जनप्रतिनिधिलाई धुलो खाने निम्तो

बर्दिवास । सडकमा धुलो उडेर सास्ती हुन थालेपछि बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । शुुक्रबार बिहान आधा घण्टा राजमार्ग अवरुद्ध गरेर स्थानीयहरूले नेता तथा जनप्रतिनिधिहरुलाई धुलो खाने निम्ता दिएका हुन् ।

राजमार्ग अवरुद्ध हुँदा केही बेरमा सयौँ सवारी साधनहरू राजमार्गमा अलपत्र परेका थिए । धुलोले आजित भएपछि बर्दिवासवासीले राजमार्ग अवरुद्ध गरेका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिवासको मुख्य सडक भत्किएको एक वर्ष भइसक्दासमेत निर्माण हुन नसक्दा धुलाम्मे बनेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत यो खण्ड अति व्यस्त सडक मध्येको एक खण्ड हो । सडक नबन्दा सर्वसाधारण तथा यात्रुहरू धुलोकै कारण दुर्घटनामा समेत पर्ने गरेका छन् । धुलाम्मे सडकको कारण स्थानीय सर्वसाधारण तथा यात्रुहरू मारमा पर्ने गरेका छन् । मुख्य सडकको सबै कालोपत्रे उप्किएको र निमार्णको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा आफूहरू धुलो खान बाध्य भएको बर्दिवासस्थित मुख्य चोकमा व्यवसाय गर्दै आएका दीपक कार्कीले बताए ।

धुलोको कारण आफूहरू व्यवसायबाट नै बिस्थापित हुने स्थानमा पुगेको उनले बताए । धुलाको कारण सडक क्षेत्रका सबै व्यवसायी मारमा परेको र स्वास्थ्यमा समेत असर पु¥याएको बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले बताए । यस्तै रह्यो भने व्यवसायीहरू पलायन हुने उनले बताए ।

बर्दिवासस्थित सिमरन कस्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको भएपनि एक वर्षदेखि निर्माण नगरी अलपत्र छाडेको छ । सडक डिभिजन कार्यालय जनकपुरसँग ७१ लाखमा ०७४ मंसिरमा ठेक्का जिम्मा लिएको सिमरन कस्ट्रक्सनले ०७५ असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि काम गरेको छैन ।

रिकरेन्ट मेन्टिनेन्स गर्न जिम्मा लिएको भए पनि सडकमा पटकपटक डोजर लगाउँदै त्यसै छाड्ने गरेको छ । बिगत ६ महिनादेखि एक दर्जन पटकभन्दा बढी डोजर प्रयोग गरी सडक निर्माण गर्ने सुरुआत गर्ने गरेको भए पनि त्यसै छाड्ने गरेको स्थानीयवासीले बताएका छन् ।

एक वर्षअघि सडक निर्माण थालिए पनि ठेकेदारको लापरबाहीले अझै पूरा हुन सकेको छैन । लगभग पाँच सय मिटर सडक पूर्णमा रूपमा जीर्ण बन्नुका साथै धुलाम्मे भएको एक वर्ष बित्दासमेत निर्माण हुन नसक्दा सडक विभागदेखि नेता तथा जनप्रतिनिधिलाई स्थानीयहरूले धुलो खान सार्वजनिक रूपमा निम्ता दिएको हो ।

बर्दिवासलाई स्वच्छ, समृद्ध र सुन्दर बनाउने र पर्यटकीय सम्भावनलाई नाकैमुनि उडिरहेको धुलो गिज्याइरहेको बर्दिवासका समाजसेवी शंकर फुयालले बताए । आज धुलो खान निम्तो दिएर हामीले साङकेतिक विरोध स्वरूप बन्द गरेको भन्दै छिटो समस्या सामधान नभए सडक पूर्णरूपमा ठप्प पार्ने उनले बताए ।

आँखाका बिरामी बढे

सडकमा उड्ने धुलोको कारण आँखाका बिरामी बढेका छन् । बिगत ६ महिनादेखि बर्दिवासस्थित आँखा उपचार केन्द्रमा आउने बिरामीको संख्यामा दोब्बर भएको बर्दिवास अाँँखा अस्पतालले जनाएको छ । जाँच गराउन आउने सबैमा आँखा पोल्ने, चिलाउने र पाक्ने समस्या देखिएको आँखा अस्पतालका सञ्चालक मुकुन्द पौडेलले बताए ।

आँखा रातो हुने, चिलाउने र बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको उनले बताए । निजी अस्पतालमा मात्रै होइन सरकारी अस्पतालमा समेत धुलोको कारण आँखा जाँच गराउन आउने र श्वासप्रश्वासको बिरामीको संख्यामा उल्लेखनीय रहेको बर्दिवास अस्पतालले जनाएको छ । धुलोको कारण खोकी, नाकको संक्रमण, श्वासप्रश्वासमा समस्यामा भएको बिरामी धेरै आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया