अत्यन्त दुर्गम क्षेत्रमा रहेको मुगुको छायाँनाथ नगरपालिकाले देशमै उदाहरणीय काम गरेको छ । यक्त नगरपालिकाले आफ्नो नगरक्षेत्रलाई हालै मदिरामुक्त क्षेत्र घोषणाको उदाहरणीय कामको सुरुआत गरेको हो । उक्त नगरपालिकाले काम गर्ने इच्छाशक्ति भएमा के गर्न सकिँदैन
भन्ने सन्देश दिएर देशलाई नै मार्गदर्शन गर्न सफल भएको हो ।
छायाँनाथ रारा नगरपालिका पहिलेको कर्णाली अञ्चल र हाल कर्णाली प्रदेशमा पर्ने अति दुर्गम तथा विकासमा पछिपरेको मुगु जिल्लामा पर्दछ । तर, यसै नगरपालिकाभित्र रहेको राराताल भने पर्यटकीय क्षेत्रमा नेपालको मात्र नभई विश्वकै लागि एउटा हिराको टुक्राजस्तै रहेको छ र यसले कर्णाली प्रदेशको मात्र नभई देशकै समुन्नतिमा बल पु¥याउने अपार सम्भावना बोकेको छ ।
पश्चिमी नेपालको उत्तरी हिमाली क्षेत्रमा पर्ने रारा तालको ०२० सालमा राजा महेन्द्रले भ्रमण गरेर ‘रारा कि अप्सरा’ भन्ने कविता लेखी रारा तालको वर्णन गरेपछि तत्कालीन जिल्ला पञ्चायतले पनि यसको नाम महेन्द्रताल घोषणा गरेको थियो । त्यसपछि यसको चर्चा देशभर अझै बढेको हो ।
रारा ताल २ हजार ९ सय ८० मिटर उचाइमा पहाडहरूको काखमा वरिपरि जंगलले घेरिएको र अत्यन्त कञ्चन पानी भएको ताल हो । जति हेर्यो उति हेरिरहूँजस्तो लाग्ने यो ताल रारा राष्ट्रिय निकुन्जअन्तर्गत रहेकाले हालसम्म अप्रदूषित नै रहन सफल भएको छ । यस ताललाई देखेर मन्त्रमुग्ध हुनेको त कुरै छाडौँ, तस्बिर, टेलिभिजन, वृत्तचित्र आदिमा हेर्ने सौभाग्य पाउने जो कोही पनि जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य ठान्दछन् । यसको सुन्दरताको आकर्षणले युरोपलगायत विश्वका विभिन्न देशका पर्यटक यहाँको भ्रमणमा आउने गरेका छन् ।
यस्तो गरिमामय प्राकृतिक सम्पदा भएको मुगु जिल्ला आर्थिक तथा भौतिक रूपमा भने निकैपछि परेको छ । जसका कारण यहाँका जनताले विभिन्न प्रकारका सेवासमेत पाउन सकेका छैनन् । ०६८ सालको जनगणनाअनुसार मुगु जिल्लाको जनसंख्या ५५ हजार २ सय ८६ रहेको छ । यस्तै, यहाँको साक्षरता प्रतिशत ५१ रहेको छ । यहाँको जनजीवन अत्यन्त कष्टकर भएकाले शिक्षा, स्वास्थ्यको अभाव भई सरदर आयु ३९ वर्ष मात्र रहेको छ । यो अत्यन्तै कम हो । मुगुका जनताले स्वास्थ्य सेवा लिन निकै कष्ठ उठाउनुपर्छ ।
भौगोलिक तथा भौतिक प्रगतिमा पिछडिनु त छँदै छ, त्यसमाथि यस जिल्लाले भोग्नुपरेको अर्को विकृति वा कुसंस्कार रहेछ, अत्यधिक मदिरापान । यहाँ मदिरापानलाई सामान्य ठानिन्थ्यो, जसका कारण युवा अवस्थामा नै अनेक रोगका सिकार हुन्छन् यहाँका जनता । ज्यादै चिसो हावापानी तथा हिउँ नै हिउँ पर्ने भएकाले र जातिगत रूपमा केही मदिरापान स्वाभाविक भए पनि विकृतिको रूपमा जहिले पनि र जहाँ पनि मदिरापान हुने भएकाले यहाँका परिवार पीडित हुने गरेको छन् ।
