स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा

स्याङ्जा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको एकसय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्य पर्यटकीय सूचीमा परेका छन् ।

पर्यटकीय गन्तब्यमध्ये दुई वटालाई नयाँ गन्तव्य र दुईलाई प्रवद्र्धनात्मक गन्तव्यको सूचीमा समावेश गरेको हो ।

स्याङ्जाका सातौँ चण्डीथान र आलमदेवी नयाँ गन्तव्य एवं सिरुबारी र स्वरेक मैदानलाई प्रवद्र्धनात्मकतर्फ समावेश गरिएको छ ।

नेपाल सरकारको एकसय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । पुतलीबजार नगरपालिकामा पर्ने सतौं चण्डीथान ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको एक सम्पदा स्थल हो ।

यो ठाउँ बाइसे चौबिसे राज्यका पालामा पश्चिमका चौबिसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा रहेको थियो । पृथ्वीनारायण शाहका सेनापति केयरसिंह बस्नेत मारिएको स्थल यही थियो । पृथ्वीनारायण शाहकै पालाका मन्त्री वंशीराज पाण्डे यसै स्थलमा नजरबन्दमा परेका थिए । यस स्थलमा अहिले दरबारको भग्नावशेष मात्रै बाँकी रहेको छ । यहाँ करिब ६ सय वर्ष पुरानो कोतघर अहिले पनि देख्न सकिन्छ ।

सतौंकोटे राजाको इष्टदेवीका रूपमा पुजिने यस ठाउँमा चण्डी र कालिका गरी दुई वटा मन्दिरहरू रहेका छन् जुन मन्दिर झण्डै ६ सय वर्ष पुरानो रहेको मानिन्छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । त्यसैगरी, यस क्षेत्रलाई पर्यटकीय दृष्टिले पनि विकास गर्न खोजिएको छ । मन्दिरको नजिकै खर्सुको लेक रहेको छ जहाँ ऋषिहरूले तपस्या गरेका र अहिले पनि त्यहाँ तपस्या गरेका वेलाका भग्नावशेषहरू देख्न सकिन्छ ।

पुतलीबजार नगरपालिका ४ गुढीखोलामा रहेको चम्पागिरी सन्न्यास आश्रमदेखि गुढीखोलाको किनार हुँदै आँधीखोला तरेर पाणिनी आश्रम, चण्डीकालिका मन्दिर हुँदै खर्सुको लेकसम्म पैदल मार्गका रूपमा विकास गर्ने योजना रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । खर्सुको लेकबाट बिहान मनमोहक सूर्योदय अवलोकन गर्न पाइने र यस स्थललाई घरवास (होमस्टे) को रूपमा पनि विकास गर्न सकिने सम्भावना रहेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा पर्ने शाह वंशको कुलदेवताको रूपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको अर्को ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधस्थलबाट झण्डै १५ किलोमिटरको दूरी पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ ।

वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करिब एक हजार मिटरभित्रबाट सुरुङ हुंदै कालीगंगाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेनपातीको फेदमा आएर बसेको किंवदन्ति रहेको बताउँछन् वालिङ नगरप्रमुख एवं आलमदेवी मन्दिरका इतिहासविद् दिलीपप्रताप खाँण ।

‘भीमसेन पातीको रुखबाट अलप भएकाले सोही दिनदेखि वेगमाता वेगेश्वरीलाई सजिलो रूपमा अलप देवी भन्दा भन्दै अपभ्रंस भई आलमदेवी बन्न पुगेको हो,’ इतिहासविद खाँणले भने ‘अत्यन्त सक्रिय देवीका रूपमा चिनिएकी आलमदेवी वैद्धिक विधिअनुसार अष्टमात्रिकाको रूपमा जागरण गराइएकाले सबै मानवलाई आफ्नै सन्तान सरह माया र आशिर्वाद दिने र अष्ट सिद्धिमध्येका ‘प्राकाम्य’ अनुष्ठान भएकाले दर्शनार्थीहरूलाई निरोगी, भाकल एवं इच्छाइएको वरदान माग्दा पुग्ने र आयुसमेत लम्बाइन सकिने वरदान माग्दा पुग्ने विश्वास रहेको छ ।’

आलमदेवीका नाममा रहेका गुठी जग्गाहरूको अभिलेख नभएकाले हाल लथालिंग अवस्थामा रहेका गुठी जग्गाहरूको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ । ‘कालीगण्डकी जलाशयसम्म देश तथा विदेशबाट हजारौँ पर्यटकहरू अवलोकनका लागि आउने गरेका छन्,’ जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष श्रेष्ठले भने, ‘जलाशयसम्म पुगेका पर्यटकलाई आलमदेवी पु¥याउने र पाल्पाको रानीमहलसम्म आएका पर्यटकलाई आलमदेवीमा ल्याई पु¥याउने गरी तयारी गर्दै छौँ, जसले गर्दा पर्यटकको बसाइ स्याङ्जामा लम्बिन सक्छ ।’

त्यसैगरी, प्रवद्र्धनात्मक गन्तव्यतर्फ दक्षिण एसियाकै पहिलो सामुदायिक घरवास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ । सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ । यस ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई गरिने स्वागत तथा व्यवस्थापन पक्ष अन्य होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका सदस्य संयोजक जुमबहादुर गुरुङले बताए ।

गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार ३ सय भन्दा बढी नेपाली र ५ सय भन्दा बढी विदेशी पर्यटकहरू आएको अभिलेख रहेको संयोजक गुरुङले बताए । ‘सिरुबारी दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारणले पनि कतिपय पाहुनाहरू यहाँको व्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,’ संयोजक गुरुङले भने, ‘कतिपय पर्यटकहरू यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरूमा रमाउन आउने गर्नुहुन्छ ।’

त्यस्तै, अर्को प्रवद्र्धन गर्नुपर्ने गन्तव्यमा स्वरेक मैदान रहेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–५मा रहेको स्वरेक मैदान पर्यटकीय र धार्मिक आस्थाको केन्द्रको रूपमा विकास भइरहेको छ । यस ठाउँमा भर्खरै मात्रै प्रथम नेपाल एक्युरेसी प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न भइसकेको छ भने यसअघि सोही स्थानमा प्याराग्लाइडिङको छनोट प्रतियोगिता पनि भएको थियो ।

भिरकोट–५ स्वरेक मैदानबाट प्याराग्लाइडिङ उडेर (टेकअप) वालिङ नगरपालिकाको ११ नं वडाको डौंवाफाँटस्थित आँधीखोलाको किनारमा अवतरण गरिन्छ । सिद्धार्थ राजमार्गअन्तर्गत भीरकोट नगरपालिका–१ बयरघारीबाट ९ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १०÷११ किलोमिटरको कच्ची सडक हुँदै यस स्थलमा पुग्न सकिन्छ । स्वरेकमा दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल स्थापना भएको छ । यहाँ स्वदेशी तथा विदेशी खेलाडीहरूलाई प्याराग्लाइडिङसम्बन्धी प्रशिक्षण प्रदान गर्ने गरिएको बाबु एडभेन्चर स्कुलका सानोबाबु सुनुवारले बताए ।

प्रतिक्रिया