विप्रेषणले भित्र्यायो गाउँमा विकास

म्याग्दीका विभिन्न गाउँबाट रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि विदेसिएका युवाहरूले गाउँगाउँमा विप्रेषण (रेमिट्यान्स) सँगै विकास पनि भित्र्याका छन् ।

जिल्लाको बेनी नगरपालिका–३ भकिम्ली, रघुगंगा गाउँपालिका–१ बेग र अन्नपूर्ण गाउँपालिका–५ किन्दुबाट रोजगारी र पेसा व्यवसायका लागि विभिन्न देशमा पुगेका युवाहरूले घरमा रूपैयाँका साथै गाउँमा विकासका पूर्वाधारहरू पनि भित्र्याएका हुन् ।

भकिम्लीबाट विदेशमा गएका युवाहरूको पहलमा भकिम्ली गाउँमा करिब ३ करोडको लागतमा सुविधा सम्पन्न भव्य विद्यालय भवन निर्माण भएको छ । म्याग्दीकै नमुना विद्यालय भवन मानिएको भूकम्प प्रतिरोधी सो भवन निर्माणका लागि प्रवासी भकिम्लेलीहरूले २ करोड ५० लाखभन्दा बढी सहयोग गरेका छन् भने साविकको जिल्ला शिक्षा कार्यालय र नगरपालिकाले न्यून रकम लगानी गरेको छ ।

यसैगरी, सोही वडाको राखुमा प्रवासीहरूको ३५ लाख रुपैयाँभन्दा बढी लगानीमा कृषि सडक निर्माण भएको छ । यसका साथै सामुदायिक भवन र खेलमैदान निर्माणमा पनि प्रवासी भकिम्लीहरूले लगानी गरेका र उनीहरूको सहयोगबाट नै गाउँमा विकासको लहर छाएको बेनपा–३ का वडा अध्यक्ष पदम पुनले बताए । विदेशमा बसेर काम गर्नेले आफ्ना लागि मात्रै नभएर गाउँ र आफ्नो ठाउँको विकासका लागि पनि खर्च गरेको उनले बताए ।

त्यसैगरी, रघुगंगा गाउँपालिका–१ बेगमा पनि प्रवासी स्थानीयवासीको पहलमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

देश र विदेशका विभिन्न सहरमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडौं, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराइन र सिंगापुरलगायत स्थानमा पुगेका बेगका वासिन्दा समाजमा आबद्ध भएका छन् ।

समाजको पहलमा १ करोड २५ लाख रुपैयाँ जुटाएर ०७० सालमा ६ किलोमिटर दूरीको बेगखोला–देउराली नमुना हरित सडक र पाँच किलोमिटर दूरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले जानकारी दिए ।

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा भिक्टोरिया क्रस प्राप्त स्व. ऋषि पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा ०६८ सालमा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । ०७२ सालमा बेलायतको ह्यान्ड्स टुगेदर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो ।

बेगखोला युवा क्लबको पहलमा ०७३ सालमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको १४ लाख ३४ हजार रुपैयाँको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो । त्यसैगरी, अन्नपूर्ण गाउँपालिकाको–५ किन्दुका बासिन्दाले ५० लाख रुपैयाँ जुटाएर साढे ६ किलोमिटर सडक निर्माण गरेका छन् ।

भौगोलिकरूपमा विकट र अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित किन्दुमा यातायात सेवाको पहुँच पु¥याउन प्रवासी किन्दुवासीहरूको सहयोगमा सडक निर्माण भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।

विदेशी भूमिमा रातदिन मिहिनेत गरेर कमाएको पैसाबाट प्रवासी म्याग्देलीले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामात्र राम्रो बनाएका छैनन, उनीहरूकै पौरखका कारण म्याग्दीका कतिपय गाउँहरूको कायापलट भएको स्थानीय बासिन्दाले बताएका छन् । आफ्नो भूमिप्रतिको उनीहरूको माया र श्रद्धाप्रति उनले खुलेर प्रशंसा गरे ।

वैदेशिक रोजगारीमा जाने क्रम घट्दो

यसैबीच ‘लाहुरेहरूको जिल्ला’ भनेर चिनिने म्याग्दीबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्दै गएको छ ।

देशमा सम्पन्न स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आफ्नै गाउँठाउँमा नैै रोजगारी र समृद्धिको सम्भावना देखेर युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम घटेको हो । लामो समयको अस्थिर राजनीति र लगानीको प्रत्याभूति नहुँदा युवाहरूको विदेश मोह बढेको थियो ।

तर, निर्वाचनपछि स्थिर सरकार गठन भएसँगै स्वदेशमा नै रोजगारी पाइने आशाले वैदेशिक रोजगारीप्रति आकर्षण घटेको वैदेशिक रोजगारसँग सम्बद्ध व्यक्तिहरूले बताएका छन् । ‘अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ,’ बेनी नगरपालिका–२ का रमेश कार्कीले भने, ‘जापान जाने सोच फेरेर यहीँ कृषि व्यवसाय गर्ने योजना बनाएको छु ।’ नेपालमा नै बसेर काम गर्ने सोच बनाएका उनले भने, ‘अब आफ्नै भूमिमा बसेर काम गर्ने हो ।’

त्यस्तै, नगरपालिका–३ डाँडाखानीका झकबहादुर छन्त्याल गाउँमै स्वरोजगार उद्यमी बन्ने भन्दै अघिल्लो हप्ता स्वदेश फर्किएका छन् । गाउँमा खाली रहेका जमिनमा सुन्तला खेती र पशुपालन गर्ने योजना बनाएर आफू युएइबाट घर फर्केको उनले बताए । ‘त्यसका लागि पूर्ण योजना बनाएर आएको छु,’ उनले भने, ‘सदरमुकाम केन्द्रित अधिकार गाउँ पुगेपछि अब गाउँको विकास हुने अपेक्षा धेरैले गरेका छन् ।’ अरूको देशमा गर्ने परिश्रम आफ्नै देशमा बसेर गर्ने र यहीको कमाइमा सन्तुष्ट हुने उनले बताए ।

जिल्ला प्रशासनको तथ्यांकअनुसार पछिल्लो समय विदेश जाने युवाको संख्यामा निकै कमी आएको छ । राहदानी वितरणको तथ्यांकअनुसार युवा विदेश पलायन घटेको देखाएको हो । राहदानी फाँटका अनुसार गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा राहदानी लिनेको संख्या घटेको छ । राहदानी लिनेको संख्या करिब १५ प्रतिशतले घटेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले खाडी मुलुकमा रहेका युवालाई अबको पाँच वर्षभित्र स्वदेश फर्काउने बताएका छन् । जिल्लामा अहिले पाँचवटा जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसैगरी, कालीगण्डकी कोरिडोर पूरा हुने क्रममा रहेको छ । कालीगण्डकी कोरिडोर निर्माणसँगै उत्तर—दक्षिण सिधा यातायात सञ्चालन भएपछि रोजगारीका धेरै अवसर सिर्जना हुने युवाहरूको बुझाइ छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको र देशमा नै बसेर काम गरे मुलुक र आफ्ना लागि हित हुने ठानेर उनीहरूको विदेश मोह घट्दै गएको सांसद थापाले बताए । जिल्लाभित्र बन्दै गरेको कैयौँ विकास निर्माणको पूर्वाधार र आफूले विदेशमा बसेर काम गर्दा परिवारदेखि टाढा हुन परेका कारण पनि उनीहरू आफ्नै ठाउँमा बसेर काम गर्न चाहेको भनाइ छ ।

प्रतिक्रिया