घरमूलीले मदिरापान गरी आफ्नो आम्दानी त्यसैमा स्वाहा पार्ने त छँदै छ, त्यसमाथि पुरुषले मदिरापानको नसामा पत्नि तथा छोराछोरीहरूलाई पिट्ने, अंगभंग हुने र मृत्युसम्म हुने घटना बढ्दै गएका छन् । मदिराकै कारण चाँडै क्यान्सरजस्ता रोग लागि अकालमा मृत्यु हुने घटना पनि यहाँ धेरै हुने गर्छन् । यहाँ विवाहपछि एक÷दुई वर्ष दाम्पत्य जीवन सुखमय हुने तर तुरुन्तै मदिरापानका कारण पारिवारिक मनमुटाव बढ्दै गएर छोडपत्र हुने तथा बहुविवाह हुने घटना धेरै हुने गरेको पाइन्छ । सामान्यतया कसैको पनि घरमा पारिवारिक शान्ति नहुने गरेको छ ।
यस्ता घटनाबाट आजित भएर नै संघीयता लागू भएपछि बनेको यहाँको स्थानीय सरकार वा छायाँनाथ रारा नगरपालिकाले यो विकृति सदाका लागि हटाउनु आवश्यक महसुस ग¥यो ।
यसै क्रममा नगरपालिकाको सभाले ०७४ साल असारमा नगरलाई मदिरामुक्त क्षेत्र घोषणा गर्ने उद्देश्यले कार्यविधि बनाई लागू गर्ने निर्णय गरेको र ३२ साउन ०७५ सालको नगरपालिकाको राजपत्रमा प्रकाशित भइसकेको तथा २ असोज ०७५ सालको सर्वपक्षीय र सर्वदलीय भेलाले यसलाई कार्ययोजना बनाइ कडाइका साथ लागू गर्ने निर्णय गरेकोमा १ मंसिर ०७५ गतेदेखि लागू हुने गरी सोही दिन नगरपालिका क्षेत्रलाई देशकै पहिलो मदिरामुक्त क्षेत्र घोषणा गरिएको छ ।
कर्णाली प्रदेश (प्रदेश–६) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंसिर १ गते मदिरामुक्त क्षेत्र घोषणा कार्यक्रमको उद्घाटन गर्नुका साथै सो दिन नगरपालिकाद्वारा तयार गरिएको प्रतिबद्घतापत्र वाचन गरे । उक्त कार्यक्रममा उपस्थित जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकर्ता, विभिन्न संघसंस्थाबाट उपस्थित अतिथिले सो प्रतिबद्घता वाचनमा साथ दिँदै सामूहिक रूपमा प्रतिबद्घतापत्र लेखिएको ब्यानरमा हस्ताक्षर गरी प्रतिबद्घता व्यक्त गरेका छन् । प्रतिबद्घतापत्रमा नगरक्षेत्रभित्र कसैले पनि मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण, सेवन र ओसारपसार नगर्ने, नगराउने उल्लिखित छ । प्रतिबद्घता पत्रमा समारोहमा उपस्थित मुख्य अतिथि, विशेष अतिथि तथा अन्य अतिथि गरी २२ जनाले हस्ताक्षर गरेका थिए ।
घोषणासभामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका जनतालाई बाहिरका मानिसहरूले बोल्न पनि नजान्ने, खान पनि नजान्ने र लाउन पनि नजान्ने ठान्दछन् । तर, आज यस प्रदेशको यस नगरपालिकाले देशलाई नै एउटा सकारात्मक सन्देश दिन लागेको बताए ।
उनले कर्णाली प्रदेशमा जनताको आफ्नो सरकार बनिसकेकाले यस क्षेत्रका समस्या सम्बोधन गर्नेगरी काम थालिसकेको र मुख्य सरोकारका योजनाहरूमा बजेटको कमी नहुने बताए । उनले प्रदेशलाई नै समृद्घ बनाउने उद्देश्यअनुरूप कालीकोटको मान्मादेखि मुगुको उत्तरी सिमानाका नाक्चे नाङ्लासम्मको सडक तुरुन्तै बनाउने गरी एडिबीसँग ऋणका लागि कुराकानी भइरहेको जानकारी गराए ।
उनले मदिरापानजस्तो विकृतिले हाम्रो आर्थिक अवस्था, शिक्षा आदिमा असर पारेकाले अब यसलाई निषेध गरी विकास निर्माण र शिक्षा स्वास्थ्यको विकासमा लाग्नुपर्ने आवश्यकता भएको बताउँदै नगरपालिकाले मदिरामुक्त क्षेत्र घोषणा गर्न लागेकोमा नगरपालिकालाई धन्यवादसमेत दिए ।
यस्तै, कार्यक्रममा मुगु जिल्लाका सांसद गोपालबहादुर बमले जिल्लालाई सुसंस्कारयुक्त र समुन्नत बनाउन यस्तो घोषणा आवश्यक भएकोले यो घोषणा गर्न लागेकोमा नगरपालिकालाई धन्यवाद दिए ।
मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले समाजमा मदिरापानले विकृति ल्याउने बताउँदै मदिरामुक्त घोषणालाई कडाइका साथ कार्यान्वयन गर्न प्रहरी प्रशासनले सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।
छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ शाहीले मुगु जिल्ला दुर्गम हुनुका साथै विकासमा पनि पछि परेको स्थितिमा यहाँका जनतामा रहेको मदिरापान गर्ने संस्कारले समाजमा विकराल समस्या पैदा गरेको बताए । यस्तो स्थितिमा देशलाई नै सन्देश दिने गरी मदिरामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको बताए । उनले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि, ०७५ लागू गर्न सहयोग गर्न प्रहरी प्रशासन तथा प्रदेश सरकारलाई अनुरोध पनि गरे । आफ्नो तर्फबाट घोषणालाई पूर्णरूपमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने उद्घोष पनि उनले गरे ।
उद्योग वाणिज्य संघका उपाध्यक्ष रत्नसिंह मल्लले मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको बताए । यो भने नगरपालिकाको तुम गाउँका स्थानीय केशर रावलले रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको भन्दै उनले अब उप्रान्त मदिरा सेवन नगर्ने घोषणा गरे । पत्रकार महासंघका जिल्ला सभापति नृपेन्द्र मल्ल, विभिन्न जनप्रतिनिधि तथा संस्थाका प्रतिनिधिले यस घोषणालाई आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
मदिराबाट पीडित भएकी नगरपालिकाका–१, श्रीनगरकी नन्दकला मल्लले भनिन्, ‘मेरो १८ वर्षकै उमेरमा बिहे भयो, सधैँजसो रक्सी सेवन गरेका कारण पतिको कलेजोको क्यान्सर भएर बिहे भएको १० वर्षमै मृत्यु भयो । त्यसपछि चार छोराछोरी हुर्काउन एक्लै निकै संघर्ष गर्नुप¥यो ।’ उनले आफ्नो पीडा सुनाइन् ।
कार्यक्रममा सहभागी पत्रकारसँग कुरा गर्दै पूर्व–प्रधानाध्यापक देवीकृष्ण रावलले भने, ‘जिल्लामा मदिरापानले जनताको आर्थिक स्थितिमा असर पार्नुका साथै शिक्षा, स्वास्थ्यमा पनि असर पारेको छ । मदिरा पानका कारण कम उमेरमै क्यान्सरजस्ता ठूला रोग लागेर मृत्यु हुनेको संख्या धेरै हुन लागेकाले यस्तो घोषणा गर्नुपर्ने आवश्यक भएको हो यसले समाजलाई सकारात्मक प्रभाव पार्ने छ ।’ उनले भने ।
पूर्वकर्मचारी राजबहादुर शाहले भने, ‘यहाँका जनतामा १५ वर्षमा विवाह गर्ने, १६ वर्षमा बच्चा पाउने र १७ वर्षमा छोडपत्र हुने र बहुविवाहका घटना बढ्ने गरेको छ । यस्तै, रक्सी सेवनका कारण नवविवाहितको सम्बन्ध १÷२ वर्ष मात्र राम्रो हुने र त्यसपछि भने पारिवारिक सम्बन्ध तनावग्रस्त हुँदा महिला तथा बालबालिका शिक्षा, स्वास्थ्यबाट वञ्चित भई प्रताडित हुनुपरेको छ ।’ उनले सामाजिक अवस्था बताए ।
