बालबालिका जब १० वर्षदेखि १४ वर्षसम्मका हुन्छन् त्यस वेलामा उनीहरूलाई यौन अवस्थाको उमेर भनेर चिनिन्छ । किशोर अवस्थाभन्दा अगाडिको अवस्था भएकोले यस अवस्थालाई पूर्वकिशोरावस्था पनि भनिन्छ । यस समयमा विशेष केटीहरूमा धैर्यता नहुने शरीरमा विभिन्न परिवर्तनहरू देखापर्ने तुरुन्त उत्तेजनामा आउने र अरूको सहायताको आवश्यकतापर्ने हुन्छ
मानवको जन्म पश्चात् उसको आफ्नो शारीरिक तथा मानसिक विकासमा उचित रेखदेख भएन भने शैशवकालदेखि नै विविध समस्या र अवरोधको सामना गर्नुपर्ने अवस्थाको सिर्जना हुन सक्छ । तसर्थ, शिशु जन्मेदेखि नै उसको राम्रो हेरचाह खानपान र दुई वर्ष पश्चात् सामान्य सिकाइका चरणहरूप्रति आकर्षित गर्नुपर्छ ।
मानव विकासको सबैभन्दा पहिलो चरणहरूमध्ये शैशव अवस्थालाई वास्तविक आधारशिलाको अवस्था मानिन्छ किनभने यसै समयमा शिशुका व्यावहारिक क्रियाकलापका ढाँचाहरूमा संवेगात्मक अभिव्यक्तिहरू निर्धारण हुन्छन् । मनोवैज्ञानिक विश्लेषणका आधारमा शिशुको पहिलो दुई वर्ष निकै महत्वपूर्ण हुन्छ किनभने यस उमेरमा शिशुले आफ्नो भावी जीवनको व्यवहारको रेखांकन गर्दछ ।
शिशुहरूमा विश्वास र अविश्वासको विकास यसैवेला हुने गर्छ । त्यति मात्रै नभई शिशुले आफूलाई स्वतन्त्र ढंगले क्रियाशीलसमेत बनाउँछ । त्यसैले, यसवेला उसलाई असल व्यवहारको ज्ञान र पूर्ण सामाजिक व्यवहार दिन सकेमा उसको मानसिक विकास राम्रोसँग हुन्छ । यसै कारण शैशव अवस्थालाई बालबालिकाको आधारशिलाको उमेर मानिने गरिन्छ ।
शिशुले सबैभन्दा पहिले घर त्यो पनि आमाबाटै धेरै कुराहरू सिक्छ । किनकि, आमासँगै बढी समय रहने भएकाले शिशुका लागि पहिलो पाठशाला घर र शिक्षक स्वयं आफैँ नै हुन्छिन् । वृद्धि र विकासका विभिन्न अवस्थामा गर्नुपर्ने कार्यहरू शिशुले नगरेसम्म त्यसको नकारात्मक प्रभाव पूरै मानवजीवनमा नै पर्न सक्छ ।
दृष्टान्तका लागि शिशु जन्मने वित्तिकै यदि रोएन भने उसको श्वासप्रश्वास क्रिया सञ्चालन हुन सक्दैन । त्यस्तै, शिशुको शारीरिक र मानसिक विकासका लागि पर्याप्त मात्रामा सुत्नुपर्छ । यदि, नसुतेमा शिशु रुन्चे, ख्याउटे र रोगी जस्तो हुन्छ । शैशव अवस्थामा बालबालिकाका विकासात्मक कार्यहरूमा ठोस खान सुरु गर्नु सामान्य तथा सजिला शब्दहरूद्वारा बोल्न सक्नु, हिँड्न सक्नु, भोक र निन्द्राजस्ता आवश्यकताहरूमा स्थिरता कायम गर्नु शारीरिक क्रियाकलापमा सामान्य नियन्त्रण राख्नु दिशा पिसाब गर्ने कार्य आंशिक नियन्त्रण गर्न जान्नु परिवारका सदस्यसँग संवेगात्मक सम्बन्ध कायम गर्नुजस्ता कार्यहरू गर्छन् ।
बालबालिकामा व्यक्तिगत भिन्नता ल्याउने दुई तत्वहरू हुन्छन् ती हुन् बाह्य र आन्तरिक तत्व । बाह्य तत्व भन्नाले समाज र धार्मिक तत्व अनि सामाजिक र सांस्कृतिक तत्व रहनसहन आदि हुने भने आन्तरिक तत्व भन्नाले वंशाणुगत गुण हो । गर्भधारणदेखि किशोरावस्थासम्म देखिने शारीरिक सामाजिक एवं संवेगात्मक परिवर्तन तथा बौद्धिक क्रियालाई बालविकास भनिन्छ । मूलतः बालविकासका सन्दर्भलाई दृष्टिगत गर्दा शैशव अवस्था बढी महत्वपूर्ण मानिन्छ ।
यस अवस्थाका बालबालिकामा शारीरिक विकास तौल र उचाइको विकास शरीरका अंगहरूको अनुपातिक विकास, हाड र दाँतको विकास, स्नायु प्रणालीको विकास उत्सुकता हर्ष स्नेहको विकास सामाजिक संयोजनका कार्यहरूको विकास र पारिवारिक सम्बन्ध तथा व्यक्तित्वका विकास हुने गर्दछ यी सबै प्रकारका विकासलाई शैशव अवस्थाका विशेषता भनेर बुझ्न सकिन्छ ।
बालबालिकाहरूको उमेरअनुसार विभिन्न चरणहरूमा विभक्त गरिएका छन् । जसअनुसार पूर्ववाल्यवस्था भन्नाले बालबालिकाहरूको दुई वर्षदेखि ६ वर्षसम्मको उमेरलाई जनाउँछ । यस समयका बालबालिका घरायसी वातावरणमा थुप्रै कुराहरू सिकेर विद्यालय जाने उमेर भएको हुन्छ ।
यस वेलाको उमेरलाई समस्याको उमेरका साथै नक्कल गर्ने उमेर अनि जिज्ञासु उमेर भनेर पनि भनिन्छ परिवारको वातावरणबाट विद्यालयको वातावरणमा जानुपर्ने भएकोले मानव वृद्धि र विकासका दृष्टिकोणले ज्यादै महत्वपूर्ण र सामाजिकीरणका हिसाबले संवेदनशील मानिन्छ । त्यसैगरी, ६ वर्षको उमेरदेखि यौन परिपक्वता हासिल नगरुञ्जेलसम्मको उमेरलाई उत्तरबाल्यवस्था भनेर चिनिन्छ मानव वृद्धि र विकासका दृष्टिले हेर्दा यस अवस्था परिपक्वतामा जाने पूर्वाधारको अवस्था हो ।
सामान्यतया बालबालिकाहरूको ६ वर्षको उमेरदेखि परिपक्वता हासिल नगरुञ्जेलसम्मको उमेरले हामी उत्तरबाल्यवस्था भनेर चिन्ने गर्छौँ । मानवको वृद्धि र विकासका दृष्टिले यो परिपक्वतामा जाने आधारको महत्वपूर्ण अवस्था हो । केटाकेटीहरूमा यौन परिपक्वता हासिल गर्ने उमेर अलगअलग भएकोले यस अवस्थामा केही भिन्नता पनि देखिन्छ । सामान्यतया केटीमा १३ वर्ष र केटामा १४ वर्षमा यौनिक परिपक्वता आउने गर्छ ।
यस समूहका केटाकेटीहरूमा दुःख दिने उमेर फोहोरी उमेर झगडालु उमेर भनिन्छ । तर, शिक्षाविद्हरूले विद्यालय जाने उमेर भनेर परिभाषित गरेका छन् । यसै उमेरका बालबालिकाहरूलाई मनोवैज्ञानिकहरू बाल समूहको उमेर रचनात्मक उमेर र खेल खेल्ने उमेर भनेर परिभाषा गर्छन् । यस समयमा बालबालिकामा सामाजिकीकरणको प्रक्रिया तीव्र हुन्छ । नैतिक दायित्वको बोध हुने चञ्चले उमेर भएकोले मानव वृद्धि विकासका दृष्टिले यस अवस्थालाई महत्वपूर्ण मानिन्छ ।
बालबालिका जब १० वर्षदेखि १४ वर्षसम्मका हुन्छन् त्यस वेलामा उनीहरूलाई यौन अवस्थाको उमेर भनेर चिनिन्छ । किशोर अवस्थाभन्दा अगाडिको अवस्था भएकोले यस अवस्थालाई पूर्वकिशोरावस्था पनि भनिन्छ । यस समयमा विशेष केटीहरूमा धैर्यता नहुने शरीरमा विभिन्न परिवर्तनरू देखापर्ने तुरुन्त उत्तेजनामा आउने र अरूको सहायताको आवश्यकतापर्ने हुन्छ ।
यसैले, दार्शनिक, मनोवैज्ञानिक, आमाबाबु र शिक्षक सबैले परिवर्तनको अवस्था भन्ने वास्तविकतालाई मानेका छन् । यस समयमा बालबालिकालाई उचित र प्रभावकारी रेखदेखको खाँचो रहन्छ । यदि, सही निर्देशन र रेखदेख नभएमा उनीहरू गलतमार्गमा पुग्ने खतरा रहने भएकोले यसवेला बालबालिकालाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । बालबालिकामा बोलीको विकास हुनुलाई सञ्चार माध्यमको विकास भनिन्छ ।
सञ्चारको विकास भनेको बोलीको वा भाषाको विकास हो । यस उमेरका बालबालिका कुरौटे स्वभावका हुन्छन् । बालबालिकाको शारीरिक मानसिक विकाससँगै बोलीको पनि विकास हुने गर्छ । उनीहरूमा शब्दभण्डारको विकास नभएसम्म हाउभाउ संकेत वा संवेगात्मक अभिव्यक्तिहरू गर्छन् । बिस्तारै उनीहरूमा शब्द उच्चारण शब्द निर्माण र वाक्य निर्माणको कार्य अगाडि बढ्दै जान्छ । ३–४ वर्षको उमेरसम्म बालबालिकाहरू राम्रो उच्चारण गर्न नसक्ने हुन्छन् ।
त्यसवेला उनीहरू मामा, चाचा र बाबाजस्ता सरल शब्द उच्चारण गर्न सक्षम हुन्छन् । सामान्यतया निम्न बुद्धिभन्दा बुद्धि भएका, दमनात्मकभन्दा स्वतन्त्र अनुशासनमा हुर्केका, दोस्रो तेस्रोभन्दा पहिलो पल्ट जन्मेका, सानोभन्दा ठूलो परिवारमा हुर्केका, निम्नस्तरीयभन्दा मध्यम उच्चस्तरीय परिवारका र केटाहरूभन्दा केटीहरू ज्यादा बोल्ने वा बोलीको विकास चाँडै हुने गर्छ । सिकाइ भाषिक विकासमा प्रभाव पार्ने प्रमुख आधार भएकोले बालबालिकाहरूलाई जति सिकायो अनि अभ्यस्त गरायो त्यति नै धेरै भाषिक तथा सीपको विकास हुन्छ ।
प्रतिक्रिया