नेपाली कांग्रेसको महासमिति बैठक भर्खर सम्पन्न भएको छ । नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष महासमिति बैठक गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि महासमिति बैठक भएको हो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि यो पहिलो महासमिति बैठक हो । महासमितिलाई पार्टीको नीति–निर्माण गर्ने शक्तिशाली वैचारिक थलोको रूपमा लिइन्छ । नेपाली कांग्रेसका १ हजार ५ सय २ निर्वाचित महासमिति सदस्यहरूसहित जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई पनि महासमिति बैठकमा सहभागिता गराइँदा १ हजार ६ सयभन्दा बढीले भाग लिएका थिए ।
नेपाली कांग्रेसको जीवन मध्यम मार्गमा सुनिश्चित रहने र अहिले नेपाली कांग्रेस वामपन्थीहरूलाई पाखा लगाउँदै अगाडि बढ्ने सोचमा लागेको छ । बिपी कोइरालाको निधनपछि गणेशमान सिंहले वामपन्थीहरूबीच सहयोग र सद्भाव बढाए पनि उनको निधन भएको, कृष्णप्रसाद भट्टराई आफ्नै पार्टीभित्र कमजोर भएको र गिरिजाप्रसाद कोइरालाजस्ता आत्मकेन्द्रित नेता बलवान् भएको मौका छोपी कम्युनिस्टहरू कांग्रेसलाई आफ्नो एजेन्डा बोकाउन सफल भएका हुन् । त्यसपछि सुशील कोइराला र शेरबहादुर देउवा पनि बिपीको विचारमा कांग्रेसलाई उभ्याउन असफल रहेपछि देश कम्युनिस्टमय बन्न पुगेको छ ।
नेपाली कांग्रेसको महासमिति बैठकले ०७ सालमा सशस्त्र क्रान्ति गर्ने, ०९ भदौमा अन्तरिम सरकारका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पार्टीबाटै हटाउने, १० सालको पुसमा नेपाली मुद्रा प्रचलनमा ल्याउने र संसदीय निर्वाचन स्वीकार गर्ने, ०१५ सालमा काठमाडौंको महासमिति बैठकले महामन्त्री विश्वबन्धु थापा र डा.तुल्सी गिरीलाई हटाएर गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई महामन्त्री बनाउने, ०३४ सालमा असोजको बैठकले सुवर्णशमशेर राणाले पार्टी सभापतिको जिम्मेवारी बिपी कोइरालालाई सुम्पने, ०४६ सालको वैठकले गणेशमानसिंहको नेतृत्वमा जनआन्दोलन गर्ने, ०४९ सालको माघको निर्णयले सरकारको कामको समीक्षा र पार्टी विधानमा समसामायिक परिवर्तन गर्ने, ०५१ को निर्णयले पाँच विकास क्षेत्रबाट एक-एकजना केन्द्रीय सदस्य निर्वाचित गरी समावेश गर्ने, ०५४ सालमा तत्कालीन केन्द्रीय कार्यसमिति विघटन गरेर नयाँ कार्यसमिति बनाउने, ०६४ असोजमा संवैधानिक राजतन्त्र विधानबाटै हटाउने अनि गणतन्त्रमा जाने र प्रजातान्त्रिक कांग्रेसको एकीकरण गर्ने, ०६६ कार्तिकमा केन्द्रीय कार्यसमिति समावेशीसहित ८८ सदस्यीय बनाउने र पार्टी सामूहिक नेतृत्वमा चलाउने, ०६९ चैतको बैठकले संविधानसभाबाट संविधान बनाउने र ०७५ मंसिर–पुसको महासमिति बैठकले केन्द्रीय समितिको आकार १ सय ६७ सदस्यीय तर, निर्वाचित पदाधिकारी १३ र सभापतिले २० प्रतिशत (३३ जना) मनोनित गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका लागि अबको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी नै लोकतान्त्रिक प्रणालीलाई जोगाई नेपाली समाजमा रहेको जातीय, भाषिक र सांस्कृतिक विविधताभित्र एकता छ र एकताभित्रै विविधता छ भन्ने भावना जागृत गरी नेपाली कांग्रेसले जातजाति, आस्था, बासस्थान, वेशभूषा र आर्थिक हैसियतका आधारमा हुने सबै प्रकारको उच–नीच र भेदभाव समाप्त भएको परिकल्पना गर्नुपर्दछ । पूर्वीय दर्शन, विचार र परम्परामाथि कांग्रेसले विश्वास गर्नुपर्दछ । हाम्रो राष्ट्रिय पहिचान, स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डता कांग्रेसको स्वाभिमानको स्रोतको मार्गचित्र कोर्नै पर्दछ ।
त्यसैले, नेपाली कांग्रेस अब एक ढिक्का भएर नेपाली जनताको भावनामा ठेस लाग्न नदिने गरी अगाडि बढ्नुपर्दछ । कांग्रेस खुला, सहज र पारदर्शी सदस्यतासहितको पार्टी बनेर अग्रसर हुनुपर्दछ । २९मंसिरदेखि ८ पुससम्म बसेको महासमितिको बैठकले व्यवस्थापन पक्ष र व्यवस्थापन इतर पक्षबीच मन माझामाझ मात्र भएको छैन, गहिरो प्रेम नै स्थापित भएको छ भनिन्छ । तर, त्यसलाई व्यवहारतः प्रमाणित गर्न भने बाँकी नै रहेको छ । नेपाली जनता र कांग्रेसबीच एक ढिक्का हुने प्रणले मात्र पुनः एकताभित्र विविधता झल्किने विश्वास गर्न सकिन्छ ।
यथार्थमा भन्ने हो भने नेपाली कांग्रेसको सभापतिमा गिरिजाप्रसाद कोइरालाको विजयपछि कांग्रेसभित्र गुट र उपगुटको जन्म भएको हो । कोइरालाको सरकारले कांग्रेसको नीति, सिद्धान्त र विचारअनुसार सरकार चलाउन नसकेर आन्तरिक विवाद, पद र सत्तास्वार्थमा कांग्रेस पर्न गयो र त्यो आजसम्म नै निरन्तर छाइरहेको छ । पद र सत्ता स्वार्थले कांग्रेस अगाडि बढ्न सकेन । देशको विकास र समृद्धि गर्न सकेन । बेरोजगारी समस्या हल गर्न नसकी जनताका आधारभूत आवश्यकता त्यसै थन्किन पुगे ।
गिरिजाप्रसादकै कारण बहुमत सरकार मध्यावधि निर्वाचनमा होमियो, जसले गर्दा कांग्रेस झनै कमजोर र हतोत्साही बन्यो । गिरिजाप्रसाद कोइरालाकै कारण राजतन्त्र ढलाइयो तर गणतन्त्र आएर न नेपाली जनताले सुख पाए, धर्मनिरपेक्षताले मुलुकमा गृहयुद्ध नै निम्तिने छाँट आएको छ । संघीयता ढुलमुलाएर बचेको छ, न समात्ने हाँगो छ, न के… ।
सुशील कोइराला सभापति र प्रधानमन्त्री भएपछि संविधान त बन्यो तर त्यसलाई कार्यान्वयनमा लानुभन्दा मधेसी जनताका कारण झनै देश बर्बादीतिर गयो । अहिले तीनवटा निर्वाचन संघीय, प्रदेश र स्थानीय सरकार आएका छन् तर, जताततै अस्तव्यस्त र भाँडभैलो भइरहेको छ । त्यसैले, नेपाली कांग्रेसको महासमिति बैठकले यसलाई सम्हाल्नुपर्ने खाँचो हो तर, त्यो पनि त्यसै सकिएको छ ।
नेपाली कांग्रेसको महासमति बैठक र कांग्रेसको राजनीतिक कार्यदिशा र रणनीति मजबुत बनाएर कांग्रेस पार्टीले प्रतिपक्षको भूमिका सशक्त बनाएर, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्दै नेपाली जनताको भावनालाई समेट्दै अघि बढ्यो भने आगामी निर्वाचनमा पुनः पहिलो पार्टी बन्ने कल्पना गर्न सकिन्छ । नत्र भने कांग्रेसले पार्टीको पुनर्जीवन धान्न मुस्किल पर्नेछ । कांग्रेसले प्रत्येक नेपालीको घरदैलोमा पुगेर जनतासमक्ष आफ्ना धारणा स्पष्ट राखी जनतासामु आफू सुध्रिने मौका पाउने अवसर लिन सक्नुपर्दछ । अनि मात्र कांग्रेसको भविष्य छ । पार्टीभित्र आत्मलोचना गरेर कमजोरी हटाइ अगाडि बढ्न सक्नुले नै नेपाली कांग्रेसको आगामी रणनीति बलियो बन्न सक्छ । अहिलेलाई यति मात्र विश्वास गरौँ ।
प्रतिक्रिया