नेपालमा राणा शासनको व्यवस्थादेखि पञ्चायती व्यवस्था बहुदलीय व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था कायम भइसक्यो । तर, शासन व्यवस्था परिवर्तन भए पनि व्यवस्था सञ्चालन गर्ने व्यवस्थालाई चलायमान गर्ने देशलाई अगाडि बढाउने नेता देखिएका छैनन् ।
राष्ट्र प्रमुख तथा सरकार प्रमुख, सरकारका समग्र प्रसाशन यन्त्र सञ्चालन गर्नेहरूको चरित्र, प्रवृत्ति तथा संस्कारमा परिवर्तन आएको देखिँदैन । एकतन्त्रीय जहानियाँ शासन व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासम्म पुगिसक्यो मुलुक तर सत्ताको चरित्र प्रवृत्ति संस्कार भने उही छ । राणा कालमा जहानियाँ शासन लागू थियो । पञ्चायतमा राजपरिवारको निरंकुश शासन थियो ।
दरबारीयाहरूको चलखेल बढी भयो, दरबारीयाहरूको आसेपासेहरूको सुखसुविधा विलासिता बढी भयो भनेर नै जनताले लोकतन्त्र खोजेका हुन् । अहिले पञ्चायती शासनको अन्त्य भएको ३० वर्ष बितिसकेको छ । बीचमा ज्ञानेन्द्र शाहले लागू गरेको शाही शासनको अन्त्य भएको पनि १० वर्ष बितिसकेको छ ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था अनुसारको संविधान लागू भइसक्यो । तर, गणतन्त्रमा पनि त्यही पञ्चायती राजतन्त्रको चरित्र प्रवृत्ति संस्कार कायमै छ । देशमा राजतन्त्र नभए पनि राजतन्त्रको अवशेष बाँकी नै छ भन्दा पनि फरक नपर्ला । गणतान्त्रिक शासन व्यवस्था सञ्चालन गर्नेहरूले राजतन्त्रकै चरित्र, प्रवृत्ति र संस्कारलाई नै निरन्तरता दिइरहेका छन् ।
अहिले गणतन्त्रको समयमा पनि राष्ट्र प्रमुख सरकार प्रमुखकै सवारी हुने वेलामा दुई÷तीन घण्टा पहिलेदेखि सडक बन्द गर्ने संस्कारको निरन्तरतालाई जनताले रुचाएइका छैनन् । अस्पतालमा बिरामी बोकेर हिँडेको एम्बुलेन्ससमेत चल्न नदिनु भनेको राजतन्त्र र जहानियाँभन्दा पनि चर्को हो । किनकि, राणा शासन तथा राजतन्त्रको समयमा शासकहरूको हतपत्ति सवारी हुँदैनथ्यो । कामका लागि विशेष समारोहहरूमा मात्र उनीहरू बाहिर निस्कन्थे ।
त्यतिवेला सवारी साधनहरू अहिलेजस्तो सडक ढाकिने पनि तिएनन् । तर, अहिले गणतन्त्र पश्चात् राष्ट्रपति सानोभन्दा सानो कामका लागि पनि बाहिर निस्कन्छिन् । अनि जब उनी बाहिर निस्कन्छिन् तब सडक ठप्प पारेर आम नागरिकहरूलाई प्रहरीले दुःख दिन थाल्छ र यस कारण आमनागरिकहरूले भन्ने गरिरहेका छन् राजतन्त्रका राजा गए तर गणतन्त्रको राजाको उदय भयो भनेर । यो मामिलामा राष्ट्र प्रमुखले पनि आफ्नो स्वविवेक प्रयोग गर्नुपर्ने देखिन्छ । आफ्नो कारणले आमनागरिकहरूलाई समस्यामा पार्न हँदैन भनेर सोच्नुपर्छ । राजतन्त्रलाई फालेर गणतन्त्र ल्याइएको आमनागरिकहरूले दुःखपाउनका लागि होइन । सुख र समृद्धिको बाटोमा देश अगाडि बढोस् भन्नका लागि हो ।
देशमा अहिले पनि नातावाद, क्रिपावाद, परिवारवाद, चाकरी, चाप्लुसी, भ्रष्टाचार, अनिमियता र विलासिता व्याप्त छ । शासकहरू यसमै चुर्लम्म डुबेका छन् । विभिन्न राजनीतिकदलका ठूला नेताहरूका अनि मन्त्रीहरूका पत्नीहरू समानुपातिकबाट सांसद छन् । आइएनजिओ, एनजिओका प्रमुख तथा हर्ताकर्ता छन् । हरेक क्षेत्रमा राजनीतिका कारण राजनीतिक भागबण्डाले मुलुक आक्रान्त छ । शिक्षा, स्वास्थ्य, यातायत, उद्योग र व्यापार व्यवसायमा सिन्डिकेट छ । शान्ति सुरक्षा अस्तव्यस्त छ । सरकारको उपस्थिति महसुस गर्न जनताले पाइरहेका छैनन् ।
संघिय लोकतान्त्रिक व्यवस्थामा देशका राष्ट्रप्रमुख सरकार प्रमुखदेखि स्थानीय सरकारका पदाधिकारीहरूसमेत विलासिताको पोखरीमा पौडीरहेका छन् । आम नागरिकका समस्या समाधान गर्नुपर्नेमा, आम नागरिकको जनजीवीका सँग सम्बन्धित विषयहरूलाई सर्वसुलभ बनाउनुपर्नेमा यिनीहरू आआफ्नो स्वार्थमा नै अलमलिई रहेका छन् । आफ्नै सुविधा बढाउनमा नै लागिरहेका छन् ।
उदाहरणका लागि राजधानी काठमाडौंमा आफ्नै घर भएका सांसदहरूले पनि राज्यबाट घर भाडा लिने गरिरहेको तथ्य बाहिर आइसकेको छ । मासिक १८ हजार रुपैयाँका लागि आफ्नो इज्जत लिलाम गर्ने, शासन व्यवस्था बद्नाम गर्नेहरूबाट यो देश र नागरिकहरूले के आशा गर्ने ? काठमाडौंका नागरिकहरूले लिटरको तीन रुपैयाँ तिरेर पानी पिउन परिरहेको छ मेलम्चीको पानी कहिले आउने अत्तोपत्तो छैन ।
काठमाडौंका बासिन्दाका लागि मेलम्चीको पानी भनेको आकाशको फल आँखातरी मर भनेजस्तो भइरहेको छ । देशमा भ्रष्टाचार अनिमियता महँगी सिन्डिकेट कम भएको छैन । देशलाई समृद्धिको दिशातर्फ लाने भनेर भाषण फलाक्न शासकहरूले छाडेका छैनन् तर उनीहरूको जीवनशैली र व्यवहार त्यसको उल्टो छ । शासन व्यवस्था सञ्चालन गर्नेहरूले सादा जीवन उच्च विचार अंगाल्न सकिरहेका छैनन् ।
गणतन्त्रका शासकहरू राजतन्त्रका शासकहरूभन्दा पनि विलासी हुँदै गइरहेको आमनागरिकहरूको अनुभव छ । त्यसो त सरकारका मन्त्री सासदहरूको पूmर्ति घमण्ड बढिरहेको घटनाले पनि जनतामा नैराश्यता छाएको छ । कतिपय क्षेत्रमा त मन्त्रीहरूकै संरक्षणमा सिन्डिकेट लागू भइरहेको छ ।
नयाँ बोतलमा पुरानो रक्सी भन्ने उखान जनताले सम्झन थालेका छन् । अहिलेका राष्ट्र प्रमुखलाई पनि विगतका राजालाई जस्तै बुलेट पु्रफ गाडी चाहिने, आफ्नै निवासमा हेलिप्याड चाहिने भनेको अधिनायकवादको अभ्यास हो । बिरामी बोक्न एम्बुलेन्स नभएको देशमा करोडौँको गाडी चढ्ने राष्ट्रपति कसरी लोकप्रिय होलिन ? झन् पछिल्लो समयमा त राष्ट्रपतिका लागि भनेर डेढ अर्बको हेलिकोेप्टर खरिद गर्न लागिएको चर्चाले व्यापकता पाएको छ ।
नागरिकहरूको उब्जाउ जमिन अधिग्रहण गरेर रंगशाला बनाउनुपर्ने कस्तो विडम्बना ? एउटा भएको रंगशालाले त काम पाउन नसकिरहेको अवस्थामा फेरि अर्को रंगशाला चाहिने ? विवादित आइएनजिओले गरेको कार्यक्रमका लागि सरकारले करोडौँ खर्च गर्छ र त्यस वावत प्रधानमन्त्रीले त्यो संस्थाबाट व्यक्तिगत रूपमा १ लाख डलर पुरस्कार थाप्छन् । हामी जनता कति अभागी ?
दुईतिहाइ बहुमतको बलियो सरकारका प्रधानमन्त्रीको भनाइ नै रंग न ढंगको छ । ओलीजीले संविधानले दिए दुइवटा प्रधानमन्त्री राख्छु भनेर सार्वजनिकरूपमै बोले । देशको कार्यकारी प्रमुखको भनाइ नै चलचित्रका हास्यकलाकारको जस्तो भइरहेको छ । देशका प्रधानमन्त्रीको काम भनेको जोक्स गर्ने, उखानका टुक्काहरू भन्ने, विपक्षी मानमर्दन गर्ने हो कि जस्तो देखियो । यस्तो त राणाकाल र पञ्चायतकालमा समेत देखिएको थिएन । यस्तो शैलीले स्रोतालाई एकछिन रमाइलो त देला तर यसले प्रधानमन्त्री पदको साखलाई घटाउँछ । प्रधानमन्त्रीको काम भनेको देश हाँक्ने हो । प्रधानमन्त्री देशको पाइलट हो ।
प्रतिक्रिया