सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ शीर्षस्थानमा

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टारलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ । तनावपूर्ण खेलमा मनाङले थ्री स्टारलाई २–१ गोलको अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा अग्रता पनि मनाङले नै लिएको थियो । खेलको ११औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए । उनले हेमन गुरुङको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । पहिलो गोल गरेको केही समयपछि नै थ्रिस्टारले आत्मघाती गोल गरेपछि मनाङले अग्रता दोब्बर बनायो । १८औँ मिनेटमा किपर एलन न्यौपानेले क्लियर गर्न खोजेको बल थ्री स्टारकै विजय धिमाललाई लाग्दै गोलमा परिणत भएको थियो । विक्रम लामाले अन्तिम समयमा गोललाइनबाट क्लियर गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन ।

खेलको तेस्रो मिनेटमा अजायी मार्टिन्सको आक्रमणलाई विराज महर्जनले बचाएका थिए । २२औँ मिनेटमा रञ्जित धिमालको फ्रिकिक क्रसबारभन्दा थोरैमाथिबाट बाहिरियो । ३६औँ मिनेटमा सुनीलले हानेको बलमा क्रस भई विशाल श्रेष्ठले उत्कृष्ट पन्च गरेर बचाएका थिए । पहिलो हाफको चार मिनेट बाँकी छँदा सुनीलले बलको उत्कृष्ट प्रहारलाई विशालले विफल पारिदिएका थिए भने त्यसको एक मिनटमै मार्टिन्सले दिएको पासमा बुद्ध चेम्जोङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले दुवै गोल काउन्टर अट्याकमा गरेको थियो । दोस्रो हाफमा थ्री स्टार थप आक्रामक रूपमा प्रस्तुत भएको थियो । अनिल गुरुङको स्थानमा रन्जन विष्ट मैदान प्रवेश गरेपछि थ्री स्टारले दबाब बनाउन सफल रह्यो । उसले खेलको ८५औँ मिनेटमा गोल पनि फर्कायो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजायी मार्टिन्सलाई लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको हो ।

रञ्जित धिमालले उक्त पेनाल्टीमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । थ्री स्टारले अन्तिम समयमा आक्रमणलाई थप जोड दिए पनि गोल फर्काउन भने सकेन । यस जितसँगै मनाङ ३ खेलमा ९ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । थ्री स्टारले भने लिगमा पहिलो हारसँगै ३ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया