खोजखबर

सररर कोटेश्वर–कलंकी सडक

सञ्चिता घिमिरे २०७५ मंसिर १२ गते ७:२१ मा प्रकाशित

काठमाडौं । लामो समयपछि कोटेश्वर–सातदोबाटो–कलंकी चक्रपथ सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्सट्रक्सन गु्रपले गरेको हो ।

‘सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह लगाउने काम भइरहेको छ’, उनले भने, ‘सडक चिन्ह सकिएपछि नेपाल सरकारलाई सडक हस्तान्तरण हुनेछ ।’ सडक निर्माणका क्रममा एक तहको कालोपत्रे सकिएपछि दोस्रो चरणको कालोपत्रे भएको योजनाले जनाएको छ ।

दोस्रो चरणको कालोपत्रे सकिएपछि सडकमा विभिन्न चिन्ह लगाइएको हो । अहिले छुट भएका वा कतै समस्या आएका ठाउँमा काम भइरहेको छ । उनले भने, ‘केहि दिनमा यसको सम्पूर्ण कार्य सकिन्छ ।’

यो सडक खण्डमा चिनियाँ सरकारले जिम्मा लिएको काम सकिँदा नेपाल सरकारले जिम्मेवारी लिएको काम कतै अघि बढेको छ, भने कतै अघि बढ्न सकेको छैन । आठ लेन सडक भन्दा बाहिर दुवैतर्फ एक एक लेनको सर्भिस ट्र्याक (सेवा सडक) निर्माण नेपाल सरकारले जिम्मेवारी लिएको हो ।

यसमा केहि स्थानमा मात्र काम अघि बढेको छ । सर्भिस ट्रयाकमा पर्ने घर टहरा नहट्दा कतिपय ठाउँमा काम हुन सकेको छैन । यो सडकमा १० वटा आकाशे पुल छन् । चिनियाँ सरकारले जिम्मेवारी लिएका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ ।

उनले भने, ‘नेपाल सरकारले गर्ने भनिएका आकाशे पुलमा कतै काम अघि बढे भने कतै ठेक्काको प्रक्रियामा छ ।’ चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सडक निर्माण सुरु भएको थियो । गतवर्ष नै सक्ने गरेर नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । विसं २०७२ को भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा समयमा काम नसकेको जनाएको छ । त्यसपछि सरकारले एक वर्ष अवधि थप गरेको थियो ।

थप भएको अवधि (आगामी डिसेम्बर) भित्रै सरकारलाई हस्तान्तरण गरिने योजना छ । नेपालमा पहिलो पटक बनेको ‘अन्डर पास’ (भूमिगत सडक) लाई यो सडकको विशेषता मानिएको छ । भूमिगत सडक खसी बजारचोकदेखि कलंकीसम्मको सडक निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ । सडकको मुख्य लेन माथि सडकमा र सहायक लेन जमिनमुनि छ ।

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुबै छन । सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ सरकारले कलंकीदेखि महाराजगञ्जसम्मको सडक निर्माण गर्न इच्छा देखाइसकेको छ ।

सडक निर्माणका क्रममा काम गर्ने स्थान खाली गरिदिनुपर्ने भए पनि निर्माणका क्रममा विभिन्न अवरोध आएको योजनाले जनाएको छ । पाइपलाइन, विद्युतका खम्बा, सडक छेउका घरटहरा, सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा रहेका घरटहरा भने अझै हटेका छैनन् ।

यो सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले निर्माण गरेको आठ लेन भए पनि सर्भिस ट्रयाकसमेत गर्दा यो सडक १० लेनको हो । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् ।

चक्रपथ छिर्न सर्भिस ट्रयाक पनि छन् । जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । दश दशमलव ४ किलोमिटरको उक्त सडकमध्ये सात दशमलव छ किलोमिटर काठमाडौं र दुई दशमलव आठ किलोमिटर सडक ललितपुरमा पर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय