माथिल्लो तामाकोसीमा मन्त्रीको चासो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्य प्रगतिका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणसँग जानकारी मागेका छन् । आयोजनाको कुल भौतिक प्रगति ९७ प्रतिशत भए पनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागतसमेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेका हुन् ।

आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन सुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिए । सुरुमा आयोजनाको लागत ३५ अर्ब रहेको भए पनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्य वृद्धिका कारण लागत बढेर ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको व्याजसमेत जोडिएको छ ।

आयोजनाको भौतिक निर्माणको काम करिब सकिने अवस्थामा पुगेको भए पनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादनको मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ । लामोसाँघु–जिरी सडकखण्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजना स्थल पुग्न सकेको छैन ।

आयोजनाको सुरुङभित्र रहेका दुइवटा ठाडो सुरुङ ९३७० मिटर र ३१० मिटर० मा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन । आयोजनाले आगामी असारमा परीक्षण उत्पादन सुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका तय गरिएको थियो । मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजना स्थलमा नै समस्या समाधान गर्ने तयारी गरेको बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरू लागेको जानकारी दिए । हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ, भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ ।

सुरुङभित्र जडान गर्नुपर्ने ५९ वटा पाइप प्राधिकरणको सुनकोसी विद्युत् गृहमा रहेको छ । ‘आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीले चासो दिएका हुन्, त्यसलाई सहजरूपमा लिँदै आयोजना स्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौँ’ प्रवक्ता डा। न्यौपानेले भने ।

प्रतिक्रिया