बिहे गर्ने वेलामा सम्बन्धविच्छेद !

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ का मनकुमार लिम्बूले फेदाप गाउँपालिका–५ कि चन्द्रा लिम्बूसँग ०६८ सालमा विवाह गरेका थिए । त्यतिवेला चन्द्रा भर्खर १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै भएका थिए । विवाहपछिका तीन वर्षसम्म त उनीहरूको सम्बन्ध राम्रैसँग चलेको थियो ।

बिहेपछिको तीन वर्ष बिताएसँगै उनीहरूको बीचमा बेमेल सुरु भयो जसले उनीहरूलाई सँगै बस्नै नसक्ने अवस्थामा पु¥यायो । पतिका विरुद्ध चन्द्राको उजुरीपछि जिल्ला अदालतले २१ फागुन, ०७४ मा उनीहरूको सम्बन्धविच्छेदको फैसला गरिदियो । कलिलै उमेरमा बिहे गरेका २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग भएका छन् । उनीहरूको उमेर बल्ल बिहे गर्ने वेलाको भएको छ ।

चन्द्राको जस्तै कथा छ, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का २३ वर्षीया पासाङ शेर्पाको पनि । उनले पनि पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै तेह्रथुमको मेन्छ्याम गाउँपालिका–४ का नवीन शेर्पासँग ०६७ सालमा विवाह गरेकी थिइन्, तर समय सधैँ एकनास रहेन ।

विवाहअघि गरेका वाचा बिहेपछि पूरा हुन सकेनन् । प्रेम अन्धो हुन्छ भनेझैँ उनीहरूले बिहेपूर्व गरेको वाचा व्यवहारमा पूरा गर्न के कति सम्भव भए कुन्नि तर अन्ततः उनीहरूको पनि २ फागुन, ०७४ मा जिल्ला अदालत तेह्रथुमबाटै सम्बन्धविच्छेदको फैसला भयो ।

धनकुटाकै महालक्ष्मी नगरपालिका–५ कि बबिता बस्नेतले पनि १७ वर्षको उमेरमा तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का युवराज बस्नेतसँग ०७२ सालमा बिहे गरिन् तर उनीहरूको पनि सम्बन्ध धेरै समयसम्म टिक्न सकेन । जिल्ला अदालतले १० माघ ०७४ मा उनीहरूको सम्बन्धविच्छेदको फैसला गरेको थियो ।

जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको संख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको संख्या बढेको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ ।

जिल्ला अदालतको तथ्यांकअनुसार पछिल्लो चार वर्षमा १ सय २३ जोडीले सम्बन्धविच्छेद गर्नेमा आव ०७४÷७५ मा मात्रै जिल्लामा ४१ जोडी पुगेका छन् । तीमध्ये आधाभन्दा बढी जोडीको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।

सो समय सम्बन्धविच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष पाँच र महिला ११ रहेका श्रेस्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिए । २५–३० उमेर समूहका ६ महिला र पुरुष गरी सातजना छन् । यस्तै, ३१–४० वर्ष उमेर समूहका महिला ११ र पुरुष १२ छन् ।

सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ४० वर्ष माथिका महिला दुई र पुरुष पाँच रहेका जानकारी दिँदै श्रेस्तेदार दाहालले भने, ‘सम्बन्धविच्छेदका मुद्दा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको संख्या १७ छ ।’
उनका अनुसार कानुनले सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा बालविवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी रहेका छन् ।

‘सम्बन्धविच्छेदका लागि आउने अधिकांशको सानै उमेरमा प्रेम विवाह गरेका जोडी हुने गरेका छन् ।’ श्रेस्तेदार दाहालले भने, ‘त्यसमध्ये पनि फोन संवाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह लामो समय टिक्न नसकी अदालत आउने गरेका छन् ।’

जिल्ला अदालतको तथ्यांकमा उल्लिखित भएअनुसार आव ०७३÷७४ मा पनि १९ जोडीले सम्बन्धविच्छेद गरेका थिए । जिल्लामा आव ०७२-७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव ०७१÷७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा नै सम्बन्धविच्छेदका हुने गरेका छन् ।

मुद्दा दिनेहरूले साधारणतया पतिपत्नीबीच हुने कुटपिट, झै–झगडा, यौन हिंसालगायत घरेलु हिंसाका विषयलाई लिएर महिलाले अंशसहित सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने क्रम बढेको श्रेस्तेदार दाहालले बताए ।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याउने गरेको छ । विद्यालय तहमा पढ्दापढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई विच्छेद हुने गरेको अधिवक्ता नारायण लुइँटेलको भनाइ छ । कानुनले बाल विवाहलाई अपराध माने पनि युवा युवतीले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् ।

त्यस्ता विवाहविरुद्ध अहिलेसम्म जिल्लामा कुनै उजुरीसमेत परेको छैन । अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्यांकमा बालविवाह नदेखिए पनि गाउँ समाजमा बालविवाह छ्यापछ्याप्ती भएको पाइन्छ ।

हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्षको हद तोकेको छ, तर अघिल्लो कानुनी व्यवस्थासमेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानुनी व्यवस्था हुबहु कार्यान्वयन हुन कठिन देखिएको छ ।

कानुनको कार्यान्वयनमा भन्दा बढी पहिले कानुनी सचेतना वृद्धिका लागि सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी रहेको सरोकारवाला बताउँछन् । सानै उमेरमा आमा बन्दा शारीरिक रूपमा कमजोर बन्ने र स्वास्थ्यमा दीर्घकालीन असर पर्नुका साथै शारीरिक परिपक्वता नभई किशोरीले शिशु जन्माउँदा शिशुमा कुपोषण र आमाको पाठेघर खस्नेलगायत समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया