लेख्नेले जान्दैन, जान्नेले लेख्दैन

संसारमा बलवान्ले दुःख पाइरहेको र निर्बल आनन्दसँग सुखपूर्वक बसिरहेको देखिन्छ । बुद्धिमान् हरेक कुराको अभावमा तडपिएर दिन बताइरहेको हुन्छ भने हरिलठ्ठक भोगविलासमा डुबुल्की लगाइरहेको हुन्छ । जो डरछेरुवा छ उसले जितिरहेको हुन्छ र शूरवीर भनाउँदो हारिरहेको हुन्छ ।

इसाइहरूको धार्मिक संस्थाले राजधानी काठमाडौंमा आयोजना गर्न लागेको सम्मेलनमा सरकार सह–आयोजक बन्न हुन्छ वा हुँदैन भन्ने बहस चलिरहेको थियो । स्कुले जीवनकी एक जना साथीसँग यही शनिबार कोटेश्वर चोकमा अचानक भेट भयो । करिब २५ वर्षको अन्तरालमा भेट भए पनि सामाजिक सञ्जाल फेसबुकमा साथी भएका कारण एक अर्कालाई चिन्न गाह्रो भएन ।

म पत्रकारिता पेसामा लागेको उसलाई थाहा रहेछ । सामाजिक सञ्जालमार्फत मेरा लेख रचना पनि उसले पढ्ने गरेकी रहिछे । ऊ के काम गर्छे मलाई थाहा थिएन । मैले सोध्न नभ्याउँदै उसले भनी, ‘तिमी एउटा कुरा किन लेख्दिनौ अञ्जु ?’ ‘के कुरा भन न’ मैले सोधेँ । ‘संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक हो आफूलाई इच्छा लागेको धर्म अपनाउन सबैलाई स्वतन्त्र हुन्छ, तर किन त्रिस्चियन धर्म अपनाइस् ? भन्दै राज्यले दुःख दिने धरपकड गर्ने गरिरहन्छ ।’

उसले भनी । मैले भनेँ, ‘आफूलाई इच्छा लागेको धर्म अपनाउन संविधानले कहाँ रोकेको छ र ? राज्यले पनि रोकावट गरेको छ र ? धर्म परिवर्तन गर्दै हिँड्नेलाई पो राज्यले निषेध गरेको हो ।’ उसले आफ्नो कुरा खोतल्दै भनी, ‘म इसाई धर्ममा विश्वास गर्छु, प्रभु येशुको सन्देश जनजनमा पुर्याउनु नै इसाई धर्म हो । तर, नेपाल धर्मनिरपेक्ष राज्य हुँदाहुँदै पनि प्रभु येशुको सन्देश जनजनमा पुर्याउन जवर्जस्ती रोकिन्छ, यो हस्तक्षेप हो कि होइन ?’ उसको यो प्रश्नले मलाई अलमलमा पारेको छ । यो प्रश्नको जवाफ मैले पाउन सकिरहेकी छैन ।

ब्रह्माण्डलाई ईश्वरको शरीर र त्यसको सनातन प्रणालीमा अवरोध नगर्ने गतिविधिलाई धर्म र गर्ने गतिविधिलाई पाप भनिएको छ । जीवको शरीर, पृथ्वी वा ब्रह्माण्ड धर्म गरे टिक्छ पाप गरे नासिन्छ

तपाईंले किन इसाई धर्म ग्रहण गर्नुभयो ? भन्ने प्रश्न नेपाली इसाइहरूलाई गर्ने हो भने करिब ९० प्रतिशतबाट दुइवटा जवाफ आउने गर्छ । पहिलो हो, ‘म धेरै बिरामी परेँ, जति औषधी उपचार गर्दा पनि रोग सन्चो भएन, एकजना सज्जनले चर्चमा लगेर प्रभु यशुको प्रार्थना गर्न लगाए, त्यसपछि रोग क्रमशः ठीक हुँदै गएजस्तो भयो ।

अहिले म पूर्णरूपमा निको भएको आभास गरेको छु । त्यसैले, यशुका सन्देश जनजनमा पुर्याउन मैले आफ्नो बाँकी जीवन खर्चने संकल्प गरेको छु । किनकि, मेरो बाँकी जीवन भनेकै प्रभु यशुको कृपा हो ।’ दोस्रो जवाफ हो, ‘म धेरै गरिब थिएँ, खान लगाउनकै लागि दुःख थियो, जब प्रभु यशुको प्रार्थना गर्न थालेँ तब गरिबी हट्दै गएको अनुभूति पाएँ र काम पनि पाँए, खान लगाउनको दुःख भएन । त्यसैले, फुर्सदको समय प्रभु यशुका सन्देश जनजनमा पु¥याउनका लागि सदुपयोग गर्ने संकल्प गरेकी छु ।’

