बहसमा कवितामा नारी

काठमाडौं । नारी चेतनाका विषयमा लेखिएका नेपाली कवितामाथि बहस गरिएको छ । साहित्य सन्ध्याको नियमित मासिक ३ सय ८९औँ शृंखलामा ‘नेपाली कवितामा नारी चेतना’ विषयक परिचर्चा तथा कविगोष्ठी गरिएको हो । सन्ध्याका पूर्वसल्लाहकार तथा पूर्वमन्त्री शान्ता मानवीको अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको संयोजन तथा सञ्चालन जयन्ती स्पन्दनले गरेकी थिइन् ।

कार्यक्रममा ‘नेपाली कवितामा नारी चेतना’ विषयमा डा. विन्दु शर्माले परिचर्चा गर्दै मानवीय प्राकृतिक स्वभावले पनि विभेद निम्त्याउने गरेको जिकिर गरिन् । उनले भनिन्, ‘नारीविरोधी चरित्रका कविता अहिले आएका छन् तर यसको अर्थ पुरुषको विरोधचाहिँ होइन । पतिसरहको स्वतन्त्रताको खोजी नारीसिर्जित नेपाली कवितामा गरिएको छ ।’ उनले पछिल्लो समय नारीको नामसमेत पतिले राखिदिने, महिलालाई उपकार गरिदिएको ठान्ने प्रवृत्तिका विरुद्धमा पनि कविता आएका बताइन् ।

नारीमा राजनीतिक चेतनाबोध गराउने र नारीविभेदको अन्त्य राजनीतिक प्रयत्नले मात्र हुनसक्छ भन्ने चेतनाको सम्प्रेषण पनि कवितामा गरिएको बताउँदै उनले पुरुषसरह महिला पहुँचको आवश्यकताको आग्रह पनि कवितामा गरिएको विचार व्यक्त गरिन् ।

उनले भनिन्, ‘सामाजिक–सांस्कृतिक आडमा हुने विभेद, विधवा नारीले भोगेका समस्या, देउकी, झुमा, कुमारी आदि रुढिहरूको प्रकटीकरण र रूपान्तरणको चाहना पनि कवितामा अभिव्यक्त भएको पाइन्छ ।’

उनले अवोध महिलालाई बोक्सीको आरोप लगाउने प्रवृत्ति, अनेक प्रकारका उत्पीडन र बलात्कारका कारण आपूmलाई जोगाउन नारीले भोग्नुपरेको अवस्थाको सशक्त चित्रण पनि कवितामा प्रस्तुत भएको विचार व्यक्त गरिन् । श्रमिक नारीका जीवनका जटिलताको प्रस्तुति, यौनकर्मी नारीका पीडा र शोषणका अभिव्यक्ति पनि कवितामा उजागर गरिएको धारणा राख्दै उनले भनिन्, ‘उत्पीडन र शोषणका नितान्त निजी कुरा पनि सशक्तरूपमा कवितामा आएका छन् । नारीको निकट सहयात्री पुरुष भएकाले पुरुषका कवितामा पनि नारी समस्या र चेतना सशक्त रूपमै तर सहानुभूतिका तहमा आएका छन् ।’

कार्यक्रममा बालकवि प्रलिशा अधिकारी, राम विनय, जय गौडेल, पार्वती ज्ञवाली, रमेश गौतम ‘पाल्पाली’, लक्ष्मी माली, सुलोचना मानन्धर, लक्ष्मी मिश्र, मुकुन्द ढकाल, माधव प्रधान, गायत्री लम्साल, कणाद महर्षि मुकुन्द न्यौपाने, ओमप्रसाद कोइराला, बालकृष्ण सुवेदी, पोष चापागाईँ, दिनेश मैनाली, भाग्यशाली अधिकारी, गौरी दाहाल, रामबहादुर पहाडी, नारायण भण्डारी जनकपुरी, डिल्लीप्रसाद मुल्तिहुन, नर्मदेश्वरी सत्याल, उर्मिला पन्त पाण्डेय, देबु लुइटेल, अनिता लामा, बैरागी जेठा, मिसन अधिकारी, होमशंकर बाँस्तोला र जयन्ती स्पन्दन लगायतका स्रष्टाले कविता, गीत, गजल वाचन गरेका थिए ।

गोष्ठीमा वाचन गरिएका रचनामाथि कवि जयन्ता पोखरेलले टिप्पणी गर्दै अधिकांश कविता नारीचेतनाले युक्त रहेको बताइन् । उनले भनिन्, ‘विषयवस्तु, वैचारिकता र शिल्पका हिसाबले अधिकांश कविता सुन्दर रहेका छन् । महिला स्रष्टाले अरूका सिर्जना अध्ययन नगर्ने र भौतिकतामा अल्मलिएका कारणले महिलाका कविता केही कमजोर रहेका पाइन्छन् तर आजका धेरै कविताले राम्रो प्रभाव छाडेका छन् ।’

उनले सामाजिक रूपान्तरणका लागि सिर्जनामा नारी चेतना प्रस्तुत हुनु आवश्यक रहेको बताइन् । कार्यक्रममा अध्यक्ष शान्ता मानवीले पितृसत्तात्मक संस्कार पुरुषमा मात्र होइन महिलामा पनि उत्तिकै रहेको जिकिर गरिन् । उनले यस्तो रुढि हट्न अझै पनि समय लाग्ने बताइन् । सन्ध्याका अध्यक्ष राम विनयले कवितामार्फत नारीमा सचेत ढंगले जागरण आएको भनाइ राखे ।

प्रतिक्रिया