नेपालमा बौद्ध धर्मप्रतिको गहिरो प्रभाव छ । नेपालको हिमालदेखि तराईका फाँटसम्म बौद्ध धर्मको विस्तार छ । नेपालमा मानिने धर्ममध्ये यो दोस्रो ठूलो धर्म हो । नेपालमा बौद्ध धर्म दर्शनको ज्ञान पाली भाषा हुँदै संस्कृतबाट नेपालीसम्म आइपुगेको हो । त्यही कारण पनि नेपालमा बौद्ध धर्म अभ्यास गर्दा त्रुटिहरू हुने गरेका छन् । यो भाषागत समस्याका कारण पनि उत्पन्न भएको हो ।
बौद्ध दर्शन मान्नेहरूका पनि विभिन्न मान्यताहरू छन् । विभिन्न समुदायको आआफ्नै धारणा छन् । बज्रयाना समुदाय नेपालको ठूलो समुदाय हो । यो समुदायले विशेषगरी शुद्धतासहित बौद्ध धर्म दर्शनलाई प्रयोग गरिरहेको मान्यता छ । मायानाहरूको पनि राम्रै प्रभाव छ । बज्रयाना भनेको शक्तिसँग सम्बन्धित छ । यो तान्त्रिक पद्धतिको साधनासँग पनि सम्बन्धित छ ।
तपस्याबाट मुक्ति प्राप्त गर्ने बाटो हुन्छ । बज्रयानाहरूको मान्यता के हो भने परम्परादेखि मानिँदै आएको संस्कारलाई शुद्धतासहित मान्नुपर्छ । चिनियाँ भूमिमा बज्रयानाहरूको आफ्नै पद्धति छ । नेपालमा धेरैजस्तो गुम्बा बिहार चैत्यहरूले बौद्ध धार्मिक दर्शनलाई बृहत् रूपमा आत्मासात् गर्न सकेका छैनन् ।
त्यहाँ गुरु र धर्ममार्गीहरूलाई आर्थिक उपार्जन गर्ने बाटो मात्र खोजी गरेको आरोप लाग्ने गर्छ । हुन पनि लामो समय पूजा गर्ने, धेरै भेटीमाग्ने र कार चढेर हिँड्ने गर्छन् । तन्त्रमन्त्रको कुरा पुरातन भए पनि यसको मान्यता के हो भने मन्त्र भनेको शुद्ध हुनुपर्छ । मन्त्रमा एक शब्द मात्र बिग्रदा पनि सबै कुरा बिग्रन्छ । तर, लामाज्यूहरूले यस्ता कुरामा ख्याल नगरिदिँदा धेरै समस्या देखिएको छ ।
तपस्या भनेको धेरै गहिरो कुरा हो । हिन्दू धर्मग्रन्थको मान्यतालाई मान्ने हो भने ऋषिमुनिहरूले हिमालय पर्वतमा हजार वर्षसम्म तपस्या गरेको कथाहरू छन् । बौद्धले पनि कठोर तपस्या गरेका हुन् भन्ने किंवदन्ती छ । बौद्धले गरेको तपस्याले नै बौद्धत्व प्राप्त भएको हो । तर, हाम्रा धर्मगुरुहरू बुझ्दै नबुझी ढ्यांग्रो बजाउने र अनावश्यक रूपमा व्यापार गर्ने काम गर्छन् । कमसेकम सन्न्यासी भइसकेका मान्छेहरूले आर्थिक रूपमा लोभ गर्नु बौद्ध धर्म दर्शनको मान्यता भित्र पर्दैन ।
बाराका रामबहादुर बम्जन एउटा गुफामा तपस्या बसे । केही मान्छेलगायत ठूला मिडियाले पनि उनलाई लिटिल गौतम बौद्धको दर्जा दिए । समय क्रम बित्दै गयो । रामबहादुर बम्जनको असलीरूप देखा परे । उनी यौन विचलनमा फसे । आनीहरूलाई बेपत्ता बनाएको आरोप लाग्यो । अर्बाैं कमाएको समेत समाचारहरू आइरहेका छन । बौद्धको नाम बेचेर आपूmलाई भगवान्दाबी गरेर यतिसम्म पद भ्रष्ट हुनु शान्तिकामी बौद्धमार्गीका लागि खेदको विषय हो । हामीले आफ्नो दर्शनलाई जीवन व्यवहारमा लागू गर्न नसक्दा नै बौद्ध धर्ममा हजारौँ बेथिति आएका थिए ।
रिम्पोन्छे भनेको बौद्ध धर्म दर्शनमा गहिरो साधनाबाट प्राप्त हुने उपलब्धि हो । अहिले रिम्पोन्छेहरू च्याउ उम्रेसरी जतासुकै पैmलिएका छन् । साधना नै नगरी पहेँलो र रातो लुगा लगाएर हिँड्दैमा कोही पनि रिम्पोन्छे हुन सक्तैनन् । रिम्पोन्छे हुनका लागि बौद्ध धर्मलाई बुझेको हुनुपर्छ । बौद्धले दिएका सन्देशहरूलाई आत्मासात् गर्न सक्नुपर्छ । आपूmभित्र रहेका आत्मिक शक्तिलाई जीवन र जगत्को हितमा प्रयोग गर्न सक्नुपर्दछ । हामीले मान्दै आएका रिम्पोन्छेहरू त्यस्ता छन् त ? बौद्ध, स्वयम्भू र कपन क्षेत्रमा भेटिनेहरू वास्तवमा रिम्पोन्छे बनेकै छैनन् । कमसेकम हामीले यो विषयमा पनि सोच्नुपर्छ ।
बौद्ध धर्म दर्शनमा पर्ने घेवालगायत मृत्यु संस्कारहरू महँगो छ । धर्मगुरुहरूले मान्छे मरेको ठाउँमा कमाइ गर्ने सोचलाई बढावा दिएका छन् । दुःख परेका मान्छेलाई सहयोग गर्ने त कहाँ हो कहाँ त्यहाँ नै पुगेर चाहिए जति आर्थिक खोज्नु भनेको बौद्ध दर्शन विपरीत कुरा हो । जन्मदेखि मृत्यु संस्कारसम्म पैसा नै पैसाको खेल हुने गर्दछ । यो खेल हिन्दू धर्म हुँदै बौद्ध धर्मसम्म आइपुगेको हो कि भन्ने मान्यता पनि छ । तर, आफ्नो आङका भैँसी नदेख्ने अरूको आङमा जुम्रा देख्ने प्रवृत्तिले हाम्रो समुदायलाई उकालो होइन ओरालोतिर झारिरहेछ ।
गुरुहरू शुद्ध हुनुपर्छ । तर, बौद्ध, स्वयम्भूको मः म पसलमा गई भट्टीमा पुगेर पहेँलो लुगाको बेइज्जत गर्नु हुन्न । मासु, रक्सीजस्ता कुरा खान हुन्छ तर त्यसलाई समाजको विपरीत प्रयोग गर्नु हुँदैन । गुरुहरूले यस्ता सामान्य कुरामा ध्यान दिन जरुरी हुन्छ । रिम्पोन्छे बन्न र गुरु बन्न ठेलागाडामा गएर ५० रुपैयाँको मः म खाएजस्तो सजिलो छैन । बौद्ध धर्मको ज्ञान प्राप्त गर्न फास्टफुड खाजा घरमा गएर खाजा खाएजस्तो हुँदैन । यसको त लामो प्रक्रिया हुन्छ ।
हत्या हिंसा र बलात्कारजस्ता कुराको विकृति रोक्नका लागि बौद्ध धर्म दर्शन औषधी नै हो । बौद्ध धर्म दर्शनमा कतै पनि हिंसा छैन । तर, सबभन्दा बढी हिंसाको वातावरण यही धर्ममा बनेको छ । विपश्यना ध्यान र समथाबारे बौद्धमार्गीहरू नै द्विविधामा छन् । बरु ओशोमार्गीहरूले विपश्यना ध्यान गरेका छन् र मुक्तिको बाटोतिर लम्किएका छन् ।
समथाले, पञ्चक्लेश (लोभ, माया, मोह, अहंकार र रिस) लाई वहिष्कार गर्छ । यो साधना प्राप्तिका लागि अति आवश्यक तत्व हो । तर, बम्जनजस्ता मान्छेहरू बौद्ध धर्ममा जन्मिएका कारण अनेकन विकृतिहरू आएका छन् । धर्मको नाउँमा बलात्कारसम्मका गतिविधि हुनु भनेको बौद्धदर्शनलाई निषेध गर्नु हो । संसारकै पुरानो मध्ये एक हाम्रो दर्शन आज पनि उत्तिकै जीवन व्यवहारमा लागू हुन्छ । सबैलाई माया गर, कसैको पनि अहित नगर समाजलाई सुन्दर बनाऊ ।
जीवनका दुःखहरू बुझ र दुःखबाट मुक्तिका बाटोतिर हिँड । यस्ता वैज्ञानिक जीवन दर्शनलाई हामीले भुलेका छौँ । आजका आधुनिक बौद्धमार्गीहरू धेरै डलर कमाऊ, सबैको अहित गर । आफूलाई चाहिने सम्पति जोड । कारमा यात्रा गर । गुम्बाभित्र नै अपवित्र गतिविधि गर भन्ने दिशामा पो गएका छन् । यसरी हेर्दा हाम्रो धर्ममा व्यावहारिक समस्या दिनानुदिन बढिरहेको छ । जो पनि धर्मगुरु बन्ने परिपाटी अन्त्य भएको छैन । गुम्बा बनाउँदा अर्बांैसम्म घोटाला भएका कुरा नौलो होइन । आजको दिनमा हामीले छातीमा हात राखेर भन्नुपर्छ । बौद्ध धर्म शान्तिका लागि प्रयोग भइरहेको छैन । मानवीय मुक्तिका लागि प्रयोग
भइरहेको छैन र सामाजिक हितका लागि पनि प्रयोग भइरहेको छैन । दुःख पाइरहेका मान्छेले आफूलाई सुखको दिशामा लैजान बौद्ध दर्शनलाई अचुक औषधीको रूपमा प्रयोग गर्न सकेका छैनन् । धेरै खालका विकृति र विसंगतिले बौद्ध दर्शनलाई च्यापेको छ । हामी भनेँ बौद्ध भारतमा जन्मिए कि नेपालमा भन्ने राजनीतिक बहसमा छौँ । हामीले बौद्धलाई राजनीतिक गर्ने अस्त्र बनाएका छौँ । बौद्धका मूर्तिहरू बेचेर धनी हुने सपना सजाएका छौँ । बौद्धका तस्बिरहरू टाँसेर झारफुक गर्ने झाँक्री परिपाटी नहटेसम्म साँच्चिकै बौद्ध दर्शनको खडेरी विश्वभरि परिरहनेछ ।
प्रतिक्रिया