रहीमको विश्व रेकर्ड दोहोरो शतक

एजेन्सी, बंगलादेश । विकेट किपर मुशफिकुर रहीमले जिम्बाब्बेवीरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएका छन् । दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पूरा गर्दै रहीमले नयाँ रेकर्ड बनाएका हुन् । विश्व टेस्ट क्रिकेटमा रहीम दोहोरो शतक दोस्रोपटक प्रहार गर्ने पहिलो विकेट किपर बनेका छन् । यसअघि उनले श्रीलंकासँग सन् २०१३ मार्च ८ तारिखमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएका थिए ।

 

रहीमले १५४।३ ओभरमा चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरेका थिए । विश्व टेस्ट क्रिकेटमा ७ विकेट किपर ब्याटम्यानले दोहोरो शतक एक–एकपटक प्रहार गरेका छन् । जसमा भारत र श्रींलकाका पूर्व कप्तान तथा विकेट किपर महेन्द्र सिंह धोनी र कुमार संगाकारा पनि रहेका छन् । दोस्रो दिनको खेल सकिन १८ ओभर बाँकी रहँदा ७ विकेट गुमाएर ५ सय २२ रन बनाएको अवस्थामा बंगलादेशले पहिलो इनिंस समाप्ती घोषणा गरेको थियो ।

 

बंगलादेशका लागि रहिम २ सय १९ र मेहेदी हसन मिराज ६८ रनमा नट आउट रहे । रहीमले ४ सय २१ बलमा १८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै मिराजले १ सय २ बलमा ५ चौका र १ छक्का हिर्काए । मोमिन्युल हकले पनि उत्कृष्ट शतक प्रहार गरे । उनले २ सय २४ बलमा १९ चौका प्रहार गर्दै १ सय ६१ रनमा आउट भए ।

कप्तान महमुदुल्लाहले ३६ रन बनाउदा अन्य ब्याटम्यानले दोहारो अंकमा रन छुन सकेनन् । जिम्बाब्वेका लागि केली जर्भिसले ५ विकेट लिए । आजै पहिलो इनिंस थालेको पाहुना टोली जिम्बाब्वेले १८ ओभरमा २५ रन बनाउँदै १ विकेट गुमाएको अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । जिम्बाब्वे अझै पहिलो इनिंसमा ४ सय ९७ रनले पछि परेको छ ।
पहिलो टेस्ट खेलमा १ सय ५१ रनले पराजित भएको घरेलु टोली बंगलादेशलाई शृंखला जोगाउन दोस्रो खेल जित्नै पर्ने दबाब रहेको छ ।

प्रतिक्रिया