विद्यालय छाड्नेको संख्यामा वृद्धि

दोलखा । प्राथमिक तहमा विद्यालय भर्ना भएका मध्ये आधाभन्दा कम विद्यार्थी मात्रै माध्यमिक तहसम्म पुग्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइ दोलखाले जनाएको छ ।

बाल विकास केन्द्र र प्राथमिक तहमा विद्यार्थीको संख्या अत्यधिक देखिए पनि माध्यमिक तहमा अत्यन्तै न्यून विद्यार्थी पुग्ने गरेका छन् । गत वर्षको तथ्यांकअनुसार बालविकास केन्द्रमा ५ हजार ९ सय र प्राथमिक तहमा १८ हजार ४ सय ४२ विद्यार्थी भर्ना भएका थिए । बालविकास केन्द्र र प्राथमिक तहमा गरी २४ हजार ३ सय ४२ विद्यार्थी गत वर्ष अध्ययनरत थिए ।

आधारभूत तहमा ११ हजार ५ सय १ विद्यार्थी अध्ययनरत थिए । यो संख्या माध्यमिक तहसम्म पुग्दा घटेर ७ हजार १ सय ६२ मा झरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका इकाइ प्रमुख शंकरबाबु श्रेष्ठले विद्यार्थीले आधारभूत तहमा पुगेपछि पढाइ छाड्ने गरेको बताए । आर्थिक अवस्था, कुलतमा लाग्नु, पारिवारिक समस्या लगायतका कारण विद्यार्थीको संख्या घट्ने गरेको उनको भनाइ छ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मका शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ । उल्लेख गरिएको छ ।

संविधानमा उल्लेख गरे पनि बर्सेनि विद्यार्थीले पढ्न छाडिरहेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । दोलखामा बाल विकास केन्द्रदेखि कक्षा १० सम्म कुल ४४ हजार ३ सय ५ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया