०७४ साल असार २८ गते बुधबार लोकगायक तथा संगीतकार माधवलाल श्रेष्ठलाई भेट्न म उनको निवासमा पुग्दा उनी केशरशमशेर जबराको दरबारमा बज्ने करिब डेढसय वर्ष पुरानो हार्मोनियममा रमाइरहेका थिए । विगत ५० वर्षदेखि यो हार्मोनियम उनको प्रिय साथी बनेको रहेछ । सोही हार्मोनियमलाई साक्षी राखेर मैले उनको जीवन मात्र नबुझी गीत संगीत पनि प्रत्यक्ष सुन्ने अवसर पाएँ । यो आलेख उनले नेपाली सांगीतिक क्षेत्रलाई बुझेको वेलादेखि हालसम्मको अवधिमा आउँदा देखेभोगेका घटनासँग सम्बन्धित रहनेछ ।
ए, साथी प्यारा आँसुका धारा नबगाऊ गालैमा
सम्झेर मलाई नरुनु होला, बाडुल्की लागेमा…
बाल्यकाल
पाल्पा खस्यौलीमा आजभन्दा ८५ वर्षअघि जन्मिएका श्रेष्ठको बाल्यकाल पनि संगीतमय वातावरणमै बितेकोे थियो । ‘मेरो घरमा नै भजन हुन्थ्यो र त्यहाँको बजारको लोकल समूहहरू अक्सर गरेर बुढाहरू भेला भएर साँझ ६–७ बजेतिर सधैँ भजन गर्ने । म सानैछँदा खेरी मलाई मेरो जेठाबुबाले जहिल्यै पनि त्यहाँ भजनमा आरती गर्नलाई बोलाइरहनुहुन्थ्यो । अनि म आएर त्यहीँ बसिराख्थेँ । त्यसो गर्दागर्दै मलाई भजनको रस पस्यो ।’ उनले आफ्ना बाल्यकालका दिनहरू यसरी सम्झिए । विशेषगरी, कात्तिक महिनामा अक्सर गरेर चतुर्मासपछि एकमहिना बिहान घरमा हुने भजनले नै उनमा संगीतको रुचि जगायो ।
बुबा विष्णुप्रसाद श्रेष्ठ नेपालगञ्जमा जागिर गर्थे । उनी सानैछँदा आमा ज्यानमाया श्रेष्ठको निधन भएकाले श्रेष्ठ ठूली आमासँग बस्ने गर्दथे । उनकी आमा र ठूली आमा दिदीबहिनी भएकाले पनि ठूली आमासँग बस्दा त्यस्तो केही असहजता भने भएन । उमेर बढ्दै जाँदा भजनसँगै गाउँघरमा गाइने लोकगीततर्फ उनी आकर्षित भए ।
‘गाउँमा चाहिँ मकै खोस्र्याउँदा, सत्यनारायणको पूजा लगाउँदा, गाउँलेहरूको भेला हुन्छ नि ! त्यो ठाउँमा मेरो दाजु (जेठो बाको छोरा) ले लिएर जान्थे । त्यहाँ गएपछि मजासित खैँजडीको तालमा भजन पनि हुने, गीत पनि हुने र नाच्ने पनि । त्यसको रस बस्दै गयो । त्यो लोकसम्बन्धी चिजलाई चाहिँ मैलै समात्दै गएँ कि, यसरी लोकगीत गाइँने रहेछ भन्ने मलाई अलिकति ज्ञान भयो,’ श्रेष्ठले भने ।
सो समयमा उनको ठाउँमा संगीत सिक्ने भन्ने कुरै थिएन् । आफूभन्दा अघिका अग्रजले कसरी संगीत सिकेका थिए, त्यो पनि उनले थाहा पाउन सकेका थिएनन् । न सिक्ने क्लास छ, न सिकाउने कोही ।
नेपालगञ्जको जागिरबाट जब छुट्टी भयो तब श्रेष्ठका बुवा घर आए र घर आएपछि उनलाई पढाउन भनेर कलकत्ता लिएर गए । कलकत्तामा उनको जेठो बुबाकी छोरी (दिदी) र भिनाजु बस्थे । कोलकातामा स्कुलमा भर्ना गरेर दिदी भिनाजुको जिम्मा लगाएर बुवा घर फर्किए । घर फर्केको १५–२० दिनपछि बुबालाई अकस्मात् टाइफाइड भएछ । त्यसवेला गाउँमा जडिबुटीबाहेक अन्य औषधि नै पाइँदैनथ्यो ।
त्यो नहुँदा बुबाको निधन भयो । त्यसवेला उनी ९–१० वर्षका थिए । बीचमा नेपाल आएपश्चात् (नेपाल आउनुअघि करिब १ वर्ष भिनाजुलाई भनेर उनले संगीत सिकेका थिए । उनी एक दुई वर्ष यतै बसे । उनले भने, ‘त्यसवेलामा हाम्रो उता पहाडतिर चाहिँ जुन बजार छ त्यहाँ गणेश जात्रा, भिमसेन जात्रा हुन्थ्यो । त्यसमा छोकडा नाच भन्ने केटाहरू नाच्ने नाच पनि निकालिने । त्यसमा म नाचेँ पनि । तालिम गरेको हिसाबले अरूलाई पनि नचाइयो । अनि लोकभाकामा गीतहरू पनि गाउँथेँ, मैले । त्यो गाउँदाखेरी राम्रै भयो ।’
त्यसपछि, फेरि उनी कोलकातातर्फ लागे । यसपटकको उनको कोलकाता यात्रा विशेषगरी संगीत सिक्नकै लागि थियो । उनले २÷३ वर्ष निरन्तर अध्ययन गरे । ‘राम्रै थियो तर त्यहाँ चाहिँ सिक्ने कलाकार एक सय डेढ सय जति मान्छे थिए । भिड हुन्थ्यो । आफूले बाजा पनि समात्न नपाउने । एउटाले समात्छ, २०-२५ जना उसैको पछि लाग्नुपर्ने । त्यसो गरेर पनि मैले सिकेँ ।’
उनले कोलकातामा संगीत अध्ययन गर्दाताका दिनहरू सम्झिए । संगीतमा रुचि बढ्दै गएपछि उनले एउटा हार्मोनियम किने र बजाउन थाले । त्यसो गर्दागर्दै पछि जापानी बाजा (बेन्जो) पनि बजाए । कोलकातामा नेपालीले बेन्जोवाला कहाँ छ भनेर उनको बारेमा सोध्थे भने भारतीयले कार्यक्रम गर्दाका बखत उनलाई बेन्जोवालाको रूपमा सहभागी गराउँथे । त्यसको केहीपछि उनी नेपाल फर्किए ।
पाल्पाबाट काठमाडौंको यात्रा
घुम्दै आयौँ यानु माया, के–को बजाउँ, ताल यानु माया
आउँदै जाउँला गाउँदै जाउँला यानु माया, पिरतिको ताल ठोकौँ यानु माया…
त्यतिवेला अलिअलि लटरपटर गरेर गाउनेबाहेक गाउँमा मज्जाले गीत गाउने मान्छे हुँदैनथे । एक समय पाल्पाको भैरव जनता हाई स्कुलमा एउटा एकांकी नाटक देखाउने कुरा भयो । रिहर्सल गराएर विद्यार्थीमार्फत सो नाटक प्रदर्शन गर्ने जिम्मा उनको काँधमा आयो । त्यसवेलामा बडाहाकिम लक्ष्मणजंग सिंह पाल्पा गएका थिए ।
