सकेसम्म दबाउने नसके पूजा गर्ने

मुलुकका ७ सय ५३ पालिकामध्ये ९० प्रतिशतभन्दा धेरैमा उपमेयर महिला छन् । केही अपवादलाई छाडेर महिला उपमेयरहरूको क्षमता निकै राम्रो देखिएका समाचार मिडियामा आउने गरेका छन् । संविधानमा यस्तो प्रावधान राख्न हुन्न र महिला सक्षम छैनन् भनेर लबिङ गर्ने नेताहरू अहिले उपमेयरको क्षमताको प्रशंसा गर्न थालेका छन्

राजनीतिमा महिला सहभागिताका हिसाबले नेपालको संविधान विश्वमै उत्कृष्ट छ । सबै तहका संसद्मा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये कम्तीमा एक जना, सभामुख र उपसभामुखमध्ये कम्तीमा एक जना महिलाको अनिवार्यता संविधानमै उल्लिखित गरिएको छ ।

स्थानीय तहमा पनि राजनीतिक दलले उम्मेदवार बनाउँदा मेयर र उपमेयरमध्ये कम्तीमा एक जना अनिवार्य गरिएको छ । गतवर्ष सम्पन्न तीनवटै तहको निर्वाचनपछि संविधानको यो प्रावधान कार्यान्वयनमा आएको छ । संविधान कार्यान्वयनमा आउँदा सबैतहका संसद्मा महिलालाई उपसभामुखमा सीमित गरिएको छ । राष्ट्रपति पदमा विद्या भण्डारी पुग्नुका आफ्नै कारण छन् । स्थानीय तहतर्फ हेर्ने हो भने प्रमुख राजनीतिकदलहरूले महिलालाई उपमेयरमा मात्रै टिकट दिए ।

केही पालिकामा अपवादका रूपमा मात्रै मेयर पदमा टिकट दिइएको थियो । मेयरपदमा जति महिलाले टिकट पाए उनीहरूले चुनाव जितेका पनि छन् । मुलुकका ७ सय ५३ पालिकामध्ये ९० प्रतिशतभन्दा धेरैमा उपमेयर महिला छन् । केही अपवादलाई छाडेर महिला उपमेयरहरूको क्षमता निकै राम्रो देखिएको समाचार मिडियामा आउने गरेका छन् ।

संविधानमा यस्तो प्रावधान राख्न हुन्न, महिला सक्षम छैनन् भनेर लबिङ गर्ने नेताहरू अहिले उपमेयरको क्षमताको प्रशंसा गर्न थालेका छन् । तराईको मधेसी समुदायमा भने उपमेयरलाई घरकै चुलोचौकामा सीमित गराएर उनको आग्रहमा लोग्नेले काम गर्ने गरेका समाचार पनि आएका छन् । तर, यस्ता घटना थोरै मात्रै छन् ।

जिम्मेवारी पाएको अवस्थामा महिलाहरूले पुरुषले भन्दा राम्रो क्षमता देखाउन सक्छन् भन्ने कुरा हाम्रो मुलुकमा प्रमाणित हुँदै गएको छ । डेढ वर्ष अघिकै स्मरण गरौँ, राष्ट्रप्रमुख, न्यायपालिका प्रमुख र व्यवस्थापिका प्रमुख महिला थिए । न्यायपालिका प्रमुखका रूपमा सुशीला कार्कीले देखाएको क्षमता र उनले सामना गरेका चुनौती अतुलनीय छन् ।

नेपालको इतिहासमा महाअभियोगको सामना गर्ने उनी एक्ली प्रधानन्यायाधीश हुन् । महाअभियोग भनेको ब्रम्हास्त्र हो । जसले आफूमाथि त्यो ब्रह्मास्त्र प्रहार गरेको थियो त्यसलाई उसैतिर फर्काएर प्रहार गर्न प्रधानन्यायाधीश कार्की सफल भइन । जुन ब्रम्हास्त्रको चोटले यति वेलासम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छटपटाई रहेका छन् । ओनसरी घर्तीमगर सभामुख बनिन् ।

रोल्पाको निकै पिछडिएको मगर समुदायकी चेली सानो उमेरमा सभामुख हुँदा मान्छेहरू चकित परेका थिए । संसद् सचिवालयका कर्मचारीहरू नै टिप्पणी गर्थे, ‘यी नानीले यत्रो बागडोर कसरी सम्हाल्लिन र खै ।’ तर, उनले कुनै कसर बाँकी राखिनन् । प्रतिपक्षलाई समेत कुरा काट्ने ठाउँ राखिनन् । त्यतिको क्षमता यस अघिका कुनै पनि सभामुखले देखाउन नसकेको टिप्पणी संसद् सचिवालयका कर्मचारीहरू गर्छन् ।

अहिले दुनियाँले देखेकै छ वर्तमान सभामुख कृष्णबहादुर महरा धेरै ठाउँमा चुकेका छन् । तर, राष्ट्रपति विद्या भण्डारी भने सफलताको कसीमा उत्तीर्ण हुन अझै बाँकी छ । राष्ट्रपति पद सम्हालेको ३ वर्ष बितिसक्यो तर उनी अझै परीक्षामै छन् । राष्ट्रपति कार्यालयको विषयलाई लिएर अनेकथरी तीता टिप्पणीहरू आइरहेका छन् ।

भलै यो परीक्षमा विद्या भण्डारी मात्रै सामेल छिन् तर यो परीक्षा मुलुकका डेढ करोड महिलाहरूको हो । विद्या भण्डारी यो परीक्षामा उत्तीर्ण हुनु भनेको डेढ करोड महिला उत्तीर्ण हुनु हो, अनुत्तीर्ण हुनु भनेको डेढ करोड महिला अनुत्तीर्ण हुनु हो । त्यसैले, विद्याले यो परीक्षामा कति पनि लापरबाही नगरून् ।

राजनीतिक विवाद त आफ्नो ठाउँमा छ । तर, कतिपय मामिलामा व्यवस्थापकीय कमजोरीलाई लिएर पनि तीता टिप्पणीहरू हुन थालेका छन् । उदाहरणका लागि गत दसैँमा घुँडा टेकाएर टीका लगाएको प्रसंगलाई लिन सकिन्छ । यस्तो कुरामा राष्ट्रपति भण्डारीले व्यक्तिगतरूपमा स्वविवेक पुर्याउनु पथ्र्यो ।

आखिर उनी ढुंगाकी मूर्ति तथा हनुमानढोकाकी कुमारी जस्तै बालिका त होइनन् नि । यतिवेला यस्तै अर्को प्रकरणलाई लिएर राष्ट्रपति भण्डारीमाथि निकै तीता टिप्पणीहरू सुरु भएका छन् । इन्डोनेसियामा प्राकृतिक प्रकोपमा परी सयाँै नागरिकको ज्यान गयो । यस्तो वेलामा राष्ट्रप्रमुखबाट समवेदना सन्देश पठाउने प्रचलन छ । तर, समवेदना शब्दको ठाउँमा बधाई शब्द पर्न गएको भन्दै मिडियामा समाचार आयो । यो शब्द समवेदना सन्देशमै परेको हो भने राष्ट्रपतिको गम्भीर गल्ती हो ।

किनकि, आफूले हस्ताक्षर गर्नुअघि पढ्नुपथ्र्यो । आफूलाई अंग्रेजी भाषामा स्पष्ट नभए सहयोगीलाई पढ्न लगाउनुपथ्र्यो । तर, राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा मात्रै यस्तो गल्ती भएको हो भने यो दोष राष्ट्रपति भण्डारीको होइन । किनकि, राष्ट्रपति कार्यालयद्वारा जारी गरिने यस्ता विज्ञप्तिमा राष्ट्रपतिको सरोकार हुँदैन । कुनै कर्मचारीका नाममा सार्वजनिक हुने यस्ता विज्ञप्ति राष्ट्रपतिले हेर्ने प्रचलन हुँदैन । तर, प्रेस विज्ञप्ति लेख्ने तथा जारी गर्ने कर्मचारीको लापरबाहीको विषयलाई लिएर राष्ट्रपतिमाथि आक्रमण गरिएको कुरा यदि साँचो हो भने यो निकै ठूलो षड्यन्त्र हो । महिला भएकै कारण पुरुष सत्ताले हेपेको हो ।

महिलालाई सकेसम्म हेप्ने र दबाएर राख्ने तर नसकेपछि पूजा गर्न थाल्ने हाम्रो सनातन परम्परा नै हो । हाम्रा पौराणिक ग्रन्थहरू नै यस्तै घटनाले भरिएका छन् । यस विषयमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा हाम्रा पौराणिक ग्रन्थ र हाम्रो पितृसत्तात्मक मानसिकताबारे गरेको टिप्पणी यहाँनिर सान्दर्भिक हुन्छ । उनको टिप्पणी यस्तो थियो, ‘सीताले वन जाने वेलामा रामसँग गरेको बहसतर्फ धेरैको ध्यान छैन तर सीताको पतिव्रता मात्रै पढाइने गरिएको छ’ ।

उनले रामलाई भन्छिन्, ‘आफ्नो अधिकारले पाएको राज्य छोडेर तिमी किन जाने, मूर्ख ?’ राम भन्छन्, ‘होइन, होइन म जान्छु ।’ सीता सोध्छिन्, ‘किन जाने ?’ राम भन्छन्, ‘तपस्या गर्न जाने ।’ अनि तपस्या गर्न जानेले धनुषवाण किन बोकेको त, तरवार किन बोकेको त ? केहीबेर राम निरुत्तर हुन्छन् । उनी भन्छन्, ‘होइन त्यहाँ विधर्मीहरू छन्, राक्षसहरू छन्, उनीहरूले दिए भने मैले आफ्ना धर्मका मान्छेलाई बचाउनपर्छ ।’ सीताले भन्छिन्, ‘ती राक्षसहरूको आफ्नै धर्म छ, तिम्रो आफ्नो धर्म छ । उनीहरूको संहार गर्न जाने तिमीलाई के अधिकार छ ?’ तर, यिनै सीतालाई हामीले एकदम डराएकी, हराएकी, पीडित रहेकी र बोल्न पनि नसक्ने बनाएका छौँ ।’

पौराणिक ग्रन्थमा उल्लिखित पञ्चकन्या तथा हाम्रो समाजको विद्यमान मान्यताका बारेमा गिरीको टिप्पणी छ, ‘अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोधरीलाई पञ्चकन्याका रूपमा पूजा गर्ने हाम्रो चलन छ । यी पाँच महिलाले तत्कालीन समाजको सारा परम्परालाई तोडिदिएका थिए । उनीहरूको जीवनशैली अहिलेको समाजमा समेत ग्राह्य छैन । जुन महिलाहरूले त्यतिवेला अपनाएको जीवनशैली ग्राह्य छैन तिनै महिलाहरूलाई पञ्चकन्याका रूपमा पूजा गरिन्छ ।

हाम्रो सनातन परम्पराले भन्छ, ‘यी पाँच वटीको नाम बिहान–बिहान सम्झ, तिम्रो सारा पाप नाश हुन्छ ।’ आजको समाजमा द्रौपदीको जीवनशैली सम्भव छ ? द्रौपदीका पाँच पति थिए । त्यतिले उनलाई चित्त बुझेको थिएन । उनी छैठौँ पतिका रूपमा कर्णसँग विवाह गर्न चाहन्थिन् । युधिष्ठिरसँग कुरै पिच्चे मुखमुखै लाग्थिइन् । पञ्च कन्यामध्येकी अर्की हुन् अहिल्या । उनी सबैभन्दा महत्वपूर्ण छिन् । उनी गौतम ऋषिकी पत्नी थिइन् । इन्द्रसँग सहवास गरेको देखेपछि गौतम ऋषिले उनलाई श्राप दिए ।

तर, उनै अहिल्या पूज्यनीय छिन् । रावणको मृत्युपछि देवर विभीषणसँग मन्दोधरीले विवाह गरिन् । जबकि, आफ्ना पति रावणको वधका लागि देवर विभीषणले नै रामलाई सबै भेद खोेलिदिएका थिए । अहिले व्याख्या गर्ने क्रममा कुन्तीले तपस्या गरेर चारवटा पुत्र जन्माएको भनिन्छ । उनले सूर्यबाट कर्ण, धर्म देवबाट युधिष्ठिर, वायुदेवबाट भीम, इन्द्रदेवबाट अर्जुन जन्माएकी थिइन् ।

पञ्चकन्या मध्येकी एक तारा बानरकी छोरी र राजा बालीकी पत्नी हुन् । बाली मारिएपछि उनले देवर सुग्रीवसँग विवाह गरिन् । जसलाई हामीले यतवेला समाजका मान्यताभन्दा बाहिर गएर हिँडेको देख्छौँ तर उनीहरू शक्तिशाली भए भने पूजा गर्न थाल्छौँ । प्रदीप गिरीको यो व्याख्या त पौराणिक ग्रन्थमा आधारित भयो । हाम्रै नेपालमा पनि आजभन्दा करिब डेढ सय वर्षअघि भोजपुरकी योगमाया न्यौपानेले तत्कालीन पितृसत्तालाई यसरी नै घुँडा टेकाएकी थिइन ।

बालविधवा योगमायाले दोस्रो विवाह गरेपछि समाजले खेद्न सुरु ग¥यो, तर उनले समाजकै अगाडि तेस्रो विवाह गरेर देखाइ दिइन । समाजले थप खेद्यो तर संगठन नै बनाएर समाजविरुद्ध लडिन् । उनी मात्रै होइन त्यतिवेला उनीसँगै १ सय ५० जना महिलाले विधवा विवाह गर्न रोक लगाउने समाजविरुद्ध विद्रोह गर्दे जल समाधि लिएका थिए । अहिले तिनै योगमाया सबै नेपालीका लागि प्रेरणाकी स्रोत बनेकी छिन् । समाज सुधारकका रूपमा सर्वसाधारण जनताका छोराछोरीको तर्फबाट योगमायाकै नाम अग्र पंक्तिमा आउँछ ।

प्रतिक्रिया