कांग्रेसको विधान मस्यौदामा विवाद

सभापतिको अधिकार बढाउने संस्थापन पक्षको तयारीप्रति अर्को पक्ष एकजुट हुँदै, एक पद, एक व्यक्तिको अवधारणा अघि सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान बनाउने तयारी गरिरहेका वेला संस्थापनइतर पक्षले त्यसको सामूहिक प्रतिवाद गर्ने भएको छ । संस्थापनइतर मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी लगायतका नेताहरू सोमबार बैठक बसेर सामूहिक धारणा बनाउने प्रयासमा जुटेका हुन् ।

महामन्त्री कोइरालाको पहलमा महाराजगञ्जमा भएको छलफलमा पार्टीको विधानमार्फत एक व्यक्ति, एक पदको अवधारणालाई अघि बढाउने सहमति भने भएको नेताहरूले बताएका छन् ।

विजया दशमीको दिवाभोज भनेर बोलाइएको छलफलमा नेताहरूले एक पद, एक व्यक्तिको अवधारणालाई विधानमा समेट्ने विषयमा एकमत भएर नेतृत्वलाई दबाब दिने सहमति भएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीलाई कमजोर बनाउँदै लगेको र विधानबाट सभापतिलाई नै झनै धेरै अधिकार दिएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट हुँदै आएको छ । बैठक विधान संशोधन मस्यौदा समितिका सदस्यहरूलाई सुझाव दिने र छलफल गर्ने विषयमा केन्द्रित भएको नेता अर्जुननरसिंह केसीले बैठकपछि जानकारी दिए ।

वरिष्ठ नेता पौडेल मंगलबारबाट चारधाम तीर्थयात्रामा जाने तय भएकाले अनौपचारिक छलफल राखिएको नेताहरूले बताएका छन् । ‘उहाँले म १२ गते फर्किन्छु । विधानबारे छलफल गर्दै गर्नुहोला, तर हतारमा कुनै निर्णयमा नपुग्नुस् भन्नुभएको छ,’ एक नेताले भने ।

नेता पौडेलले आफू फर्किएर आएपछि छलफल गरी साझा धारणा बनाउने प्रस्ताव गरेका छन् । पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्ने, केन्द्रीय पदाधिकारी, संसदीय समिति, अनुशासन समिति र निर्वाचन समितिको गठन निर्वाचन प्रक्रियाबाटै चयन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

बैठकमा समानुपातिक कोटाबाट अवसर पाउने सदस्यलाई दोहोर्याएर अवसर नदिने र कार्यकारी पदमा एकै व्यक्ति रहन नहुने गरी विधान संशोधन गर्ने सहमति भएको केसीले बताए ।

उनले संविधानको धारा २ सय ६९ को उपधारा ४ (ख) बमोजिम कुनै पनि राजनीतिक दलको संघीय र प्रादेशिक संगठनका पदाधिकारी निर्वाचनको माध्यमबाटै गर्नुपर्ने भएकाले कांग्रेसको विधान पनि सोहीबमोजिम हुनुपर्ने निष्कर्ष निकालेको बताए । नेता केसीले १२औँ महाधिवेशनदेखि नै पदाधिकारीका सबै पदमा निर्वाचनबाटै चयन गर्नुपर्ने बताउँदै आएका थिए ।

यसैबीच, कांग्रेसमा पदाधिकारीको संख्या भने बढ्ने भएको छ । कायम ६ सदस्यीय पदाधिकारी संख्या बढाएर १० सदस्यीय बनाउने गरी विधानको मस्यौदामा छलफल भइरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समिति सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

पार्टीमा सभापतिका साथै २ उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १ कोषाध्यक्ष गरी १० सदस्यीय पदाधिकारी रहने गरी छलफल भइरहेको नेता पौडेलको भनाइ छ । यद्यपि, सबै मनोनीत गर्ने अवस्थामा भने सो संख्या नबढाइने नेताहरूले बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशमा पदीय व्यवस्थापन गर्न कांग्रेसले पदाधिकारीको संख्या थप्न लागेको हो । पदाधिकारीको संख्या बढाउने विषयमा करिब–करिब सहमतिमा पुगिएको पौडेलले बताए । कांग्रेसमा प्रदेशको प्रतिनिधित्व हुने गरी ७ सहमहामन्त्रीको अवधारणामा समेत छलफल उठेको छ ।

सो विषयले मूर्तरूप भने पाइसकेको छैन । सभापतिलाई अधिकार सम्पन्न बनाउनुपर्ने संस्थापन पक्ष र सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्नुपर्ने संस्थापनइतर पक्षको दबाबको विकल्पमा पदाधिकारीको संख्या बढाउने गरी छलफल अघि बढेको छ ।

नेता चक्रप्रसाद बाँस्तोलाको निधनका कारण पार्टीका सम्पूर्ण कार्यक्रम नै केही दिनका लागि स्थगित भएपछि दसैँपछि मात्र मस्यौदामा सहमति खोजिने नेताहरूले बताएका छन् । सभापतिको अधिकारसँगै पदाधिकारीको संख्या र अन्य संरचनागत विषयमा सहमति जुट्न बाँकी छ ।

प्रतिक्रिया