कोभ्रेको खानीखोला गाउँपालिका–६ साल्धाराको वडाकार्यालय देउरालीबाट करिब ४५ मिनेट जति उत्तर तर्फ हिँडेपछि साविक १ नम्बर वडा कोदाखोरीया भन्ने ठाउँ छ । उक्त स्थानमा पारीबाटै स्पष्ट देखिन्छ कफिको हरिया बोट र बारीभरी पाकेका पहँला कोदो जस्को कारण डाँडै पहेँलो देखिन्छ । बारीभरि कफिका पाकेका राता दाना र हरिया पातले घरिएको स्थानमा रहेको घर हेर्दा लाग्छ, हरियाली बीच रहेको एक कुटी जहाँ महार्षी बसेका होलान् । अति शान्त र सुनदर त्यस स्थानको दृश्य अक्षरमा वर्णन गर्न सहज भने छैन जति हेर्दा आनन्द आउँछ ।
डाडँको माथी र लत दुवै तीर तमाङ समुदायको वस्तीले ढाकेको छ । तमाङ बस्तीको बीचमा छ डाडै हरिया बनाएर कफि खेती गर्ने पौरखी दुर्गाप्रसाद घिमिरेको घर । उनी त्यस गाउँमा बस्ने एक मात्र ब्राम्हण हुन । टिनको छानो भएको उनको काठे घरको कलात्मक रुपमा बनाइएका बार्दली भरी लोभ लाग्दा मौरीका घारहरू रहेका छन् ।
घरलाई मौरीका घारले माला गलाए जस्तै देखिन्छ । त्यो कुनै आय आर्जनका लागि भन्दा सुन्दरताका लागि कलात्मक रुपमा सिगारिएर बनाए जस्तै । र्बादली पूरै मौरीका घारले ढाकिएका छन् । रातो र कमेरो माटोले लिपिएका उनका घर साच्चै हेरिरहुँ जस्तै लाग्छ । बार्दलीमा रहेको घारबाट एकै साथ मौरीको गुनगुन आवावले लाग्छ घिमिरेको घरमा कुनै शुभकार्य हुँदै छ ।
उनी आफैले बनाएका काठमा घार र्बादलीको माथिल्लो मागमा झुण्डाइएको छ । बजारबाट किनेर ल्याएका १५ वटा घार तल लहरै राखिएको छ । किनेको र आफूले बनाएको गरी जम्मा ३५ वटा घारले उनको बार्दली घेरेको छ । जहाँबाट मौरीले सुमधर आवाज समेत दिने गर्दछ । त्यसले पनि एक प्रकारको आनन्दको अनुभूति हुन्छ । उनले घरमा मौरी मात्रै होइन, २ वटा भैसी, र २६ वटा खसी बाख्रा व्यवस्थीत रुपमा पालेका छन् । जुन उनका आम्दानीका स्रोत हुन् ।
गाउँमा घिमिरे ठेकेदारका नामले समेत चिनिने गरेका छन् । उनले स्थानीयले उत्पादन गरेको सामान खरिद गरि बजारसम्म पु¥याउने कारणले पनि उनलाई ठेकेदार भन्ने गर्छन् । केही वर्ष पहिलासम्म गाउँका २०० घरधुरीका आयस्रोतलाई व्यवस्थापन गर्ने घिमिरे अहिले ठाउँ–ठाउँमा यातायात सेवा पुगेपछि पनि ४० घरधुरीको आयस्रोतको बाटोलाई व्यवस्थापन गर्ने गर्दै आएका छन् । उनले गाउँमा उत्पादन हुने खुवा, कफि लगायतका अन्नबाली संकलन गरी बजार पुर्याइ बचेर गाउँलेलाई नगद दिलाइदिने काम समेत गर्दै आएका छन् । यसले उनको व्यापार भएको छ भने गाउँलेले दुइ चार पैसा हात पार्न पाएका छन् ।
समयलाई उत्पादमा लगाउन पर्छ भन्ने मान्यता राख्ने घिमिरेका हात कुनै नै कुनै काममा लागि रहेका हुन्छन् । उनलाई त्यतिकै बसेर समय खेर फाल्न मन पर्दैन । हामी पुग्दा उनी मह काट्न व्यस्त थिए । उनको त्यो व्यस्तता सधै उस्तै रहने गर्छ । खाली हात बसेका समयमा उनलाई भेट्न निकै मुश्किल हुनेगर्छ ।
‘मान्छेको जीवनमा दुःख भनेको दुई बगैँचा बीचको पर्खाल जस्तै हो, त्यसलाई पार नगरी एउटा बगैँचाबाट अर्काे बगैँचामा जान सकिँदैन ।’ प्रसिद्ध साहित्यकार खलिल जिब्रानले भनेझैँ घिमिरेको वास्तविक जीवनको भोगाई पनि उस्तै छ । सहित्यकारको उक्त भनाइमा घिमिरेको भागाई मेल खान्छ । २०२१ साल मंसिर १ गते बुबा डिल्लीराम घिमिरे र माता गगांमाई घिमिरेका एक मात्र सन्तानका उनको जन्म आज कर्म गर्दै गरेको गाउँमा भएको हो ।
उनी आफ्ना संघर्षका दिन सम्झँदै भन्छन्, ‘कुनै बेला यस्तो समय पनि थियो, यही समाजमा मलाई एक मुठ्ठी पिठो समेत पैँचो माग्दा कसैले पत्याउँदैनथे, त्यसपछिका दिन मेरा लागि भ्ुल्नै नसक्ने संघर्षशिल बन्दै गए, खुवाको भारी बोकेर रात र दिन नभनी काभ्रेको ढुङखर्क पु¥याउन थालेँ, त्यसपछि मैले त्यही सिकेँ, मेहेनत गर्दा कम्तीमा जीवन निर्वाह त टहर्दो रहेछ । त्यसपछि निकै मिहनत गर्न थाले जस्ले आज मेरो यो अवस्था बनायो ।’
उनले भने, ‘संघर्ष गरेर माथि उठ्न खोज्दै थिएँ । घरमा पालेको ३ वटा भैँसी चट्याङ लागेर मरे एउटा बाँचेको थोरे (पाडी) त्यसैलाई स्याहार गर्न थालेँ, त्यसैबाट खुवा बेच्ने हुँदै खुवा बोक्ने अनि गाउँमा खुवाको ठेक्का समेत लिन थालेँ । अतितका भोगाइ र वर्तमानको अवस्थामा आइपुग्दा सोच्दछु आफ्नो मनको विश्वासलाई कहिल्यै नमार्र्र्नेलाई भगवानले पनि साथ दिँदो रहेछन् । मैले कर्म गरेँ भगवानले मलाई साथ दिए ।’ उनले भगवान प्रतिको आफ्ना आस्था प्रकट गर्दै भने ।
‘गाउँमा यातायातको सुविधा छैन । त्यसैले गाउँमै ६० धार्नी खुवा बोक्नका लागि ३ जना भरिया खटाएको छु । यसले आफ्नो व्यापारमा सहज भएको छ भने उनीहरुले रोजगारी पाएका छन् । २० धार्नी खावा बोक्ने भरियालाई १६ सय रुपैयाँ ज्याला स्वरुप दिन्छु ।’ आफ्नो सफलताको कथा सुनाउँदै उनले भने, ‘कडा प्रतिस्पर्धी, ईमान्दार, लगनशिल र धैर्यशिल भएर निरन्तर एउटै काममा लागि रहयो भने सपना बुन्नै पर्दैन सपनाले नै हामीलाई बुनिदिने ताकत राख्दो रहेछ ।’
साहित्यकार जिब्रानले भनेजस्तै घिमिरेले त्यो दुःखको बगैँचा पार गरे अनि अहिले सुखको बगैँचाको यात्रा गर्दै छन् उनी । उनको अहिले पनौती नगरपालिकामा समेत बनाइ सकेका छन् । घिमिरेले आफ्ना ३ छोरा २ छोरीलाई उच्च तहसम्मको शिक्षा दिलाएका छन् । आफूले पढन नसकेका कारण छोराछोरीले घेरै पढेर अझै प्रगति गरुन भन्ने उनको चाहना छ । त्यसैले उनले सन्तानको पढाइका कुनै कसर बाँकी राखेनन । उनको चाहनालाई सान्तानले पनि मिहन गरेर पार लगाएका छन् ।
आफ्नो गाउँको विकासमा बाधा भनेकै उनले यातायातको असुविधा ठानेका छन् । ‘मिहन गरेर पसिना बगाउन सके सुन फल्ने जमिन हामीसँग छ । भोलीका दिनमा के गर्ने आजै सोच्नु पर्ने बेला आएको छ । यदि भविष्यका बारेमा आजै सोचेर केही गरिएन भने सन्तानले सुख पाउँदैनन ।’ भविष्यको चिन्ता गर्ने उनले भने
भौगोलिक विकताको कारण यातायात, बिजुली र भरपर्दाे सञ्चार समेत नपुगेको यो ठाउँमा आयस्रोत र सम्भावना भनेकै पशुपालन, कृषि, नगदेबाली (उखु,कफि) र अम्रिसो संकलन गरी बजार पुर्याउनु हो । उनले अहिले ३५ घार मौरी पालनबाट मात्रै बार्षिक एक लाखको आम्दानी गर्दै आएका छन् भने पशुपालन, कृषि र अन्य व्यवसायबाट बार्षिक थप लाखौँ आम्दानी गर्दै आएका छन् ।
उनी त्यस ठाउँको लागि नमूना कृषकको रुपमा समेत परिचित छन् । अहिले उनकै सफलताको सिको सिक्दै कोदाखोरियाका आम कृषकहरू हर दिन कृषि र पशुपालन कर्ममा व्यस्त हुन थालेका छन् । घिमिरेले गरेको प्रगति र उनको मेहनत देखेर अरुमा समेत प्रेणा उत्पन्न भएको स्थानीय ठान्दछन् ।
प्रतिक्रिया