बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मीसेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन् । हातमा ठूलो सिल्टीको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन । दुध बोकेर बिक्रीका लागि डेरीमा हिँडेका शर्माले फर्केपछि गर्नुपर्ने कैयौँ काम साँचिएका हुन्छन् । त्यसैले, उनको गति तेजले चलेको हुन्छ । बागलुङ–कुस्मीसेराको सडक खण्डको १९ किलोमिटरमा पर्ने उनको घरदेखि १८ किलोमिटरको दूरीमा रहेको डेरीसम्म दौडिनु उनको नित्य कर्म हो ।
उन्नत जातका गाई र भैँसी गरेर आठवटा वस्तुभाउ गोठमा बाँधेका उनले दिनमा २५ देखि ३० लिटरसम्म दुध बिक्री गर्दै आएका छन् । बिहान १५ लिटर र बेलुका १० लिटरभन्दा धेरै दुध बेच्ने शर्माले महिनामा औसत ६० देखि ७० हजार रुपैयाँ कमाउँछन् । दुई छोरा र पत्नीसहित चारजनाको परिवारको दैनिकी चलाएर बचत गर्नसमेत शर्मालाई दुधको कमाइले पुगेको छ । घरमा भएका पति पत्नीको खर्च र बागलुङ बजारमा पढ्दै गरेका दुई छोराको खर्च शर्माले दुधको कमाइले चलाएका छन् । उनी वडा सदस्यसँगै विभिन्न सामाजिक संस्थामा समेत जिम्मेवार पदमा छन् । बिहान बेलुका घाँस काट्नेदेखि दुग्ध संकलन केन्द्रसम्म पुग्ने काम भ्याउने शर्मालाई घरको कामका लागि उनकी पत्नी सरस्वती शर्माले साथ दिन्छिन् ।
पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका शर्मा कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव पनि हुन् । कहिले वडा कार्यालयको काम त कहिले विद्यालय र सहकारीको काम भ्याउने शर्माको बिहान बेलुकाको दैनिकी भने गाईगोठ र दुग्ध संकलन केन्द्रमै सीमित हुन्छ । ‘सामाजिक काम गरेर बचेको समय गोठमा लगाएको छु,’ शर्माले भने, ‘गाईभैँसी पालेर भएको आम्दानीले मलाई थप आनन्द दिएको छ ।’ डेढ वर्ष पहिलासम्म जिल्लाको दक्षिण क्षेत्रका गाउँगाउँमा सामान ढुवानी गर्न खच्चड पालेका शर्माले वडा सदस्यमा निर्वाचित भएपछि गाईभैँसी पाल्न सुरु गरेका हुन् । एक÷दुइवटा भैँसी पालेर दुध बिक्री गर्न थालेको वर्षौं बितिसकेको भए पनि व्यावसायिक रूपमा भने उनले जनप्रतिनिधिमा निर्वाचित भएपछि गाई पालेँ ।
बिहान बेलुकाको समय व्यवस्थापन गरेर मासिक रूपमा राम्रो आम्दानी गर्न सकिने देखेर व्यावसायिक रूपमा गाई पालेको शर्मा बताउँछन् । ‘खच्चड पाल्दा दिनभर खच्चडकै पछि दौडिनु पर्दथ्यो, सामाजिक काम गर्न मलाई समय हुँदैन्थ्यो,’ शर्माले भने, ‘जनताका काम गर्न समय मिल्दैन कि भनेर खच्चडको विकल्पका रूपमा गाई पाल्न थालेको हुँ ।’ आगामी वर्षसम्ममा मासिक १ लाख रुपैयाँसम्म कमाइ हुने गरी शर्मा गाई फार्मको विस्तारमा लागेका छन् । ‘घाँसे मैदान प्रशस्त छ, दिनमा एक समय मिलाएर घाँसको प्रबन्ध गर्न सके १० देखि १५ वटासम्म गाई पाल्न सकिन्छ,’ शर्माले भने, ‘दुधको कमाइले मलाई हौस्याएको छ । कामदार राखेरै भए पनि गाईको संख्या बढाउँछु ।’
‘सरस्वती गाई फार्म’ दर्ता गरेर व्यावसायिक रूपमा दुधको उत्पादनमा लागेका शर्माको काम देखेर गाउँलेहरूले समेत सिको गर्न थालेका छन् । शर्माको गाई फार्मबाट राम्रो आम्दानी भएको देखेपछि गाईभैँसी पाल्न सुरु गरेका कुस्मीसेराकै टुनिवटका केदार पौडेल अहिले मासिक ४० हजार रुपैयाँ कमाउँछन् । दुइवटा उन्नत जातका गाई र एउटा उन्नत जातको भैँसी ‘आशिष् गाई पशु फार्म’ नाम गरेको उनको फार्ममा छन् । दिनमा १० देखि १५ लिटरसम्म दुध बिक्री गर्ने गरेको पौडेलले बताए । ‘सानोतिनो पसल गरेर बसेको थिएँ, यत्तिकै दिन बितेका थिए,’ पौडेलले भने, ‘रुद्र दाइले गाई पालेर दुध बेचे राम्रो हुन्छ भन्नुभयो । सोहीअनुसार काम सुरु गरेको म अहिले खुसी छु ।’ उनका अनुसार व्यापारमा भन्दा गाईभैँसीको सुसारमा खर्चेको समयले फाइदा दिएको छ । पौडेलले जस्तै खौर, किसेक र टुनिवटका १५ जना किसानले पशुपालनलाई नै मुख्य पेसा बनाएर दुध बिक्री गर्दै आएका छन् ।
उनीहरूले व्यावसायिक गाईपालन सुरु गरेपछि कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाको संकलन केन्द्रमा दुधको आपूर्ति ह्वात्तै बढेको छ । सहकारीले कुस्मीसेराको खौर, किसेक र टुनिवटमा बस्ने किसानहरूको सहजताका लागि खोलेको दुग्ध संकलन केन्द्रमा दुधको मात्रा बढेको सहकारीका अध्यक्ष मुक्तिराम आचार्यले बताए । ‘एक वर्ष पहिलासम्म ८० देखि १ सय लिटरसम्म दुध संकलन हुन्थ्यो,’ आचार्यले भने, ‘एक वर्षयता दुधको मात्रै क्रमशः बढ्दै ३ सय लिटर पुगेको छ ।’ सहकारीले सो क्षेत्रका सबै किसानहरूलाई समेट्न २८ जनालाई सेयर सदस्य नै बनाएको छ । १५ जना किसानले तीनवटाभन्दा धेरै गाईभैँसी पालेर व्यावसायिक उत्पादन गरेको भए पनि बाँकीले भने सेयर सदस्यको दायित्वअन्तर्गत पूरा गर्नुपर्ने कोटामा मात्रै दुध उपलब्ध गराउने गरेका छन् ।
एक वर्षको अवधिमा झण्डै ३५ लाख रुपैयाँको दुध बिक्री गरेको उक्त संकलन केन्द्रले आगामी वर्ष ६० लाख रुपैयाँको दुध बिक्री गर्ने लक्ष्य राखेको सहकारीका सचिव रुद्रनाथ शर्माले बताए । बागलुङको बलेवा क्षेत्रमा रहेका किसानहरूको दुध संकलन र बिक्री गर्दै आएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले विभिन्न संकलन केन्द्रमार्फत दुध संकलन गरेर बागलुङ बजार र पर्वतको सदरमुकाम कुस्मा बजारमा बिक्री गर्दै आएको छ । वार्षिक डेढ करोड रुपैयाँभन्दा धेरैको दुध बिक्री हुने गरेको अध्यक्ष आचार्यले बताए । दुधको बजार राम्रो रहेकाले किसानहरूलाई बिक्रीका लागि समस्या छैन । टाकुरीमा चिस्यान केन्द्र स्थापना गरेको सहकारीले बिहान बेलुका दुवै समयको दुध संकलन गरेर स्तरीकरणसमेत आफ्नै केन्द्रमा गर्दै आएको छ ।
प्रतिक्रिया