मदनमणि, माधवी र बाल संवेदना

नेपाली आख्यानको सिंगो इतिहासले तीन सय वर्षभन्दा पहिलादेखि हालसम्मको यात्रा गरिसकेको देखिन्छ । आख्यानको महत्त्वपूर्ण हाँगो उपन्यासको इतिहासले पनि एक सय वर्ष पूरा गरी अगाडिको यात्रा तय गरिरहेको छ ।

अनुवाद रूपान्तरण शैलीले विधागत मूल्य खोज्दै जासुसी तिलस्मी लेखनसँगै हुर्केको नेपाली उपन्यास परम्पराले सामाजिक आदर्शवाद, यथार्थवाद, आलोचनात्मक यथार्थवाद अनुशरण गर्दै आएको पाइन्छ । मानवेतर विषय, पात्र, परिवेशयुक्त काल्पनिक रङ भरिएको जासुसी तिलस्मी समाज, इतिहास, पुराण पछ्याउँदै वैदिककालीन समाजसम्म पुगेको यात्रामा नेपाली उपन्यास परम्पराले उल्लेख्य उपलब्धि हासिल गरेको पाइन्छ ।

वीरचरित्र, रूपमती, सेतो बाघ, द्वन्द्वको अवसान, ज्योति ज्योति महाज्योति, राधाजस्ता औपन्यासिक कृति तिलस्मी तथा इतिहास पुराणबाट विषयवस्तु लिएर रचिएका नमुना उपन्यास हुन् भने मदनमणि दीक्षितको माधवी उत्तर वैैदिककालीन समाजको वर्तमानसमक्ष गरिएको सजीव चित्रको प्रस्तुति हो । यहाँ सङ्क्षिप्तमा मदनमणि र माधवीकी माधवी एवं मावधी उन्यासमा देखिएको बाल संवेदनाको थोरै चर्चा गर्ने प्रयास गरिएको छ ।

मदनमणि दीक्षितको जन्म विस.१९७९ काठमाडौंमा भएको हो । लक्ष्मणमणिका जेठा छोरा मदनमणिका हजुरबा शिरोमणि आचार्यले बनारसमा एउटा यज्ञ गर्ने सिलसिलामा दीक्षित उपाधि लिएपछि यिनीहरू आचार्य दीक्षित भए । केही समय मदनमणि आदि अर्थात् आचार्य दीक्षित लेख्ने गरे, पछि आएर दीक्षितमात्र लेख्ने गरेको पाइन्छ ।

शिक्षित र सम्पन्न परिवारका सदस्य मदनमणि दीक्षित नेपाली साहित्यका बौद्धिक स्रष्टा मानिन्छन् । आख्यानकार, निबन्धकार, संस्मरणकार दीक्षित कुशल पत्रकारका रूपमा पनि त्यत्तिकै सशक्त परिचय बनाउन सफल देखिन्छन् । चक्रपाणि, मदनमणि, मास्साहेव, दीक्षितजी, मदनमणि आचार्य दीक्षित, मदनबा जस्ता उपनामले पनि चिनिएका दीक्षित विसं.२००६ देखिनै वामपन्थी राजनीतिसित गाँसिएर अघिबढेका देखिन्छन् । उ

नी शिक्षक, प्रधानाध्यापक, सम्पादक, संस्कृतिविद, बौद्धिक, दार्शनिक चिन्तक तथा अथक साहित्य स्रष्टाका रूपमा चर्चित छन् । धेरै प्रशंसा र केही आलोचना खेपेका दीक्षित चतुर स्रष्टा अनि स्वादु राजनीतिज्ञ मानिन्छन् । दीक्षितले एकातिर आपूmलाई माक्र्सवादीका रूपमा चिनाउने प्रयत्न गरेका छन् भने अर्कोतिर २०१७ पुस १ गतेको समर्थनमा त्यत्तिकै सक्रियता साथ जुटेका देखिन्छन् । विसं.२०१३ तिर हालखबर पत्रिकाबाटै लेखन प्रकाशनसित जोडिएका दीक्षित विश्वेश्वरप्रसाद कोइरालाको सहयोग र समर्थनमा आफूले चलाई ल्याएको समीक्षा साप्ताहिकको प्रयोग गरेर विचलनमा बहकिन रमाउने स्रष्टा पनि हुन् ।

विसं.२०२२ (धेरैतिर २०४२) देखि राजनीतिबाट अलग रहेका दीक्षित नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएर नेपाली वाङ्मयको श्रीवृद्धिमा समर्पित रहेको पाइन्छ । यिनी विसं.२०१८ समीक्षा साप्ताहिकमा प्रकाशितआखिरी मुस्कान बाट नेपाली साहित्यमा स्रष्टाका रूपमा देखा परेका हुन् । (यसमा फरक मत पनि पाइन्छ) यी कसले जित्यो कसले हार्यो (२०२१), मेरी आमाको प्रश्नलाई उत्तर (२०३१), माधवी (२०३९), बर्लिन डायरीका पाना (२०४१), ग्यास च्याम्बरको मृत्यु (२०४२), त्यो युग (२०४७), मेरी नीलिमा (२०५०), त्रिदेवी (२०५१)…? जस्ता दर्जनौं कृतिका लेखक हुन् ।

दीक्षितले आफ्नो उच्च साहित्यिक योगदानका लागि विभिन्न संघ संस्थाबाट पुरस्कार, अभिनन्दन तथा सम्मान प्राप्त गरेका छन् । वैदिककालीन समाजबाट विषयवस्तु लिएर रचिएको नेपाली साहित्यकै विशिष्ट कृति माधवीका लागि विसं.२०३९ कोमदन पुरस्कार जितेका दीक्षित अन्य थुप्रै सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुँदै आएका छन् । यिनका कृतिहरू महाविद्यालय, विश्वविद्यालयका पाठ्यक्रममा समाबेश छन् । यी विभिन्न क्षेत्रबाट अभिनन्दित छन् र धेरै स्रष्टा-द्रष्टाका प्रेरक प्रतिभा पनि हुन् ।

आफ्नो उर्वर समयका मदनमणि दीक्षित नेपाली समाज, संस्कृति तज्जीव्य जन–जीवनलाई माक्र्सवादी दृष्टिकोण राखेर विश्लेषण गर्ने सिर्जनकर्मी हुन् । यी सामाजिक भेदभाव विरुद्ध कलम चलाएर समभाव स्थापनामा जोड दिई मानवीय दायित्व पछ्याउने स्रष्टा हुन् भने बीचबीचमा यिनको लेखन कार्यले पर्याप्त विचलन पनि पछ्याएको पाइन्छ ।

नेपाली समाजमा व्याप्त सडेगलेका संस्कारजन्य विकृत परम्परा उखेलेर त्यस ठाउँमा विज्ञानसम्मत संस्कार र गतिशील संस्कृति पैmलिन दिने व्यवहारलाई पौष्टिक आहार पुग्ने गरी विरुवा रोपी हुर्काउने कर्ममा मनवचनकर्मले लागिपरेका दीक्षितको पछिल्लो अवधिको लेखन वैचारिक बौद्धिकभन्दा पनि तत्कालीन सहकर्मीकै आलोचनामा खनिने कुरौटे बन्दै आएको तर्क दिन्छन् समालोचकहरू ।

यिनलाई लामो समय सँगै सिँगौरी खेलेका सहकर्मीका विपक्षमा खनिन रमाइलो मान्ने गरेको आक्षेप पनि सुनिन्छ । यिनी केही समय माक्र्सवादी दर्शनलाई पूर्वीय चिन्तन र चेतनाले विश्लेषण गर्ने बौद्धिक तार्किक स्रष्टाका रूपमा चिनिए तर पछिल्लो समयको लेखनले यिनलाई आफैँले हुर्काएको विरुवा आफैँ निमोठ्न कस्सिने पात्र पनि मान्दै आएको पाइन्छ ।

यी वैदिक उत्तर वैदिककालीन समाज तथा पौराणिक समाजको सामाजिक स्थिति खोजेर सकेसम्म सजीव चित्रणमा सक्रिय देखिन्छन् । विसं. २०१७ अघिको नेपाली समाजमा राजनीतिक सचेतता बढाउने गरी आलोचनात्मक सामाजिक यथार्थवादी चिन्तन पछ्याएर सामन्ती परम्परा परिवर्तनका पक्षमा वकालत गर्ने हक्की सिर्जनकर्मीले विचलनको भडखारोमा भासिनुको स्वादबारे जानकारी लिन भने यिनकै सान्निध्य पछ्याउनुपर्ने हुन्छ ।

प्राचीन वैदिक पौराणिक समाजको अनुशीलन गरी सामाजिक सांस्कृतिक रूपान्तरणको उद्देश्य राखेर बौद्धिक तार्किक बहस चलाई विश्लेषणात्मक ढंगले तत्कालीन समाजसित वर्तमानलाई परिचित गराउने र संस्मरणात्मक आत्मालापी प्रस्तुति दिने प्रयाससित रमाउनु दीक्षितका सिर्जनात्मक वैशिष्ट्य हुन् भन्न असजिलो मान्नुपर्ने देखिँदैन ।

मदनमणि दीक्षितले नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान गरेका छन् । यिनी नेपाली साहित्यको आख्यान विधालई नयाँ सिराबाट माथि पु¥याउने स्रष्टा हुन् । मूलतः पूर्वीय चिन्तन परम्परामा हुर्केको नेपाली समाजलाई त्यस परम्पराको वैदिक समाजसम्म पुर्याउन सफल देखिनु दीक्षितको उच्च योगदान हो ।

उनी पूर्वीय दर्शनमा सीमित छैनन् । उनले माक्र्सवादी दर्शनलाई पनि नेपाली जनजीवन अनुकूल बनाई समाजलाई समभावप्रेमी बनाउने प्रयत्न गरेका छन् । उनले नेपाली साहित्यका आख्यान, निबन्ध, संस्मरण, अनुवाद, स्तम्भ लेखन, सम्पादनका क्षेत्रमा समेत बहुविधामा सराहनीय काम गरेको पाइन्छ । यिनले जीवनको लामो अवधि माक्र्सवाद पछ्याउने दीक्षित समाजका सबै मानिसले समान अवसर पाउनुपर्ने कुरामा जोड दिएर बिताएका छन् ।

सामाजिक सांस्कृतिक विभेदप्रति असहमति जनाउछन् । यद्यपि यी आफ्नो चिन्तन र प्रस्तुतिमा प्रतिबद्ध देखिँदैनन् । यिनका कसले जित्यो कसले हार्यो कथा संग्रह (२०२१), हाम्रा ती दिन संस्मरण (२०२७), मेरी आमाको प्रश्नलाई उत्तर निबन्ध (२०२९), लाखौं शिशु लिफ्ट मागिरहेछन् निबन्ध (२०३१), माधवी उपन्यास (२०३९), टावर्डस मेगा हिरोसिमा अनुवाद (२०४०), बर्लिन डायरीका पाना यात्रा संस्मरण (२०४१), ग्यास च्याम्बरको मृत्यु कथा संग्रह (२०४२), चरैवति निबन्ध (२०४४), किन्का कुजी (जापानी उन्यास) अनुवाद (२०४५), स्वर्ण मन्दिरको विहार अनुवाद (?), त्यो युग निबन्ध (२०४७), द्रौपदी र सीता निबन्ध (२०४९), विदुषी गार्गी निबन्ध (२०४७), मेरी नीलिमा एकालाप (२०५०), त्रिदेवी उपन्यास (२०५१) जस्ता कृतिहरू प्रकाशित छन् । विसं.२००६ देखि नेपाल कम्यनिस्ट पार्टीका सदस्य रहेका दीक्षितले आफूलाई मार्क्सवादी भनाउन अनि विसं.२०१७ समर्थक र विश्वेश्वरप्रसाद कोइरालाको सहयोगी बनाउन समेत पछि देखिँदैनन् ।

यिनले विभिन्न साहित्यिक, शैक्षिक संघ संस्थासित आबद्ध भई शिक्षक, प्रधानाध्यापक, सम्पादक, कार्यसमिति सदस्यसमेत नेपाल प्रज्ञा–प्रतिष्ठानको उपकुलपतिसम्मको उच्च पदमा रहेर नेपाली समाजलाई वाङ्मय र संस्कृतिका क्षेत्रमा गति प्रदान गरेको पाइन्छ । अहिले पनि विभिन्न साहित्यिक समारोहहरूमा उपस्थित भई प्रवचन दिएर, अनुज तथा विद्वान्हरूलाई अन्तरवार्ता दिएर अनि आपैm लेखन कार्यमा सक्रिय भएर समेत वाङ्मयी सेवामा जुटिरहेका छन् ।

माधवी मदनमणि दीक्षितको उत्तर वैदिककालीन वैदिक ऐतिहासिक विषयवस्तु लिएर लेखिएको चर्चित उपन्यास माधवीकी नायिका हुन् । यी वैदिककालीन राज्य अहिच्छत्रका असुर सम्राट् ययाति र अप्सरा विश्वामित्रकी छोरी हुन् । उपन्यासका नायक गालबकी प्रेमिका माधवीले जन्मदेखि मातृवात्सल्यबाट वञ्चित रहनुपरेको देखिन्छ ।

बाबाको रेखदेखमा हुर्किबढेकी माधवीले उनकै निर्देशनमा राजमहलकी दासीका रूपमा अतिथि सत्कारको जिम्मेवारी निभाउँदै गर्दा गुरु विश्वामित्रको मागअनुसार गुरुदक्षिणा दिन श्यामकर्ण घोडाको खोजीमा भौतारिएका गालब मित्र नागजेयको सल्लाह अनुसार अहिच्छत्र सम्राट् ययातिकहाँ पुग्छन् ।

यज्ञ चलिरहेका बेला आइपुगेका गालबको आवश्यकता र मागअनुसार श्यामकर्ण घोडा दिन पनि नसक्ने र गालबलाई त्यसै फर्काउन पनि उचित नहुने भएपछि ययातिले विभिन्न राज्यमा गएर त्यहाँका राजकुमारसित सहवास गरी छोरा जन्माइदिने जिम्मेवारी माधवीलाई र त्यसको सट्टामा श्यामकर्ण घोडा पाउनेछौ भन्ने उपायसहित गुरुदक्षिणा बुझाएपछि माधवीलाई फर्काउने आशय राखेर गालबलाई जिम्मा लगाइएकी पात्र हुन् माधवी ।

श्यामकर्ण घोडा प्राप्तिका लागि अयोध्या, काशी, उषीनगर, भोजनगर हुँदै चम्पासम्म पुगेर तत्तत् स्थानका राजकुमारसँगको सहवास गर्दै राजकुमार जन्माइदिँदै हिँडेर गालबलाई सघाएकी माधवी सङ्घर्षशील र गालबमा समर्पित पनि देखिन्छिन् । तत्कालीन समाजअनुसार दैवीशक्ति प्राप्त अप्सरा पुत्री तथा तत्कालीन नारीहरूकी प्रतिनिधि पात्र पनि हुन् माधवी । अन्त्यमा गालबबाट तीनवटा श्यामकर्ण घोडा र स्वयं माधवीलाई विश्वामित्रका जिम्मा लगाइएकी छन् माधवी ।

यति धेरै चुनौती खेप्न बाध्य पारेपछि फेरि गालबलाई एकातिर भगाएर लेखकबाट समेत पराजित गराइएकाले तिरस्कृत भएकी छन् माधवी । विश्वामित्रले गर्भधारण गराउने खेतालोको रूपमा आफ्ना भान्जा प्रमतकलाई प्रयोग गरे । माधवी आफ्नो इच्छा, स्वाभिमान र मातृवात्सल्य बिर्सेर गालबको आवश्यकता अनुसार आपूmलाई प्रयोग गर्ने उपन्यासकी इमानदार नायिका र नायक गालबकी प्रेमिकाका रूपमा पनि देखिएकी छन् ।

यसरी जीवनको उम्दो अवस्थामा सँगसँगै सङ्घर्षकी पर्याय बनेर सहयोग गरेपछि गालबसँगै विवाह गरेर उनकै साथ जीवन बिताउने तीव्र चाह राखेकी माधवीले यसमा पनि धोका पाएको देखिन्छ । अब हामी विवाह गरेर सँगै बसौँ भनी माधवीलाई प्रस्ताव गर्ने आँट दिए पनि विवाह सम्पन्न गराएर घरजम बसाइदिने साहस देखाएका छैनन् लेखकले ।

बरु माधवीको प्रस्ताव सुनेर गालब गुरुले पानीग्रहण गरेकी माधवीलाई मैले जीवनसाथी कसरी बनाउनू ? भन्ने लागेर मित्र नागजेयसित सल्लाह गर्न गएका गालब समयमा नफर्के पछि विद्रोह गरेर विभिन्न गाउँगाउँ चहार्न लगाएर पाठकको सहानुभूति बटुल्दिने लेखकको असफल प्रयासले त माधवीलाई झन् पीडा दिएको देखिन्छ ।

आफू फर्केर आउँदा स्वयम्बर छाडेर हिँडिसकेकी माधवीको खोजीमा लागेका गालब र उनैबाट विश्वासघात भएको महसुस गरी हिँडेकी माधवी पुगेको ठाउँमा गालब पुग्छन्, माधवी हिँडिसकेकी हुन्छिन् । कतै माधवी कतै गालब खोज्दै पुग्दै तत्तत् ठाउँबाट हिँडिसकेका हुन्छन् । अघिपछि अघिपछि लुकामारी खेलेजस्तो थोरै मात्र अन्तर देखिन्छ । जन्मदेखि सङ्घर्षै सङ्घर्ष भोगेकी माधवीलाई उत्तरार्धमा पनि बिछोडको पीडा खेप्न विवश पारिएको देखिन्छ ।

यसले छर्लङ्ग के देखाउँछ भने महिलाहरू वैदिककालदेखि नै पुरुषबाट उपेक्षित र अवहेलित जीवन बाँच्न बाध्य थिए । पुरुषले जहिले पनि आफ्नो सजिलोका लागि महिलालाई दुःख दिँदै आएको यथार्थ माधवीलाई गालबले उपयोग गर्दासम्म गरेर अन्त्यमा धोका दिएको देखाउनु भनेको माधवीलाई पराजित गराउनु हो र माधवी पराजित हुनु भनेको नारी जाति पराजित हुनु हो ।

माधवीको चरित्रले एकातिर वैदिककालीन यौन स्वतन्त्रताको सामाजिक यथार्थ बताउँछ भने अर्कोतिर पुरुषहरूको अहमले त्यस बेलादेखिनै महिलामाथि थिचोमिचो गर्दै आको कटुयथार्थ छर्लङ्ग्याउँछ । यी तिनै माधवी हुन् जसले अप्सरा एवं दैवीशक्तिले चिनिएका वैदिककालीन नारीको प्रतिनिधित्व गरेकी छन् ।

शास्त्रमा पाराङ्गत गालबले आफैँ निर्णय नगरेर साथीसँग सल्लाहको निहु झिकेर भाग्ने उपाय पहिल्याइ दिएकाले लेखकले पनि माधवीलाई कुनै मानवीय सद्भाव राखेर आधुनिक नारीका रूपमा सम्मानित स्थान दिलाउन सकेको देखिँदैन । बरु स्वयंवर सभाबाट गालबलाई भगाई थप अपमानित गरेको देखिन्छ । यस सन्दर्भले माधवीलाई थप उपेक्षित तुल्याएन र ?

मानवलाई सृष्टिको प्रारम्भ विन्दुसम्म पुर्याउने अन्तर्चेत बाल संवेदना हो । बाल भन्दाबित्तिकै कम उमेरका, भरखर जन्मेका साना मान्छे भनेर बुझिन्छ । मानिसको जन्म समयदेखिका केही वर्ष बाल उमेरले ओगटेको हुन्छ जसको क्रन्दनबाट मनमस्तिष्क शरीर सञ्चालन हुन्छ र व्यवहार बोल्छ, आहार विहारको माग गर्छ ।

त्यसैबाट ठुलाले उसको आवश्यकता थाहा पाउँछन् । त्यही आवश्यकता अनुसार सुसार पुर्याउँछन् । बालकको आफ्नो कुनै खास प्रतिक्रिया देखिँदैन । अत्यन्त सहज ढंगले चल्ने स्वाभाविक जीवन हुन्छ बालकहरूको । शरीर सानो हुन्छ, मनमस्तिष्क कोमल हुन्छ, भावना निर्मल अनि सरलतम हुन्छ, व्यवहार सबैप्रति समान हुन्छ ।

यहाँसम्म कि विषालु सर्प, डरलाग्दो बाघसित पनि रमाएर खेल्न खोज्छ बाल चरित्र । बुद्धि विवेक प्रयोग गरेर लाभहानिका कुरामा वास्तै नगरी देखेर रमाउँछ, हातले छुन पाउँदा झन् धेरै आनन्दित हुन्छ बालजीवन । विचार गरौँ त च्वात्त पोल्ने आगो देख्यो भने समात्न कति छिटोछिटो दौडिन्छ बालक । जसले माया गरेको अनुभव पाउँछ उसैलाई आफन्त ठान्छ ।

बाल–नजरमा त पराइ भन्ने नै हुँदैन । मान्छे साँच्चै मान्छे जस्तो सज्जन त बालकै पो हुन्छ । लोभ, स्वार्थ, छल, कपट, धोका, लुटपाट, धक्कामुक्की जस्ता मानवता विरोधी तत्त्वले त बासै पाउँदैनन् बाल–मन–मस्तिष्कमा । यस्ता उच्च मानवीय मर्मका सम्पन्न बाल–बालाको माधवी उपन्यासमा देखाइएको अवस्था सोचौँ त कति हृदय विदारक छ ? ठाउँठाउँ पुग्दै बच्चा जन्माउँदै छाड्दै ! आमाको स्याहार सुसार, वात्सल्य त टाढाको कुरा उल्टै त्यस्ता नवजात शिशु काटेर होम गरी शक्तिवालहरूको स्वार्थ सिद्धिका लागि यज्ञ सम्पन्न गर्ने रे !

कस्तो क्ररूर व्यवस्था ? पढ्दा-सुन्दा पनि आङै सिरिङ्ग हुन्छ, रौं ठडिन्छन्, मस्तिष्क हुँडलिन्छ, छिन्न भिन्न भई संवेदना विचलित हुन पुग्छ । एकातिर कुनै पनि प्राणी हत्या हुनु हुँदैन, घोर अन्याय हुन्छ, भन्न जान्ने सुझबुझ भएको विवेकी मान्छेलाई अरुको जिउ ज्यानसित खेलबाड गर्न सुहाउँदैन भनिन्छ ।

अर्कोतिर अबोध बालकहरूले ठीकसँग संसार हेर्न नभ्याउँदै ठुलाबडा शक्ति सम्पन्नहरूबाट निहित स्वार्थपूर्तिका लागि भोग चढाइन्छ । बालकहरू त पानीमा प्रजनित भुरा जसरी हुर्कन्छन्, हुर्कून् । फेला पारेसम्म ठुलाले खाने, आपैm बच्न सके बच्ने-हुर्किने⁄ठीक यस्तै देखिन्छ माधवी उन्यासमा बाल संवेदना ।

कति ठुलो विरोधाभास देखाउँछ बाल बालासम्बन्धी माधवी उपन्यासभित्र वर्णित परिघटना तथा बोली र व्यवहारले⁄यस सन्दर्भलाई मनन् गरेपछि वर्तमानमा बाल हकहितको संरक्षण भएन भन्नु भनेको ढोका ह्वाङ्गै छाडेर घुम्न निस्कनु फर्कंदा घरभित्र चोर पस्यो भनेर चिच्याउनु जस्तै लाग्छ ।

अहिलेको समाजमा बाल संवेदना धेरै गुना संरक्षित छ त्यस बखतको हेरी । माधवीमा बाल संवेदना हराएको क्रुरूर स्थिति देखिन्छ, बाल संवेदनाको उछितो काढिएको अवस्था छ यस उपन्यासमा । जुन मानवीय मर्म, धर्म र कर्मको पनि उपहास हो । यसो भनिरहँदा बढी बोलेजस्तो लाग्दैन ।

यसरी बाल संवेदनाप्रति मानिस गम्भीर, इमानदार अनि संवेदनशील नदेखिनुले माछा माछालाई खान्छ भन्ने मान्यता अनुयायी मूलबाट जीवको विकास भएको हो भन्ने डार्विनको विकासवादी सिद्धान्तको सम्झना गराउँछ । प्राणीलाई सबभन्दा बढी कष्ट स्वजातिले नै पुर्याएको हुन्छ भन्ने प्रमाण पनि मिल्छ ।

माधवीसित जोडेर यति चर्चा गरिसके पछि बाल संवेदनासित परिचित हुन नमुनाका रूपमा पङ्क्तिकार आफैले संगालेको यथार्थ घटनामा आधारित अनुभूतिजन्य केही सन्दर्भ कोट्याउनु मुनासिबै होलाः

छोटो समयअघिको कुरा हो । बाटामा साना दुईजना नानीहरू हिँड्दै थिए । ठूलीचाहिँ चार पाँच वर्षकी र सानीचाहिँ दुईतिन वर्षकी । ठूलीले पोलिथिनको झोलामा पिठो बोकेकी थिइन् । एक्कासि पिठो चुह्यो । सानी चाहिँले “दिदी पिठो पोखियो” भन्दै उठाउन प्रयास गरिन् ।

सानो शरीर, साना हात, कलिलो मन, धुलेबाटामा छरिएर पोखिएको पिठो, उठाउने कुरा सम्भवै थिएन । ठूलीचाहिँ अलपत्र पर्दै झोला समाइरहिन् । वरिपरिका मान्छेहरू हेरेका हेर्यै । केही गर्ने मेलो मेसो पाइएन कसैले । ती सानी नानी पिठो पोखियो भनेर उठाउन कस्सिइन् । हातका औला मुठी पर्दैनन् । उनका हातले उठाउन मिल्ने कुरा उठाउन पनि सक्दैनन् तर उनी पिठो उठाउन बल गर्दै थिइन् । दिदीचाहिँ फोहोरमा पिठो पोखियो, अब आमाले गाली गर्नुहुन्छ भनेर पिर गर्दै थिइन् ।

एकदिन महाविद्यालय जाँदै गर्दा दोबाटोमा सानो भाइ र सत्रअठार वर्षकी दिदी आइपुगे । दुवैजना त्यहींबाट छुट्टिएर आ–आफ्नो घरतिर जानुपर्ने रहेछ । दिदीले आफ्नो घरतिर जाऔं भनेर अनुरोध गरिन् । भाइ आफ्नै घरतिर जान खोजे । दिदीले अलि बल गरिन् । भाइले दिदीको आग्रहलाई विनम्र भएर भने,

“दिदी, हामीले भेटघाट र कुराकानी पनि गरिहाल्यौं । अब त तपाईं पनि पढ्न जानुहोला । मलाई पनि बाँकी रहेको गृहकार्य सकेर स्कुल जानुछ, अहिले विदा भए हुँदैन र ?” उनले सरल तरिकाले राम्रा कुरा गरे । मान्छे हेर्दा साना बोली कति मिठो, कुरा कति परिपक्क र व्यावहारिक त्यत्तिकै ।

अर्को एकदिन एउटा सामान्य घरको आँगनबाट एकजना आमाले आफ्नो छोरालाई चिच्याएर बोलाउनुभयो । छोरा दौडिँदै आइपुगे । अलिक धेरै बेरदेखि खेल्न निस्केका रहेछन् क्यारे । आमा रिसाउनुभएको थियो । उहाँले कुचो समातेर हिर्काउन थाल्नुभयो । यसरी एकोहोरो बाहिर बाहिर हिँडिरहने केटाले भविष्यमा के गर्ला ? बुढेस कालको सहारा के बन्ला ? केकेन गर्छ छोराले भनेर दुःख गरी गरी पालेको के काम भो र ? भन्दै कुचाले हिर्काउँदै हुनुहुन्थ्यो ।

ती साना साथीले पिटाइ सहन नसकेर रुँदै र बोल्दै गरेको वाक्य–“पाल्छु–पाल्छु मैले पनि तपाईहरूले जस्तै माय गरी गरी पाल्छु ।” उनको यो वाक्य सुनेर झसङ्ग सायद कोही नहोला र जीवन पढ्ने कसैले बालजीवनको उपेक्ष गर्ला वा महत्त्व थाहा पाउला ! यी बालमनोविज्ञान छचल्किएका यथार्थपरक परिघटनाले बालसंवेदनाको वर्तमान गाम्भीर्य उद्घाटन गर्छन् भन्ने पङ्क्तिकारको ठम्याइ छ ।

माधवी नेपाली साहित्यमा प्रकाशित वैदिक ऐतिहासिक उपन्यासहरूमा उत्कृष्ट छ । यसले उत्तर वैदिककालीन प्राचीन समाजको यथार्थलाई आलोचनात्मक ढङ्गले आंशिक भए पनि नवीनता साथ प्रस्तुत गरेको पाइन्छ । तत्कालीन समय र समाजलाई वर्तमानसित जोड्ने सेतु बनेको छ माधवी ।

तत्कालीन यथार्थमा आधारित हुँदाहुँदै पनि प्रशस्त काल्पनिक घटना परिघटनाहरूको समाबेसले कृतिको औपन्यासिक मूल्य बढाइदिएको अनुभव हुन्छ । माधवीमा समेटिएका तथ्यहरू ठाउँठाउँमा तोडमोड भए पनि त्यो समाजसम्म आजको पाठक पु¥याउन सक्नु लेखकको खुबी चानचुने नभई विशिष्ट क्षमताको मूर्तरूप हो ।

वेदको भाष्य तथा महाभारतजस्ता पौराणिक कथाहरूसित परिचित नभई उपन्यासको कथावस्तुबारे पत्तो नलाग्ने भएकाले मात्र होइन प्रयुक्त भाषाको क्लिष्टताले पनि पाठकहरूलाई पसिना–पसिना बनाउँछ तर पसिना काढी काढी पढिसके पछि भने चित्त बुझाउन मुस्किल पर्दैन, परिश्रम खेर गएको भान हुँदैन ।

माधवी उपन्यासले तत्कालीन समाज, नारीको कथाबेथा, बाल जीवनप्रतिको त्रूmरुरताबारे प्राप्त हुने सूचना, जनजीवन, पूर्वीय दर्शनको चुरो बताइदिएको छ । माधवी वैदिक चेतनामा रमाउने पाठकका निम्ति गतिलो खुराक हो । त्यसबारे ज्ञान गराउने लेखकीय प्रयास किन पनि स्तुत्य लाग्छ भने यस प्रकारको लेखन छोटोमोटो समयको सतही अध्ययनले पुग्ने प्राप्ति होइन, यो माधवी उपन्यास त गहन अध्ययन र दीर्घ साधनाको उपज र फराकिलो ज्ञानबाट निस्कने उच्च परिणाम पो हो ।

यसरी बौद्धिक दार्शनिक गहिराइ उधिनेर नवपुस्तालाई प्राचीन जीवनसित परिचित गराउने अत्यन्त थोरै स्रष्टामध्ये मदनमणि दीक्षित साहसी र जाँगरिला प्रतिभाका रूपमा देखिन्छन् । यति हुँदा हुँदै पनि स्रष्टाले माधवीमा वर्णित तथ्यहरू र व्यवहारमा विचलन नदेखिने गरी प्रस्तुति दिँदै भाषा सरल बनाउन भ्याइदिएको भए ! पाठकले बढी गुन मान्ने थिए नि भन्न करै लाग्छ । ‘अस्तु’

प्रतिक्रिया