रत्नजित र दिपेश अन्तिम आठमा

काठमाडौं । राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ र एपिएफका दिपेश धामीले आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएका छन् । दशरथ रंगशालामा बुधबार सम्पन्न प्रिक्वटारफाइनलमा तामाङले एपिएफका सुनिल जोशीलाई २१—६, २१—१७ को सोझो सेटमा पराजित गरे । त्यस्तै, दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१—१५, २१—१५ को समान अन्तरमा पराजित गरे ।

बुुधबार भएको खेलमा अन्तिम आठमा प्रवेश गर्नेमा नेपाल पुलिसका विष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । विष्णुले एफिएफका विजित थापामगरलाई २१—१७, २१—१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२—२१, २१—८, २१—१० ले पराजित गरे ।

यसैगरी, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१—१८, २१—१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१—७, २१—१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१—१७, २१—१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१—१९, २१—१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सातौँ संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङले जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाइन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१—१७, २१—१९ ले पराजित गरिन् ।

यस्तै सेनाका नंगसलदेवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए । तामाङले जेस्टकी महिमा श्रेष्ठलाई २१—५, २१—३, अनुले जेस्टकै सफी खत्रीलाई २१—५, २१—१० ले पराजित गरिन् ।

प्रतिक्रिया