एयर एसियाले तिरेन करोडौँ बक्यौता

काठमाडौं । मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौं रूपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौं–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।

उक्त कम्पनीले एक वर्षका लागि काठमाडौं गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १३ करोड बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करिब ३० करोड रकम बुझाइसकेको विमानस्थलले जनाएको छ ।

एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (विसौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एसियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको सात करोडभन्दा बढी रकम तिर्न बाँकी छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न सुरु गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरिएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान भर्न बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकामा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान भर्ने एयरलाइन्स काठमाडौंबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बोर्डलाई सात करोड तिर्न बाँकी

एयर एसियाले नेपाल पर्यटन बोर्डलाई सात करोेड २३ लाख बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए । एयर एसियाको उक्त रकम जरिवानासहितको हो ।

बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक पटक आग्रह गरे पनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया