झापामा मेवाको व्यावसायिक खेती

भद्रपुर । झापाका दुई किसानले मेवाको व्यावसायिक खेती सुरु गरेका छन् । मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती सुरु गरेका हुन । परीक्षणका लागि गरिएको यो खेती सफल भएमा आगामी वर्षदेखि मेवा खेती विस्तार गर्दै लाने किसानले बताए ।

सापकोटाले वार्षिक ४० हजार प्रतिबिघाका दरले तीन बिघा जमिन लिजमा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् । सापकोटाले रोपेको ६ महिनामा मेवाको बोट तीन फिट अग्लो भएको छ भने लटरम्म फल लाग्न थालिसकेको छ । भारतको कोलकाताबाट प्रतिकेजी एक लाखमा उनले मेवाको विनायक जातको बिउ किनेर ल्याइ आफैँ बेर्ना तयार गरेको बताए । एउटै फल तीन केजीसम्मको हुने, एउटा बोटबाट बर्सेनि १ सय ७५ केजीसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवा खेतीबाट मनग्ये फाइदा हुने सापकोटाले बताए ।

उनी अर्जुनधारा नगरपालिकाको नेकपाका अध्यक्ष हुन । राजनीति गर्नेले उत्पादन र उद्यमशीलतामा लाग्नुपर्छ भन्ने सन्देश दिनसमेत आफू मेवाखेतीमा होमिएको बताउँछन् सापकोटा । मेचीनगर–९ का डिल्लीराम उप्रेतीले लिजमै लिएको १० कट्ठा जमिनमा एक हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले डी एन्ड डी बायोप्लानटेक नामक संस्थामार्फत मेवाखेती गरेका हुन् । उनको खेतीमा पनि मेवा लटरम्म फल्न थालिसकेको छ ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई झापाको माटो मेवा खेतीका लागि उर्वर रहेको बताउछन् । उनले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँमा मेवाखेती हुने बताए । उनले सरकारले मुलुकलाई समृद्ध बनाउने उद्देश्यअनुरूप कृषिमा करोडौँको बजेट लगानी गरिरहेको हुँदा व्यावसायिक रूपमा मेवाखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप कृषि औजारमा अनुदानसमेत प्रदान गर्ने सरकारी नीति रहेको जानकारी दिए । मेचीनगरका किसान डिल्ली उप्रेतीले मेवाखेतीमा हाल पहेँले रोग देखापर्न थालेको बताए । तर, यस रोगका लागि कस्तो औषधि प्रयोग गर्ने भन्ने ज्ञान नहुँदा प्राविधिकहरूसँग सल्लाह भइरहेको उनले बताए ।

प्रतिक्रिया