उनलाई श्रेष्ठले २-३ वटा गीत सुनाए । श्रेष्ठको गाएकी सुनेर सिंहले एकदमै प्रभावित भए र भने, ‘ओहो ! तपाईं त यहाँ किन बसिरहनुभएको गाउँमा । काठमाडौंमा गएर रेडियो नेपालमा गाउनुपर्ने तपाईं, यहाँ बसेर हुन्छ ? आउनुहोस् काठमाडौं ।’ त्यसपछि उनले श्रेष्ठको पकेटबुकमा ठेगाना लेखिदिए । सिंहले भनेकोे २ महिनापछि अर्थात् ०१९ सालको माघ महिनामा उनी पाल्पाबाट काठमाडौंका लागि हिँडे ।
अन्त कतै बाटो नभएकाले पाल्पाबाट बुटवल, बुटवलबाट भैरहवा, भैरहवाबाट परासी, परासीबाट नारायणघाट हुँदै उनी काठमाडौंतर्फ लागे । नारायणघाटबाट ट्रकमा काठमाडौंसम्म गरेको यात्राका रमाइला सम्झनाहरू अझै उनको मनमा ताजै रहेछन् ।
रेडियो नेपाल र लोकगीत
काठमाडौं आइसकेपछि हरिशमशेर जबराको दरबारमा उनको लक्ष्मणजंग सिंहसँग भेट भयो र उनले रेडियो नेपालमा महिनाको २ वटा कार्यक्रम पाए । १५–१५ मिनेट बेन्जोबाजा बजाउनुपर्ने । एउटा कार्यक्रमबापत १८ रुपैयाँ उनले पाउँथे । यसो गदै उनले ५-६ महिना बिताए ।
कोलकातामा भेटिएकी धर्म दिदीकहाँ इमाडोलमा बसेर करिब १ वर्षजति भजन गर्ने, भजन सिकाउने गरिरहँदा एकपटक रेडियोमा कन्ट्रयाक्टमा मात्र काम गरेर केही भएन अब घरतिर जानुपर्यो भन्ने सोच उनमा आयो ।
तर त्यसैवेला जनकविकेशरी धर्मराज थापाले श्रेष्ठलाई, ‘होइन, तपाईंले यस्तो राम्रो लोकगीत गाउनुहुन्छ । अब तपाईंले अलि राम्रोसित नै गर्नुप¥यो भनेर भने । त्यसवेला रेडियो नेपालमा लोकलहरी, हिमाली संगम चलिरहन्थ्यो र उनले चाहिँ मलाई लौ अब गाउनुहोस् भनेर लगाए । २-४ वटा लोकगीत गाएँ । अनि राम्रै भयो,’ उनले भने । गोपालनाथ योगीसँगको भेट र बेलावादनको सिकाइ उनको जीवनको अर्को एक पाटो हो ।
उनका अनुसार रेडियो नेपालमा काइलीदेवी, नुरादेवी (कलाकार सुभद्रा अधिकारीकी आमा) पछि भजन गाउनेमा तेस्रो नम्बरमा उनी नै पर्दथे । भजन गाउँदै, विभिन्न स्थानको भ्रमण गर्ने सिलसिलामा काभ्रेको फूलबारी दाप्चामा श्रेष्ठको विवाह भयो । सो समयसम्म उनी प्रज्ञा प्रतिष्ठानमामै थिए । एकेडेमीको तलबले मात्र गुजारा गर्न गाह्रो हुने भएकाले उनले ०२४ सालमा नयाँ बानेश्वरमा पसल सुरु गरे र भजनलाई पनि एकैसाथ अघि बढाइ नै रहे । ‘यो उपत्यकाका पूरै डाँडाकाँडा जम्मै भजन गरेर सिध्याएको छु । कहीँ बाँकी छैन । अहिले पनि सायद २-४ सयले मेरै भजनहरू गाउँछन् । धेरै जस्तोले,’ उनले सम्झिए ।
‘लुम्बिनी अञ्चलमा त्यसवेला लोकगीतको अवस्था धेरै राम्रो थियो । जस्तो हामी बाटामा हिँड्दा हिँड्दै पनि,
खोलीमा झरेर दाइ हो, पानको फूल टिपेर गोजीमा
भमरा घुम्छ, फूलको रसले, म घुम्छु मायाको खोजीमा…
यसरी हामीले त्यो लोकगीतलाई भट्याउँदै हिँड्ने बानी पनि थियो,’ उनले भने । श्रेष्ठका अनुसार नेपालका प्रत्येक क्षेत्रमा गएर लोकगीत खोज्ने हो भने करिब २० किमीको दूरीमा २५ किसिमको लोक गीत निस्कन्छ । त्यसलाई परिमार्जित गर्ने हो भने त गीत कति हुने हो ठेगानै छैन ।
रेडियो नेपालले बर्सेनि फागुन ७ गतेको कार्यक्रम गर्दा बाहिरबाट च्वाइस गरेर पठाएका व्यक्तिलाई गाउन लगाएका गीत, स्वयं लोकगीतलाई लिएर आउने मान्छेले गाएको गीत र प्रतियोगितामा गाइएका गीत गरेर रेडियो नेपालमा १०औँ हजार लोकगीत छन् । ‘तर, रेडियो नेपाललाई खत्तम पारिदिए अहिलेका कलाकारले भनम या कार्यकर्ताले । विश्वमा सायद पाउँदै नपाउने लोकगीत हाम्रो देशमा छ,’ श्रेष्ठले दुःखेसो पोखे ।
रेडियो नेपालमा उनले गीत गाउन गएको वेला रिदम बजाउने मान्छेहरू भगाइदिन्थ्यो । यो सब कसले किन गरिरहेको छ भन्ने कुरा उनले कहिल्यै बुझेनन् । ‘अनि मैले धर्मराज थापालाई भन्थेँ । ओ ! गुरुजी वो रिदम वाला तो चलागया भनेर भन्दाखेरी, होइन कसले भगायो भनेर भन्दा थाहा छैन । अब त्यसै गाउनुहोस् तपाईंले । तपाईंको नाम त त्यसै पब्लिसिटी छ भनेर भन्थे मलाई ।’ उनी रेडियो नेपालका ती दिनहरू सम्झिए । गाउने मान्छे नभएर एकमहिनामा ८ वटा लोकगीत आफूले गाएको प्रसंग पनि उनले सुनाए ।
गीत गाएवापत ८० रुपैयाँ आउँथ्यो । एउटा गीत बराबर १० रुपैयाँ । तर, यसपटकको त्यो रकम पनि उनले आफूले लिन पाएनन् । पोखरा बाटुलेचौरको सेरोफेरोलाई राम्रोसँग बुझेका श्रेष्ठलाई थापाको बारेमा थाहा नहुने कुरै थिएन । पाल्पा गएदेखि नै धर्मराज थापालाई उनले राम्ररी चिन्थे । धर्मराज स्वयंले, ‘माधवबाबु मलाई पोखरा जानुछ । पैसाको अलिकति कमी छ भन्थे । ल गुरुजी यो लिएर जानुहोस् । भनेर दिदिएँ मैले । त्यसो पनि गरेको हुँ मैले,’ उनले भने ।
श्रेष्ठका अनुसार अहिले रेडियो नेपालमा भएकाबाट लोकगीतको विकास र संरक्षण सम्भव छैन । त्यस ठाउँमा लोकगीत, शास्त्रीय गीत तथा आधुनिक गीत बुझ्ने, त्यो पनि काठमाडौं खाल्डो बाहिरको व्यक्ति डाइरेक्टर हुनुपर्छ र पुराना गीतलाई सम्भव भएसम्म रिरेकर्ड गर्नुपर्छ ।
गीत तथा धुन चोरी
हुन त हिजोआज न्यून संख्यामा लोकगीतको संकलन हुने गर्दछ । लोकगीतको मर्म बुझेकाहरू मात्र लोकगीत संकलन गरिरहेका छन्, अझै पनि । रेडियो नेपालमा पहिले पहिलेका संगीतकर्मीले गाएका गीतलाई परिमार्जित गरेर, चोरेर पनि गाइराखेको भेटिन्छ । ‘एउटा गीत मेरो भारती उपाध्यायले डुप्लिकेट गाइदिए, मै छोरी सुन्दरी कसरी भरौँ पानी भनेर । त्यो चाहिँ नि दार्जिलिङका एकजना कवि थिए, अब त्यसवेलाको कवि उहाँ राम्रै हो, मान्छे त ।
उहाँले त्यसलाई डुप्लिकेट बनाइदिएछन् । उनले गाइदिइन् । अब के गर्ने पिट्न भएन । केही गर्न भएन होइन ? त्यो अर्कै किसिमको गीत थियो मेरो । मेरो गीत दुई वर्षसम्म रेडियो नेपालमा बजिसकेपछि बल्ल त्यो गीत निस्किएको हो र रेडियो नेपालमा होला कार्टेजमा अहिले पनि,’ उनले भने । रेडियो नेपालमा अर्का एकजना संगीतकर्मीसँग पनि उनको गीत चोरीको विषयमा वादविवाद भयो । उनले संगीकर्मीको नाम खुलाउन त चाहेनन् तर कडा प्रतिवाद गरेको कुरा चाहिँ सुनाए । रेडियो नेपालमा उनले कसैको संगीतमा गीत गाएनन् बरू आफ्नो संगीतमा अरूलाई गाउन लगाए ।
नेपाली लोक बाजाहरूको अवस्था र संरक्षणका बारेमा प्रश्न गर्दा उनले रामशरण दर्नाललाई सम्झिए । त्यस्तै, रेडियो नेपालमा लाखेबाजाको धुन रेकर्ड गर्ने सिलसिलामा नातिकाजीसँग घटेको घटना पनि श्रेष्ठले सम्झिए । ‘पाल्पाको लाखेबाजाको ट्युनिङ मैले बजाएर, त्यसलाई नोटेसन गराएँ । लाखेबाजाको ट्युनको नोटेसन भगत परियारले गरेका थिए ।
रेकर्ड गरिसकेपछि नातिकाजीले मेरो धुन भनेर प्रयोग गरे । मैले त्यहाँ गएर हल्ला गरिदएँ । मैले मरिमरी नोटेसन बनाएर रेकर्ड गर्न लगाउने । अनि नातिकाजीले मेरो भन्ने ? कहाँबाट आयो, कसरी बन्यो भन्ने कुरा ज्ञान नभई मेरो भनेर भनिदने भनेर हल्ला गरिदएँ । उनी लाजको मर्नु भए । अहिले त्यहाँ उनको नाम नै छैन । लाखेबाजाको त्यो ट्युन अहिले पनि बजाउँछ रेडियो नेपालले ३०÷४० वर्ष भइसक्यो ।’
त्यस्तै, लोकगीतका नाममा परिमार्जित गीतहरू मात्र अहिले बजारमा आइरहेको उनले बताए । ‘मेरो तिजको गीतलाई करिब सय जनाले गाइराखेका छन् । त्यसैलाई तानेर । शब्द अरू छैन । रेडियो नेपालमा ०२० सालमा गाएको तिज गीत (तिजको रहर आयो बरी लै), लय यो हो । कहिले फिल्ममा हाल्ने, कहिले अर्कोले तान्ने तर त्यो तिजलाई चाहिँ छाडेका छैनन्, है । एउटाले तान्दातान्दै सयकडौँ पुगिसकेको छ । मैले २-३ वर्ष गाएर, २-३ वर्ष पब्लिसिटी भइसकेपछि त्यो तिजको गीतहरू बल्ल हाम्रा दिदीबहिनीले सुरु गर्न थालेका हुन्,’ रेडियो नेपालमा । शास्त्रीय संगीतको बाबुः लोकगीत
लोकगीतमा हामी जुन समुदायभित्र अथवा जातिभित्र बस्छौँ वा आबद्ध रहन्छौँ त्यहाँको भाषा, संस्कृति तथा इतिहास हुन्छ । हिमाल, पहाड र तराई सबै ठाउँमा लोकगीतले आकर्षण गराइराखेको हुन्छ । ‘लोकगीत शास्त्रीय संगीतको बाबु हो । इन्डियामा पनि लोकगीतकै आधारमा शास्त्रीय संगीत बनाएका छन् ।
त्यहाँका ठुल्ठूला विद्वान् गायकहरूले लोकगीतलाई समातेर शास्त्रीय संगीत बनाएका छन् । किनभने त्यहाँ ठुमरी राग हुन्छ, पहाडी राग हुन्छ र शिवरञ्जनी हुन्छ । साँझ गाउने र बिहान गाउने विभिन्न रागरागिनी हुन्छ । टोडी हुन्छ । यी सबैमा लोकगीतकै आधारमा संगीत बनाइएको छ,’ उनले भने । तिनीहरू सबै कतैबाट जादु भएर आएको नभई हामै्र समाजमा प्रयोग भएका संगीतहरू हुन् । केवल तिनीहरूलाई खोज, अनुसन्धान गरी संरक्षण र प्रयोगमा ल्याउन जरुरी छ । सम्झनाहरू
आफू यस क्षेत्रमा लागेर धेरै नै खुसी भएको बताउने श्रेष्ठ सिंहदरबारमा आगलागी हुँदा पाल्पामा कार्यक्रम गरेर ल्याएको ७५ हजार सहयोग तत्कालीन सरकारलाई सहयोग गरेको क्षण अझै सम्झिन्छन् । पाल्पाका तत्कालीन सिडिओ रामप्रसाद श्रेष्ठको आग्रहलाई उनले स्वीकार गरी दुई दिनका लागि टिकट बिक्री गरेर सो कार्यक्रम सम्पन्न गरेका थिए ।
राजा महेन्द्रलाई गीत सुनाउँदा खुसी भएर पाँच सय रुपैयाँ बक्सिस पाएको क्षण पनि खुब सम्झना आउँछ, उनलाई । हुन त उनलाई राजदरबारमा राखेर भजन गर्नलाई नानीहरूलाई सिकाउनका लागि तत्कालीन मुमा सरकारले ३-४ पटक प्रयास पनि गरेकी थिइन् तर उनले आफ्नो बच्चा र पारिवारिक कारण देखाउँदै जान मानेनन् तर उनले पपिता दिदी भन्ने इन्स्पेक्टरको सहयोगमा आफ्ना साथी रत्नमान श्रेष्ठलाई दरबार पठाइदिए ।
अन्त्यमा…
हाम्रो देश स्वर्ग होइन बैकुण्ठधाम हो । यस ठाउँमा जन्म लिनु हाम्रो भाग्य नै हो । जता गए पनि फरकफरक संस्कार र संस्कृति । यस्तो देशमा जति खोज्यो त्यति निस्किन्छ । अहिले पनि गाउँमा गएर बुबा अथवा आमा लौन एउटा गीत सुनाइदिनुप¥यो वा ट्युनिङ निकालिदिनु प¥यो भने तुरुन्तै एउटा गीत निस्किहाल्छ तर हामीले त्यसलाई लिन सक्नुपर्छ ।
एकजना वृद्ध बित्दा एउटा इतिहास लिएर जान्छन् । बाँचुञ्जेल उनीहरूलाई वास्ता नगर्ने तर त्यसपछि आरती गर्ने बानीको अन्त्य हुनुपर्छ । रेडियो नेपालले लोकगीतलाई दराजमा सजाएर राखेर हुँदैन । भएकालाई संरक्षण र नयाँलाई खोजी गरेर पुनः गाउन लगाउनुपर्छ ।
डिल मुनिको तितै फापर खाए, गाईले खाला
लाको माया छाड्ने छैन, गए गर्धन जाला हजुर…
प्रतिक्रिया