राष्ट्रपतिको चर्चाः अपेक्षा कि आलोचना ?

जनताका लागि ‘राष्ट्रप्रमुख’ गौरवको प्रतीकका रूपमा मानिनु पर्छ । आफ्ना राष्ट्र प्रमुखको तारिफ सुन्न जनता लालयित हुन्छन् । हाम्रो संविधानले राष्ट्रपतिलाई त्यति चलायमान बनाएको छैन । राष्ट्रपति देशको रक्षा कवच हो । तर, घोच्ने, पोल्ने र हान्ने हतियार होइन ।

सबै जनता राष्ट्रपतिको छानामा अट्न चाहन्छन् । कोही जनता फूलको न्यानो स्पर्श महसुस गर्दा अर्को जनतालाई घोच्न हुँदैन । राष्ट्रपतिको कोही ओत लाग्दा अर्को भिज्न हुँदैन । ओत नपाउनेहरू छाना चाहन्छन् । माग राख्छन्, कराएर अनि झर्केर । तर, अन्नतः राष्ट्रप्रमुखको छाना नै खोजेका हुन्छन् ।

हिजो राजाको र आज राष्ट्रपतिको । राष्ट्रपतिलाई गाली गर्न कसैलाई रहर छैन । राष्ट्रपतिको आलोचना गर्नुपर्दा हरेक नागरिकले निकै पीडा महसुस गरेका छन् । आलोचना गरेर अहिलेसम्म दुनियाँमा कोही ठूलो भएको छैन । तर, आशाका शब्दहरू जनताबाट आलोचनाकै माध्यमबाट बर्सिएका हुन्छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी ११ कात्तिक ०७२ मा पहिलोपटक दुई वर्षका लागि चुनिइन् । फेरि उनी दोस्रोपटक चार वर्षका लागि २९ कात्तिक ०७४ मा विराजमान भइन् । अहिलेसम्म उनी तीन वर्ष राष्ट्रपतिमा बिताइन् ।

तर, स्वयं उनले निम्त्याएको विवादका शृंखलाहरू अहिलेसम्म थामिएका छैनन् । पटकैपिच्छे विज्ञप्ति निकाल्दै राष्ट्रपति कार्यालय सच्याउँछ । तर, विवाद चुलिँदो छ । पछिल्लोपटक नेपालका राष्ट्रपतिको नाममा परराष्ट्र मन्त्रालयद्वारा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको पत्रमा जुन गलत शब्द प्रयोग भयो, त्यो व्यापक आलोच्य भयो । यो कार्यप्रति नेपाली जनताले निकै निराशा व्यक्त गरे । आफ्ना कमजोरी र गल्तीप्रति मौन बस्ने, जवाफ नदिने प्रवृत्ति राष्ट्रपति विद्या भण्डारी पदमा आसिन भएदेखि चलिरहेको छ ।

राष्ट्रपति दलको होइन । उनले शपथ खानुअघि दलबाट सम्पूर्णरूपले राजीनामा दिइसकेकी छन् । तर, राष्ट्रपति आफ्नै पार्टीको हो भनेर सरकार वेलावेलामा विद्या भण्डारीको पक्षमा मैदानमा उत्रन्छ । जब सरकार नै राष्ट्रपतिलाई विवादमा तानिरहन्छ भने जनताले कुन निष्पक्ष आँखाले हेर्ने ? जनताले राष्ट्रपतिलाई तटस्थ हेर्न चाहन्छन् । तर, राष्ट्रपति र सरकारले जनतालाई तटस्थ रूपमा हेर्न दिँदैन । हाम्रो पार्टीको राष्ट्रपति हो, तिम्रो होइन भनेर वेलावेलामा सरकारले जनतालाई घण्टी बजाइरहन्छ ।

राष्ट्रपतिलाई कानुनभन्दा माथि राख्ने धेय वर्तमान सरकारले राखेकोले विद्या भण्डारी विवादमा मुछिएको अर्को दृष्टान्त हो । पछिल्ला काण्डमा मात्र होइन, यसअघिका विवादास्पद प्रकरणमा सरकारले राष्ट्रपतिलाई विवादमा पारिदिएको छ । यही दसैँको टीका प्रकरण कति घृणित बन्यो भने राष्ट्रपतिले माफी माग्ने चेष्टा गरिनन् । उल्टै सरकारले प्रतिरक्षा गर्यो ।

राष्ट्रपति र सरकार अलग संस्था हुन् । सरकार साढे दुई वर्षमै परिवर्तन हुन सक्छ । तर, राष्ट्रपति पदमा बसेको व्यक्ति महाअभियोग र मृत्यु नभएसम्म पाँच वर्षका लागि परिवर्तन हुँदैन । राष्ट्रपतिको बचाउका लागि सञ्चारमन्त्रीले वक्तव्य दिने होइन । किनकि, हाम्रो संविधानले सरकार सञ्चालन प्रधानमन्त्रीय पद्धति अंगालेको छ ।

राष्ट्रपतिका सम्बन्धमा राष्ट्रपतिकै कार्यालय जिम्मेवार हुन्छ । त्यहाँ प्रवक्तादेखि निजी सचिवसम्मको सचिवालय छ । उसैले गर्ने हो । यो दायरालाई नाघेर सञ्चारमन्त्रीले वक्तव्य जारी गर्दा राष्ट्रपति अझै पार्टीकै कार्यकर्ता भएको स्पष्ट पार्छ । किनकि, सरकार दलको हो । राष्ट्रपति दलको होइन ।

उनले शपथ खानुअघि दलबाट सम्पूर्णरूपले राजीनामा दिइसकेकी छिन् । तर, राष्ट्रपति आफ्नै पार्टीको हो भने झैँ सरकार वेलावेलामा विद्या भण्डारीको पक्षमा मैदानमा उत्रन्छ । जब सरकार नै राष्ट्रपतिलाई विवादमा तानिरहन्छ भने जनताले कुन निष्पक्ष आँखाले हेर्ने ? जनताले राष्ट्रपतिलाई तटस्थ हेर्न चाहन्छन् । तर, राष्ट्रपति र सरकारले जनतालाई तटस्थ रूपमा हेर्न दिइँदैन । हाम्रो पार्टीको राष्ट्रपति हो, तिम्रो होइन भनेर वेलावेलामा सरकारले जनतालाई घण्टी बजाइरहन्छ ।

राष्ट्रपतिका सूचनाको अनुगमन गर्न र दैनिक प्रतिवेदन हेर्न कर्मचारीको व्यवस्था गरिएको हुन्छ । तिनीहरूले दिने प्रतिवेदन राष्ट्रपति भण्डारीले अध्ययन गर्ने भनिएको छ । त्यस्तै, सामाजिक सञ्जाल तथा अनलाइनमा आएका सामग्रीबारे रिपोर्ट गर्न अलग्गै कर्मचारी छन् । तर, विद्या भण्डारी न गहन अध्ययन गर्छिन् न कुनै राष्ट्रपति पदको गौरवका लागि कुनै अभ्यासमा छिन् ।

विद्या भण्डारीले सुरुदेखि नै राजनीति पक्षपोषण देखारहिन् । राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने सदस्यमा उनको ऐतिहासिक भुल थियो । ०७४ माघ २७ माघ ०७४ सालमा देउवा मन्त्रिपरिषद्बाट राष्ट्रिय सभामा मनोनित गर्न पठाएको सिफारिस उनले लत्याइन् । देउवाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेका थिए ।

लगत्तै बनेको केपी ओली सरकारका मनोनितलाई सदर गरिन् । हालका अर्थमन्त्री डा. युवराज खतिवडा, रामनारायण बिडारी र भण्डारीकी स्वकीय सचिव विमला पौडेललाई । यो जस्तो विद्या भण्डारी आफँैले निम्त्याएको विवादित घटना अरू के हुन सक्छ ? यसपछि लगातार विद्या भण्डारीले विवादास्पद कामहरू गर्दै गइन् ।

यस्तै प्रकारका गैरजिम्मेवार, मजाक र निकृष्ट कार्य राष्ट्रपति, प्रधानमन्त्री कार्यालयबाट बारम्बार किन भइरहेको छ त ? यसको कारण निम्न रहेको सबै नेपाली जनताले बुझ्न आवश्यक छ ।

१.राष्ट्रपति विद्यादेवी भण्डारी स्वयम् आफँै गहन अध्ययनशील, अनुसन्धानक, निष्पक्षता र गैरराजनीतिक व्यक्ति होइनन् । फलस्वरूप राष्ट्रपति कार्यालयको सचिवालय, परराष्ट्र मन्त्रालय र पार्टी सर्कलद्वारा कार्यसम्पादन गरिन्छ । यी सबै निकायमा दक्ष कामदार छैनन् । निकटका व्यक्ति छन् । निकटका व्यक्ति दक्ष हुँदैनन् । फलस्वरूप वेलावेलामा यस्ता गलत हर्कत भइरहन्छन् ।

२.विश्वका धेरै राष्ट्रप्रमुखहरू प्रविधिसँग आफँै खेल्छन् । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका बाबुराम भट्टराई र गगन थापा आफँै फेसबुक, ट्विटर चलाउँछन् । यसले उनीहरूलाई सीपमा मात्र विकास गराएको छैन्, स्वयम्लाई दक्ष बनाएको छ । यो जाँगर, उत्साह, नवीनतम, आधुनिकता र सिर्जनशीलता हाम्रा अधिकांश नेतामा छैन । यिनै मध्येकी एक प्रतिनिधि पात्र हुन्, विद्यादेवी भण्डारी ।

३.विद्यादेवी भण्डारी अचानक राष्ट्रपति भएकी व्यक्ति हुन् । योग्य र क्षमताले होइनन् । राष्ट्रको गौरव राख्ने दक्षता उनीमा कुनै कोणबाट अहिलेसम्म देखिएको छैन । करिब करिब पार्टी (कम्युनिस्ट) बाट सञ्चालित एक कार्यकर्ता मात्र उनको चिनारी बनिरहेको छ । यसैको परिणाम नै यस्ता उल्टापुल्टा गतिविधि भइरहने हो ।

४. हरेक देशका जनताले आफ्नो राष्ट्र प्रमुखको उच्च तौरतरिका देखेर गौरव महसुस गर्छन् । राष्ट्रप्रमुख अभिभावक होस् भन्ने चाहन्छन् जनता । जनताको अभिभावक राष्ट्रप्रमुख हो । त्यो स्वभाव, गुण, क्षमता, रूप र तरिका राष्ट्रप्रमुखमा देखिएन भने जनता आलोचनामा उत्रन्छन् । किनकि, उच्च मन र उच्च व्यवहार गर भनेर जनताले भन्छन् । के अहिले यही भइरहेको छ त ?

५. राष्ट्रप्रमुखको छविलाई चिनाउने उसको सचिवालयले हो । सचिवालय दक्ष मात्र होइन, जनताप्रति निकै सजग हुनुपर्छ । अहिले भइरहेका राष्ट्रपति, प्रधानमन्त्रीका सचिवालय भद्दा कार्यकर्ता भर्ती केन्द्र मात्र भएका छन् । यसले स्वयं राष्ट्रपति र प्रधानमन्त्रीलाई त हानि गर्छ नै देश र जनतालाई ठूलो नोक्सान पनि पु¥याउँछ । जुन परिणाम अहिले देखिरहेका छौँ ।

६. चुनावसम्म मात्र म कुनै पार्टीको नेता हुँ, त्यसपछि म सिंगो देश र जनताको कारिन्दा हुँ भन्ने भावना हरेक नेतामा हुने अनिवार्य गुण हो । यो गुण अहिले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि तल वडा तहसम्मका कुनै पनि नेतामा छैन । चुनाव जितेर गइसकेपछि निष्पक्षता र तटस्थताको भूमिका राष्ट्रपतिदेखि वडा सदस्यहरूसम्म देखिन्न, तब यी र यस्तै प्रकारका कुराहरूको आलोचना जनताले गरिरहन्छन् ।

७. बारीमा जे रोप्यो त्यही फल्ने हो । मूला रोपेर आलु फल्दैन । हामी जस्ता कार्यकर्ता छौँ, त्यस्तै नेता जन्माएका हौँ । जस्ता नेता जन्मिए, त्यस्तै व्यक्ति पदमा पुगे । राष्ट्रपतिदेखि तलसम्मका निर्वाचितहरू हेनुहोेस् । सबै एउटै एउटै छन् । अनुहार, लवाइखवाइ, व्यक्तित्व, शैली, इमानजमान, मन, चाहना र बौद्धिकता यी र यस्तै यस्तै । त्यसैले, राष्ट्रपति वा प्रधानमन्त्री वा मन्त्रीहरूका यस्ता अचम्म लाग्ने तर लज्जाबोध शैली पटकपटक दोहोरिरहनेछन् । यसमा आश्चर्यको कुरा के छ र ।

यी सबै विषय आलोचनामा रूपान्तरित भएका मात्र हुन् । तर, यी विषयहरू ‘हाम्रा राष्ट्रपति’ भन्ने सबैले भन्न पाउनु प¥यो भन्ने जनताका अपेक्षा हुन् । जनताका अपेक्षालाई आलोचनामा रूपान्तरण गरिदिने दोष स्वयं राष्ट्रपति नै हुन् । किनकि, हरेक आलोचनाहरूको दोषी अरू हुँदैन ।

प्रतिक्रिया