अमरगढी किल्लाका हतियार बेपत्ता

 

सुदूरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । सहिद भीमदत्त पन्तको जन्मथलो भएका कारण पनि उक्त ठाउँको नाम चर्चामा छ । किल्लाको प्रवेशद्वारमा बडाकाजी अमरसिंह थापाको सालिक छ जहाँ लेखिएको छ । ‘म बाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ ।’ त्यही किल्लाका ऐतिहासिक हतियार भने कहाँ छन् भन्ने अहिलेसम्म कसैलाई पत्तो छैन । नेपाल एकीकरणका वेला ब्रिटिस साम्राज्यसँग लड्न वीरहरूले प्रयोग गरेको दर्जनौँ हतियार र पाँचवटा तोप गायव भएको वर्षौँ बित्दा पनि अझै भेटिएका छैनन् ।

नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको उक्त किल्लाबाट पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएको छैन । सेनाको प्रयोग र संरक्षणमा रहेको उक्त किल्ला सात वर्षयता नगरपालिकाले स्वामित्व लिए पनि हतियारको खोजबिन गरेको छैन । स्थानीयवासीका अनुसार पाँच तोप, ५० जति बन्दुक, एक दर्जन भीमसेन नाल बन्दुक र केही घरेलु हतियार किल्लामा थिए ।

बडाकाजी अमरसिंह थापाले १८४७ सालमा स्थापना गरेको सो किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता रहेको र त्यसैकारण किल्लाको महत्वसमेत घटेको स्थानीयवासीको आरोप छ । नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरू बताउँछन् । उक्त किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवन्त किल्लाको रूपमा रहेको पुरातत्व विभागको जिकिर छ । डडेल्धुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालगायत ऐतिहासिक हतियार र सैनिक पोसाक अहिले नहुँदा किल्लाको महत्वसमेत घटेको स्थानीयवासी बताउँछन् ।

नेपाल एकीकरणका वेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाइ कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानिएको थियो । युद्धमा प्रयोग भएका बन्दुक तथा घरेलु हात हतियारलगायत रहेका कारण त्यसवेलादेखि प्रत्येक वर्ष दसैँको फूलपातीका दिनमा किल्लामा रहेका सैनिक तोप लगेर टँुडिखेलमा पट्काउने गर्दै आएको स्थानीयवासी ८२ वर्षीय करी दमाइको अनुभव छ ।

उनका अनुसार त्यसवेला किल्लामा खड्गदल गण नामको तत्कालीन शाही सेना बस्ने गरेको र पछि उनीहरूले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लिएर गएको हुनसक्छ । त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार ल्याएनन् । त्यसवेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दसैँको वेलामा कपडाको खोलले ढाक्ने गरिएको थियो ।

किल्लामा त्यसवेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, एक सय जति बन्दुक, किल्लाभित्रै बम, गोला, बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामग्री पनि रहेको किल्ला छेउ बस्ने किरण श्रेष्ठ बताउँछन् । अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।
०५४ सालमा अमरगढी किल्लाको नामबाट स्थापना भएको अमरगढी नागरपालिकाले ०५६ सालमा अमरगढी किल्लाकै नामबाट नामाकरण भएको अमरगढी नगरपालिका स्थापनापछि ०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मातहतमा लिएको थियो ।

०५८ सालमा तत्कालीन माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन उक्त किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँड्डुलमा समेत प्रतिबन्ध लगाइएको थियो । ०५८ देखि ०६६ सालसम्म किल्ला सेनाको मातहतमै थियो । स्थानीयवासीको पटकपटकको प्रयासपछि ०६६ पुसदेखि पुनः किल्लालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो । पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने ०६९ सालदेखि स्वीकृति दिइएको हो ।

एेतिहासिक पृष्ठभूमि
समुद्र सतहबाट करिब ६ हजार ५ सय फिटे डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला छ । तत्कालीन श्री ५ रणबहादुर शाहको शासनकाल तथा राजकुमार बहादुर शाहको नायवीमा नेपाल एकीकरणको सिलसिलामा १३ भदौ १८४७ साल आइतबारका दिन सेती नदीको नारी दाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका १० कम्पनीका गोर्खाली सैनिक जवान र डोटेली सैनिकका बीच घमसान युद्ध भएको थियो

सो युद्धमा गोरखाली फौजसामु डोटेली फौज पराजित भइसकेपछि डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो र भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्नका लागि अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासकको रूपमा नियुक्ति भएर आए । थापाले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएका हुन् ।
किल्ला निर्माण भइसकेपछि सरदार अमरसिंह थापा, काजी जगजित पाण्डे, कप्तान गोलैया र रणवीर खत्री सुब्बा आदि सैनिक नेतृत्वले यस किल्लालाई आधारकिल्ला कायम गरी बसेका थिए । कालीकुमाउ ‘सर्च’ अभियानमा बीच बाटोमा घौली ठानेर रंग्यौलीमा कुमाउका राजा मोहन चन्दको फौजले गोर्खाली फौजमाथि एक्कासि आक्रमण ग¥यो । यसवेला गोर्खाली सैनिक सजग नभएका कारण उनीहरूकोे पराजय भयो ।
केही समयपछि अमरसिंह थापाको रणकौशलता तथा गोर्खाली सैनिकको अभूतपूर्व प्रदर्शनले विरोधीमाथि विजय हासिल गरेपछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला (छाउनी) कुमाउमा राखिएको थियो । यो विशाल किल्लाकै कारण १८७३ को अंगे्रजसितको लडाइँमा पनि विजयी भएकाले यसको एतिहासिक तथा सामरिक महत्व बढेको हो ।
अमरसिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगे किल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुंगाले बनाइएको उक्त किल्लाभित्र गुफाहरू बनाइएका छन् । शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्वारा आएका सत्र निरोध गर्ने मार्गको पनि निर्माण गरिएको छ । किल्लामाथि ठुल्ठूला वृक्षले यसको शोभा बढाएको छ भने किल्लाको बीच भागमा उग्रभैरवको मन्दिर प्रतिस्थापन भएबाट यसको धार्मिक र सामरिक महत्व पछि झल्केको छ ।

प्रतिक्रिया