सोभियत संघको कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन र चीनको प्रतिक्रान्तिपछि ती दुवै पार्टीहरूले दक्षिणपन्थी संशोधनवादी बाटो समाते । त्यो वेला माक्र्सवादी–लेनिनवादी सिद्धान्तको रक्षाको प्रश्न सबैभन्दा महत्वपूर्ण प्रश्न बनेको थियो । अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा पनि हामीले त्यसबारे चल्ने सैद्धान्तिक संघर्षमा सबैभन्दा बढी ध्यान दिनु परेको थियो ।
द्वितीय महाधिवेशनमा पार्टीमा राजावादी भड्किलो स्वभाव देखापरेपछि गणतन्त्रको राजनीतिक लाइनका पक्षमा संघर्ष मुख्य भएको थियो । संविधान सभाको प्रश्नमा पार्टीभित्रको अन्तर विरोध तीव्र भएको थियो । त्यो संघर्ष तृतीय महाधिवेशनमा उत्कर्षमा पुगेको थियो । रायमाझीले नेतृत्व गरेको राजावादी गुटलाई पार्टीबाट निष्कासित गरेपछि त्यो संघर्ष टुंगिएको थियो । ०४६ सालपछि संविधान सभाको चुनावको प्रश्नले देशमा पुनः तीव्र रूप लिएको थियो ।
हामीले ०४८ सालको संसदीय चुनावको पनि बहिष्कार गरेका थियौँ । पहिले तत्कालीन मालेको कालमा र पछि माओवादीहरूको कालमा तिनीहरूले उग्र ‘वामपन्थी’ दिशा समाते । त्यो कालमा हामीले उग्र ‘वामपन्थी’ भड्कावका विरुद्ध कडा संघर्ष गर्नु परेको थियो । पार्टीको इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा हामीले राजावादी, कांग्रेस परस्त, रुसी संशोधनवाद, चिनियाँ संशोधनवाद, नवट्राटस्किवाद आदि बेग्लाबेग्लै लाइनहरूका विरुद्ध पनि संघर्ष गर्नु परेको थियो ।
पार्टी इतिहासका कतिपय कालखण्डहरूमा संगठनात्मक पक्ष प्रमुख बन्ने गर्दछ । रुसको कम्युनिस्ट पार्टीमा बोल्सेभिक र मेन्सेबिकहरूका बीचको संघर्षमा प्रारम्भमा संगठनात्मक पक्ष नै मुख्य विवाद तथा संघर्षको विषय बनेको थियो । अन्त्यमा त्यही कारणले पार्टी बोल्सेभिक (बहुमत) र मेन्सेभिक (अल्पमत) का बीचमा विभाजन भएको थियो । लेनिनले जनवादी केन्द्रीयताको आधारमा पार्टीको निर्माण गर्न थाले ।
हाम्रो पार्टीको इतिहासमा पनि कैयौँपल्ट अनुशासनविहीनता, अराजकता वा गुटबन्दी प्रमुख समस्याका रूपमा देखा पर्ने गरेका छन् । त्यो अवस्थामा पार्टीभित्र अनुशासन र एकताको रक्षाका प्रश्नहरू दुई लाइन र अन्तर संघर्षका प्रमुख विषयहरू बन्ने गरेका छन् । पार्टीको द्वितीय महाधिवेशनपछि खालि गणतन्त्र र वैधानिक राजतन्त्रको लाइनको बीचमा अन्तर संघर्ष मात्र भएन, त्यो वेला अनुशासन पनि अत्यन्त कमजोर भएको थियो ।
त्यो वेला गुटबन्दी धेरै नै बढेर गएको थियो । त्यो वेला पार्टीभित्रको खालि नीतिगत रूपमा गणतन्त्र र राजावादी लाइनका बीचमा चलेको अन्तर संघर्ष मात्र थिएन, रायमाझी गुटले राजासित साँठगाँठ गरेर पार्टीलाई पूरै नै राजाको क्याम्पमा लैजान र पार्टीको विघटन गर्ने उद्देश्यले काम गरेको थियो । अन्त्यमा तेस्रो महाधिवेशनपछि राजनीतिक रूपमा त्यो समस्याको समाधान भयो । तर, त्यसपछि पनि उनीहरू पार्टीको एउटा ठूलो पंक्तिलाई भ्रम दिन सफल भए ।
