ने काम पूर्णतः उन्मूलन गर्नुपर्छ ।
-हालका मदिरा उत्पादन गर्नेगरी खुलेका सबै कारखानाको मूल्याकंन गर्नुपर्छ । यसमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिलाई पनि राख्नुपर्छ । कारखानामा भएका मदिरा, कच्चा पदार्थ, एलसी खोलेका विषयमा औचित्य हेरी क्षतिपूर्तिसमेत दिनुपर्छ । अन्य मुलुकमा बिक्री गर्न सम्भव हुने जति मेसिन, मदिरा र कच्चा पदार्थ बेच्ने मौका दिनुपर्छ । यसरी मदिरा उद्योग खाली गरेपछि सो स्थानमा अस्पताल, स्कुल, प्रहरी चौकी, सामुदायिक भवन र पालिकाको कार्यालय खडा गर्न सकिन्छ ।
-मदिरा भन्नाले रक्सी, बियर, वाइन र घरपालुवा रक्सी लगायतलाई बुझ्नुपर्छ । यी सबैको उत्पादन, बिक्री, वितरण र सेवनमा पूर्णतः रोक लगाउनुपर्छ ।
– हाल मदिरा उद्योग सञ्चालन गर्ने उद्योगीलाई अर्को क्षेत्रको उद्योग स्थापना गर्न सरकारले जमिन, ऋण र इजाजत लगायतका सुविधा दिन कन्जुस्याइँ गर्नु हुँदैन । यसैगरी, मदिरा बिक्री गर्ने पसललाई पनि क्षतिपूर्ति स्वरूप अर्को व्यवसाय गर्न निःशुल्क तालिम, बैंकको ऋण, इजाजत लगायतका छुट सुविधा दिनुपर्छ ।
– नेपालको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र विशिष्टता जोगाइ राख्न यस क्षेत्रका धर्मगुरु, अगुवा र बुढापाकासँग राय परामर्श गरी उपयुक्त ढंगले सीमित मात्रामा घरपालुवा मदिराको उत्पादन गर्न, सेवन गर्न र धार्मिक काममा प्रयोग गर्न दिनुपर्छ ।
मदिरा नियन्त्रणको प्रस्तावः
तत्काल मदिरा मुक्त नेपालको घोषणा गर्न नसकिने भए मदिरा नियन्त्रणका लागि निम्न कार्य गर्न जरुरी छः
-नेपालभरिका होटल, रेस्टुराँ, लज, रिसोर्ट र होमस्टे लगायतलाई ‘मदिरारहित’ र ‘मदिरासहित’ को वर्गीकरणमा राखी मदिरासहितको पसललाई मदिरा रहितको तुलनामा कम्तीमा ५ दोब्बर कर लगाउनुपर्छ ।
– सरकारी भोज भतेरमा मात्रै होइन, सर्वसाधारण नागरिकले पनि पार्टी प्यालेस लगायतका खुला एवं सार्वजनिक स्थानमा आयोजना गर्ने भोजभतेरमा मदिरा पूर्णरूपमा निषेध गर्नुपर्छ ।
-सरकारी कार्यालय, सार्वजनिक स्थल, विद्यालय, अस्पताल र धार्मिक स्थल लागायतका सबै स्थानमा मदिरा निषेध गरी सो स्थानमा सेवन गर्नेलाई कम्तीमा एक वर्षको कारावास सहितको दण्ड घोषणा गर्नुपर्छ ।
-मदिरा बिक्री गर्ने पसल साँझ ६ बजे खुल्ने र राती ९ बजेभित्र बन्द भइसक्नुपर्छ । ती पसलमा १८ वर्ष मुनिका मानिसको प्रवेश निषेध गर्नुपर्छ । सो पसलमा प्रवेश गर्नेको शरीर सिसी क्यामरामा कैद गर्नुका साथै तीन पुस्ते खुलाएर मात्रै मदिरा खरिद गर्न पाउने व्यवस्था हुनुपर्छ ।
-मदिरा खरिदकर्ताले मदिरा पिउने इजाजत लिनुपर्नेछ । यस्तो इजाजत लिँदा चिकित्सक र घरपरिवारको अनुमति आवश्यक पर्नेछ । निजले दिनको बढीमा एक सय मिलिसम्म पिउन पाउने हुनुपर्छ ।
– नेपालमा रहेका ७ सउ ५३ वटा स्थानीय तहमा गाउँपालिकाको हकमा एउटा र नगरपालिकाको हकमा प्रतिवडा एउटा मदिरा बिक्री गर्ने पसल मात्रैको इजाजत दिनुपर्छ । यस्तो इजाजत लिनेले सार्वजनिक रूपमा कर तिर्ने रकमको बढाबढ बोली सर्वाधिक बढी कर तिर्नेलाई इजाजत दिनुपर्छ । यस्तो कबोल गरेको रकम प्रत्येक वर्षको साउन १ गते वा सो पूर्व नै पूर्णरूपमा चुक्ता गरेपछि मात्र सो एक आर्थिक वर्ष पसल सञ्चालन गर्न पाउनेछ ।
कर तिर्न एक दिन एक घण्टा मात्रै ढिला गरे पनि सो इजाजत स्वतः खारेज हुनेछ । यसरी खारेज भएको इजाजतको पुनः नवीकरण गर्ने राजनीतिक वा प्रशासनिक जो सुकै पदाधिकारीलाई तत्कालै पक्राउ गरी भ्रष्टाचारमा कारबाही गर्ने प्रबन्ध गर्नुपर्छ ।
– कुनै पनि सांस्कृतिक, धार्मिक पर्व, उत्सव, समारोह, सामूहिक भोज भतेर र सामूहिक कार्यमा मदिरा सेवन गराउने प्रमुखलाई तत्काल पक्राउ गरी कम्तीमा एक वर्ष कारावासको दण्ड हुने व्यवस्था गर्नुपर्छ ।
-मलेसियामा विषाक्त मदिरा सेवन गरेर कैयौँ नेपालीको ज्यान गयो । यो स्वयंमा दुःखको विषय हो । तर, नेपालीले विदेशमा समेत आफ्नो प्रतिष्ठा राख्न नसकेर नेपालको प्रतिष्ठामा धावा बोले । खाडी मुलुकमा पुगेकाले पनि अखाद्य वस्तु प्रयोग गरी मदिरा निर्माण गरी पक्राउ परेका छन् । यसर्थ, वैदेशिक रोजगारीमा जानेले तत् मुलुकमा मदिरा सेवन गरेर कुनै आरोप लागेको पुष्टी भएमा नेपालमा कम्तीमा ६ महिना कैद हुने र रेमिट्यान्स भित्र्याउनेलाई सरकारले दिएका कुनै पनि सुविधा प्रयोग गर्न नपाउने प्रबन्ध गर्नुपर्छ । क्रमशः
प्रतिक्रिया