मुस्लिम समुदायका महिलामा यौन हिंसा बढी

लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन र न्याय पाउने आसमा उनी स्थानीय प्रहरी चौकीसम्म पुगिन । तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो ।

घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किइन । प्रहरीसम्म पुगेर आफूविरुद्ध उजुरी हाल्न खोजेको रीसमा उनका ससुराले अहिले झन् बढी प्रताडना दिन थालेका छन् ।

उनका श्रीमान रोजगारीका लागि मलेशियामा छन् । तर उनी आफ्नो मनको पीडा मनमै राखेर बस्न बाध्य छिन् । घटनाका विषयमा प्रहरीले जानकारी त पायो तर लिखित उजुरी नपरेपछि पक्राउ गरेर कारवाही चलाउन सकेन । लुम्बिनीको मधुवनीकी नजिरा खातुनको समस्या पनि ठ्याक्कै त्यस्तै छ ।

तीन वर्षअघि रुपन्देहीको बेथरीका युवकसँग विवाह गरेकी खातुनलाई घरमा जेठाजु र ससुराले जबर्जस्ती गर्न खोज्छन् । नमाने कुटपिट गर्छन् । घटनाका विषयमा श्रीमानलाई पनि जानकारी गराइन् । तर आफ्नै बाबुका विषयमा नचाहिने आरोप लगाएको भन्दै श्रीमानले समेत कुटपिट गरेपछि उनी माइतीमै बस्न थालेकी छन् ।

प्रहरीमा उजुरी हाल्न खोजेपछि बिग्रिएको घरबार फेरि सपार्न सकिन्छ कि भन्ने अपेक्षामा माइती पक्षले समेत उजुरी गर्न मानिरहेका छ्रैनन् । मुस्लिम समुदायका धेरै महिला यौन हिंसाबाट बढी प्रभावित रहेको पाइन्छ ।

घर परिवारको इज्जत र प्रतिष्ठामा आँच आउने डरले मुस्लिम समुदायका हिंसापीडित कुनैपनि महिला प्रहरीसम्म पुग्न डराउँछन् । घटनाका विषयमा प्रहरीले विभिन्न माध्यमबाट सूचना प्राप्त गर्छ तर लिखित उजुरीको अभावमा कारवाही चलाउन सकेको छैन । यस्ता घटना मुस्लिम समुदायमा अनगिन्ति रहेको प्रहरीको निष्कर्ष छ ।

महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छाविपरीत यौन सम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौन सम्बन्ध राख्ने वा यौन कार्यमा लाग्न बाध्य पार्नेजस्ता कार्यलाई यौन हिंसाको परिभाषाभित्र समेटेको छ । तर तराईका मुस्लिम समुदायका महिला यस्ता उजुरी लिएर प्रहरीसम्म पुग्न समेत सकिरहेका छैनन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखेरेलका अनुसार पीडकले डर, त्रास र धाक देखाएर अनुचित प्रभावमा पार्ने गरेका कारण महिला हिंसाका कमै घटनामात्र प्रहरी समक्ष आइपुग्छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् । यस वर्षको साउनदेखि अहिलेसम्म १ सय २३ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । यो वर्ष मानव बेचबिखन तथा ओसारपसारका ३८, जबर्जस्ती करणीको प्रयास २७, जबर्जस्ती करणी उद्योगअन्तर्गत नौ, बहुविवाहको १६, बालविवाहको एक, कर्तब्य ज्यानसम्बधी दुई घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका महिला प्रहरी सहायक निरीक्षक मीना आचार्यले जानकारी दिइन् ।

सबैभन्दा धेरै हिंसाका घटना रुपन्देहीको दक्षिणी क्षेत्रमा हुने प्रहरीको भनाइ छ । बलात्कार जस्तो जघन्य अपराधका घटनालाई पनि समाजमै मिलाउने ढाकछोप गर्ने काम हुने इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पोखरेलले बताए ।

परिवार तथा समाजबाट अपहेलित हुने डरले महिलाहरु उजुरी गर्न डराउँछन् इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल भन्छन्, ‘प्रहरीमा आउने बित्तीकै परिवारले असहयोग गर्छ ।’ आत्मविश्वास र सहयोगको कमी, पीडितलाई सामाजिक कलंकका रुपमा लिने कारणले गर्दा पनि यौन हिंसाका घटना दर्तासमेत नहुने गरेको उनले बताए ।

‘विभिन्न सामाजिक अपहेलना र लान्छनाका कारण महिलाले उजुरी नै गर्दैन,’ अधिकारकर्मी इन्दिरा आचार्यले भनिन, ‘परिवार तथा समाजको भूमिका पीडादायी र असहयोगी छ ।’ न्यायको खोजीमा लाग्ने खर्च, लामो र झन्झटिलो न्याय सम्पादन प्रक्रिया, संरक्षण र सामाजिक पुर्नस्थापनाको अनिश्चताले गर्दा यौन हिंसाका घटना बाहिर नआउने उनको भनाइ छ ।

प्रतिक्रिया