धान खरिदमा संस्थानको ढिलाइ

धनगढी । मंसिरको पहिलो साता सकिनै लाग्दा पनि नेपाल खाद्य संस्थान धनगढीले धान खरिद कार्य सुरु गरेको छैन । संस्थानको केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य निर्धारण गर्न ढिलाइ गरेका कारण धान खरिद प्रक्रिया अघि बढ्न नसकेको हो । बुधबार मात्र केन्द्रीय कार्यालयले धान खरिदको लक्ष्य र समर्थन मूल्य तोकेर पठाएको बताउँदै खाद्य संस्थानका क्षेत्रीय प्रमुख प्रेमनारायण भण्डारीले भने, ‘अब आइतबारदेखि धान संकलन कार्य सुरु गर्नेछौँ ।’ उनले संस्थानलाई ५० हजार क्विन्टल धान संकलन गर्न लक्ष्य तोकिएको बताए । सरकारले तीन महिनाअघि नै धानको समर्थन मूल्य तोकेकाले संस्थानले यस वर्ष सोही मूल्यमा धान खरिद गर्ने उनले बताए ।

खाद्य संस्थानले गत आव ०७४÷७५ मा ४५ हजार क्विन्टल धान संकलन गर्ने लक्ष्य लिएको थियो । सुरुमा प्रतिक्विन्टल १ हजार ९ सय ५० रुपैयाँमा धान खरिद गर्ने निर्णय गरेको संस्थानलाई सो मूल्यमा धान संकलन गर्न कठिनाई भएपछि २ हजार १ सय ५० रुपैयाँमा धान खरिद सुरु गरेको थियो । चालु आवमा खाद्य संस्थानले प्रतिक्विन्टल २ हजार ३ सय ३१ रुपैयाँमा धान खरिद गर्नेछ ।

विगतका वर्षहरूमा संस्थानले भजनी, टीकापुर, जोशीपुर, धनगढी लगायतका ६ वटा स्थानबाट धान संकलन गर्दै आएकोमा यस वर्ष टीकापुर र धनगढीको मोहनपुरबाट मात्र धान संकलन गर्न केन्द्रीय कार्यालयले निर्णय गरेको भण्डारीले बताए ।

केन्द्रले दुई स्थानबाट मात्र धान संकलन गर्न भनेकोले विगतकै जसरी धान संकलन गर्ने योजना रहेको संस्थानको भनाइ छ । संस्थानले धान खरिद र संकलन तिहार लगत्तै गर्ने योजना बनाए पनि केन्द्रको परिपत्र नआउँदा ढिलाइ भएको जनाइएको छ । अहिले परिपत्र आए पनि व्यवस्थापन गर्न केही समय लाग्ने संस्थानका प्रमुख भण्डारीले बताए ।

खाद्य संस्थानले अहिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा चामल ढुवानी गरिरहेको छ । खाद्य संस्थानका अनुसार प्रदेशको बाजुरामा ८ सय २०, कोल्टीमा ८ सय ९१, मुगुमा ६ सय ६०, तल्कोटमा एक सय, काडामा १ सय २ क्विन्टल चामल ढुवानी भइसकेको छ । त्यस्तै, खण्डेश्वरीमा चार सय, सुनसेरामा चार सय, पारिबगरमा एक सय, पुर्चौडीमा तीन सय, मेलौलीमा ९०, पुलाउमा ६ सय ४५ र डडेल्धुरामा ५ सय २६ क्विन्टल चामल ढुवानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया