तरकारी खेतीबाट ८ लाख आम्दानी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडीका जंगबहादुर चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आएका चौधरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । चौधरीले हाल २२ हेक्टर जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।

चौधरीले वार्षिक ८ लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए । सरस्वती कृषि सहकारीमार्फत तरकारी खेती सुरु गरेका चौधरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताए । ‘वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, वर्षमा सातदेखि ८ लाखसम्मको आम्दानी हुने गरेको छ,’ उनले भने ।

उनले घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी तुलसीपुर, हापुरेलगायत बजार र गाउँमा बिक्री गर्ने गरेको बताए । सिँचाइको अभाव भए पनि वर्षातको पानी संकलन केन्द्र निर्माण गरेर तरकारी खेती गर्दै आएको चौधरीले बताए ।

उनले यसअघि अरूको काम गर्दा मासिक १० हजार कमाउने गरेको भन्दै आफ्नो व्यवसायबाट धेरै आम्दानी हुने बताए । उनले परम्परागत खेतीबाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेको बताए । ‘गरे के हुँदैन र यहीँ मनग्य आम्दानी हुन्छ,’ उनले भने । चौधरीले आफूले व्यावसायिक तरकारी खेती सुरु गरे पनि सहयोग भने त्यति नपाएको गुनासो गरे ।

‘सिँचाइको अभाव छ, कुनै पनि निकायबाट सहयोग मिल्दैन उनले बताए । चौधरीले हाल गोलभेँडा, गोभी, काउली, खुर्सानी र आलु खेती गरेको बताए । चौधरीलाई गत वर्ष तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट कृषकको रूपमा छनोट गरी पुरस्कृतसमेत गरेको थियो ।

प्रतिक्रिया