ईश्वरको प्रार्थनाले रोग सन्चो हुँदैन, औषधी उपचारले मात्रै सन्चो हुन्छ, भन्ने मान्यता पश्चिमा इसाई मुलुकहरूमा छ । पूर्वीय हिन्दू मलुकहरूमा ईश्वरको प्रार्थनाले रोग सन्चो हुन्छ, औषधी उपचारको आवश्यक छैन भन्ने मान्यताले जरो गाडेको छ । पूर्वीय सनातन समाजको यही विकृत्तिको आडमा इसाईकरण फैल्याइएको छ । जसरी रोग सन्चो हुने भनेको औषधी उपचारले हो, भगवान्को प्रार्थनाले होइन, त्यसरी नै गरिबी घट्ने भनेको मिहिनेत तथा शोषणरहित समाज व्यवस्थाको निर्माणले हो ।

भगवान्को प्रार्थनाले होइन । यो कुरा पश्चिमा इसाई मुलुकहरूले सयौँ वर्ष पहिले अपनाइसकेका छन् । फलस्वरूप उनीहरू आज विकास र सम्पन्नताको चुलीमा पुगिसकेका छन् । तर, हाम्रो समाजमा भने उनीहरू त्यही रूढिवादलाई अझै फैलाइरहेका छन् । रूढिवादी मानसिकता बोकेको हाम्रो समाजलाई इसाइकरण गर्न यही फुर्मला उपयुक्त हुने उनीहरूले ठानिरहेका छन् । जबसम्म धर्मको नाममा जरो गाडेको रूढिवादलाई उखेलेर फ्याँक्न सकिन्न तबसम्म इसाईकरण रोक्न सकिन्न ।

यसैगरी, ‘जीवनमा जानी-नजानी पाप कर्म भइरहेका हुन्छन्, प्रभु यशुको प्रार्थना गर्नासाथ पापबाट उनले माफी दिन्छन्’ भन्ने कुरा इसाई धर्मग्रन्थ बाइबलको मूलमन्त्र हो । अरू धर्मग्रन्थमा पनि यी कुराहरू छन् । यसको सबैभन्दा गहन व्याख्या वैदिक सनानत धर्मग्रन्थमा गरिएको छ । तर, यी ग्रन्थहरू न पढिन्छन् न त पढ्नेहरूले अरूलाई सन्देश दिन्छन् । न त यस विषयका जानकारहरूले कुनै लेख लेख्छन् ।

यस पंक्तिकारको सवालमा त वैदिक सनातन धर्मग्रन्थहरू ‘काला अक्षर भैँसी बराबर’ भन्ने उखान जस्तै हुन् । हाम्रा धर्मग्रन्थको व्याख्याका सवालमा सबैभन्दा ठूलो विडम्बना भनेकै यही हो कि, ‘लेख्नेले जान्दैन, जान्नेले लेख्दैन ।’ तर, जिन्दगीभर पाप गर्दै नगरेकाहरू पनि दुःखी र गरिब देखिएका छन्, पाइलैपिच्छे पाप गर्ने कतिपयले विलासिताको जीवन बाँचिरहेका छन्, यो किन ? यो प्रश्नको उत्तर पनि सजिलो छैन । संसारमा बलवान्ले दुःख पाइरहेको र निर्बल आनन्दसँग सुखपूर्वक बसिरहेको देखिन्छ ।

बुद्धिमान् हरेक कुराको अभावमा तडपिएर दिन बताइरहेको हुन्छ भने हरिलठ्ठक भोगविलासमा डुबुल्की लगाइरहेको हुन्छ । जो डरछेरुवा छ उसले जितिरहेको हुन्छ र शूरवीर भनाउँदो हारिरहेको हुन्छ । त्यसैले, भगवान् श्रीकृष्णले भनेका छन्, ‘हरहमेसा अल्छी नगरी, परिणामको चिन्ता नगरी एवं नडराई कर्ममा संलग्न होऊ । सुख होस् वा दुःख दुवैमा कर्म गर्न नछोड । दुःखमा आफूभन्दा पनि बढी दुःख पाएकालाई हेर्ने गर, सुखमा आफूभन्दा पनि बढी सुख पाएकालाई हेर्ने गर ।

आफूले भित्रभित्रै पाइरहेको सुख वा दुःख शत्रुसमक्ष कहिल्यै व्यक्त नगर । धैर्य गर, सत्कर्म वा उद्योग गर्न नछोड, परिश्रमी बन, दुःखपछि अवश्य सुख आउँछ । अधैर्यतामा जुन दुःख देखिएको छ, धैर्यतामा त्यस्तो दुःख देखिएको छैन । समयले घुमाइफेराई हरेक देव, दानव र मानवलाई दिने सुखदुःखमा जो धैर्यधारण गर्दछ, ऊ कहिल्यै दुःखी हुन्न ।’

संसारमा बलवान्ले किन दुःख पाइरहेको हुन्छ र किन निर्बल आनन्दसँग सुखपूर्वक बसिरहेको देखिन्छ ? बुद्धिमान् हरेक कुराको अभावमा किन तडपिएर दिन बिताइरहेको हुन्छ र हरिलठ्ठक किन भोगविलासमा डुबुल्की लगाइरहेको हुन्छ ? जो डरछेरुवा छ, उसले किन जितिरहेको हुन्छ र शूरवीर भनाउँदो किन हारिरहेको हुन्छ ? यस्ता प्रश्नको उत्तर केवल वैदिक सनातन धर्मग्रन्थमा मात्रै छन् । वैदिक सनातन धर्मग्रन्थअनुसार मानिसले पाउने सुख वा दुःखमा दुई कुराले प्रभाव पारिरहेको हुन्छ । पहिलो कुरो भाग्य हो ।

भाग्य भनेको बाबुआमाको चरित्र, तिनले गरेको गर्भाधानको साइत, पूर्व जन्ममा त्यो जीवले गरेको कर्म आदि कुराहरूको समष्टिगत रूप हो । आत्मा मर्दैन, शरीर फेर्दै बसिरहन्छ । जन्ममरणको चक्रबाट आत्मालाई बाहिर निकाल्नु भनेकै मोक्ष हो । जीवले गर्ने कर्मले हरेक जीवलाई हरहमेसा र हरेक जन्ममा पछ्याइरहन्छ । गलत सेवन तथा गलत क्रियाकलापले शरीरमा रोग हाल्छ र यस्ता रोग जन्माउने कीटाणुहरू अदृश्य र अत्यन्त शक्तिशाली हुन्छन् ।

यिनलाई राक्षस, दानव, भूत, प्रेत, पिशाच आदि नाम दिइएको छ । आचरणमा हुने शुद्धताले शरीरको रोग प्रतिरोधी प्रणाली बलियो भइरहन्छ, बाहिरी कीटाणुसँग लड्ने शरीरभित्रका जीवाणुहरू बलिया हुन्छन्, यसैलाई देवता भनी व्याख्या गरिएको छ । शरीरको रोगसँग लड्ने क्षमता अपवादमा बाहेक कहिल्यै नासिन्न, अपवादमा बाहेक सबै जीवमा हुन्छ । त्यसैले, आफ्नो शरीरलाई मन्दिर र सबै जीवमा देवताको बास हुन्छ भनिएको छ । देवता अमर हुन्छन् भनिएको छ ।

पृथ्वीलाई धर्ती माता भनिएको छ र शरीरसँग तुलना गरिएको छ । धर्तीमाताको रोगसँग लड्ने क्षमतालाई प्रकृति (देवी) भनिएको छ । धर्तीमाताको स्वच्छ वातावरण राख्न गरिने सबैखाले मानवीय कर्मलाई धर्म गर्नु भनिएको छ । पृथ्वीको स्वच्छ वातावरणमा खलल पुग्ने कुनै पनि गतिविधिलाई पाप भनिएको छ ।

यसको नैसर्गिक वातावरण जोगाउने जतिलाई देवता र मास्न उद्यत हुनेलाई दानव भनिएको छ । ब्रह्माण्ड वा अन्तरिक्षका सम्बन्धमा पनि यसरी नै व्याख्या गरिएको पाइन्छ । ब्रह्माण्डलाई ईश्वरको शरीर र त्यसको सनातन प्रणालीमा अवरोध नगर्ने गतिविधिलाई धर्म र गर्ने गतिविधिलाई पाप भनिएको छ । जीवको शरीर, पृथ्वी वा ब्रह्माण्ड धर्म गरे टिक्छ पाप गरे नासिन्छ ।

कर्मको प्रयोजन र त्यो कर्म गर्न प्रयोग गरिने स्रोत र साधनमा शुद्धता चाहिन्छ भनिएको छ । अरूलाई हानी गर्ने अभिप्रायले गरिने जतिसुकै ठूला धार्मिक कर्मको फल, जतिसुकै ठूला ईश्वरले पनि नकारात्मक रूपमै भोग्नु पर्दछ भनेर हजारौँ उदाहरणहरू दिइएका छन् ।

प्रतिक्रिया