उत्पादनका साधन भूमि, श्रम, पुँजी र प्रविधिमा लगानी नगरी उत्पादक र उपभोक्ताको शोषण गरेर सम्पत्ति कमाउने प्रवृत्तिको प्रोत्साहन नै दलाल पुँजीवाद हो । जसलाई अहिलेको सरकारले प्रोत्साहन दिइरहेको छ । वर्तमान सरकारले विकास र समृद्धिका कुरा गर्न अझै छोडेको छैन ।
तर, विकास र समृद्धिका लागि गर्नुपर्ने कामका बारेमा कुनै योजना र मार्गचित्र भने कोर्न सकिरहेको छैन । कुराले मात्र विकास हुँदैन, काम गर्नुपर्छ । अबको अर्थ राजनीतिको दिशा समाजवाद उन्मुख हुने कुरा संविधानको प्रस्तावनामा नै उल्लिखित छ । समाजवाद भनेको के हो ? समाजवादमा जान के गर्नुपर्छ ? समाजवादमा जाने बाटो के हो ? यी प्रश्नमा गम्भीर हुन जरुरी छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा दलाल पुँजीवाद हाबी हुँदै गएको छ । यो स्थितिमा कसरी समाजवादको बाटोमा जान सकिन्छ ? समाजवाद भनेको पातपातमा र हातहातमा त्यसै आउने कुरा होइन । मुलुकलाई समाजवादमा लैजान दलाल पुँजीवादको अन्त्य हुन जरुरी छ । समाजवादी व्यवस्थामा योग्यता अनुसारको काम पाइन्छ ।
रोजगारीका अवसरहरू प्राप्त हुन्छन् । श्रमको उचित मूल्य निर्धारण गरिएको हुन्छ । बेरोजगार युवायुवतीहरूलाई भत्ताको व्यवस्था गरिएको हुन्छ । ज्येष्ठ नागरिकलाई सबै कुराको सुविधा प्रदान गरिएको हुन्छ । मुलुकलाई समाजवादको बाटोमा लैजान अर्थतन्त्र बलियो हुनुपर्छ । मुलुकको वर्तमान आर्थिक अवस्था नाजुक छ ।
मुलुक हाल आत्मनिर्भर हुन सकेको अवस्था छैन । हामी धेरै पहिलेदेखि परनिर्भर हुँदै आएका छौँ । जबसम्म मुलुक आत्मनिर्भर हुन सक्दैन तबसम्म मुलुक समाजवादको बाटोमा जान सक्दैन । देशभित्र उत्पादनशील उद्योग र व्यवसायको विकास गर्नुपर्ने आवश्यकता छ । यसको विकास नहुँदा लाखौँलाख युवाहरू बेरोजगार छन् ।
उत्पादनका साधन भूमि, श्रम, पुँजी र प्रविधिमा लगानी नगरी उत्पादक र उपभोक्ताको शोषण गरेर सम्पत्ति कमाउने प्रवृत्तिको प्रोत्साहन नै दलाल पुँजीवाद हो । राज्यका संयन्त्र, साधनस्रोत र अवसर आफ्नो नियन्त्रमा लिई उपभोक्ता, श्रमजीवि पर्ग र लगानीकर्ता सवै पक्षमाथि अन्याय र शोषण गरेको हुन्छ । देशका धनाढ्य वर्ग र पहुँचवाला जनप्रतिनिधिको साँठगाँठमा दलाली प्रथा दिनानुदिन फस्टाउँदै गएको देख्न सकिन्छ । यसले माफिया र तस्करी प्रवृत्तिलाई मलजल गरिरहेको छ
बेरोजगारीका कारणले ती युवाहरू विदेश जान बाध्य छन् । युवाहरू रहरले विदेश गएका होइनन् । मुलुक रेमिट्यान्सको भरमा चलेको छ । यसरी देश बन्दैन । शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरू निजीकरण छन् । गरिब जनताका छोराछोरीहरूले राम्रो शिक्षा पाउन सकिरहेका छैनन् । शिक्षा महँगो भयो । दुइथरी शिक्षाले विभेद गरेको छ । गरिबका छोराछोरीहरूले सरकारी स्कुलमा पढ्नुपर्ने बाध्यता छ भने धनीका छोराछोरीहरूले महँगा र सुविधा सम्पन्न निजी स्कुलमा पढिरहेका छन् ।
हामीले कस्तो शिक्षा दिइरहेका छाैँ र धनीका छोराछोरीहरूले कस्तो शिक्षा पाइरहेका छन् । यो हामीले बुझ्नुपर्ने कुरा हो । शिक्षा र स्वास्थ्य क्षेत्र पूरै निःशुल्क बनाइनुपर्छ । त्यसो भयो भने मात्र देशको उन्नति प्रगति हुन सक्छ । पैसाको कारणले कसैका छोराछोरीहरू शिक्षाबाट बञ्चित हुनु हुँदैन । कर छली गर्ने र कर मिनाहाका लागि कर्मचारीतन्त्र र राजनीतिकदल र तिनका नेताहरूसम्म सञ्जाल खडा गरी अकुत धन सम्पत्ति कमाउने जुन प्रवृत्ति देखिएको छ त्यही नै दलाल नोकरशाही पुँजीवादको विकास हो । यस्तो दलालीधन्दा गर्नेहरूले तल्लो तहको प्रशासन, जनप्रतिनिधिदेखि उच्च तहसम्म आफ्नो सञ्जाल फिँजाएका हुन्छन ।
दलाल पुँजीवादले देशलाई समाजवादको यात्रातर्फ लैजान अवरोध खडा गरिदिएको छ । जसले गर्दा समाजवाद उन्मुख बाटोमा चुनौतीहरू देखिएका छन् । समाजवादी व्यवस्था स्थापना गर्न अनेकौँ अप्ठ्याराहरूसँग जुध्दै अघि बढ्नुपर्ने आवश्यकता हुन्छ । अहिले मुलुक राजनीतिक क्रान्ति सम्पन्न गरेर आर्थिक क्रान्तिको बाटोमा अघि बढ्ने सोचमा छ । समाजवादी व्यवस्थामा जानका लागि आर्थिक र सामाजिक क्षेत्रमा विद्यमान सामान्ती शोषण उत्पीडनको अन्त्य गर्नु जरुरी छ ।
राष्ट्रिय पुँजीको विकास गरेर व्यापकरूपमा उत्पादन बढाउने काममा लाग्नुपर्छ । मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउन जनचेतनाका कार्यक्रम अघि सार्नुपर्छ । जनतामा समाजवादबारे चेतना भएन भने समाजवाद आउन सक्दैन । सुशासन कायम हुन सकेन भने समाजवाद उन्मुख बाटो तय हुन सक्दैन । विश्वका सबै मुलुकले भ्रष्टाचारलाई उन्मुलन गरेर नै विकास र समृद्धि गरेका छन् । सरकारले भ्रष्टाचार र अनियमितता हुन दिनु हुँदैन । भ्रष्टाचार नियन्त्रण गर्न त्यति सहज छैन ।
तर, सरकारसँग दृढ ईच्छाशक्ति हुने हो भने यो सम्भव छ । अहिले सरकारको मुख्य कार्यभार भनेको मुलुकको समग्र विकासगरी समृद्ध नेपाल र सुखी नेपाली बनाउने नारा कार्यान्वयन हो । तर, यो गतिविधिले समृृद्धिको कार्यभार पूरा हुने छैन । भ्रष्टाचार किन यसरी झाँगिदै गएको छ, यसको कारक तत्व पत्ता नलगाएसम्म भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने दिशामा कठोर कदम नचालेसम्म मुलुकको विकास हुन सक्दैन । सरकार सबैभन्दा बढी पारदर्शी हुनुपर्छ ।
सरकार पारदर्शी नहुँदा समस्या निम्तिने गर्छ । सरकारले कठोर कदम चालेर देश विकासमा अघि बढ्नुपर्छ । विश्वको तुलनामा नेपाललाई आर्थिक रूपमा के कसरी अघि बढाउन सकिन्छ त्यो बारेमा सरकार गम्भीर गृहकार्य र सोचका साथ अघि बढ्नुपर्छ । पुँजी, श्रम आदि उत्पादनका साधनमा लगानी नगरिकन उत्पादक र उपभोगकर्ता दुवै पक्षबाट शोषणगरी नाफा आर्जन गर्ने मध्यस्थ पक्षलाई नै दलाल भनिन्छ ।
जसले राज्यका संयन्त्र, साधनस्रोत र अवसर आफ्नो नियन्त्रमा लिई उपभोक्ता, श्रमजीविवर्ग र लगानीकर्ता सबै पक्षमाथि अन्याय र शोषण गरेको हुन्छ । देशका धनाढ्यवर्ग र पहुँचवाला जनप्रतिनिधिको साँठगाँठमा दलाली प्रथा दिनानुदिन फस्टाउँदै गएको देख्न सकिन्छ । यसले माफिया र तस्करी प्रवृत्तिलाई मलजल गरिरहेको छ । यसमा सरकार सचेत हुन जरुरी छ । सरकारले देशमा कृषि, वन, र खनिज वस्तु, उत्पादनका क्रियाकलापमा वृद्धि गर्दै वस्तु विविधिकरणमार्फत राष्टिय पुँजी र श्रम बजारको विकास र विस्तार गर्दै जानुपर्ने आवश्यकता देखिन्छ ।
यसो नगरेसम्म देशमा समृद्धि र विकास अनि सुशासन सम्भव छैन । दलाल र माफियाहरूकै कारण राज्यमा गरिबी, विभेद निम्त्याएको हो । त्यसैले, दलाल पँुजीवादको अन्त्य हुनु जरुरी छ । यसको अन्त्य नगरेसम्म समृद्धिको सपना पूरा हुन सक्दैन । नागरिकलाई विपन्नताको स्थितिमा धकेलेर देशमा आर्थिक असमानता कायम गर्न गराउन कसैलाई छुट छैन । राज्यले प्रदान गर्ने सेवा सुविधाबाट सिमान्तकृत, पिछडा वर्ग, अल्पसंख्यकको जीवनस्तरमा खासै सुधार आएको छैन ।
यो नै वर्तमान समस्या हो । नेपाली जनता अझै पनि गरिबीको रेखामुनि रहेका छन् । यसको कारण भनेको मुठ्ठीभरि दालाल पुँजीपति वर्गको बाहुल्यता रहनु हो । अरू केही होइन । अहिले देशमा कम्युनिस्टको सरकार छ । यो सरकारले ईच्छाशक्ति देखाएर काम गर्ने हो भने केही परिवर्तन हुन सक्छ । सरकारसँग ईच्छाशक्तिको अभाव छ । सुरुआती दिनमा जनताले यो सरकारबाट धेरै कुराको आशा र भरोशा राखेका थिए । सरकार गठन भएको पनि १० महिना बित्न थाल्यो तर कुनै काम चित्त बुझ्दो तरिकाले गर्न सकिरहेको छैन । जनताको आश मरिसकेको अवस्था छ ।
अवसर सधैँ आउँदैन । यो वेला सरकारले काम गर्न सकेन भने कहिल्यै पनि गर्न सक्दैन । सरकारले समाजवाद उन्मुख कार्यक्रम ल्याउनु जरुरी छ । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य कम्युनिस्ट पार्टीको हो । कम्युनिस्ट पार्टीको घोषणा पत्रमा नै यो कुरा उल्लिखित छ । जनताले साथ दिएको पनि यिनै कुरालाई आधार मानेर हो । जनतालाई भ्रममा पार्नु हुँदैन । त्यसले पार्टीलाई क्षति पु¥याउँछ । कम्युनिस्ट पार्टीको लक्ष्य र उद्देश्य भनेको वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो ।
साम्यवाद भनेको मान्छेद्वारा मान्छेमाथि गरिने सबै खाले शोषण, दमन, अन्याय, अत्याचार र उत्पीडनको अन्त्यगरी मानव समुदायको निर्माण हो । यो दिशातिर वर्तमान कम्युनिस्ट पार्टी र सरकारअघि बढिरहेको छ कि छैन ? यो बुझ्न जरुरी छ । ऐतिहासिक झापा विद्रोहको जगमा टेकेर माले हुँदै एमाले बनेको पार्टी र १० वर्षसम्म जनयुद्ध गरिआएको माओवादी र एमाओवादी हुँदै माओवादी केन्द्र बनी यी दुई पार्टी मिलेर बनेको कम्युनिस्ट पार्टीले मुलुकलाई कहाँसम्म पु¥याउँछ त्यो भने हेर्न नै बाँकी छ ।
प्रतिक्रिया