रायमाझीको नेतृत्वको बहुमतको पक्षमा पार्टी संगठन भएका कतिपय जिल्ला पार्टी र पार्टी सदस्यहरूको एउटा ठूलो संख्या उनका पक्षमा नै रहिरह्यो । उनको सोभियत संशोधनवादसित सम्बन्ध भइरह्यो र रुसद्वारा आफ्ना सदस्य वा कार्यकर्ताहरू सोभियत संघमा पठाएर लाभ पु¥याउने काम गरिरहे । अन्तमा उनले औपचारिक रूपमा नै आफ्नो गुटको विघटन गरे । यस सन्दर्भमा यो उल्लेखनीय छ कि रायमाझी गुटले दिएको भ्रम वा उनले गरेको षड्यन्त्रको कारणले क्रान्तिकारी स्प्रिटका साथ पार्टीमा लागेका र लामो संघर्षको इतिहास भएका नेता र कार्यकर्ताहरूको ठूलो पंक्तिको पतन भयो । यो समस्या खालि रायमाझी गुटसित मात्र सम्बन्धित छैन ।
रायमाझी जस्ता कम्युनिस्ट सिद्धान्त र आदर्शहरूबाट विचलन भएका वा राजावादी लाइन लिएका व्यक्तिले पार्टीबाट निस्कासित भइसकेपछि पनि किन लामो समयसम्म पार्टीका साथीहरूलाई वा उच्च स्तरीय नेताहरूलाई पनि भ्रम दिन सके ? त्यसको अर्को पक्ष पनि छ । पार्टी र क्रान्तिका लागि समर्पित पार्टीका थुप्रै सदस्य, कार्यकर्ता वा नेताहरू पनि कसरी लामो समयसम्म उनका पछि लागिरहे ? वास्तवमा यो रायमाझीसित सम्बन्धित प्रश्न मात्र होइन । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि त्यस्ता घटनाहरूको बारम्बार पुनरावृत्ति हुँदै आएको छ ।
खुस्चेभ र सोभियत संशोधनवादीहरूले संशोधनवादको बाटो समातेपछि संसारभरका धेरै कम्युनिस्ट पार्टीहरूमा भ्रम पैदा भयो र उनीहरूले दक्षिणपन्थी दिशा समाते । त्यसको परिणाम स्वरूप विश्व कम्युनिस्ट आन्दोलनमा पनि फुट भयो । सोभियत संशोधनवादलाई समर्थन गर्ने पार्टीहरू एकातिर र त्यसको विरोध गर्ने पाटीहरू अर्कातिर उभिन पुगे । यो विश्व कम्युनिस्ट आन्दोलनको विडम्बना नै थियो कि संसारका धेरैजसो कम्युनिस्ट पार्टीहरूले सोभियत संशोधनवादको नै पक्ष लिए ।
अन्तमा सोभियत संघमा समाजवादी व्यवस्थाको समाप्त भयो, त्यहाँ पुँजीवादको पुनस्र्थापना भयो र कम्युनिस्ट पार्टीको पनि विघटन भयो । सोभियत संशोधनवादीहरूका गलत नीतिहरूको परिणाम स्वरूप सोभियत संघको पनि विघटन भयो । कुरा त्यहीँसम्म मात्र सीमित रहेन । विश्व समाजवादी व्यवस्थाको पनि पतन भयो र सबै पूर्व समाजवादी देशहरूले पुँजीवादको बाटो समाते ।
स्तालिनले लेनिनवादी सिद्धान्तको सिर्जनात्मक विकास गरेका थिए र विश्वको इतिहासमा पहिलोपल्ट रूसमा समाजवादी व्यवस्थाको निर्माण गरेका थिए । द्वितीय विश्वयुद्धमा हिटलरलाई पराजित गर्न तथा सम्पूर्ण विश्वलाई फासिस्ट खतराबाट बचाउन पनि उनको प्रमुख भूमिका रहेको थियो । उनको त्यस प्रकारको भूमिकाका कारणले नै संसारका सबै प्रतिक्रियावादीहरू उनका कट्टर दुश्मन बनेका थिए ।