घोषणासभामा केही वक्ताले आफू विगतमा हेर्दा सम्मानित देखिए पनि मानिसले जँड्याहाको रूपमा चिन्ने गरेको स्वीकार्दै अब उप्रान्त मदिरा सेवन नगर्ने प्रतिबद्घता गरेका थिए भने बिक्री वितरणको इजाजत प्राप्त केही व्यापारीले इजाजत नगरपालिकालाई नै फिर्ता गरेका थिए । केही स्थानीयले उक्त घोषणाले रारा जस्तो पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई असर पार्ने र विदेशी पर्यटकमा कमी आउन सक्ने आशंका पनि गरेका थिए । उनीहरूको आशंका चिर्दै केहीले भने, ‘हामीलाई पर्यटक घट्नेभन्दा जिल्लाका जनताको सभ्यता, स्वास्थ्य र समृद्घि ठूलो कुरा हो ।’ भन्दै स्थानीय जनताको स्वास्थ्यको चिन्ता गरेका थिए ।
उक्त घोषणाबाट मदिरापानका बोतलबाट हुने प्रदूषणबाट पनि रारालगायतका क्षेत्र मुक्त हुने र राराको सौन्दर्यमा बढोत्तरी नै आउने अपेक्षा गरिएको छ ।
यसरी संघीयता लागू भएपछि स्थानीय सरकार तथा नगरपालिकाको इच्छाशक्ति भएमा देशलाई नै एउटा सकारात्मक सन्देश दिन सकिन्छ भन्ने कुरा एउटा अत्यन्त दुर्गम स्थानको छायाँनाथ रारा नगरपालिकाले पुष्टि गरेको छ, भने नेपालकै पहिलो मदिरामुक्त क्षेत्र बन्न सफल भएको छ । यस घोषणाको कार्यविधि नगरपालिकाको गत साउन ३२ गतेको राजपत्रमा प्रकाशित भइसकेकामा सोही कार्यक्रममा सांसद बमले सो राजपत्र सार्वजनिक गरेका थिए । राजपत्रमा नगरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले फोहरमैला व्यवस्थापन कार्यविधि, ०७५ पनि प्रकाशित गरिएको छ ।
कार्यविधिअनुसार मदिरा सेवन गरी होहल्ला तथा झैझगडा गर्ने व्यक्तिलाई पहिलोपटक २ हजार रुपैयाँ जरिवाना गरिनेछ भने सो कसुर दोहोर्याएमा पटकैपिच्छे ५ हजार रुपैयाँका दरले बढ्दै जाने प्रावधान बनाइएको छ । बिक्री वितरण, ओसारपसार र उत्पादन गर्नेलाई पहिलोपटक ५० हजार रुपैयाँ र सोही कसुर दोहोर्याएमा पटकैपिच्छे ५० हजार रुपैयाँका दरले बढ्दै जाने प्रावधान छ ।
सार्वजनिक पदधारण गरेका व्यक्तिले मदिरा सेवन गरी होहल्ला गरेमा त्यस्ता व्यक्तिलाई सर्वसाधारणलाई गर्ने सजायको दोब्बर सजाय हुनेछ । यो घोषणा कार्यान्वयन गराउन नगरप्रमुखको संयोजकत्वमा एउटा सात सदस्यीय मदिरा नियन्त्रण, व्यवस्थापन तथा उन्मूलन समिति गठन गरिएको छ । समितिमा नगरउपप्रमुख तथा एक महिलासहित चार सदस्य र नगरका प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहने छन् ।
सो घोषणापछिको कार्यान्वयनको अवस्था अत्यन्त उत्साहजनक रहेको, नगरका बासिन्दाको दिनचर्या र क्रियाकलापमा स्पष्ट सुधार देखिएको, व्यापारी वर्ग सहयोगी देखिएको र महिला तथा बालबालिका पनि खुसी देखिएकाले यसमा सफल भएरै छाड्ने नगरका प्रमुख शाहीले बताए ।
यो घोषणा गर्ने नगरप्रमुख शाहीलगायत जनप्रतिनिधिको प्रयास अन्ततः सफल भएको छ । यसलाई कडाइका साथ लागू गर्न स्थानीय प्रहरी प्रशासनको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा दुईमत छैन । यस घोषणाले छायाँनाथ राराको सभ्यता, संस्कृति र सम्पदा संरक्षणमा बल पु¥याई जिल्लाकै समृद्घिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया