काठमाडौं । ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती संग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा संकटमा परेको छ । प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको संग्रहालयका सचिव राजेन्द्र महाजुले बताए । पुस्तकमा कीरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर सिर्जना हुन थालेको छ । उनले भने, ‘अहिले चार पुस्तक संग्रहायलमा छन् तर सुरक्षाका लागि उपयुक्त विषादी नभएका कारण दिनानुदिन यी पुस्तकलाई जोगाउनै गाह्रो भइरहेको छ ।’
संग्रहालय सर्वसाधारणका लागि ०६६/६७ सालबाट खुला गरिएको थियो । प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ, सार्क राष्ट्रका नागरिकका लागि एक सय रुपैयाँ र नेपाली विद्यार्थीका लागि १० रुपैयाँ शुल्क कायम गरिएको महाजुले बताए । संग्रहालयमा विभिन्न लिच्छविकालीन र मल्लकालीन मूर्ति रहेका छन् । विशेषगरी, मल्लकालीन समयमा लेखिएको २०औँ शताब्दीका पुस्तक यस संग्रहालयमा रहेको छ । विशेषगरी, नेवारी संस्कृति देख्न पाइने संग्रहालय संस्कृति प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । अहिले यसलाई प्रचारप्रसार गर्ने माध्यम सामाजिक सञ्जाल मात्र बन्न पुगेको छ । यसका लागि राज्य पक्षबाट कुनै सहयोग नभएको सचिव महाजुले बताए ।
संग्रहालय अवलोकनका लागि दैनिक स्वदेशी तथा विदेशी पर्यटक गरी एक सयसम्म आउने गर्छन् । आर्थिक वर्ष ०६८/६९ सालमा मात्रै २ हजार ९ सय ३३ पर्यटकले अवलोकन गरेका थिए । त्यस्तै, आर्थिक वर्ष ०६९/७० मा ३ हजार ८१ ले, ०७०/७१ मा ४ हजार ५ सय २४ र ०७१/७२ मा ४ हजार ७ सय १४ ले सो संग्रहालयको अवलोकन गरेको महाजुले जानकारी दिए ।
त्यस्तै, ०७२/७३ मा २ हजार ८ सय ९ ले, ०७३/७४ मा ४ हजार ५ सय ३२ र ०७४/७५ मा ५ हजार ८ सय ६४ अवलोकनर्ताले अवलोकन गरेका थिए । सबैभन्दा बढी विदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेको पाइन्छ ।
संग्रहालयले पनौतीमा भएका पुरातात्विक सम्पदाको प्रचारप्रसार गरेको छ । साथै, स्थानीयलाई नेवारी संस्कृति र कलाका बारेमा बुझ्ने अवसरसमेत मिलेको छ ।
संग्रहालयमा धातुका विभिन्न मूर्ति तथा काष्ठकलाका १५औँ शताब्दीको मूर्तिसमेत रहेको छ । विशेषगरी, खुँडा, भाला, देवी नाचको मुकुण्डो संग्रहालयमा रहेका छन् । यसका साथै नेवारी समुदायले प्रयोग गर्ने विभिन्न प्रकारका पूजाका भाँडाकुँडा, नेवारी जनजीवनमा प्रयोग हुने भान्छाका भाँडासमेत संग्रहालयमा रहेका छन् ।
संग्रहालयमा अवलोकन गर्न आउनेले पुरानो सिक्का, चाँदीका गरगहना र पनौतीका पुराना फोटाहरू, नेवारी समुदायले प्रयोग गर्ने पूजा, भान्छाका विभिन्न प्रकारका भाँडा हेर्ने गर्छन् । संग्रहालयमा सातजना कर्मचारी छन् तर बजेट अभावका कारण उनीहरूलाई पारिश्रमिक दिन समस्या रहेको पनैती–७ का वडाध्यक्ष रामचन्द्र नासननीले जानकारी दिए । सम्पदा संरक्षणका लागि राज्यबाट कुनै किसिमको सहयोग नहुँदा यी पुरातात्विक वस्तुलाई सरक्षण गर्न समस्या भएको अध्यक्ष नासननीले बताए ।
संग्रहालय प्रत्येक दिन बिहान ७ः३० देखि बेलुका ६ बजेसम्म खुला हुन्छ तर दसैं तिहार र स्थानीय पर्व पनौती जात्राको दिन भने बन्द हुने चलन रहिआएको छ ।
प्रतिक्रिया