सोभियत संघको २०औँ पार्टी कांगे्रसमा खुस्चेभले स्तालिनका विरुद्ध सिद्धान्तहीन, अराजनीतिक र व्यक्तिगत आरोपहरू लगाएर विश्व कम्युनिस्ट आन्दोलनको दृश्यबाट नै उनलाई समाप्त पार्ने प्रयत्न गरे । त्यसको असर काफी हदसम्म संसारका कैयौँ कम्युनिस्ट पार्टीहरूमा पनि प¥यो । आज संसारका कैयौँ देशका कम्युनिस्ट पाटीहरूमा स्तालिनप्रति नकारात्मक सोचाइ अपनाउने जुन विचारहरू पाइन्छन्, ती २०औँ पार्टी कांग्रेसका नै परिणामहरू हुन् ।
यस सन्दर्भमा यो प्रश्न पनि कम गम्भीर छैन । सोभियत संघका नेताहरूले त्यति गम्भीर प्रकारका गल्तीहरू गर्दा पनि त्यो देशको लामो र गौरवपूर्ण इतिहास भएका पार्टी सदस्यहरूले किन सोभियत संशोदनवादीहरूका कार्यहरूको विरोध गरेनन् ? त्यहाँ पुँजीवादको पुनस्र्थापना हुँदा वा कम्युनिस्ट पार्टीको विघटन हुँदा किन विद्रोह गरेनन् ? त्यही कुरा चीनसहित कैयौँ पूर्व समाजवादी देशहरूबारे पनि सत्य हो । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि विचार गर्नुपर्ने आवश्यकता छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा खालि रायमाझीले मात्र होइन, अन्य विभिन्न दक्षिणपन्थी वा उग्रवामपन्थी संगठनहरूले पनि विभिन्न प्रकारका भ्रमहरू दिने, पार्टीमा फुट पार्ने, कम्युनिस्ट आन्दोलनलाई गलत दिशामा लैजाने तथा देशको वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलन र जनआन्दोलनलाई समेत धेरै नै नोक्सान पु¥याउने गरेका छन् । उनीहरू मध्ये कैयौँले आफ्नो व्यक्तिगत फाइदा, महत्वाकांक्षा वा आफ्नो भविष्य बनाउनका लागि कम्युनिस्ट आन्दोलनलाई नै गलत प्रकारले उपयोग गर्ने गरेका छन् ।
त्यस सन्दर्भमा एमाले र माओवादीहरूको उदाहरण विशेष रूपले उल्लेखनीय छ । उनीहरूले उग्रवामपन्थी नारा दिएर ठूलो संख्यामा कायकर्ताहरूलाई आकर्षित गरेपछि दक्षिणपन्थी बाटो समाते । हाम्रो पार्टी पनि त्यस प्रकारको गोलचक्करबाट बच्न सकेको छैन । हाम्रो पार्टीका कैयौँ नेता वा कार्यकर्ताहरूले पहिले क्रान्तिकारी र आकर्षक नारा दिएर पार्टीलाई फुटाउने र पछि दक्षिणपन्थी दिशा समात्ने गरेका उदाहरणहरूको पनि कमी छैन ।
कम्युनिस्ट आन्दोलनसित सम्बन्धित अर्को एउटा पक्षको चर्चा गर्नुपर्ने शायद अप्रासांगिक हुने छैन । स्तालिनलाई विश्व कम्युनिस्ट आन्दोलनको दृश्यबाट हटाउनका लागि व्यक्तिगत आलोचना वा चरित्र हत्यालाई नै मुख्य हतियार बनाइएको थियो । चीनमा संशोधनवादीहरूले कामरेड चियाङचिङविरुद्ध पनि त्यही प्रकारको तरिका अपनाएका थिए । हाम्रो पार्टीमा पनि राजनीतिकभन्दा व्यक्तिगत आरोप, टीकाटिप्पणी वा चरित्र हत्याको राजनीतिलाई त्यस समयमा बारम्बार प्रयोग गर्ने गरिएको छ ।
पार्टीका कार्यकर्ताहरूको निम्न पुँजीवादी चरित्र वा निम्न सैद्धान्तिक स्तरका कारणले त्यस प्रकारको पद्धति सामान्यतया बढी प्रभावशाली पनि हुने गर्दछ । त्यसैले, बेग्लाबेग्लै समयमा कैयौँ दक्षिणपन्थी, ‘वामपन्थी’, संशोधनवादी, अराजकतावादी वा अनुशासनविहीन तत्वहरूले बेग्लाबेग्लै प्रकारका भ्रमहरू दिएर पार्टीमा अनुशासनविहीनता र अराजकताको स्थिति सिर्जना गर्ने, पार्टीलाई फुटाउने वा कार्यकर्ताहरूलाई आफ्ना गलत प्रकारका विचार वा उद्देश्यहरूको पूर्तिका लागि प्रयत्न पनि गर्ने गर्दछन् । कार्यकर्ताहरूको चेतना उठाएर नै त्यस प्रकारको स्थितिमाथि नियन्त्रण गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।
तेस्रो महाधिवेशनले रायमाझीको प्रकरणलाई समाप्त ग¥यो । तर, त्यसपछि पुनः पार्टीभित्र तीव्र प्रकारको अनुशासनविहीनता, अराजकता वा गुटबन्दीको अवस्था उत्पन्न भयो । जनवादी केन्द्रीयता तथा छलफलमा स्वतन्त्रता र कार्यमा एकताको सिद्धान्तहरूको खुला रूपमा नै उल्लंघन हुन थाल्यो । वनारसका गल्लीहरू र चिया पसलहरूमा खुला रूपमा नै एक अर्काको आलोचना गर्न वा पार्टीभित्रका मतभेदहरूलाई बाहिर लैजान थालियो । त्यस प्रकारको आलोचना वा टीकाटिप्पणीहरू बढी सिद्धान्तहीन, अराजनीतिक र व्यक्तिगत प्रकारका वा चरित्र हत्या गर्ने प्रकारका पनि हुने गर्दथे ।
त्यसको परिणाम यो भयो कि पार्टीको केन्द्रीय समिति भंग भयो । पार्टी समानान्तर तथा कैयौँ क्षेत्रीय समितिहरूमा विभाजित भयो । त्यसरी द्वितीय महाधिवेशनपछि पार्टीमा जुन चरम प्रकारको अनुशासनविहीनता, अराजकता र गुटबन्दीको स्थिति तयार भएको थियो, तेस्रो महाधिवेशनपछि त्यो चरम रूपमा पुग्यो । द्वितीय महाधिवेशनपछि पार्टीमा जति अनुशासनविहीनता देखा परेको भए पनि, कमसे कम, पार्टीको केन्द्रीय समिति ता कायम रहेको थियो ।
तेस्रो महाधिवेशनपछि केन्द्रीय समिति नै कायम रहन सकेन । त्यो स्थितिबाट पञ्चायती व्यवस्थाले फाइदा उठायो । कैयौँ पार्टी कमिटिहरूमा त्यसले आफ्ना एजेन्टहरू घुसाउने काम ग¥यो । पञ्चायती व्यवस्था कायम भएपछि धेरै जसो जनवर्गीय संगठनहरूको विघटन भइसकेको थियो । विद्यार्थी आन्दोलन र संघर्षको परिणामस्वरूप स्वतन्त्र विद्यार्थी युनियनको गठन भएको थियो । त्यसमा पनि पञ्चायती व्यवस्थाले आफ्नो घुसपैठ बढाएर लग्यो ।
तेस्रो महाधिवेशनपछि अस्तव्यस्त भएको त्यो अवस्थालाई चौथो महाधिवेशनले व्यवस्थित, अनुशासित र एकताबद्ध पार्ने काम ग¥यो । त्यो वेला कमरेड निर्मल लामा र हाम्रा बीचमा कैयौँ मतभेदहरू थिए । खास गरेर संसदीय चुनावको बहिष्कार गर्ने वा त्यसलाई उपयोग गर्ने ? त्यो प्रश्नमा हाम्रा बीचमा मतभेद थियो । केन्द्रीय समिति र विभिन्न भेला वा सम्मेलनहरूमा त्यो प्रश्नमा तीव्र बहस भयो । ती सबै कार्यक्रमहरूमा हाम्रा बीचमा नीतिगत प्रश्नमा त्यस प्रकारको मतभेद भए पनि पार्टीभित्रको अनुशासन, एकता वा आपसमा मैत्री सम्बन्धमा कहिल्यै समस्या पैदा भएन ।
मतभेदका बाबजुद पार्टीभित्रको अनुशासन र एकताको वातावरण कहिल्यै पनि बिग्रिएन । तर, पछि कमरेड लामा र म दुवैजना बेग्लाबेग्लै प्रकारको अनुशासनको कारबाहीमा परेर केन्द्रीय समितिबाट हटेपछि पार्टीभित्रको अनुशासन र एकता, खास गरेर मतभेदका बीचमा अनुशासित रूपले काम गर्ने र एकता कायम गर्ने वातावरण बिग्रन थाल्यो । त्यसरी लामाजी र म दुवै जना केन्द्रीय समितिमा नभएको वेलामा केन्द्रीय समितिका ६ जना सदस्यहरूले सामूहिक रूपले राजिनामा दिए । त्यो राजिनामालाई सार्वजनिक पनि गरियो । त्यो कार्य पार्टीको अनुशासनको गम्भीर उल्लंघन थियो ।
त्यसैले, ०४० सालमा गोरखपुरमा भएको सम्मेलनले त्यसरी अनुशासन उल्लंघन गर्ने केन्द्रीय सदस्यहरूलाई पार्टीबाट निस्कासित गर्यो । त्यस प्रकारको अनुशासनविहीनताको पक्ष लिएकाले कमरेड निर्मल लामालाई पनि पार्टीबाट निस्कासित गरिएको थियो । त्यसपछि उनीहरू लामाजीको नेतृत्वमा नेकपा (चौथो महाधिवेशन) को गठन गरेर बेग्लै काम गर्न थाले । त्यही प्रकारको पृष्ठभूमिमा पार्टीको पाँचाैँ महाधिवेशन सम्पन्न भयो । त्यो महाधिवेशन तीव्र प्रकारको गुटबन्दीको वातावरणमा भएको थियो । त्यो वेलाको मतभेद मुख्य रूपले ‘मध्यपन्थी’ अवसरवादसित जोडिएको थियो ।
महाधिवेशनमा रिमका प्रतिनिधिहरू पनि आएका थिए । महाधिवेशनपछि चुनिएको केन्द्रीय समितिले महाधिवेशनले गरेका निर्णयको तोडमोड गरेर रिमका नीतिअनुसार कैयौँ परिवर्तनहरू गरेको थियो । त्यो वेला श्रीलंकामा तमिलहरूको विद्रोह चलिरहेको थियो । उनीहरूले श्रीलंकाबाट अलग गरेर जाफ्नामा स्वतन्त्र तामिल राज्यको माग गरेका थिए । हाम्रो पार्टीले तमिल क्षेत्रको स्वायत्त शासनको मागलाई समर्थन गरेको थियो । तर, त्यहाँ स्वतन्त्र राज्यको निर्माण गर्ने मागको विरोध गरेको थियो ।
त्यो वेला पाँचौँ महाधिवेशनद्वारा निर्वाचित नेतृत्वले रिमका प्रतिनिधिको सल्लाहअनुसार जाफ्नाको स्वतन्त्र राज्यको मागलाई समर्थन गरेर वक्तव्य जारी गरेको थियो । त्यो बाहेक उनीहरूले महाधिवेशनका अरू कैयौँ निर्णयहरूलाई तोडमोड गरेर राजनीतिक प्रतिवेदनलाई प्रकाशित गरेका थिए । त्यो वेला केन्द्रीय समितिमा निर्वाचित केही साथीहरूले जाफ्नासमेत महाधिवेशनका निर्णयहरूबारे गरिएको तोडमोडलाई सच्चाउनका लागि प्रस्ताव राखको थियो ।
उनीहरूले बिहान त्यस प्रकारको प्रस्ताव राखे । साँझ उनीहरूलाई निस्कासित गर्ने निर्णय गरियो । त्यसरी उनीहरूलाई केन्द्रीय समितिबाट मात्र निस्कासित गर्ने गरिएको थियो वा पार्टी सदस्यताबाट नै निस्कासित गरिएको थियो ? अहिले मलाई त्यो कुराको सम्झना छैन । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले त्यो वेलाको केन्द्रीय कमिटिसित सम्बन्ध तोडेर विद्रोहको बाटो समात्नु परेको थियो ।
प्रतिक्रिया